एकाग्रता र होश

Netra Acharya 2020-03-07 | https://gorkhapatraonline.com

नेत्र आचार्य

शरीरलाई लचक बनाउने योगासन विश्वको सबैतिर लोकप्रिय भइसक्यो । मनलाई लचक बनाउने ध्यान क्रमशः लोकप्रिय हुने चरणमा छ । योगासन भौतिक शरीरसँग सम्बन्धित भएको हुँदा सिकाउन, सिक्न र अभ्यास गर्न पनि सजिलो छ । यद्यपि ध्यान आध्यात्मिक विषय भएको हुँदा त्यो सहजता हुँदैन । ध्यान आँखा चिम्लेर अभ्यास गरिने हुँदा गन्तव्य कहाँ हो, मार्ग कुन हो भन्ने थाहा पाउन ज्ञानको आँखा खोल्न आवश्यक हुन्छ । व्यक्तिको शरीरको लचकता, रोग या दुखाई बुझेर तदनुसार कुन योगासन उपयुक्त हुन्छ सुझाउन सकिन्छ । यद्यपि कुन व्यक्तिलाई कुन ध्यानको अभ्यास उपयुक्त हुन्छ भनी तय गर्न उसको पृष्ठभूमि र अन्तःप्रवृत्ति हेक्का राख्नुपर्छ । यो आलेखमा योगासन र ध्यानको परिचय एवं महत्ता उल्लेख गर्दै कस्तो प्रवृत्तिको व्यक्तिलाई कुन ध्यानविधि उपयुक्त हुन सक्छ भन्ने पनि किञ्चित चर्चा गरिनेछ ।

साधना या तपस्यालाई योग भनिन्छ । मानिसले आफूलाई पृथ्वीको सर्वश्रेष्ठ प्राणीका रूपमा विकसित गर्न धेरै अध्ययन, अभ्यास र प्रयोगहरू गरेको छ । योग त्यस्तै एउटा विधा हो जुन हाम्रा पूर्वजले शरीरलाई पुष्ट र चेतनालाई उन्नत बनाउन विकसित गरेका थिए । हजारौं वर्ष पहिला प्रादूर्भाव गरिएको भए पनि योग वर्तमान समयमा उत्तिकै सान्दर्भिक र अझ अपरिहार्य बनेको छ ।

मानिस, पूर्ण मानिस हुनका लागि सुसंस्कृत हुनु आवश्यक हुन्छ । मानिसले पाएको बुद्धि एउटा धारिलो हतियारजस्तो औजार हो । हतियारले धेरै महत्वपूर्ण काम गर्न त सकिन्छ तर यो हतियारले स्वयंलाई घात गर्न सक्छ, क्षतविक्षत् बनाउन सक्छ । थोरैतिनो बुद्धि हरेकसँग हुन्छ तर बुद्धिसँगै विवेक विरलै मानिससँग हुन्छ । विवेक त्यो गुण हो जसले बुद्धिलाई सही दिशा निर्देश गर्छ । विवेकको अभावमा मानिसको बुद्धि आत्मघाती सावित हुन सक्छ । त्यसैले पूर्वजले विवेक जगाउन योग साधनाको आरम्भ र विकास गरेका थिए ।

मानिसको जीवनशैली फेरिएको छ । प्रविधिको विकासले गर्दा र लेखापढीको जमाना भएको हुँदा अचेल अधिकांश मानिसले भौतिक श्रम गर्न पर्दैन । आवश्यकता नभएपछि मानिस सामान्य कसरत गरेर शरीरलाई चुस्त र फुर्तिलो राख्न पनि बिर्सन्छ । यसैगरी वातावरण, खराब संगत एवं जीवनका जटिलताहरूले गर्दा मानिसले हिंसा, असत्य वचन, चोरी, नशालु पदार्थ सेवन र व्यभिचारमा समेत संलग्न हुन पछि पर्दैन । यसरी शील भङ्ग गर्ने कारण पुरानो संस्कार पनि हुन सक्छ, अथवा खराब संगत । सही शिक्षादीक्षाको कमी र जीवनलाई उद्देश्यपरक बनाउन नसकेको हुनाले पनि मानिसले आफ्नै विचार र क्रियाकलापलाई नियन्त्रण गर्न सक्दैन ।

