सौन्दर्य चेतना

Netra Acharya

नेत्र आचार्य

कालीको नृत्य

देवीको अस्त्र प्रहारले घायल भएको रक्तबीजले रगतबाट आफूलाई ‘क्लोनिङ’ गर्दै लाखौं डुप्लिकेट पैदा गर्यो । ती सबै रक्तबीजहरू तत्काल हतियार लिएर नवदुर्गासँग लड्न थाले । स्थिति नियन्त्रणबाहिर जान लागेको देखेर दुर्गाले आफ्नो शिरबाट एउटा केश थुतेर भुइँमा पछारिन् जसबाट काली पैदा भइन् । यी भयानक देवीले घाइते रक्तबीजको शरीरको सबै रगत चुसिदिइन्, एक थोपा भुइँमा खस्न दिइनन् । पैदा भइसकेका रक्तबीजहरूलाई आफ्नो विकराल मुखमा हाल्दै चपाउन थालिन् । अन्ततः रक्तबीजको प्राणान्त भयो । विजयको उन्मादमा अर्धनग्न काली रणभूमिमा ढलेका लासहरूमाथि नाच्न थालिन् । कैयौं दिनसम्म कालीको नृत्य रोकिएन । शिवजी स्वयं त्यहाँ आइपुगे र लासहरूको बीचमा सुते । उन्मत्त काली अचानक भगवान् शिवको छातीमा टेक्न पुगिन् । अपराधबोधले गर्दा उनले जिब्रो टोकिन् र शान्त भइन् ।

काली शब्दको व्युत्पत्ति काल अर्थात् समय जसले सबैलाई निलिदिन्छ । जसरी सबै रंगहरू कालोमा विलीन हुन्छन्, सबै सृष्टि कालीमा समाप्त हुन्छ । कालीजस्तो विकराल र गौरीजस्तो सौम्य रूप धारण गर्न सक्ने दुर्गा । प्रायः ध्यानमै डुबिराख्ने शिवजीलाई कामोत्तेजक भावभंगिमाको प्रदर्शनद्वारा आँखा खोलाउने र सृष्टि चालु राख्ने दुर्गा । दुर्गाको मिथले सृजना, जीवन र मृत्युका बारेमा जेजति बोल्न सक्छ त्यति सायदै अन्य कुनै मिथले बोल्ला । हिन्दूहरूकी आद्य शक्ति दुर्गाको एक स्वरूप कालीलाई चित्रण गरिएको एउटा कलाकृतिले साताभरी सौन्दर्य पारखीमाझ चर्चा पायो । आफ्नै गौरवमय अतीत बिर्सेको पुस्तामा रहस्यमयी कालीको बारेमा जान्ने जिज्ञासा पैदा गरेको भए छापामा आएको चर्चा सार्थक भन्नुपर्छ ।

‘केश राशि छरिँदो नितम्बमा हारतुल्य नर–मुण्ड वक्षमा

हातका लहर टम्म मेखला शेष अंग जति छन् सबै खुला ।’

नृत्यरत कालीको सौन्दर्य एक कविले रथोद्धता छन्दमा यसरी चित्रण गरे । सौन्दर्य चेतना मिथकीय युगदेखि नै विकसित हुँदै आएको हो । पाषाण युगमा पनि मानिस सौन्दर्यको पारखी थियो । गुफाका भित्ताहरूमा चित्र बनाइन्थ्यो,   छालाको संयोगबाट बनेको खैंजडी बजाइन्थ्यो । ठूलो शिकार मार्दा गुफाको आँगनमा भव्य नाचगान हुन्थ्यो । अनेक देवीद्यौताको परिकल्पना र मिथक सृजनाको सायद त्यही बेला सूत्रपात भयो । वैज्ञानिक खोजबाट सावित भएको छ, मानिसमामात्रै होइन, हरेक प्राणीमा सौन्दर्य चेतना हुन्छ । केवल एक कोषीय जीवमा सौन्दर्य चेतना हुँदैन । किनकि, एक कोषीय जीवमा सौन्दर्य चेतनाका लागि अपरिहार्य तत्व अर्थात् सामाजिकताको भावना हुँदैन ।

के हो त सौन्दर्य चेतना ? भारतीय विद्वान् रामचन्द्र शुक्ल सौन्दर्य चेतनाबारे भन्छन् - ‘कुनै रूप–रंगका वस्तुहरू यस्ता हुन्छन् जुन हाम्रो मनमा आउँदा केही समयका लागि हाम्रो अस्तित्वमाथि यस्तो अधिकार जमाइदिन्छन् कि त्यसको ज्ञान नै विलीन हुन्छ र हामी ती वस्तुहरूको भावनाको रूपमा परिणत हुन जान्छौं । हाम्रो अन्तस्सत्ताको यही तदाकार परिणति सौन्दर्यको अनुभूति हो ।’ साहित्य, संगीत वा कलाले पाठक, श्रोता वा दर्शकलाई सौन्दर्यसँग एकाकार अनुभूति गराइदिनु नै सौन्दर्य बोध हो ।

