गुरु कति बुद्धिमान् ?

Netra Acharya 2020-02-01 | https://www.nepalkhabar.com

नेत्र आचार्य

एउटा गधाले एक आखर पढेको हुँदैन तर जीवनभर आफ्नो बाटो छोड्दैन । एउटा गुरु विद्यालय र विश्वविद्यालय समेत चाहरेर ज्ञान बाँडिरहेको हुन्छ तर ऊ प्रायः सही बाटोमा हिंडेको देखिंदैन । यो विपरीत बुद्धि देखेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले गुरुभन्दा गधा नै बुद्धिमान् हो भन्ने तर्क गरेका थिए । यद्यपि यही बुद्धिमानी हो र यो बुद्धिहीनता हो भन्ने सर्वसम्मत मापदण्ड नभए पनि मानिसले आफ्नै मनका विचार र गतिविधिको मूल्याङ्कन जारी राख्दै केमा कल्याण छ र केमा हानि छ भन्ने सचेत भइरहनु भने अवश्य बुद्धिमानी हो । वर्तमान समयका घटनाक्रम हेर्दा मानिस केवल आत्मप्रशंसामा डुबिरहेको र आफ्नो यथार्थ धरातल बिर्सिसकेको प्रतीत हुन्छ । मानिसलाई उसको धरातलप्रति सचेत तुल्याउँदै उसका निम्ति न्यूनतम बुद्धिमानी के हुनसक्छ भनी पर्गेल्नु निश्चय नै उपयोगी हुनेछ ।

मानिसले लेखेका ग्रन्थहरूमा 'मानिस सृष्टिको सर्वश्रेष्ठ प्राणी हो' भनिएको हुन्छ । यसो भन्नुको आधार के हो त्यो भने कुनै विद्वान्, लेखकले खुलासा गर्ने चेष्टासम्म गरेको हुँदैन । शान्त र पक्षपातरहित भएर यदि पशु र मानिसलाई अवलोकन गर्ने हो भने पशु जगत्‌ धेरै समझदार र संयमी भेटिन्छ ।

जस्तो एउटा पशुले उसको आवश्यकताभन्दा धेरै भोजन गर्दैन, सिजनमा बाहेक यौन तुष्टिका लागि सन्तप्त हुँदैन । चाहिनेभन्दा अधिक संग्रह गर्ने स्वभाव पनि पशुहरूमा हुँदैन । कुनै पशुले सात पुस्तालाई पुग्ने सम्पत्ति जोहो गरेको अहिलेसम्म कतै देखिएको छैन । यसका अलावा, एउटा पशुले बाँच्नका लागि बाहेक अन्य कुनै पनि कारणले हत्या-हिंसा गर्दैन ।

यसको विपरीत मानिसले के खाँदा ठीक र कति मात्रा खाँदा ठीक भन्ने समेत हेक्का राख्दैन । भनिन्छ 'मानिसले जति खाना खान्छ त्यसको आधाले उसको पेट भरिइसकेको हुन्छ, बाँकी आधा खानाले डाक्टरको पेट भरिन्छ ।' धेरै खाएर या खान नजानेर रोगी हुने मानिसको सबैभन्दा आम प्रवृत्ति हो । अधिकांश डाक्टरका क्लिनिकहरू यही कारणले मजाले चलिरहेका हुन्छन् ।

त्यसबाहेक मानिस रातदिन यौनको चिन्तन गरिरहेको हुन्छ । मनोवैज्ञानिहरूको अनुसन्धानबाट आम मानिसले दिनमा १९ पटक यौनको बारेमा सोच्ने तथ्य पत्ता लागेको थियो । यौनकर्म सृष्टिलाई जारी राख्नका निम्ति प्रकृतिले गरेको व्यवस्था हो । सन्तानोत्पादनका लागि यौन सीमित हुनुपर्ने भनेर पूर्वजहरूले शास्त्रीय ग्रन्थ पनि लेखे । तर पढ्न र पढाउनका लागि मात्र । अपनाउनका लागि मानिसले ग्रन्थ पल्टाउँदैन बरु आफ्नै मनका संवेग र भावनाहरूको ज्वारभाटा पछ्याउँछ ।

एकाध मिनेटको स्पर्श सुखका लागि मानिसले इज्जत, प्रतिष्ठा, चरित्र र जीवनभरीका लागि लाग्न सक्ने कलङ्कप्रति समेत ध्यान दिन भ्याउँदैन । मनोवैज्ञानिकहरूका अनुसार आर्थिक अपचलन, सामाजिक र मानवीय मूल्य मान्यताका अन्य मामलामा अत्यन्त सचेत मानिसहरू पनि यौनको मामलामा संयमित हुन सक्दैनन् । यौनको मामलामा दश मिनेट जति मानिसको सुद्धिबुद्धि हराउँछ र मानिस नचुक्‍नु पर्ने ठाउँमा चुक्‍न पुग्छ । किन यस्तो हुन्छ त?