कालक्रममा मानिसको मनमा विकारहरू या दोषहरू प्रवेश गर्नु स्वाभाविक हो । गलत संस्कारका कारण पैदा भएका विकारलाई परिशुद्ध गर्नु आवश्यक हुन्छ । योगका विभिन्न चरणहरूले मानिसलाई शारीरिक एवं मानसिक रूपले स्वस्थ र आध्यात्मिक रूपले प्रसन्न राख्छन् ।

हिन्दू, बौद्ध र जैन परम्परामा फरक–फरक प्रकारका ध्यान विधि विकसित भएका छन् । मानिसको रुचि र पृष्ठभूमिको विविधताका कारण तदनुकूल साधनाहरू बनाइएको हो । शिवमहिम्नस्तोत्रमा पुष्पदन्ताचार्य भन्छन् – रुचीनां वैचित्र्याद् ऋजुकुटिल नानापथजुषां, नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव । अर्थात्, फरकफरक रुचि हुनाले मानिसहरू कसैले सोझो बाटो रोज्छन्, कोही अलि घुमाउरो बाटो हिंड्न मन पराउँछन् । तर छाँगाछहरामा सुसाउने नदी र समतल मैदानमा बग्ने नदी दुवै अन्ततः समुद्रमा पुगे जस्तै सबै ध्यान साधनाका विधिहरूले मानिसलाई शान्ति र आनन्द प्रदान गर्छन् ।

ध्यान विधिहरू जति भए पनि तिनलाई मुख्यतया दुई भागमा वर्गीकरण गरेर बुझ्न सकिन्छ । ती विधि हुन् —
एकाग्रता ध्यान विधि र तटस्थ भई निरीक्षण या अवलोकन गर्ने ध्यान विधि ।

एकाग्रता ध्यान विधि अन्तर्गत धारणाका विधिहरु आउँछन् । इष्टदेवको स्मरण गरेर एकाग्रता विकसित गर्न सकिन्छ । तेस्रो आँखा अर्थात् आज्ञा चक्रमा मनलाई केन्द्रित गरेर पनि ध्यान एकाग्र गर्न सकिन्छ । सजिलोको लागि मैनबत्तीको ज्योतिमा दृष्टि एकाग्र गरेर पनि ध्यानको अवस्थामा पुग्न सकिन्छ ।

तटस्थ भई निरीक्षण या अवलोकन गर्ने ध्यान विधि अन्तर्गत विपश्यना या सतिपठ्ठान मुख्य हो ।
कुण्डलिनी चक्र ध्यानलाई तान्त्रिक ध्यान विधि भनिन्छ । यो विधि अनुसार शरीरमा मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, आज्ञा र सहस्रार गरी सात चक्र हुन्छन् । मानिसको ऊर्जा जुन चक्रमा अवरुद्ध भएको छ त्यो पहिचान गरेर त्यही चक्रमा एकाग्र भई ध्यानको अभ्यास गरिन्छ । यदि ऊर्जा कुन चक्रमा ब्लक भएको छ भन्ने यकीन हुँदैन भने मूलाधारदेखि हरेक चक्रमा एकाग्र भई ध्यान गर्न पनि सकिन्छ । हरेक चक्र र तिनीहरुको परिचय एवं क्रिया थाहा पाउन योग्य गुरुको सान्निध्यमा दार्शनिक एवं सैद्धान्तिक ज्ञान हासिल गर्नु वाञ्छनीय हुन्छ ।

हिन्दू साधना पद्धतिमा कर्म योग, ज्ञान योग र भक्ति योगको विशेष चर्चा भएको पाइन्छ । फल अर्थात् कर्मको परिणाममा आशक्ति नराखी अथवा परिणामको ध्याउन्न नगरी निष्काम भावले गरिने कर्म योग हरपल साधना हो । कर्म नगरी कोही पनि बस्न नसक्ने भएको हुँदा अनासक्त भावले कर्म गर्नु आफैंमा एउटा अप्रतीम साधना हो । कर्मयोगीका निम्ति हरेक कर्म सम्पन्न गर्दा एकाग्र, ध्यानमय र आनन्दमय हुन्छन् । जसका निम्ति हरेक पल नै गन्तव्य हो, जो वर्तमान क्षणमा स्थिर र मस्त रहन सक्छ उसका निम्ति समय थामिन्छ, विचार शान्त हुन्छन् र चेतना जागृत हुन्छ ।

