चण्डी बाबाको सिद्धि

Netra Acharya 2019-12-20 | https://www.nepalkhabar.com

सिद्धि भनेको सिद्दिनु

शिवपुरी लेक सदियौंदेखि तपोभूमि रहिआएको छ। शिवपुरी बाबा र टोड्के बाबा सुनिइरहेका नाम हुन्। पछिल्लो पदयात्रामा भेटिए चण्डी बाबा। जंगल नजिकैको आश्रममा दिउँसै धुनी जगाएर बसेका उनी सर्वाङ्ग कालो वस्त्र पहिरेका, मानव खप्पर, नली हाड र रुद्राक्षका विचित्र माला भिरेका थिए।

उनका लट्टा परेका जटा, चिम्टा र हाडखोर हेर्दै हामीले सोध्यौं, ‘यो सब किन?’

उनले भने, ‘सिद्धिका लागि।’

‘सिद्धि भनेको के हो?’

हाम्रो जिज्ञासा भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए, ‘सिद्धि भनेको सिद्दिनु।’

यति भन्दै उनले हातमा मिचिरहेको गाँजा चिलिममा भरे र आगो सल्काए। धुवाँ कोठाभरी फैलिहाल्यो। भित्र बसिरहन सकस भएपछि हामी बाहिर निस्कियौं र पदयात्रा अगाडि बढायौं।

बाटोमा एक मित्रले भने, ‘ढोंगी बाबाहरू! सामान्य रूपले बसोबास र बोलिव्यवहार गरेर पनि त ‘साधना’ हुन सक्छ। अजङ्गको भेष र हाडखोर बटुल्नुपर्छ भन्ने के छ? अनि सिद्दिनु नै लक्ष्य हो भने जंगलमा एक्लै सिद्दिनु र सहरमा सबैका बीच सिद्दिनु के फरक हुन्छ?’

टिप्पणीकर्ता मित्रको आँकलन झट्ट सुन्दा तर्कसङ्गत नै लाग्छ। तर हिन्दू परम्परामा तपस्या विशिष्ट उद्देश्यका लागि सम्पन्न गरिन्थ्यो। चण्डी बाबा ती उद्देश्यप्रति कति सचेत र निष्ठावान् छन् त्यो यसै भन्न सकिन्न। उनले त्यति तामझाम नगरेसम्म मानिसहरूको अनावश्यक आवतजावतले भने तपस्यामा बाधा पुग्छ, साधनाका लागि एकान्त र शान्ति उपलब्ध हुँदैन। जसले तपस्याका लागि पारिवारिक सुखसयल त्यागेर एकान्तवास गर्दैछ उसको गुणदोषमाथि टिप्पणी गरिहाल्नुभन्दा आफूलाई हेर्नु र आफूले के गर्दैछु भनी सचेत हुनु जाती हो।

आँटेको या थालेको काम पूरा हुनु वा सफल हुनु सिद्धि हो। अमरकोशले सिद्धिको परिभाषा गर्दै भनेको छ– सिद्धे निर्वृत्तिनिष्पन्नौ अर्थात् सिद्धि भनेको कार्य राम्ररी सम्पन्न भएको अवस्था हो। आध्यात्मिक अर्थमा योग वा तपस्याद्वारा प्राप्त हुने अलौकिक शक्तिलाई सिद्धि भनिन्छ। दान, यज्ञ, अनुष्ठान या तपस्या सफल भएको, निर्विघ्न पूर्ण भएको अवस्था, निपुणता या सिपालुपनलाई पनि सिद्धि मानिन्छ। यसअनुसार मोक्ष वा निर्वाण प्राप्त हुनु सबभन्दा उच्च स्तरको सिद्धि हो।

