स्त्री बुद्ध

Netra Acharya 2019-04-07 | Gautam Buddha Sandesh

मैले व्यक्ति वा वस्तु हेर्दिन आफैंलाई हेर्छु ,

म अनन्त अनादि प्रज्ञा हूँ ,

यही मेरो वास्तविक शाश्वत स्वरुप हो

यो अद्वय ज्ञानको आनन्द अपार छ ।





बुद्ध दर्शनमा स्त्री बुद्धको अवधारणा नयाँ होइन । पालि ग्रन्थहरुमै स्त्री बुद्धका कथा प्रसंगहरु यथेष्ट पाइन्छन् । बुद्ध दर्शनको पछिल्लो विकासका रुपमा आएको महायान वज्रयानमा वज्रयोगिनी तारा लगायत स्त्री बुद्धका अगणित प्रसंगहरु उपलब्ध छन् । स्त्री पुरुषको सह साधनाबाट यथाशीघ्र मुक्ति प्राप्त गर्न सकिने विधि र पद्धतिहरु विकसित भएका छन् । 

बुद्ध जन्मेको देश नेपालमा भने स्त्रीहरुमा बुद्धत्वको प्यास विरलै देख्न पाइन्छ । स्त्रीहरु स्वभावैले भाव प्रधान हुन्छन् । उनीहरुले अक्सर रागकै तानाबाना बुनिरहेको देख्न पाइन्छ । तर त्यही रागलाई बुद्धिमत्तापूर्वक उपयोग गर्ने हो भने रागबाट सदाका लागि मुक्ति सम्भव हुन्छ । 

जसरी गोडामा बिझेको काँडालाई काँडाले नै निकाल्न सकिन्छ उसैगरी मनमा भएको राग हटाउन रागकै उपयोग गर्न सकिन्छ । वज्रयानमा यही रहस्य सुझाइएको छ रागेणैवोद्धरेत् रागं कण्टकेनैव कण्टकम् । यो आलेखमा स्त्री बुद्धका प्रसंगहरु उल्लेख गर्दैै कसरी रागले रागलाई पन्छाउन सकिन्छ र मुक्तिको सुख प्राप्त गर्न सकिन्छ भन्ने चर्चा गरिने छ । 

पालि ग्रन्थहरुमा पटाचारा समावती खेमा प्रजापति गौतमी लगायत कैयौं स्त्रीहरुले अर्हत् पद प्राप्त गरेको उल्लेख पाइन्छ । बुद्धको सत्संगमा बस्दाबस्दै उनको चित्त शुद्ध भइसकेको थियो ,विपश्यना लागिसकेको थियो ।

एक दिन गोडा पखालेको पानी बगेर गएको देखेर पटाचारालाई अनित्य दुःख र अनात्म बोध भयो । उनी दुःखमुक्त भइन् । उनले बुद्धका शिक्षा जनजनमा फैलाउने क्रममा दुःखिया स्त्रीहरुलाई सम्झाउँदै भनेकी थिइन् सात समुद्रहरुमा त्यति पानी नहोला जति हामी स्त्रीहरुका आँखाबाट आँसु बगेको छ । हामीले भोगेको संसारको दुःख पीडा रोदन बताइसाध्य छैन । ओ स्त्रीहरु ,तिमीहरुमा अझ होस आउँदैन अझ पनि तिमीहरुको मनमा मुक्तिको प्यास जाग्दैन ?

खेमा अर्हत् पद प्राप्त गर्ने अर्की स्त्री थिइन् । उनी औधी सुन्दर थिइन् शरीरको रंग नम्बरी सुन जस्तो चम्किलो थियो । उनी कोशल जनपदका राजा बिम्बिसारकी मन परेकी रानी थिइन् । जुन दिन बुद्धको शिक्षा सुन्न पाइन् त्यसै दिन उनले धर्मको पथ रोजिन् । सारा भोगविलासको व्यर्थता पत्तो पाउन उनलाई क्षणभर समय लागेन ।  उनले भनेकी थिइन् मलाई यो रोगी क्षणभंगुर र बास आउने शरीरको मजा लिन सरम लाग्छ । मैले तृष्णलाई जरै समेत उखेलेकी छु । बुद्धले उनलाई अर्हत् श्राविकामध्ये ज्ञानमा अग्र घोषित गर्नुभएको थियो । 

मुक्तिको आनन्द हरेक स्त्री बुद्धले फरक प्रकारले व्यक्त गरेका छन् । कतिपयका लागि पारिवारिक बन्धन र जन्जालबाट छुटकारा पाउनु नै मुक्ति थियो । भिक्षुणी सुमंगलाले भनेकी छिन् — अहो म मुक्त नारी हूँ । मेरो मुक्ति कति उदात्त छ  !म पहिला रातोदिन ढिकीमा धान कुटिरहन्थें । आज त्यो टन्टाबाट छुटकारा पाएकी छु । घरको गरिबीका कारण म साना साना भाँडाकुँडा स्याहारेर मैली धैली भएर बसिरहेकी हुन्थें । मेरो निर्लज्ज पति मलाई उसले जीविकाको लागि बनाउने छाताहरु भन्दा पनि तुच्छ सम्झन्थ्यो । 