सौन्दर्यशास्त्र

सौन्दर्यशास्त्रमा कलात्मक कृति, रचना आदिद्वारा अभिव्यक्त हुने अथवा तिनमा निहित सौन्दर्यको तात्विक, दार्शनिक र मार्मिक विवेचन, विश्लेषण हुन्छ । कुनै सुन्दर वस्तु देख्दा हाम्रो मनमा जुन आनन्ददायिनी अनुभूति हुन्छ उसको स्वभाव र स्वरूपको विवेचन तथा जीवनका विविध अनुभूतिहरूसँग त्यसको समन्वय गर्नु सौन्दर्य शास्त्रको उद्देश्य रहन्छ । यद्यपि शास्त्रज्ञहरू ज्ञानको गर्मीले यति सन्तप्त हुन्छन् वास्तविक जीवनमा त्यसको अनुशीलन वा अभ्यास गौण भइदिन्छ । 

कुनै पनि क्रिया वा विचारलाई झन् राम्रो तरिकाले गर्ने, सोच्ने प्रवृत्ति मानिसको सौन्दर्यबोधले तय गर्छ । एक समुचित र उच्चतर सौन्दर्यबोधको विकास अथवा निर्माण हामीद्वारा हुने प्रत्येक क्रिया एवं व्यवहारलाई सचेत, नियन्त्रित र निर्देशित गर्छ । सुन्दरताको अनुभूति, सौन्दर्यका आदर्श र मानकहरूको समझ, हर वस्तु, क्रिया एवं विचारहरूका ती मानकहरूसँग तुलनात्मक विश्लेषण, सुन्दर र असुन्दरको बीच तार्किक विभेद स्थापित गर्न सक्ने योग्यताले स्वयं एवं समाजलाई परिष्कार गर्छ, हितकारी र चित्ताकर्षक बनाउँछ ।

कसैले सुगम संगीतमा आनन्द फेला पार्छ, कोही शास्त्रीय संगीतको आरोह–अवरोहमा डुबुल्की मार्न चाहन्छ, कोही नृत्यांगनाको भावभंगिमामा । कसैलाई विचारोत्तेजक शब्दहरू, सिद्धान्तहरूको संयोजनमा रुचि हुन्छ । कसैलाई प्रेयसीको आँखा रमणीय लाग्छ, कसैले अर्थोकैमा सौन्दर्य देख्छ । तर सौन्दर्य चेतना हरेकको अन्तस्करणमा विद्यमान हुन्छ । भलै कसैलाई सुरतालको धेरै ज्ञान नहोस्, परन्तु बेसुरो संगीत उसले पत्तो पाइहाल्छ । नृत्यका हाउभाउहरूको ज्ञान नभए पनि भंगिमा वा ताल गडबड भयो भने थाहा भइहाल्छ । भद्दा चित्र रहेछ भन्ने जान्न कलाकारै हुनु पर्दैन, हेर्दै थाहाहुन्छ । जीवनको यही लय सबै थोक हो जुन विशृङ्खलित भयो भने अन्तर्मनको अनुभूतिले तत्काल फेला पार्छ । यही हो सौन्दर्यबोध । कला सृजना गर्दा कलाकारलाई उति हेक्का हुँदैन, उसले सम्पन्न गरिरहेको कलाकर्मप्रति । यद्यपि श्रोता वा दर्शकले कलाकृतिमा उसको निर्वैयक्तिक बौद्धिकता पहिचान गरिहाल्छन् । सौन्दर्य बोध मानिसको न्यूनतम गुणवत्ता हो र यसको अभावमा मानिस मानिसलायक रहन्न भन्छन् भर्तृहरि –

साहित्य संगीत कलाविहीनः साक्षात् पशु पुच्छविषाण हीनः ।

तृणन्न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशूनाम् ।।

‘साहित्य, संगीत र कला विहीन मानिस पुच्छर र सिंग नभएको साक्षात् चौपाया हो । त्यस्ताले घाँस नखाइदिनु पशुहरूका निम्ति सौभाग्यको कुरा हो ।’ यद्यपि पूर्वीय मिथक भन्छन् बाँदर र ढुंगामा पनि सौन्दर्यचेतना हुन्छ । हनुमानको गायनकौशलबारे अद्भुत रामायणको मिथ –