योगसाधनाद्वारा हासिल हुने आठ प्रकारका सिद्धिहरूलाई अष्टसिद्धि भनिन्छ। अणिमा महिमा चैव लघिमा गरिमा तथा । प्राप्तिः प्राकाम्यमीशित्वं वशित्वं चाष्ट सिद्धयः। अर्थात् शरीरको आकार सूक्ष्म या विशाल बनाउने, वजन भारी या हलुका बनाउने, चाहेको स्थानमा पुग्ने, हरेक इच्छा पूरा गर्न सक्ने, हरेक वस्तु वा प्राणीमाथि प्रभाव पार्न सक्ने र सबैलाई वशमा राख्न सक्ने क्षमता अष्टसिद्धि हुन्। वशिष्ठ, व्यास, शुकदेव लगायत सयौं ऋषिमुनिले यस्तै सिद्धि हासिल गरेको वेद, इतिहास, पुराण आदि ग्रन्थमा उल्लेख छ।

यी शास्त्रका कुरा हुन्। शास्त्र र सिद्धान्त अक्सर बकवेदान्तमा सीमित रहन्छन्, व्यवहार त्यसलाई वास्तै नगरी चलिरहेको हुन्छ। सिद्धान्त या परम्पराको आडमा निहित स्वार्थ पूरा गर्नेहरू हरेक युगमा पैदा हुन्छन्। सत्ता, शक्ति र छद्‍म भेषको आडमा धर्म, अध्यात्म, र परम्पराका ठेकेदार तिनीहरू नै हुन्छन्। पुजारी र पादरीहरू सबै युगमा हावी हुन्छन्, वर्तमान युगको यस कालखण्डमा यी अझ बढी मुखर भइरहेका देखिन्छन्। ‘ब्रह्मचर्य’ पालना गर्ने कथित सन्त, महन्त, महाराज, बाबा, पादरी, पुजारी र सिद्धबाबाहरू किन भ्रष्ट हुन्छन् केलाउनु यो आलेखको मुख्य विषय हो। कारणहरू केलाउने क्रममा तिनको निराकरण सम्भव छ कि छैन भनेर समेत चर्चा गरिनेछ।

सफल सिद्धहरू
धेरै वर्ष पहिला डा स्वामी रामानन्द गिरिसँग एक अन्तर्वार्ताको क्रममा पङ्क्तिकारले सोधेको थियो, ‘कुनै उमेरमा तपाईंको मनमा विहे गरेर बस्ने सोच आयो कि आएन?’

डा गिरिले भने, ‘त्यो सोच आएको थियो। तर त्यसबेला मैले गृहस्थ जीवन र सन्यस्त जीवनबीच तुलना गरेर हेरें। सन्यास लिएर साधना गर्दा आत्मोन्नति गर्न सकिन्छ र धेरै मानिसको सेवा गर्न सकिन्छ भन्ने देखें। त्यसैले मैले यो बाटो रोजें।’

डा गिरिले देवघाटमा विशाल गुरुकुल र संस्कृत महाविद्यालय स्थापना गरे। सो महाविद्यालयमा दुई सय ५० विद्यार्थीलाई खाने र बस्ने सुविधा सहित संस्कृत व्याकरण, वेदान्त लगायत पूर्वीय दर्शनका महत्त्वपूर्ण विषयहरू अध्यापन गराइँदै आएको छ। डा गिरि दिवंगत भइसके तर उनले तयार गरेका योग्य शिष्य र अध्यापकहरूले गुरुकुल एवं महाविद्यालय व्यवस्थित ढंगले सुचारु राखेका छन्।

देवघाटमै हरिहर सन्यास आश्रम र गलेश्वर आश्रमले उस्तै गुरुकुल एवं संस्कृत महाविद्यालय सञ्चालन गरेका छन्। हरिहर आश्रमका स्वामी ज्ञानानन्द र गलेश्वर आश्रमका स्वामी आत्मानन्द दुवै प्रखर वेदान्ती गुरु हुन्। उनीहरूले दशकौंदेखि देवघाटलाई आध्यात्मिक केन्द्रका रूपमा विकसित गरिरहेका छन्। मानिसको कल्याणका लागि तन–मनले योगदान गर्ने यी योगीहरू वास्तविक सिद्ध हुन्।

