सर्वं आत्मवशं सुखम्

Netra Acharya 2019-06-15 | www.nepalnews.com

छोक्न्यी रिन्पोचे

गुरु छोक्न्यी रिन्पोचे एक प्रवचन कार्यक्रममा आन्तरिक खुशी र बाहिरी खुशीका बारेमा बोल्दै हुनुहुन्थ्यो । प्रवचनको सार थियो - काम र जीवन दुवै पक्षलाई सन्तुलित रुपले व्यवस्थापन गर्न सके हामीले शारीर, मन र भावनालाई पोषित गर्न सक्छौं । आफ्नो खुशी र सन्तुष्टि गलत दिशामा खोज्दा समय, आत्मसम्मान र ऊर्जा नष्ट हुन्छ । अतः जति छिटो सही दिशा पहिल्याउन र त्यसमा स्थिर रहन सक्छौं उति राम्रो । गलत दिशामा परसम्म पुगिसकेपछि फर्केर आउन पनि उति नै समय लाग्छ । रिन्पोचेले भन्नुभयो – वर्क हार्ड इन राइट डिरेक्सन, बट लर्न टु रिल्याक्स । सही काममा पसिना बगाउनुस् तर मन नआत्तियोस्, मनलाई आराम भइरहोस् ।

रिन्पोचेले भनेजस्तो पसिना बगाउन र आराम गर्न एकसाथ कसरी सम्भव हुन सक्ला? एक घण्टाको छोटो प्रवचनमा रिन्पोचेले खुशी रहने महत्त्वपूर्ण सूत्र दिएर जानुभयो । ती सूत्रको भाष्य हाम्रो काम आउँथ्यो सायद ।

भगवान् बुद्धको नाम नलिए पनि रिन्पोचेले बुद्धकै शिक्षा व्याख्या गर्नुभएको थियो । बुद्धले मध्यम मार्ग अनुसरण गर्न सुझाउनुभएको थियो । जंगलमा तपस्या गर्दा एउटा सानो घटनाले बुद्धलाई मध्यम मार्ग नै उत्तम मार्ग हो भन्ने बोध भएको थियो । त्यो बेला तपस्वीहरु निराहार बसेर शरीर सुकाउँथे र यसैलाई साधना नाम दिन्थे । बुद्धले पनि त्यसै गर्नुभयो, अन्नको दाना मात्र खाएर र कहिले केही नखाई तपस्या गर्न थाल्नुभयो । बुद्धको शरीर सुकेर अस्थिपञ्जर मात्र बाँकी रह्यो । तर ध्यान सफल भएन, ज्ञानोदय हुन सकेन । बुद्ध बोधिवृक्षको छहारीमा बसिरहनुभएको थियो । गाउँले स्‍त्रीहरु जंगलको बाटो हिंड्दा गीत गाइरहेका थिए । बुद्धले गीत सुन्नुभयो । ती स्‍त्रीहरुले गाइरहेका गीतका शब्द थिए – वीणाका तारहरु कसिएनन् भने सुरिलो संगीत निस्कँदैन, तर तारहरु धेरै कसिए भने चुँडिन सक्छन् । वीणा र तारको सन्तुलन मिलाऊ, सुन्दर संगीत बजाऊ । यो गीतले बुद्धलाई जगाइदियो । बुद्धले निराहार बसेर तपस्या गर्दा आफ्नो शरीर क्षीण हुँदै गएको हेक्का गर्नुभयो । अब उहाँले एक छाक खाना खान थाल्नुभयो ।

जीवनलाई फुकाफाल अर्थात् छाडा छोड्यो भने जीवनमा कुनै संगीत पैदा हुँदैन । जीवनलाई नीति नियमहरुमा धेरै कस्यो भने पनि यसका सूक्ष्म तार चुँडिन सक्छन्, जीवन सुख्खा बन्न पुग्छ । अतः जीवनलाई संगीतमय बनाउन काम र जीवन दुवै पक्षको सन्तुलन बनाउन जान्नु आवश्यक हुन्छ ।