म को हुँ भन्ने ज्ञानले आत्मसाक्षात्कार गराउँछ जसलाई ज्ञानयोग भनिन्छ । वेदान्तमा पाँच महावाक्यको ज्ञानले मोक्षानुभूति हुने उल्लेख छ । अहं ब्रह्मास्मि, तत्वमसि, प्रज्ञानं ब्रह्म, अयमात्मा ब्रह्म, सर्वं खल्विदं ब्रह्म यी पाँच महावाक्य हुन् । अहं ब्रह्मास्मि शब्दको अर्थ म ब्रह्म हुँ भन्ने हो । यो ज्ञानले जीव र ब्रह्मको एकता अनुभूति हुन्छ । तत्वमसि शब्दको अर्थ त्यो ब्रह्म तिमी नै हौ भन्ने हो । प्रज्ञानं ब्रह्म भनेको ज्ञान नै ब्रह्म हो र सर्वं खल्विदं ब्रह्म भनेको यो सारा अस्तित्व ब्रह्म नै हो भनेको हो ।

वेदान्त दर्शनले मानिस देह, इन्द्रिय र मनको संघटन मात्र होइन, शुद्ध चैतन्य स्वरुप अस्तित्व हो भन्छ । वेदान्त दर्शनले त्यही आफू भित्रको स्वरुप चेतना साक्षात्कार गर्न शुद्ध ज्ञान मात्र उपाय हो भन्छ । ऋते ज्ञानन् न मुक्तिः अर्थात् ज्ञान विना मुक्ति सम्भव हुँदैन भन्ने वेदान्तको मत छ ।

भक्तियोग आफूभन्दा उच्चतर शक्ति या दिव्य अस्तित्वप्रति समर्पित हुनु हो । आराध्य देव, इष्टदेव या दिव्य चेतनाप्रति तनमनले समर्पित हुँदा अहंकार तिरोहित हुन्छ र स्वरुप ज्ञान साक्षात्कार हुन थाल्छ । हामी सच्चिदानन्द स्वरुप हौं तर यो चेतना अहंकारले गर्दा आफ्नै स्वरुप बोध हामीलाई भइरहेको हुँदैन । अहंकार गलाउने सबैभन्दा सजिलो उपाय झुक्नु हो, समर्पित हुनु हो ।

कर्मयोग, ज्ञानयोग र भक्तियोग साधना कर्म हुन्, यी योगाभ्यासका क्रममा स्वाभाविक रुपले मानिस ध्यानस्थ हुन सक्छ । यस्तो ध्यान मनलाई स्थिर र शान्त राख्नका लागि उत्कृष्ट साधना हो ।

गम्भीर साधकका लागि विपश्यना ध्यान नै सर्वोत्कृष्ट हुन सक्छ । किनभने विपश्यना ध्यान विधि गौतम बुद्धले जसरी देशना गर्नुभयो उसैगरी शुद्ध रुपमा रहिरहेको मानिन्छ । कम्तीमा दश दिनसम्म शील पालना गरी नियमित रुपमा गुरुको निर्देशनमा ध्यान गर्दा साधकको चित्त शुद्धि हुने सम्भावना अधिक हुन्छ । विपश्यना ध्यानको सैद्धान्तिक ज्ञान हुनु अत्यावश्यक मानिन्छ । सतिपठ्ठान सुत्तमा भगवान् बुद्धले कसरी विपश्यना ध्यान अभ्यास गर्ने भन्ने बताउनुभएको छ । यो ध्यान कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना र धर्मानुपश्यना गरी चार चरणमा अभ्यास गरिन्छ । अभ्यासको क्रममा शील, समाधि र प्रज्ञा क्रमशः घटित हुन थाल्छन् । साधकले अनित्य, दुःख र अनात्म बोध गर्न थाल्छ । जीवन दुःख रहेछ भनी बुझ्नु दुःखबाट मुक्त हुनु हो । साधकले शान्ति लाभ गर्छ, बोधिज्ञान अर्थात् प्रज्ञा जागृत हुन्छ र उसको मनमा संसारका सबै प्राणीप्रति करुणा पैदा हुन्छ ।

