नमोबुद्धको आकाश र नखोजिएको शान्ति

Netra Acharya 2019-12-16 | www.Setopati.com

नेत्र आचार्य

क्रेग स्मिथ नमोबुद्ध गुम्बाबाहिर ध्यान मुद्रामा ओहोरदोहोर गरिरहेका थिए । उनकी श्रीमती भेरोनिका गुम्बाभित्र बुद्धका हरेक मूर्तिसामु पालैपालो साष्टाङ्ग दण्डवत गरिरहेकी देखिन्थिन् । दुवै आआफ्नै आध्यात्मिक अभ्यासमा तल्लीन थिए । बुद्धकालीन एक जातक कथाबाट प्रभावित भएर यो जोडी हरेक वर्ष जस्तो पदयात्रा गर्न र गुम्बाहरू घुम्न नेपाल आउँदोरहेछ ।

बघिनी जातक अनुसार कुनै पूर्व जन्ममा बोधिसत्त्व आफ्ना केही शिष्यसँगै जंगलको छेउछाउमा चंक्रमण  गरिरहेका थिए । त्यसै बेला उनले एउटी सुत्केरी बघिनी देखे । बघिनी प्रसव पीडाले अशक्त र कैयौं दिनदेखि भोकी थिई । भर्खर जन्मेका सस्याना डमरुहरूलाई चाटिरहेकी थिई । तिनलाई दूध चुसाउन पनि अक्षम हुँदै गएपछि बघिनी क्षुधा तृसित आँखाले आफ्नै कलिला बच्चाहरूलाई हेर्न थाली । अन्ततः  ज्यान बचाउन बघिनीले भर्खरै प्रेमले चाट्दै गरेका आफ्नै डमरुलाई  खाने निधो गरी ।

बोधिसत्त्व यो कारुणिक दृश्य देखिरहेका थिए । उनले शिष्यहरूलाई बघिनीका लागि केही आहारा पाइन्छ कि भनी खोज्न पठाए । यद्यपि उनीहरूले आहारा ल्याउने सम्भावना निकै कम थियो । किनभने आध्यात्मिक अभ्यासकर्ताले हिंसा गर्न हुँदैनथ्यो । अतः बोधिसत्त्व बिस्तारै बघिनीको गुफामा ओर्लिए र आफ्नै शरीर सुम्पिदिए ।

बघिनीले बोधिसत्त्वको रगत पिएर प्यास मेटी । बोधिसत्त्वको प्राणान्त भयो‚ यता बघिनीको शरीरमा क्रमशः प्राणको सञ्चार भयो । ऊ डमरुलाई दूध चुसाउन थाली ।

बोधिसत्त्वले आफ्नो सबभन्दा प्रिय वस्तु प्राण बघिनीलाई सुम्पेको गुफा नमोबुद्धका नामले विख्यात भयो । गुफा हेर्न आएका क्रेग दम्पतीसँगको साक्षात्कार र आध्यात्मिक भलाकुसारीले यहाँको माटोमा छिपेर रहेको जीवनमा निहित गहन शान्तिको रहस्य औंल्याउँथ्यो जुन हामीले देखेर पनि देखिरहेका छैनौं ।

क्रेगको जीवनले कसरी नयाँ मोड लियो भन्ने प्रसंग बडा रोचक छ । सत्तरीको दशकमा अमेरिकाका समुद्र किनारहरूमा गाँजा तानेर घाममा लट्ठिने हिप्पीहरूमध्ये एक थिए क्रेग । तर क्रेगलाई त्यसबेला पटक्कै थाहा थिएन गाँजाको धूवाँमा हराउनु जीवनका जटिलता र निस्सारताहरूबाट साँचो उन्मुक्ति होइन भन्ने ।

नशामा जुन मस्ती थियो त्यसले बेहोशीको आनन्द त दिन्थ्यो तर होशमा आइपुग्दा जिन्दगी झन् बिरसिलो लाग्थ्यो ।