गुरु ज्ञानानन्द

गुरु ज्ञानानन्द सरस्वती भन्नुहुन्थ्यो, शरीर भौतिक पदार्थले बनेको छ, यसले भोग खोज्छ, आत्मा चेतनाले बनेको छ, यसले योग खोज्छ । भोग खोज्ने शरीरले त्यो पाएन भने टाउसिन्छ, योग खोज्ने आत्माले त्यो पाएन भने टाउसिन्छ । हरेक मानिसले आफूलाई कति भोग चाहिन्छ, कति योग चाहिन्छ त्यसको सन्तुलन विन्दु थाहा पाइराख्‍नु अत्यावश्यक हुन्छ ।

हरेक मानिस एकसाथ दुई वटा संसारमा बाँचिरहेको हुन्छः आन्तरिक संसार र बाहिरी संसार । आन्तरिक अनुभूति बाहिरी विषयवस्तुसँग जोडिएको हुन्छ, बाहिरी विषयवस्तु आन्तरिक अनुभूतिसँग जोडिएका हुन्छन् । बाहिर समृद्ध नभई भित्र सुख शान्ति हुन मुस्किल हुन्छ, भित्र सुखसन्तोष नभई बाहिरी समृद्धिको फल पाउन पनि मुस्किल हुन्छ ।

मानिस बाहिरबाट जस्तो देखिन्छ, भित्र उसको रुप अर्कै हुन्छ, मानिसको बाहिरी व्यक्तित्व एउटा हुन्छ, भित्री जीवन अर्कै हुन्छ । वास्तविकता कस्तो हुन्छ भने - सामान्य जीवन बाँचिरहेको मानिसको हृदय पवित्र हुन सक्छ, ध्यान, धर्मका कुरा गर्ने व्यक्ति आचरणमा विपरीत हुन सक्छ ।

यस्तो द्वैध चरित्र भएको व्यक्तिले अरुलाई धोका दिइरहन आफू सफल भएको ठानिरहेको हुन सक्छ, यथार्थमा सबभन्दा ठूलो धोका उसले स्वयंलाई दिइरहेको हुन्छ । यसरी एकसाथ दुई चरित्र निभाइरहेको, एकै समयमा दुई वटा संसारमा बाँचिरहेको हुँदा मानिसको मनोदशा उदेकलाग्दो देखिन्छ ।

मानिस कति उदेकलाग्दो देखिन्छ भने, ऊ यहाँ भएर पनि उसको ध्यान यहाँ हुँदैन । घरमा रहँदा कामको याद आइरहन्छ, काममा जाँदा घरको याद हुन्छ । एक व्यक्तिसँग कुरा गरिरहँदा उसको मनमा अरु कसैको चिन्तना हुन्छ, त्यो व्यक्ति साथ हुँदा पहिलो व्यक्ति मनमा हावी हुन्छ । उसले एउटा कुरा लुकाउन दर्जनौं झूठ बोल्छ । ती झूठहरु छिपाउन अरु झूठ बोल्नुपर्ने थिति आइलाग्छ । यसरी, यता टाल्दा उता प्वाल पर्छ, उता टाल्दा यता प्वाल पर्छ ।

मनको स्वभाव के हो भने मन कहिल्यै द्वन्द्वमा रमाउन सक्दैन । मनले एकै समयमा दुई काम गर्न सक्दैन । द्वैध भूमिका खेल्नुपर्दा मनको अपार ऊर्जा नष्ट हुन्छ । सुख, शान्ति, प्रेम, करुणामा प्रवाहित हुनु पर्ने ऊर्जा दुविधामा खर्च हुन्छ । तब मानिस थकित, रित्तो र अन्यमनस्क अनुभूति गर्न थाल्छ ।