चट्टान पगाल्ने संगीत

एक पटक हनुमान र नारद दुई भक्तहरूको भेट भएछ । भलाकुसारीपछि हनुमानले नारदलाई कुनै भक्ति संगीत सुनाए । संगीत यति मधुर थियो त्यो सुनेर चट्टान समेत पग्लियो र नारदले त्यहाँ राखेको वीणा पग्लिएको चट्टानमा गाडियो । हनुमानले संगीत सुनाइसकेपछि चट्टान फेरि कडा भयो । नारदले आफ्नो वीणा झिक्न सकेनन् । तब हनुमानले भने, ‘अब तपाइँ कुनै संगीत सुनाउनुहोस् । चट्टान फेरि पग्लिनेछ र वीणा झिक्न सजिलो हुनेछ । नारदले गाउन सुरु गरे । तर जति कोसिस गरे पनि चट्टान पग्लिएन । हनुमानले फेरि गीत गाए र चट्टान पगाले । तब नारदले वीणा झिके ।

सौन्दर्य वस्तुमा हुन्छ कि द्रष्टाको चेतनामा ? शेक्सपियरको  प्रसिद्ध भनाइ छ, ‘ब्युटी लाइज इन द आइज अफ द बिहोल्डर’ सौन्दर्य द्रष्टाको आँखामा हुन्छ ।

मजनूको आँखा

शेक्सपियरले सायद लैला र मजनूको प्रेम कथा सुनेका थिए । लैलाको प्रेममा डुबेको मजनूलाई राजाले सोधे, ‘‘तँ पागल त भइनस् । लैला कुनै सर्वसुन्दरी त हैन, साधारण केटी हो । काली–कलौटी । तेरा लागि एकसे एक रूपसी युवतीहरू लाइन लगाइदिन्छु । लैलालाई बिर्सिदे । हिँड् राजमहल ।’ मजनूले हाँस्दै भन्यो, ‘सायद तपाइँलाई थाहा छैन, लैलाको सौन्दर्य देख्न मजनूको आँखाले हेर्नुपर्छ ।’ ‘तेरो आँखाले म कसरी हेरुँ ?’ राजा विस्मयको भावमा झर्किए । ‘‘त्यसो भए तपाइँ लैलालाई देख्न सक्नुहुन्न, लैलालाई देख्न मजनूको आँखा चाहिन्छ’ यति भन्दै मजनूले फेरि आँखा बन्द गर्यो । 

तर कालिदासले सौन्दर्य वस्तुमा हुन्छ भने । नत्र, हिलो र लेउ लागेको कमल नराम्रो लाग्नुपर्ने, रुखका पात र बोक्रा पहिरेकी शकुन्तला नराम्री देखिनुपर्ने । माधव घिमिरेले दुर्लभतामा सौन्दर्य देखे ः ‘गोरी चुलीको शिर रम्य हुन्छ । नपाइने जो उति रम्य हुन्छ । हस्तिनापुरको होस् वा ट्रोयको, युद्धको कथन रमणीय हुन्छ । इलियाड, ओडिसी र महाभारतका युद्धहरू पढ्दा सनसनीपूर्ण लाग्छन् तर ती लडाइँमा सहभागी हुनेलाई सायदै त्यो प्रिय हुँदो हो ।

सूर्योदय, मन परेका पति–पत्नी र असल मित्र दिनदिनै रमणीय एवं आनन्ददायी लाग्छन् । सिंगारिएका वेश्या पनि लोभलाग्दा देखिन्छन् तर अलिक टाढैबाट हेर्दा मात्र । जति निकटता बढ्यो उति सौन्दर्य तिरोहित हुन थाल्छ । सौन्दर्य खास केमा हुन्छ त ? महाकवि माघले भने, क्षणे क्षणे यन्नवतां उपैति तदेव रूपं रमणीयताया, जो हर क्षण नवीन लाग्छ, त्यो रमणीय हुन्छ । कलामा दृश्य वा अदृश्य संगति हुन्छ । यसै कारण कला चित्ताकर्षक हुन्छ, कलाले जागरण ल्याउँछ । माछापुछ«ेलाई हेरिरहँदा सुन्दर नदेखिन सक्छ । तर त्यसमा एकातिरबाट बादल घेरियो र अर्कोतर्फबाट साँझको सूर्यको किरण पर्यो भने मनोरम देखिन्छ । कलाकारले पनि त्यही गर्ने हो, भइरहेको वस्तुलाई नूतन ढंगले प्रस्तुति । मानिसलाई नयाँ, अनौठो र सोच्दै नसोचेको विषय वा दृश्यको प्रस्तुतिले तत्क्षण स्पर्श गर्छ, प्रभावित पार्छ ।