जसले दश दिन समय छुट्याउन सक्दैनन् र जो अत्यन्त अस्थिर मनस्थितिका कारण दुःखी छन् उनीहरुले प्राणायामको लामो र गहिरो अभ्यास गर्नु उपयुक्त हुन्छ । प्राणायामले साधकलाई वर्तमान समयमा स्थिर रहन सुझाउँछ । शरीर वर्तमान अवस्थामा हुन्छ, स्वास पनि वर्तमान अवस्थामा चलिरहेको हुन्छ तर मन वर्तमान अवस्थामा स्थिर रहन सक्दैन । मनले या त बितेका कुरा याद गरिरहेको हुन्छ या भविष्यको कल्पनामा डुबिरहेको हुन्छ । प्राणायामका क्रममा मनलाई स्वाससँग जोडिदिइन्छ । स्वासमा एकाग्र हुँदाहुँदा अन्ततः मन वर्तमान क्षणमा स्थिर रहन सिक्छ । प्राणायाम मार्फत् ध्यानस्थ हुने विधि पनि एउटा बहुप्रचलित र कारगर विधि हो ।

यदि कसैको मन ज्यादै विचलित भएको छ भने कुम्भकको अभ्यास गर्न सकिन्छ । मूलबन्ध, उड्डियान बन्ध र जालन्धर बन्ध एकैपटक लगाउनुलाई महाबन्ध भनिन्छ । महाबन्धको अभ्यासले चञ्चल मन स्थिर र शान्त हुन थाल्छ । मन शान्त भएपछि ध्यानमग्न हुन सहज हुन्छ । जति ध्यान गहिरिन्छ उति मनको शान्ति प्रगाढ हुन्छ । कालक्रममा शान्ति यति प्रशान्त हुन्छ ठूलै आँधिबेहरीले पनि बिथोल्न सक्दैन । ध्यानको धन पाएपछि अरु सबै धन फिक्का लाग्छन् । ध्यानका विधिहरु धेरै भएका हुँदा सबैको साँगोपाँगो चर्चा गर्न एउटा आलेखमा सम्भव हुँदैन । मुख्य कुरा हरेक साधकले ध्यानको मर्म बुझ्यो भने अन्ततः आफूलाई कुन ध्यान उपयुक्त हुन्छ भनेर पनि पहिल्याउन सक्नेछ ।

ध्यानले अन्ततः मानिसलाई विवेकी र ज्ञानी बनाउने हो । बुद्धले यसलाई प्रज्ञोदय भन्नुभएको छ । साधकमा प्रज्ञोदय भयो भने उसका राग, द्वेष, मोह लगायत सबै क्लेशहरु समूल नाश हुन्छन् । जे गर्नुपर्ने हो त्यो कर्तव्य कर्म गरिरहन्छ र जे नगर्नुपर्ने हो त्यो कहिल्यै गर्दैन । ध्यानको स्वाद अनुभूति गरेको अर्थात् बोधि जागेको व्यक्ति सत्पथबाट विचलित हुँदैन । जसको ध्यान सफल भयो उसको सबै कार्य सफल भयो । ध्यान सफल बनाउन भने तपस्या आवश्यक हुन्छ । एक कविले सुन्दर पद्यमार्फत् सुझाएका छन् — सर्वं हि तपसा साध्य‌ं तपो हि दुरतिक्रमः । अर्थात् तपस्याले सबै मुस्किल कार्य सिद्ध हुन्छन् तर तपस्या सिद्ध हुन मुस्किल हुन्छ । netra.acharya@gmail.com

https://gorkhapatraonline.com/opinion/2020-03-07-9761?fbclid=IwAR178xfJsTBKrikAQIxeaZeuGsSy1Hd2VVCrOms207kxKuGWQ7FnnIB3_lU