कहाँ छ ध्यान ?

Netra Acharya 2020-03-11 | www.nagariknews.com

नेत्र आचार्य

सन्त कबीर तीर्थयात्रा गर्दै भारतको हरिद्वार पुगेका थिए। एक बिहानै नुहाउन उनी गंगा नदी किनारमा पुगे। कबीरले पवित्र गंगामा डुबुल्की लगाए र सफा लुगा पहिरेर नदी किनारमा घुम्न थाले। त्यहीबेला एक जना पण्डित किनारमा बसेर माला जप्दै रहेछन्। शरीरमा धोती बेरेका र लामो टुप्पी पालेका ती पण्डितको अनुहार भने ध्यानमग्न थिएन। कबीरले थाहा पाइहाले। पण्डितको ध्यान मालामा कम र नदीमा नुहाइरहेका स्त्रीहरूमा अधिक थियो।

पण्डितले मुखले मन्त्रोच्चारण गरिरहेका थिए, हातले माला जपिरहेका थिए तर उनको दृष्टि बारम्बार स्त्रीहरूको शरीर अवलोकनमा तल्लीन थियो। यो देखेर कबीरको मुखबाट तत्क्षण एउटा कविता निस्क्यो — माला तो कर में फिरे, जीभ फिरे मुख माँही। मनुवा तु दसों दिशा फिरे, ये तो सुमिरण नाहीँ।


आजभन्दा छ सय वर्ष पहिले अर्थात् सन्त कबीरको जमानामा मानिसको ध्यान खिच्ने थोरै कुरामात्र थिए होलान्। यद्यपि, त्यस बखत पनि अन्तर्मुखी हुन कठिन थियो। सन्त कबीरले यही यथार्थ संकेत गरेका हुन् सायद। वर्तमान समयमा मानिसको ध्यान खिच्ने व्यक्ति, वस्तु र तरिका अनगिन्ती छन्। अचेल ध्यानको अभ्यास गर्नु कठिन हुँदै गइरहेको छ। तैपनि, आजभोलि ध्यानको लोकप्रियता बढ्दै गइरहेको देखिन्छ। डाँडाकाँडा र थुम्काहरूमा तिब्बती मूलका रिन्पोछेहरूले निर्माण गरेका विशाल गुम्बाहरूमा मात्र होइन, शहरको छेउछाउका पाखाहरूमा बग्रेल्ती खुल्दैगएका आश्रम वा योग केन्द्रहरूमा ध्यानको अभ्यासलाई प्राथमिकतामा राखिएको पाइन्छ। ठमेलजस्ता पर्यटकीय इलाकामा होटलहरूले योग र ध्यानलाई पाहुनाको आकर्षणको विषय बनाउन थालेको धेरै अघिदेखि नै हो। ध्यानको लोकप्रियता बढाउन बूढानीलकण्ठमा सन् असीको दशकमा खुलेको विपश्यना ध्यान केन्द्रले धेरै नै भूमिका खेलेको छ। कम्तीमा मानसिक अशान्ति र तनावबाट मुक्त हुन ध्यानको अभ्यास उपयोगी हुँदोरहेछ भन्नेमा धेरै विश्वस्त भइसकेका छन्। यस परिदृश्यमा ध्यानमा बाधा पुर्याोउने तत्व र तीबाट आफूलाई जोगाउने उपाय जान्नु निश्चय नै लाभदायी हुनेछ।


दिनानुदिन बजारीकृत हुँदै गइरहेको वर्तमान समयमा उत्पादक र सेवा प्रदायक कम्पनीका वस्तु वा सेवा खरिद गर्नेतर्फ मानिसहरूको ध्यान आकर्षित गर्न लाखौं करोडौं रुपियाँ लगानी गरिन्छ। हामीले पनि आफूलाई कति स्वच्छन्द रूपले छाडिदिन्छौँ भने हामीलाई आफू अरुद्वारा नियन्त्रित भएको र उपभुक्त भएको पत्तै हुँदैन। हाम्रो बहुमूल्य समय, सम्पत्ति र ऊर्जा परिशोषित भएको हामीले हेक्कै राखेका हुँदैनौ। हामी टेलिभिजनको अगाडि या इन्टरनेट ‘सर्फिङ' गरेर घन्टौं बसिदिन्छौँ। हाम्रो मनको एकाग्रलाई मिडियाका सूचना, जानकारी र विज्ञापनका प्रचारबाजीले त्यसैगरी भताभुंग पारिदिन्छन् जसरी तोपगोलाहरूको वर्षाले सेनाका टुकडी छिन्नभिन्न हुन्छन्। हामी ती वस्तु वा सेवाको खरिद गर्न जान्छौं र दिनरात नभनी कमाएको सम्पत्ति नष्ट गरिदिन्छौँ। 

हामीलाई सुख र शान्ति चाहिएको हो। सुख र शान्ति पाइन्छ भन्ने बारम्बार सुनेपछि हामी झन्डै विश्वस्त भइहाल्छौँ र चाहिएका वा नचाहिएका सामग्री बटुल्छौँ। तर यस उपक्रममा वास्तवमा लाभान्वित हुने भने वस्तु वा सेवा प्रदायक, प्रचारकर्ता वा तिनका एजेन्टमात्र हुन्छन्। तिनीहरूको स्वार्थ र बैंक ब्यालेन्स बढिरहन्छ। हामी एकपछि अर्को खरिददारीको कुलतमा फस्छौं र आफ्नो समय, सम्पत्ति एवं ऊर्जा समाप्त पार्छौं। आफ्नै नाभिको सुगन्ध खोज्न कस्तुरी मृग जंगल जंगल चाहारेर थकित भएजस्तै हुन्छौँ।