मानिसले यौनका मामलामा किन संयम गुमाउँछ भनी यथेष्ट वैज्ञानिक अनुसन्धान हुन बाँकी नै छ । एउटा आम कारण चाहिं मानिसको जीवनको निरुद्देश्यता हो । जीवन लामो छ, हरेक दिन मानिसका निम्ति २४ घण्टा, १,४४० मिनेट र ८६,४०० सेकेण्ड उपलब्ध हुन्छन् । ती हरेक पलहरूमा मनले केही न केही सोचिरहेको हुन्छ । जीवन उद्देश्यपरक छैन भने मानिसले विचारलाई लगाम दिन जान्दैन । नयाँ र पुराना संस्कारका कारण मनमा जमेका वासनाले मानिसलाई बोलाइरहेका हुन्छन् । यदि मानिस निरुद्देश्य भौंतारिइरहेको छ भने वासनाले बोलाउँदा मुन्टो उचालेर चियाउनु या पछ्याउनु स्वाभाविक जस्तै हुन्छ । व्यासले भनेका छन् – चित्तनदी नाम उभयतो वाहिनी, पुण्याय च वहति, पापाय च । चित्त अर्थात् मन दुवै दिशातिर बहने स्वभावको हुन्छ, पुण्यतिर पनि बहन्छ, पापतिर पनि । कल्याणतिर पनि बहन्छ, अकल्याणतिर पनि । कुन कल्याणको मार्ग हो र कुन अकल्याणको मार्ग हो भनी खुट्याउने विवेक पैदा गर्नु भने चुनौतिपूर्ण काम हो ।

वर्तमान युगको एउटा मुख्य समस्या के हो भने हामी सबै देखासिकी गरिरहेका छौं । हामी आफूलाई रुचिकर काम या विषय पछ्याउँदैनौं बरु देश-समाजमा के कुराको बजार छ, कुन कुराको ग्ल्यामर छ त्यो अनुकरण गर्छौं । हामी आफू को हौं, हाम्रो वास्तविक शान्ति र आनन्द केमा निहित छ त्यो खोजी गर्नु हाम्रो प्राथमिकतामा पर्दैन, के गरेमा समाजमा वाहवाही पाइन्छ, कसको पछि लागेमा भविष्य सुरक्षित हुन्छ उसैलाई पछ्याउँछौं । हामीले जसको नक्कल गरिरहेका छौं तिनीहरू पनि अरुको नक्कल गरिरहेका छन् । यसप्रकार सारा संसारमा मौलिक मानिसहरू कम, कार्बनकपी अधिक देखिन्छन् ।

तीन वर्ष पहिलाको कुरा हो, मुहानपोखरी विपश्यना केन्द्रमा ध्यान शिविर चलिरहेको थियो । करिब तीन सय साधकले विशाल ध्यानगृहमा ध्यान गरिरहेका थिए । पिन ड्रप साइलेन्स व्याप्त थियो । अचानक ध्यान बसिरहेका एक युवा रुन थाले । उनको रोदन क्रन्दन झन् झन् चर्को हुन थाल्यो । म स्वयंसेवक थिएँ, सहायक आचार्यको सुझाव अनुसार मैले उनलाई लिएर ध्यानहल बाहिर गएँ । कसैगरी उनलाई शान्त बनाएपछि सोधें, तपाइँ हलभित्र किन रुनुभएको? उनले भने, 'ध्यान गर्दागर्दै मलाई एक दम आनन्द अनुभूति हुन थाल्यो ।' म चकित भएर सोधें, आनन्द अनुभूति हुनु त राम्रो पो हो, यसमा रोइदिनु परेको किन नि । उनले भने, मलाई यस्तो आनन्द चाहिएको होइन । मैले भर्खर चार्टर्ड एकाउन्टेन्ट पास गरेर जागिर पनि आरम्भ गरेको छु । मलाई घर बनाउनु छ, गाडी किन्नु छ र घुमघाम गर्दै आनन्द अनुभव गर्नु छ ।

यो जवाफले लेखकलाई झनै चकित बनायो ।  जुन आनन्द अहिले, यहीं हाताहाती प्राप्त भइरहेको छ त्यो स्वीकार छैन । तर जुन आनन्द सुदूर भविष्यमा सम्भव देखिन्छ त्यसको भने औधी प्यास छ । सम्भवतः हामीमध्ये अधिकांशको दशा ती चार्टर्ड एकाउन्टेनको जस्तै छ । ध्यानहलभित्र आनन्द अनुभूति गरेको कसले देख्छ? समाजले त मनग्गे पैसा कमाएर विलासी जीवन बिताएको देख्छ । भोगविलासको वाहवाही पनि गर्छ ।

हवा की रुख पहचानो भनेजस्तै समाजको फेसन या अदृश्य खटन अपनाउने मानिसको स्वभावलाई एक कविले सुन्दर शब्दमा यसरी व्यक्त गरेका थिए –