गुरुको सान्निध्यमा साधना गरेको र ध्यानको आनन्द कम्तीमा एक पटक अनुभूति गरेको व्यक्ति कहिल्यै विचलित हुँदैन। अन्तरमनको आनन्दले उसलाई निरन्तर बुद्धत्त्वको चेतनातिर उन्मुख गराउँछ। देवघाट अवलोकन गर्ने र त्यहाँका गुरुहरूलाई भेट्ने हरेक तीर्थालुलाई यो बोध हुन समय लाग्दैन।

मानव समुदायका लागि केही उल्लेख्य योगदान गर्न चाहने व्यक्तिलाई घरपरिवारको घेराबाट माथि उठ्न सके सहज हुन्छ। विवाह नगरी ब्रह्मचर्य पालना गरी बस्दा अपार ऊर्जा सञ्चय हुन्छ जुन ऊर्जाले मानिसको मनमा संकल्प शक्ति जगाइदिन्छ, उच्च विचारहरू पैदा गरिदिन्छ र रचनात्मक कार्यमा प्रवृत्त गराइदिन्छ। यस्तै आध्यात्मिक ऊर्जाको सम्मिलनले देवघाट संस्कृत शिक्षाको केन्द्रका रूपमा विकसित भइरहन सकेको छ। यी वेदान्ती गुरुहरू स्वयंले संस्कृत व्याकरण, वेदान्त आदिको उच्च शिक्षा हासिल गरेका थिए र शुद्ध सिद्ध आध्यात्मिक परम्परामा दीक्षित समेत भएका थिए। बलियो जगमा उभिएको भवन टिकाउ हुन्छ। तर जग नबसाली भवन खडा गरिएको छ भने ढिलोचाँडो त्यो धराशायी हुन सक्छ। समय सधैं उस्तै रहँदैन, टेका दिएर अड्याएका भित्ताहरू सस्यानो कम्पन वा झट्काले ढलाइदिन सक्छ। कथित सन्त, बाबाजी र महन्तहरूले खडा गरेका प्रपञ्चहरू यस्तै कारणले ढल्दै गएका देखिएका छन्।

कथित सिद्धबाबाहरू
एक ‘सिद्धबाबा’ ले माटोमुनि भू–तपस्या गरेको र छातीमा जमरा उमारेको ‘घटना’ ले रातारात चर्चाको शिखर चढ्न पाए। टेलिभिजन, अखबार लगायत सबै मिडियामा उनी वाहवाही गरिए। मानिसहरू त्यस घटनाको सत्यतथ्य खोजी गर्न लागेनन्, बरु चर्चाको खेती गर्ने मिडियामा जे देखियो, सुनियो त्यसैलाई विश्वास माने। माटोमुनि पुरिएको छद्‍म नाटक मञ्चन गर्नुभन्दा माटोमाथि बसेर कुनै पुण्यकार्य गर्नु हितकारी हुने थियो। माटोमुनि पुरिंदैमा कोही व्यक्ति ‘शुद्धु’, ‘पवित्र’ या ‘महान् साधु’ हुन्छ भनेर कतै कुनै शास्त्रमा लेखिएको पनि छैन। तर मानिसहरू आँखा चिम्म गरेर उसैलाई विश्वास गरिदिन्छन्। मानिहरूको यही अन्धविश्वासी स्वभावको फाइदा उठाउँदै कथित बाबाहरू भ्रमको महल खडा गर्छन् र विलासिताको लालसा पूरा गर्छन्।

ऋषि चार्वाक्‌ले यो स्थिति पहिल्यै देखिसकेका थिए। उनले भनेका थिए– अग्निहोत्रं त्रयो वेदास् त्रिदण्डं भस्मगुण्ठनम्। बुद्धिपौरुषहीनानां जीविकेति बृहस्पतिः। अर्थात् धुनी जगाएर पूजाआजा गर्नु, वेद पाठ गर्नु, निधारमा तीन धर्के टीका लगाउनु र शरीरमा खरानी धस्नु बुद्धि र पुरुषार्थ नभएकाहरूले जीविका गर्ने उपाय हुन्।