नशाले क्षणिक सहारा त दिन्थ्यो तर पछि झन् बेसहारा बनाएर छोड्थ्यो ।

यस्तैमा एक दिन । क्रेग सधैंजस्तै समुद्रकिनारमा एक्लै बसिरहेका थिए । उनको अगाडि कोही आयो र यो तिमीलाई काम लाग्ला भन्दै एउटा पुस्तक दिएर गयो । फेरि उनी एक्लै थिए । भर्खरै कोही आएर आफूलाई बोलाएको मधुरो स्मृति थियो । क्रेगले त्यो व्यक्ति कस्तो थियो र के भन्यो प्रस्ट सम्झन सकेनन् । यद्यपि उनको हातमा उसले दिएर गएको पुस्तक थियो । पुस्तक पूर्वीय अध्यात्म विद्यासम्बन्धी थियो । सम्भवतः त्यो पुस्तक अद्भुत थियो किनभने त्यसले क्रेगको जीवन बदलिदियो ।

आज करीब ४० वर्षपछि क्रेग त्यो कुन पुस्तक थियो सम्झन सक्दैनन् । किनभने त्यसपछि उनले घर‚ व्यवसाय र सबै सम्पत्ति बेचेर पूर्वीय साहित्यका सयौं ग्रन्थहरूको गहन अध्ययन गरे‚ साथसाथै तीर्थाटन र आध्यात्मिक अभ्यासमा यतिका वर्ष बिताए ।

यही क्रममा उनले संयोगले आफूजस्तै अध्यात्म पारखी भेरोनिकालाई भेटे र दाम्पत्यमा बाँधिए । दुवै मिलेर कैयौं अनमोल ग्रन्थहरूको अध्ययन गरे‚ दलाइ लामा‚ रजनीश लगायत विख्यात आध्यात्मिक व्यक्तिहरूलाई भेटे र दीक्षा लिए ।

स्विट्जरल्यण्डको च्यालेट एरियानामा बस्दै आएका यी जोडीको मनमा बुद्ध र उनका शिक्षाहरूप्रति अगाध प्रेम छ । बुद्धको जन्मभूमिमा वर्षको एक पटक आउनुमा दुवैले जुन आत्मसन्तोष र सार्थकता पाउँछन् त्यो अन्यत्र विरलै पाउँछन् ।

बुद्धको देश नेपालको हरेक डाँडापाखा र हरेक व्यक्तिलाई क्रेग दम्पती बडा सम्मान र प्रेमले हेर्छन् । क्रेग विश्वास गर्छन् यहाँ जन्मन पाउनु सौभाग्य हो । र उनी यहाँका मानिसले आफूहरूप्रति दर्शाउने आतिथ्यबाट बारम्बार कृतकृत्य हुन्छन् ।

चालीस वर्षको अनवरत अध्ययन र साधनाबाट क्रेगमा अद्भूत परिपक्वता विकसित भएको छ । यही अवधिमा उनले केही सम्बुद्ध व्यक्ति र उत्कृष्ट कृति फेला पारे । उनका अनुसार ती व्यक्तित्वको बारेमा सम्झँदा वा ती कृतिहरु पढ्दा जीवनको आल्हाद फेला पर्छ । जीवनमा अपार शान्तिको आविर्भाव हुन्छ ।

काठमाण्डूको बौद्धस्थित सेचेन गुम्बाका दिल्गो ख्येन्त्स्ये रिन्पोछेको ’सम्बुद्ध व्यक्तिको हृदयको खजाना’ द हार्ट ट्रेजर अफ द इन्लाइटन्ड वन नामक कृतिबाट उनी औधी प्रभावित भएका रहेछन् । यो पुस्तक प्याट्रुअल रिन्पोछेको शास्त्रीय कृतिमाथिको टिप्पणी हो । पुस्तकमा बौद्ध ध्यान विधिको साङ्गोपाङ्ग चर्चा छ । समग्र कृति सम्यक् दृष्टि‚ ध्यान र अभ्यासमा केन्द्रित छ ।

सम्यक् दृष्टि‚ ध्यान र अभ्यास बौद्ध साधनाका तीन मुख्य चरण हुन् । यी तीन चरणको अभ्यास गरेरै मानिस आफ्नै मनमा अपार शान्तिको अनुभूति गर्न सक्छ ।

सृष्टिका विशालकाय जनवारदेखि सूक्ष्म कीटाणुसम्म सबैले सुख खोज्छन् र दुख‚ पीडाबाट बच्न चाहन्छन् । तर सुखको खोजी गर्दा तीमध्ये कसैले पनि सकारात्मक कर्म गरे सुख पाइन्छ भन्ने बुझ्दैनन् र दुख‚ पीडाबाट जोगिन चाहनेले नकारात्मक कर्म गर्नबाट जोगिए मात्र उन्मुक्ति पाइन्छ भन्ने हेक्का राख्दैनन् । त्यसैले एक प्रकारको बेहोसी या धङधङीमा प्राणीहरू सुख आउने बाटोतिर पीठ फर्काउँछन् र जानीनजानी दुखको खाडलमा फालहाल्छन् ।