हाम्रो देशका राजा 

कुनै समयको कुरा हो, राजा ब्रह्मदत्तको मन ज्यादै बेचैन भएको रहेछ । उनलाई न भोगविलासमा उत्सुकता थियो, न राजकाजमा रुचि थियो । मन्त्रीहरुले राजालाई जंगलको छेउमा बस्ने ऋषिलाई भेटेर उनको सल्लाह लिन सुझाए । वायुपंखी घोडा चढेर राजा जंगलमा पुगे । ऋषिको आश्रममा प्रवेश गरे र बाहिर आँगनमा फूलका बोटमा पानी हाल्दै गरेका एक शिष्यलाई ऋषिको बारेमा सोधे । ती शिष्यले ''ऋषि बनविहारमा जानुभएको छ, फर्कंदासम्म तपाइँ यहीं बस्नुहोस्'' भन्दै पिंढीमा गुन्द्री बिछ्याइदिए । राजा गुन्द्रीमा बस्न सकेनन्, आँगनमै ओहोरदोहोर गरिरहे । ती शिष्यले आँगनमै बस्नका लागि एउटा काठको मुढा राखिदिए । राजा काठको मुढामा पनि बस्न सकेनन्, ओहोरदोहोर गरिरहे । तब शिष्यले छेउको बगैंचामा रहेको पीपलको वृक्षमुनि बस्न सुझाए । राजा बगैंचामा गए तर रुखमुनि बसेनन्, ओहोरदोहोर गरिरहे ।

साँझपख गोधुलीमा ऋषि आश्रममा फर्किए । शिष्यले बगैंचामा ओहोरदोहोर गरिरहेको मानिसलाई देखाउँदै 'ती व्यक्ति हजुरलाई भेट्न आएका हुन् तर पिंढीमा आसन दिंदा त्यहाँ बस्न सकेनन्, मुढामा पनि बस्न सकेनन्, रुखमुनि समेत बस्न सकेनन् । हेर्दा विशिष्ट मानिस जस्तै देखिने ती व्यक्ति को हुन्?' भनी ऋषिलाई सोधे । ऋषिले ती व्यक्तिलाई चिनिहाले । उनले भने, ''ती व्यक्ति अरु कोही नभएर हाम्रो देशका राजा हुन् । राजा सुहाउँदो सिंहासन हाम्रो कुटीमा नभएको हुँदा उनी कहीं बस्न नसकेका हुन् ।''

मन राजा हो 

माथिको प्रतीकात्मक कथामा राजा मानिसको मन हो । हामी सबै मनका राजा हौं । एक कुरुप व्यक्तिले पनि आफूलाई सुन्दर देखिरहेको हुन्छ, एउटा बुद्धूले पनि आफूलाई बुद्धिमान मनिरहेको हुन्छ, एक पतित व्यक्तिले पनि आफूलाई पावन ठानिरहेको हुन्छ । किनभने 'राम्रो म' सबैको हृदयमा हुन्छ । भौतिक अणुको शक्ति बिस्फोट हुँदा शहर ध्वस्त हुन सक्छन्, अणुको शक्तिको तुलनामा मनको शक्ति विशाल हुन्छ । मन चेतनाको निकटतम हुन्छ र त्यसैबाट यसले शक्ति प्राप्त गर्छ । चेतना त्यो तत्त्व हो जसले आनन्दातिरेक भएका बेला विश्व ब्रह्माण्ड सृष्टि गर्न सक्छ ।

भगवान् बुद्ध भन्नुहुन्थ्यो ''प्रभास्वरमिदं चित्तं प्रकृत्यागन्तवो मलाः । तेषामपाये सर्वार्थं तज्ज्योतिरविनश्वरम् ।'' अर्थात्, मानिसको चित्त सर्वदा प्रकाशवान् हुन्छ । प्रकाशले उज्यालो दिन्छ, प्रकाशले विषय र वस्तुहरुको ज्ञान गराउँछ, प्रकाशले नै सुख, शान्ति र न्यानोपन दिन्छ । यस्तो प्रकाश मानिसको मनमा जन्मजात रहेको छ, अविनाशी रुपले रहेको छ । भोगविलासको वासना, द्वेषभाव र मोह विमूढता जस्ता क्लेशहरु बाहिरबाट मनमा भरिएका हुन् । यी आगन्तुक क्लेशहरु मनबाट बढारिदिनु र हरपल सजग रहेर पुनः प्रवेश गर्न खोज्ने क्लेशहरुलाई मनमा पस्न नदिनु नै ध्यान हो । 