सौन्दर्य कलाको मुख्य घटक हो । हरेक कलाले सौन्दर्यको उच्चतम स्वरूप पक्रने प्रयत्न गरेको हुन्छ । साहित्य सर्जक, संगीतकार वा कलाकार आफू बाँचेको कालखण्डप्रति सचेत हुन्छ । संवेदनाशीलता कलाकारमा सृष्टिलाई अझ सिंगार्ने र जीवनलाई अझै आनन्ददायी बनाउने चेष्टा हुन्छ । सौन्दर्यबोध संवेदनशील हृदयसँग सम्बन्धित हुन्छ । भनिन्छ, संवेदनशीलता जीवन हो, संवेदनाहीनता मृत्यु । अहिल्याको कथा पढेर मनमा एउटा कौतुहल उठ्छ, एउटी जिउँदी सुन्दरी कसरी ढुंगामा परिणत भई होला । त्यो श्राप कस्तो हुँदो हो जसले हेर्दाहेर्दै शरीरका धमनी र शिराहरूमा बगिरहेको तात्तातो रगतलाई तत्क्षण जमाइदिन सक्थ्यो । जीवनका चानचुन तीन दशक बिताएपछि एउटा संवेदशील मानिसले धेरथोर आफ्नै अनुभूतिले जान्न थाल्छ ः संवेदनाहीन, पाखण्डी र निश्लोट प्राणधारीहरूको साथसंगतले कहिले विस्तारै र कहिले एक्कासि मानवीय सम्बन्धहरूको उष्ण तरलतालाई जमाइदिन सक्दोरहेछ भनेर ।

वर्तमानको सौन्दर्य

सौन्दर्यसँग आनन्द अभिन्न रूपले संयुक्त हुन्छ । यससम्बन्धी पश्चिमा परिभाषा मननीय छन् । शिलर भन्छन् सौन्दर्यको परख मानवीय बुद्धिविवेक र भावना दुवै पक्षको सर्वाधिक सुसंगत एकत्व हो । ओस्कार वाइल्डले भने, सौन्दर्य जीवनका रहस्यहरूको खोजी हो । उत्तरआधुनिक सौन्दर्य शास्त्रीहरूले सब्लाइम अर्थात् उदात्त सौन्दर्यको चर्चा गर्छन् । ल्योटार्ड भन्छन्, ‘उदात्त कलाकृतिले देख्नै नसकिने बनाएर बल्ल हामीलाई देखाउँछ, पीडा जगाएर मात्रै प्लिजर अर्थात् आनन्दानुभूति गराउँछ ।’ उत्तरआधुनिक सौन्दर्यशास्त्रीहरूको सब्लाइम अनुभूतिले बुद्धत्वको जीवन पद्धति अर्थात् वर्तमानमा बाँच्ने कलालाई पछ्याएजस्तो देखिन्छ ।

जीवनका सुख–दुख र तमाम रहस्यहरूप्रति बुद्धको संवेदशीलता अवर्णनीय थियो । उनी तपस्याबाट गुज्रिए र हरेक निमेषमा बाँच्ने कौशल सिके, वर्तमानमा रहेर देशदुनियालाई अवलोकन गर्ने क्षमता हासिल गरे । बुद्धको आँखाले हेर्दा सर्वत्र सौन्दर्य व्याप्त छ । यस्तो लाग्छ, मुडुलो टाउको, चिवरको सप्को र भिक्षा पात्र धारीलाई कति नै सौन्दर्यबोध हुँदो हो ? यद्यपि निमेष–निमेषमा बाँच्न अभ्यस्त बुद्धका कुरा सुन्दा भने सब्लाइम अनुभूति हुन्छ ः तिमी वीणा बजाइहेका छौ, नाचिरहेका छौ वा क्यानभासमा कलाकृति जन्माइरहेका छौ भने पनि तिम्रो मन सायदै तिम्रो साथमा होला । मनको स्वभाव या त विगतको लास बोक्ने या भविष्यको कल्पनामा हराउने खालको हुन्छ । वीणा बजाउँदा तिमीलाई औंलाहरूको होश हुँदैन, नाच्दा पाउहरूको ख्याल हुँदैन, चित्र कोर्दा तिमी त्यसबाट आउने प्रसिद्धिको लेखाजोखा गरिरहेका हुनसक्छौ । यो बेहोसीमा सौन्दर्यबोध कहाँ ? सौन्दर्यबोधका लागि सर्वप्रथम त वर्तमानमा उपस्थिति अनिवार्य छ । वर्तमान क्षणमा यो वा त्यो वस्तुको अपेक्षा या आग्रह पलाइनसक्ने हुँदा मनमस्तिष्क स्वच्छ र निर्भार हुन्छ । तब हरेक आवाज संगीतमय सुनिन्छ, हरेक वस्तुमा सौन्दर्य टल्किन्छ, हरेक व्यक्तिमा देवत्व झल्किन्छ । ११ कात्तिक २०६९ मा नागरिक दैनिकमा प्रकाशित आलेख  netra.acharya@gmail.com