विचारका बाबा

Netra Acharya 2020-02-19 | https://ekantipur.com/

नेत्र आचार्य

विचार विज्ञान नामको कृतिमा खप्तडबाबाले विचार बिजुलीभन्दा बेगवान् र बलवान् हुन्छ भनेका थिए । उनै बाबाले आफ्ना अन्तरंग शिष्यहरुलाई शब्दजालमा न जेलिनू भनी सुझाउँथे । जुन वस्तु जति शक्तिशाली हुन्छ त्यसलाई समाल्न उति नै जागरुकता र कुशलता चाहिन्छ । विचार शक्तिशाली हुन्छ, विचारमय जीवन झनै शक्तिशाली हुन्छ । विचारलाई सम्हाल्न सक्नेहरु बुद्ध बन्दछन्, नसक्नेहरु बर्बर बन्दछन् ।

अरुले ओगटेको स्थान, वस्तु र समय हत्याउन दौड लगाइरहेको संसारको भीडमा विचारलाई सम्हाल्न अवश्य सहज हुँदैन । त्यसैले स्वामी सच्चिदानन्द सरस्वतीले अधिकांश समय हिउँ जमिरहने खप्तडको लेक रोजे । त्यही लेकमा बसेर उनले बौद्धिक ज्ञान र दर्शनले भरिएका दर्जनौं कृति रचना गरे । विचार विज्ञान, धर्म विज्ञान, स्वास्थ्य विज्ञान लगायत उनका कृतिहरु एकसे एक अब्बल छन् । यद्यपि उनको बौद्धिक या दार्शनिक योगदान खोज्ने सही ठाउँ ती कृतिहरु होइनन् ।

एउटा प्रतिभावान् डाक्टर खप्तडको लेकमा पचास वर्ष शान्त रहनु आफैंमा ठूलो कृति हो । उनले जे जानेका थिए खप्तड लेकमा बस्दा त्यही अनुरुप बाँच्ने चेष्टा गरे । जानेको ज्ञान र बाँचेको जीवन एक सदृश हुनु यो युगमा एउटा अद्भुत घटना हो ।

पच्चीस सय वर्षपहिला गौतम बुद्धले ध्यानमा सुख छ भन्ने थाहा पाएका थिए । ध्यानको अभ्यास गर्न सरल र सादा जीवनशैली आवश्यक हुन्थ्यो । अतः बुद्धले सम्पूर्ण जीवन एउटा चीवर र पात्र लिएर बिताइदिए । बीसौं शताब्दीको पूर्वार्धमा रमण महर्षिले मौनतामा सुख छ भन्ने थाहा पाएका थिए । उनी सत्र वर्षको उमेरमा अरुणाचल पर्वतमा गए र जीवनको अधिकांश समय मौन रहेर बिताइदिए । खप्तड बाबाले धर्ममा सुख छ भन्ने थाहा पाएका थिए । उनी खप्तड लेकमा गएर सारा जीवन धर्मको खोजी र अभ्यास गरेर बिताइदिए ।

कुनै बेला बाबा भारतका ठूला सहरमा प्रतिभावान् शल्य चिकित्सक थिए, कुनै अन्तर् प्रेरणाले उनी दक्षिणमूर्ति आश्रममा वेद, उपनिषद् आदि आध्यात्मिक ग्रन्थका अध्येता तथा अध्यापक बने, अन्ततः खप्तड लेकमा पुगेर तपस्वी खप्तड बाबा बने र बीसौं शताब्दीको उत्तरार्ध शान्ति पूर्वक बिताइदिए । ज्ञानका ग्रन्थहरुमा सारभूत रुपले सर्वं हि तपसा साध्य‌ं तपो हि दुरतिक्रमः अर्थात् सबै ध्येय तपस्याले सिद्ध हुन्छन् तर तपस्या सिद्ध हुन मुस्किल हुन्छ भन्ने उल्लेख पाइन्छ । खप्तड बाबामा दृढ संकल्प शक्ति थियो र त्यसलाई कार्यान्वित गर्ने सुझबुझ पनि । मुस्किलभन्दा मुस्किल काम विचारको शक्तिले र तपले सफल बनाउन सकिन्छ भन्ने उनलाई थाहा थियो । उनी त्यसैको अभ्यास गर्न जीवन पर्यन्त तल्लीन रहे ।