हाम्रो मन यदि स्थिर छैन, याहाँ-त्यहाँ भौंतारिइरहेको छ भने बुझ्नुपर्छ मनको शाही गरिमालाई सुहाउँदो आसन फेला परेको छैन । अस्थिर मन पाँच इन्द्रिय जन्य सुखमा आसक्त भइरहन्छ, पद-प्रतिष्ठाको लोभमा दौडिरहन्छ या भविष्यमा आर्थिक-सामाजिक सुरक्षाको चिन्तना गरिरहन्छ । आहार, निद्रा र सम्भोगको आतुरता पशु र मानिसमा उस्तै हुन्छन् । पशुमा नहुने र मानिसमा हुने गुण विवेक हो । चाणक्यले भनेका छन्, 'विवेक नभएको मानिस र पशुमा केही अन्तर हुँदैन ।'

विवेक त्यही गुण हो जसले गर्दा मानिसले मनलाई नियन्त्रण गर्न सक्छ । मेरा लागि कुन कुराको महत्त्व कति हो, कुन विषयवस्तुलाई कति समय र एटेन्सन दिने भन्ने निर्क्यौल गर्ने विवेकले हो । विवेक नभएको मानिसको मन लगाम नभएको घोडा जस्तै जता पनि दौडने हुन्छ ।

चञ्‍चलं हि मनः 

गीतामा कृष्णलाई अर्जुनले मन चञ्‍चल भइरहेको र त्यसलाई वशमा राख्‍न नसकेको गुनासो गरेका थिए । उपनिषद्‌हरुमा पनि मनलाई कसरी नियन्त्रणमा राख्ने भनी ऋषिहरुले मन्थन गरेका छन् । माण्डुक्यकारिकामा 'मनलाई वशमा राख्‍न अत्यावश्यक छ र त्यसो गर्नका लागि हातले हातलाई अँठ्याएर हुन्छ वा दाँतले दाँत च्यापेर हुन्छ या एक अंगले अर्को अंगलाई आक्रमण गरेर हुन्छ, मनलाई वशमा राख्‍नु' भनेको पाइन्छ । मनुस्मृतिमा मनुले भनेका छन्, सर्वं परवशं दुःखं, सर्वं आत्मवशं सुखम् ।  पराधीनता सबभन्दा ठूलो दुःख हो, स्वाधीनता सर्वोत्तम सुख हो । मनको गुलाम भइदिनु सबभन्दा ठूलो पराधीनता हो, मनलाई वशमा राख्‍नु सबभन्दा ठूलो स्वाधीनता हो । 

बुद्धले भन्नुभएको छ, 'जंगली मत्ता हात्तीले जति विनाश गर्छ त्यो भन्दा अधिक वशमा नरहेको मनले मानिसको  जीवन विनाश गरिदिन्छ । मनकै कारणले सबै कर्म हुन्छन्, मन वशमा छ भने शुभ कर्म हुन्छन् र सुख साथसाथ आउँछ, मन बहकिएको छ भने अवाञ्‍छित कर्म हुन्छन् र दुःख साथसाथ आउँछ ।'

अध्यात्म भनेको जीवनमा मूर्ख नहुनु हो, हिन्दूहरुले भनेजस्तो परमात्माको खोजी धेरै पछिको कुरा हो । क्षणभरको सुखका निम्ति अमूल्य जीवनको ऊर्जाशील समय नष्ट गर्नुभन्दा मूर्खता अर्थोक हुन सक्दैन । यसले के प्रष्ट पार्छ भने मानिसलाई जीवनको गरिमा पत्तै छैन । जीवन दुई कौडीको वस्तु भइदिएपछि मानिस आफ्नै जीवनसँग खेलवाड गर्न अघि सर्छ ।