कुवों में भांग डाल दी सभ्यता ने आज

देखें कहाँ पे जाकर ठहरता है आदमी ।

सभ्याताले एउटा नशा पैदा गरेको छ, त्यो नशामा सबै मानिस धुत्त भइसकेका छन् । कहाँ पुगेर मानिसको होस खुल्ने हो यसै भन्न सकिन्न । मानिसको अनौठो स्वभाव बारे भर्तृहरिले अप्रतीम चित्रण गरेका छन् –

कृमिकुलचितं लालाक्लिन्नं विगन्धि जुगुप्सितं निरुपमरसं प्रीत्या खादन्नरास्थि निरामिषम् ।

सुरपतिमपि श्वा पार्श्वस्थं विलोक्य न शङ्कते न हि गणयति क्षुद्रो जन्तुः परिग्रहफल्गुताम् ।

जसरी एउटा कुकुरले स्वादहीन, कीरा भरिएका, दुर्गन्ध युक्त हड्डीहरू बडा स्वादले चबाइरहन्छ तर सामुन्ने इन्द्रै आएर उभिएका भए पनि वास्ता गर्दैन उसैगरी लोभी, आसक्त व्यक्तिले तुच्छ लाभका निम्ति इज्जत, प्रतिष्ठा र जीवनका गरिमामय उद्देश्य नजरअन्दाज गर्न पछि पर्दैन । मानिस जे बोल्छ त्यो उसको मनको कुरा होइन, जे उसको मनमा छ त्यो कुरा ऊ बोल्दैन । पहाड जत्रो झूठ मानिसले घुटुक्क निलिदिन्छ, रायो जत्रो सत्य उसको घाँटीमा अड्कन्छ । घोकेर पढ्छ र झुकेर जागिर खान्छ । मानिसका लागि आत्म-सम्मानभन्दा ठूलो अर्थोक केही होइन तर धन, पद या यौनका लागि आत्मसम्मान बेच्न मानिस हर्दम तम्तयार भएको देखिन्छ । यो प्रवृत्तिलाई कुन विवेकले मानिसको बुद्धिमानी हो भन्नू?

मानिसले तीन वर्षको उमेरदेखि सिकाइ आरम्भ गर्छ र जीवनभर केही न केही सिकिरहन्छ, पुस्तक पढेर, प्रवचन सुनेर, मिडियामार्फत् या आफ्नै अनुभवद्वारा । सिकेका ज्ञानहरू अरूलाई सम्प्रेषण पनि गरिरहेको हुन्छ । सिक्ने र सिकाउने उद्यम मानिसले विकसित गरेको संसारका सबैभन्दा ठूला इण्डस्ट्री हुन् । तर मानिसको ज्ञान र उसको व्यवहारका बीचमा किन यति खाडल परेको होला? चुरुट खान हुँदैन भनी सिकाउने शिक्षक चुरुट तानिरहेको देखिन्छ, व्यवभिचार गर्न हुँदैन भन्ने गुरु त्यही अपराधमा जेल गइरहेको देखिन्छ, भ्रष्टाचार मेट्छु भन्ने नेता झन् ठूला भ्रष्टाचारमा मुछिएको देखिन्छ । पाखण्ड गर्नु नै सभ्यता हो भने अर्कै कुरा तर पूर्वाग्रह रहित भई सोच्ने हो भने महाकवि देवकोटा जस्तै हामी सबै गुरुभन्दा गधा नै बुद्धिमान् भन्ने नै निष्कर्षमा पुग्नेछौं । कुनै कविले भनेका छन् -

हजारौं खिज्र पैदा कर चुका नश्ल आदम की ।

ये सब तस्लीम लेकिन आदमी अब तक भटकता है ।

मान्छेले आजसम्म हजारौं गुरु र पैगम्बर पैदा गरिसक्यो तर मानिस अझसम्म कुबाटोमै भौंतारिइरहेको छ । मानिस र पशुको शारीरिक र मानसिक स्वास्थ्य एवं खुशी मापन गरियो भने मानिसभन्दा पशु नै स्वस्थ र आनन्दित प्रमाणित हुन सक्छ । त्यसपछि मात्र मानिसले आफूलाई 'विकसित' र 'सर्वश्रेष्ठ प्राणी' दावी गर्न लजाउँछ होला । एउटा रुखमा दुइटा बाँदर कुरा गरिरहेका थिए । पहिलोले भन्यो, 'मानिसहरू सभ्य भएर निकै माथि पुगिसके भन्छन् नि ।' अर्को बाँदरले भन्यो, 'सब बकबास हो । मानिसहरू रुखबाट तल गिरेका हुन् । बरु हामी अझसम्म रुखमै छौं । 

नेपालखबर डट कममा प्रकाशित  01 February 2020 netra.acharya@gmail.com