जति धेरै शब्दजाल निर्माण गर्न सक्यो उति ठूलो विद्वान् कहलिने जमाना छ अहिले । वर्तमान समयले स्वीकार गरेका कथित विद्वान्हरु यो वा त्यो मतलाई परास्त गर्ने र प्रकारान्तरले आफ्नो भागमा स्थान, वस्तु र समय पार्ने ध्येय राख्छन् । खप्तड बाबाका दृष्टिमा यो आपातरमणीय सुख हो । आपातरमणीय अर्थात् झलक्क हेर्दा सुखजस्तो देखिने तर अन्ततः दुःखको भुमरीमा फसाइदिने सुख । दीपशिखाको चहकिलो ज्योति वरिपरि घुमिरहेको पुतलीले त्यो आगोको ज्वाला हो, जलाइदिन्छ भन्ने हेक्का राख्न सक्दैन । आपातरमणीय सुखको वरिपरि घुमिरहेका विद्वान्हरुले पनि आफ्नो विनाश देख्न सक्दैनन् ।

खप्तड बाबाले आफ्ना दर्जन बढी ग्रन्थमा परम्परागत पण्डित र विद्वन्हरुले जस्तो शास्त्र प्रमाणलाई अधिक स्थान दिएका छैनन् । बरु मनोविज्ञानसम्मत बुद्धिगम्य युक्तिहरु, ऐतिहासिक तथ्यहरु तथा जनसाधारणका अनुभवहरुलाई प्रमाण मानेका छन् र आफ्ना मतहरु स्थापित गर्न यिनै प्रमाणको उपयोग गरेका छन् ।

खप्तड बाबाको दृष्टिमा पश्चिमी शिक्षासँगै जति विजातीय कुराहरु हाम्रो देशभित्र प्रवेश गरेका छन् तीमध्ये नास्तिकता एउटा हो । शिक्षितहरुमै नास्तिकताको प्रभाव अधिक परेको हुँदा समाज झन्झन् विकृति उन्मुख भएको उनले देखे । मानिसहरुले जीवनभन्दा जीवनको ज्ञानलाई महत्व दिन थालेको र सुखभन्दा सुखका साधनहरु बटुल्ने ध्याउन्न गर्न थालेको उनले देखे । संसारमा सुख छैन तर संसारको आसक्तिलाई त्याग्न कोही मानिस राजी हुँदैन । मानिसको दशा त्यही मृगको जस्तो भइरहेको छ जो मृगमरीचिकातिर निरन्तर दौडिरहन्छ र प्यासले व्याकुल भई छटपटाउँदै मृत्युवरण गर्दछ । यसरी नभएको ठाउँमा सुख खोज्दै तड्पिरहेका मानिसहरुलाई पर्ख, त्यहाँ होइन, यहाँ खोज भनी आंैल्याउन खप्तड बाबाले धर्म विज्ञान लेखे । धर्म विज्ञान उनको सर्वाधिक महत्वपूर्ण कृति हो । विभिन्न खण्डमा प्रकाशित यो ग्रन्थमा उनले धर्मको मर्मलाई बोध गर्ने सरलतम युक्तिहरु प्रस्तुत गरेका छन् । अरु सबै कुराको खोजी बाहिर हुन्छ, धर्मको खोजी भित्र हुन्छ । बाबा भन्छन्, यदि तिमी सिनेमाघरको पर्दामा चित्रहरु आऊन् भन्ने चाहन्छौ भने सबै झ्यालढोकाहरु बन्द गर । जब बाहिरी प्रकाश रोकिन्छ तब चित्र प्रस्ट देखिन्छ । त्यसैगरी जब मन र इन्द्रियहरु बाहिरी प्रकाश अर्थात् इच्छाहरुलाई मनमा उतार्न छाड्छन्, तब आफूभित्र धर्मको प्रकाश उदय हुन्छ ।