कुनै उदात्त विचार या व्यक्तिले मानिसलाई उत्प्रेरित गर्दैन भने बुद्धत्त्वको खबर उसको कानसम्म पुगेकै रहेनछ भन्ने बुझिन्छ । मानिस हुनु चेतनाको एक संक्रमणकालीन अवस्था हो । संक्रमणकालमा चेतनाको विकास गर्न सकेमा मनिसमा दिव्य गुण प्रकट हुन सक्छन्, चेतना अधोगामी भयो, इन्द्रियको सुखमा लिप्त भयो भने पशुतातिर अधोगमन हुन थाल्छ ।  

वासना र तिनको संस्कारले हरदम मानिसलाई तानिरहन्छ, खिचिरहन्छ । वासनाले बोलाएको सुनेर पछि फर्केर तिनै मानिसले हेर्छन् जसलाई कहीं पुग्‍नु छैन । जो व्यक्ति व्यर्थ टहलिरहेको छ, ऊ पछि फर्केर हेर्छ । जो व्यक्ति कुनै महत्त्वपूर्ण कामका लागि हिंडेको छ उसलाई पछि फर्केर हेर्ने फुर्सद हुँदैन । अतः जीवनका पलपलमा मनलाई उच्‍चभन्दा उच्‍च सोच, विचार र कार्यमा लगाइरहनु आवश्यक हुन्छ । जो खाली छ ऊ निश्चय नै वासनाको चंगुलमा फस्छ । विराट लक्ष्य मानिसको जीवनमा छैन भने छुद्रताले मानिसलाई हमेशा परेशान बनाउँछ ।

वेदका ऋचाहरुमा 'तन्मे मनः शिवसंकल्पमस्तु' अर्थात् मेरो मनमा हरपल शुभ संकल्पहरु आइरहून्, मेरो मन कल्याणका विचारहरुले आपूरित रहोस् भनिएको पाइन्छ । कुनै समय दैनिक वेदपाठ गर्नु सर्वाधिक पवित्र कार्य मानिन्थ्यो । मनमा पवित्र, उच्च विचारहरुले स्थान पाऊन्, तुच्छ विचारहरुलाई स्थान नहोस् भन्ने वेदपाठको आशय थियो । त्यो बेला मानिसको मनमा रामको बास थियो । त्यो संस्कृति लोप भयो । अहिले मानिसको मनमा कामको बास छ । मनमा राम छैन भने काम अवश्य छ, किनभने मन खाली रहन असम्भव छ ।

विराट लक्ष्यमा मन लगाउनुको मस्ती शब्दातीत हुन्छ, बोधिचित्त उत्पाद हुनु मात्र पनि मोक्षसुख समान हुन्छ । क्षुद्र सुखान्वेशीलाई त्यो भोग्‍न पाउनु पनि दुःखदायी हुन्छ, विराट सुख खोज्दा त्यो भोग्‍न नपाउनु पनि सुखदायी हुन्छ । वासना पूरा गर्न सफल भए पनि जीवनमा असफलताको गन्ध आउँछ, वृहत्तर लक्ष्यमा हार भए पनि जीतको आनन्द हुन्छ । मैले आफ्नो समय र ऊर्जा उच्‍चतर लक्ष्य पाउन खर्च गरें भन्ने भाव परम तृप्तिदायक हुन्छ । विशाल हृदय हुने सिद्धार्थजस्तो व्यक्ति विराट लक्ष्यका लागि परिवार, दरबार र राज्यसत्ता समेत त्याग गर्न सक्छ, साँघुरो मन हुने क्षणिक सुखासक्त व्यक्तिलाई झुपडी छोड्न पनि मुस्किल हुन्छ ।

छोक्न्यी रिन्पोचेले वर्क हार्ड इन राइट डिरेक्सन, बट लर्न टु रिल्याक्स अर्थात् सही काममा पसिना बगाउनुस् तर मन नआत्तियोस्, मनलाई आराम भइरहोस् भन्नुभएको थियो । पसिना बगिरहोस् तर मनमा आराम भइरहोस् यो अवस्था त्यतिखेर सम्भव हुन्छ जब हामी कुनै वृहत्तर लक्ष्य प्राप्तिमा तल्लीन हुन्छौं ।

netra.acharya@gmail.com