धनदौलत बटुल्ने र सुखसयलमा बाँच्ने उद्देश्य हो भने शरीरमा भस्म दलेर कथित बाबा भएको नाटक गर्नै पर्दैन। कुनै पनि व्यापार व्यवसायबाट मनग्गे धन कमाउन सकिन्छ र चाहेजति विलासिताका वस्तु खरिद गर्न सकिन्छ। यौन सुखको चाहना हो भने विवाह गर्दा वा प्रेम गर्दा सजिलै त्यो प्राप्त हुन्छ। स्वाभाविक रूपले पाइने यौन सुखलाई तिरस्कार गरेर ब्रह्मचारीको छद्‍म नौटङ्की गर्ने व्यक्ति बलपूर्वक हासिल हुने यौनमा फस्छ र जेल पुग्छ।

चण्डी बाबाको सिद्धि
साधनाका क्रमबद्ध चरण पार गर्दै आत्मोन्नति गरेका व्यक्ति वास्तवमै सिद्ध हुन्छन् र तिनीहरूले सामान्य मानिसले गर्न नसक्ने पुरुषार्थ गरेर मानव जातिकै कल्याण गर्छन्। रातारात चर्चा बटुलेर ‘सिद्धबाबा’ को पगरी गुथ्नेहरू कुनै पनि बेला दुर्घटित हुन सक्छन्। समाज विविधतायुक्त छ। यहाँ सात्त्विक, राजसी र तामसिक सबै प्रकारका गतिविधि जारी रहन्छन्। रछ्यानमा हेर्ने या फूलबारीमा, त्यो हाम्रो रोजाइ र विवेकमा निर्भर हुन्छ। एउटा आँप कुहिंदैमा बोटै खराब भन्नु बुद्धिमानी होइन। कला, साहित्य, अभिनय जस्तै धर्म र अध्यात्म गरिमापूर्ण इतिहास, वर्तमान र भविष्य भएका परम्परा हुन्। एकाध छद्‍मभेषी व्यक्तिले यी परम्परालाई धमिल्याउन सक्दैनन्। बरू यस्ता घटनाले एक प्रकारको सचेतना विस्तार गर्छन्।

यी दुर्घटनाबाट पाठ सिक्दै योगी र साधकहरू अधिक सजगता र होसपूर्वक आफ्नो साधना यात्रा अगाडि बढाउन थाल्छन्। गौतम बुद्ध, वेदव्यास, शंकराचार्य लगायत वास्तविक सिद्धहरूले दिएका ज्ञान र ध्यान विधि वर्तमान समयमा विश्वभरका मानिसको शान्ति र आनन्दका निम्ति मार्गदर्शक बनेका छन्, यिनै हाम्रा आदर्श हुन्। यी सिद्धहरूले विकसित गरेका आध्यात्मिक परम्परामा खोट छैन। यो परम्परालाई सके पछ्याउनु नसके धमिल्याउने चेष्टा नगर्नु बुद्धिमानी हो। सर्पलाई पुच्छरमा समात्‍यो भने त्यसले पछाडि फर्केर डस्छ। धर्मको आडमा कुकृत्य गर्ने व्यक्तिको पनि दशा त्यही हुन्छ। धर्मलाई नै सिद्ध्याउन सुरिने व्यक्ति आफैं सिद्दिने सम्भावना अधिक हुन्छ।

बाबाहरू प्रायः प्रतीकात्मक भाषामा बोल्छन्। ‘सिद्धि भनेको सिद्दिनु’ भनी अर्थ्याउँदा चण्डी बाबाले सांसारिक सफलता र भौतिक सुखसयलप्रति आसक्तिको सम्बन्ध सिद्दिनु र बुद्धत्त्वको चेतनासँग सम्बन्ध सुरु हुनु भन्ने सङ्केत गरेका हुनुपर्छ। जानीजानी आफ्नो र परम्पराको प्रतिष्ठा सिद्ध्याउने बाटो चण्डी र अरू बाबाहरूले नरोजेकै जाती। https://www.nepalkhabar.com/opinion/14904-2019-12-20-03-36-21