नकारात्मक कर्म नत्यागी सुख या शान्ति पाउन खोज्नु हत्केलामा भर्भराउँदो आगोको कोइला राखेर त्यसले नपोलोस् भन्ने चाहना गर्नुजस्तै हो । अकुशल कर्मबाट विरत नभई दुख मुक्तिको कुनै उपाय छैन । जब शरीर‚ मन र वचन पूर्णतया सकारात्मक कर्म उन्मुख हुन्छन्‚ अनेक अनेक राग‚ द्वेष या बेहोसीमा अलमलिइरहने मन शुद्ध र निर्मल हुँदै जान्छ तब मात्र सम्यक् दृष्टि सम्भव हुन्छ । मनको स्वच्छ आकाशमा ध्यानको प्राकट्य हुन थाल्छ ।

बौद्ध साधना परम्परामा ध्यानको बुझाइ अलिक भिन्न छ । एकाग्रता पहिलो सिंढी हो तर त्यसपछि सम्यक दृष्टिलाई सघन बनाइरहनु‚ वर्तमानमा या होसमा रहनु‚ शरीर‚ मन र चित्तका भावभूमिहरूको विश्लेषण गरिरहनु विक्षेप अर्थात् बाधाहरूलाई पन्छाउने चेष्टा गरिरहनु र सप्त बोध्यङ्ग (स्मृति‚ धर्मविचय‚ वीर्य‚ प्रीति‚ प्रश्रब्धि‚ समाधि र उपेक्षा) को अनुसरण गर्दै सम्बोधिका लागि प्रयत्न गरिरहनु ध्यान हो ।

ध्यानपछि कुशल कर्महरूको सञ्चय गरिरहनु‚ करुणापूरित हृदयले सबैको कल्याणको कामना गर्नु र तदनुरुप प्रयत्न गर्नु अभ्यास हो ।

दिल्गो रिन्पोछेको पुस्तकमा यिनै तीन पहलुहरू सम्यक् दृष्टि‚ ध्यान र अभ्यासको सरल‚ सटीक र सुस्पष्ट परिचर्चा छ ।


हामीमध्ये अधिकांश कैयौं पटक बौद्धको सेचेन गुम्बामा पुगेर पनि सो कृतिको बारेमा बेखबर छौं सायद । त्यही गुम्बामा ध्यानको अभ्यास गर्न आएका अर्का एक वैज्ञानिक म्याथ्यु रिकार्ड आज संसारकै सर्वाधिक आनन्दित व्यक्ति बनेका छन् । गुगलको एक अनुसन्धान अनुसार ध्यानावस्थामा उनको मस्तिष्कको अध्ययन गरी आनन्दको स्तर मापन गरिएको थियो ।

हामी कैयौं पटक नमोबुद्ध पुगेका छौं । तर त्याहाँपुग्दा हामीमध्ये कतिलाई क्रेग स्मिथलाई जस्तो ध्यान लाग्छ ? नमोबुद्धको आकाशमा क्रेगले फेला पार्ने शान्तिले हामीलाई कति शान्त बनाउँछ?  बुद्धले बघिनीलाई शरीर सुम्पेको गुफा हेरेर हामी कति भावविभोर हुन्छौं ?

फेरि त्यही उखान । बत्तीमुनि अँध्यारो । बुद्धको देशमा जन्मेका हामी उनकै शिक्षाबारे प्रायः अनभिज्ञ छौं । हामीलाई आफ्नै आकाशमा र पाखापखेरामा छरिएको शान्ति खोज्ने चेष्टा छैन । स्विट्जरल्याण्डबाट यहाँ आएर हामीलाई हाम्रै खजाना देखाइदिने‚ हामीभित्रै छिपेको शान्तिको रहस्य औंल्याइदिने क्रेग र भेरोनिकालाई धन्यवाद ।

भनिन्छ कुवामा पानी छँदासम्म पानीको मूल्य हेक्का हुँदैन । तर यो प्राचीन उखान हो । आशा गरौं हामी कुवामा पानी छँदै पानीको महत्ता ख्याल गर्नेछौं‚ हामीले बत्तीमुनि पनि उज्यालो छर्नेछौं । netra.acharya@gmail.com