यो जगत् संकल्पमय छ, संकल्पबाट नै उत्पन्न भएको छ । सबै सुखदुःख आफ्नै संकल्पका फल हुन् भन्ने यकीन भइसकेपछि ठूलै दुःख पनि दुःखदायी हुँदैन । आफ्नै हातबाट लागेको चोट त्यति दुःखदायी हुँदैन जति अर्काको हातबाट लाग्दा दुःखदायी प्रतीत हुन्छ । संकल्पबाट संसार चलेको छ भन्ने बोध हुँदा दुःख मेटिन्छन् किनभने जुन संकल्पबाट दुःख प्राप्ति हुन्छ त्यसैको विपरीत संकल्प गर्नाले पूर्व संकल्पहरुको बल क्षीण हुन जान्छ । खप्तड बाबाका अनुसार यही ज्ञान धर्मको जग हो ।

हरेक मानिसभित्र एक सहज ज्ञानस्फूर्तिको शक्ति हुन्छ जो अकस्मात सूर्यको प्रकाशले जस्तै हाम्रो हृदयको आकाशलाई प्रकाशित पार्दछ । त्यो प्रकाश उदय भएको बेला प्रत्येक मानिसमा देवता देखिन थाल्छन् । मानिसको मुस्कानमा दैवी सौन्दर्य र मोहकता प्रकट हुन्छ । यो अनुभूति शब्दमा व्यक्त गर्न सकिंदैन । गुलियोको अनुभूति जति जिब्रोलाई थाहा हुन्छ त्यति कस्तै आलंकारिक शब्दहरुले व्यक्त गर्न सक्दैनन्, कुनै प्रयोगशालाका वैज्ञानिकले तत्वहरुको विश्लेषण गरेर बताउन सक्दैनन् । 

स्वानुभूतिलाई यति जोड दिंदादिंदै खप्तड बाबाले विचार विज्ञान नामको कृति नै लेखेर विचारको महिमा मण्डन गरेका छन् । उनी भन्छन् — स्थूल वस्तुभन्दा सूक्ष्म वस्तुमा, जडभन्दा चेतनमा अधिक शक्ति हुन्छ । ढुंगाभन्दा माटोमा र माटोभन्दा पानीमा जीवनीशक्ति अधिक हुन्छ । विचार सूक्ष्मतम हुन्छन् तर ती शक्तिशाली हुन्छन् । विचारले मानिसको कल्याण पनि गर्न सक्छन्, विनाश पनि ।

मानिस अनन्त संभावनाहरुको पुञ्ज हो । जस्तो बीजभित्र लुकेको वृक्ष । उर्वरा भूमि र मलजल भए मात्र बीज अंकुरित हुन्छ र त्यसभित्र निहित वृक्षका अवयव प्रकट हुन थाल्छन् । मानिस भित्रका सम्भावना पहिल्याउने मुख्य साधन युक्तियुक्त विचार नै हो । विचारलाई खप्तड बाबाले आफूमा निखार ल्यानका निम्ति सर्वाधिक उपयोग गरेका थिए । उनी भन्थे — मेरो व्यक्तिगत प्रकृति एकातिर जसरी विश्वासशील छ, अर्कोतर्फ उत्तिकै संशयप्रवण छ । अतएव मेरो आफ्नो जीवनमा जेजति उपलब्धि गरेको छु र गरिरहेको छु तिनलाई ज्यादै कठोरताका साथ सबै प्रकारका प्रमाणका कसीहरुमा नजाँचिकन मैले स्वयं कहिले पनि सत्य रुपमा ग्रहण गरेको छैन वा गर्दिनँ । मेरो विचारमा जे सत्य छ त्यो सदैव सत्य नै रहन्छ । अतः परीक्षा गर्नाले त्यसको चमक बढ्ने नै छ, घट्ने छैन ।

खप्तड बाबा चाहन्थे आफूले जानेको ज्ञान पहिला आफैंमा प्रयोग होस् । ज्ञान बाँड्न, अर्ती दिन या विद्वान् कहलाउन हतारिनु पहिला स्वानुभूति होस्, ज्ञानको आलोकले चेहरा धपक्क बलोस्, आनन्दले मन गद्गद् होस् । विचारकै माध्यमले आफूमा परिष्कार ल्याउने हो तर शब्दजालमा जेलिने थिति पनि नआओस् । Published on 19 February 2020 in Kantipur Daily https://www.kantipurdaily.com/

netra.acharya@gmail.com