बाहिरी वस्तु तथा सेवाले आन्तरिक सुख र शान्ति दिन सक्दैनन्। यो कुरा आफ्नै अनुभव र अनुभूतिबाट बुझ्न थालेपछि मात्र मानिस आध्यात्मिक पुस्तक पढ्न वा चर्चा सुन्न थाल्छ। अनि मात्र बिस्तारै अन्तर्मनमा चियाउने चेष्टा गर्न थाल्छ। साधनाका पद्धतिमा उसको रुचि बढ्न थाल्छ।

बाहिरी वस्तुमा लठि्ठएको मनलाई एकाग्र बनाउन केही साधना विधि या पद्धति आवश्यक हुन्छन्। चेतना अर्थात् हामीभित्रको वास्तविक साक्षी सत्ताको साक्षात्कार गर्न पहिले त मनलाई अन्तर्मुखी बनाउनुपर्छ। त्यसको लागि ध्यान अपरिहार्य हुन्छ भने ध्यानका लागि मनलाई एकाग्र, एकचित्त बनाउनुपर्छ।

मनलाई एकाग्र बनाउन माला जपेर वा मन्त्रोच्चारण गरेर मात्र पुग्दैन। व्यक्तिको ध्यान कहाँ छ भन्ने अधिक महत्वपूर्ण हुन्छ। ध्यान आफूतर्फ फर्काउनु आध्यात्मिक साधनाको पहिलो सिँढी हो। ध्यान एकाग्र बनाउन इन्द्रिय संयम आवश्यक हुन्छ। इन्द्रिय संयमका सम्बन्धमा भगवान् बुद्ध भन्नुहुन्छ, निष्फला नेत्र विक्षेपा नकर्तव्या कदाचन। निध्यायन्तीव शततं कुर्यात् दृष्टिरधोगतम्। अर्थात्, बिनाकाम कहिल्यै पनि आँखा यताउता नडुलाउनु। बाटोमा हिँड्दा पनि ध्यानमग्न भएझैं चार कदम अगाडिमात्र हेर्नू। पूर्वीय अध्यात्म परम्परामा साधनाका सयौं विधि छन्। आफूलाई कुन विधि उपयुक्त हुन्छ यो पत्तो लगाउने काम आफ्नै हो। विपश्यना ध्यान, प्रेक्षा ध्यान, चक्र ध्यान, अष्टांग योग साधना, कुण्डलिनी तन्त्र ध्यान, मन्त्र ध्यान पद्धति आदि सबैको अध्ययन र अभ्यास गरेपछि आफूलाई उपयुक्त विधि पत्ता लाग्छ।

यी विधि र पद्धतिले ध्यान साधकको बाहिर भट्किइरहेको चित्त आफूतिर फर्काउन मद्दत गर्छन्। चित्त एकाग्र हुँदै गएपछि चित्तका संस्कार नष्ट हुन्छन्। संस्काररहित मन शुद्ध र पवित्र हुन थाल्छ। तबमात्र मनको स्वच्छ दर्पणमा चेतनाको निर्मल ज्योति देखा पर्न थाल्छ। मन शुद्ध भएपछि मात्र व्यक्तिले मौनको भाषा बुझ्न थाल्छ। त्यसैले भनिएको हो सायद — ‘जसको मन शुद्ध उसका भगवान बुद्ध'।

‘मान्छेको मन उज्यालो छ भने व्यक्तित्वमा सौन्दर्य झल्कन्छ। व्यक्तित्वमा सौन्दर्य भए घरमा सौहार्द हुन्छ। घरमा सौहार्द भएमा देशमा सुव्यवस्था कायम हुन सक्छ, तब मात्र समग्र विश्वमा शान्ति सम्भव हुन्छ। व्यक्तिको मनलाई उज्यालो पार्न मानव धर्मको अवलम्बन आवश्यक हुन्छ, ध्यानको अभ्यास आवश्यक हुन्छ,' गत साता नारायणी नदी किनारमा आयोजित सत्संगमा भेला भएका दसौं हजार जिज्ञासु र धर्मप्रेमीलाई सतपालजी महाराजले यही भनेका थिए।
धनको खोजीमा हामीले पूरै जीवन लगायौं। तर, धनले मात्रै मनको सुख र शान्ति दिन सक्दोरहेनछ भन्ने प्रस्ट भइसकेको छ। यो वास्तविकता अब धनीगरीब सबैलाई थाहा भइसकेको छ। एक पटक ध्यानको खोजी गरी हेरौं। सायद ध्यान नै असली धन साबित हुन सक्छ। मानिस बडा कौतुहलयुक्त प्राणी हो। मानिसले देखेको वा सुनेको हरेक कुरा एक पटक फेला पारेर, छामेर, सुम्सुम्याएर, चाखेर हेर्न चाहन्छ। आधुनिक मानिसले सबै प्रकारका साहसिक कार्य गरेर हेरिसकेको छ। आफ्नै शुद्ध चेतनाको खोजी गर्ने चेष्टा भने गरेको छैन। 11 March 2014 मा नागरिक दैनिकमा प्रकाशित http://archive.nagariknews.com/2016/opinion/story/14863.html