यसैगरी भिक्षुणी मित्राले आफ्नो पूर्वजीवनप्रति चिन्तन गर्दै भनेकी छिन् — म हरेक चतुर्दशी र पूर्णिमा अनि अष्टमीमा समेत व्रत बस्थें । किन किनभने म सोच्थें मृत्युपश्चात् स्वर्गमा पुग्नेछु ,देवयोनी प्राप्त गरेर स्वर्गीय सुख प्राप्त गर्नेछु । त्यही म आज दिनमा केवल एक छाक भोजन गर्ने ,टाउको मुण्डन गरेकी र गेरुवा वस्त्र पहिरेकी छु । आज मलाई देवयोनीको कामना छैन । स्वर्गमा बास गर्ने अभिलाषा छैन । कारण मैले मनका चिन्ताहरुलाई नै समूल नष्ट गरिसकेकी छु । अभिलाषाहरुलाई नै टाढा फ्याँकेर हलुका भई बसेकी छु । आफूभित्रको बुद्धत्व फेला पारेकी छु । 

भगवान् बुद्धको शिक्षा विस्तार गर्न थेरीहरुले ठूलो योगदान गरेका थिए । महाप्रजापति गौतमीले भनेकी थिइन्  स्मृति—प्रस्थानको गौचरनमा विचरण गर्दै आफ्नो दीप आफैं बन । ध्यानको अभ्यासका क्रममा सात बोध्यंगहरुको भावना गरेरै तिमीले दुःखको अन्त गर्न सफल हुनेछौ ।



थेरीगाथामा कसरी स्त्रीहरु भिक्षुणी बने कसरी विपश्यना साधना गरे कसरी अर्हत् पद प्राप्त गरे र अरुको कल्याणका समर्पित भए भन्ने कैयौं उदाहरणहरु पाइन्छन् ।



यो बुद्धकालीन समयको साधना थियो । तत्कालीन समयमा भिक्षु वा भिक्षुणी बन्नु भनेको शील पालना गर्नु ब्रह्मचर्यमा बस्नु र ध्यानको अभ्यास गर्नु मुख्य साधना थियो । कालक्रममा साधनाको स्वरुपमा किञ्चित् परिवर्तन आइसकेको छ । यो रुपान्तरणलाई स्वाभाविक रुपमा स्वीकार गरिएको पाइन्छ । किनभने गति नवीनता र विकास प्रकृतिको स्वभाव नै हो । एउटा नदीले पनि कालक्रममा आफ्नो बग्ने बाटो परिवर्तन गरेको हुन्छ । धर्म जीवन्त अभ्यास हो । कालक्रममा धर्मले फरक मार्ग अपनाउनु अन्यथा हुन सक्दैन । लक्ष्य एकै हो भने मार्ग भिन्न हुनुले तात्विक फरक पार्दैैैन । भारतका केही प्रान्त नेपाल मण्डल र तिब्बतमा विकसित भएको महायान वज्रयानमा ब्रह्मचर्य गौण हुँदै गएको छ । स्त्री पुरुषबीच सह साधनाका अवधारणा विकसित भएका छन् । तर वज्रयानले बुद्धत्व प्राप्तिको लक्ष्य छोडेको छैन ।



तन्त्र ग्रन्थहरुमा आध्यात्मिक रुपले स्वतन्त्र र शक्तिशाली स्त्री बुद्धहरुको उल्लेख भएको पाइन्छ । ती स्त्री बुद्धहरुले साधकको मनमा अहोभाव पैदा गर्छन् श्रद्धायुक्त भय जगाउँछन् आफ्नो शरणमा आकर्षित गर्छन् र नतमस्तक बनाउँदै निरन्तर आदर सत्कारको अपेक्षा गर्छन् ।



तान्त्रिक साधनाले स्त्रीलाई बुद्धत्व प्राप्त गर्न सहज भएको संकेत गर्छ । तन्त्र भन्छ स्त्रीहरुले आफूभित्र निहित दिव्य स्त्रित्व फेला पार्नुपर्छ । यो कुराले स्त्रीमा आत्मसम्मान जगाउनुपर्छ ,आत्मविश्वास बढाउनुपर्छ र आफू हुनुको अनुभूतिप्रति एक प्रकारको दिव्य गौरव विकसित गर्नुपर्छ । यसले स्त्रीलाई तन्त्र साधनाको पथमा अभिप्रेरित गर्छ । किनभने तन्त्र भन्छ हरेक स्त्री महान् तान्त्रिक देवीहरुका साक्षात् प्रतिरुप नै हुन् । यथाशीघ्र यो रहस्य आत्मसात गर्नु र आफूमा स्त्री बुद्धका रुपमा आत्मसम्मान विकसित गर्नु हरेक स्त्रीका लागि अपेक्षित छ । तिनीहरु नै तन्त्र साधनाका लागि योग्य हुन्छन् तिनीहरु नै स्त्री बुद्ध बन्न सक्छन् ।



तन्त्र साधना स्त्री पुरुष साहचर्यमा फलित हुने हुँदा दुवैलाई एकअर्काप्रति अपार सम्मान जगाउन आवश्यक हुन्छ । खासगरी पुरुषलाई एउटी स्त्रीमा आमाको रुप देख्न सुझाइएको पाइन्छ । साधनामा हरेक स्त्रीप्रति आफ्नी आमाप्रति जस्तै आदरको अपेक्षा हुन्छ । सह साधना वासनापूर्तिको लागि होइन मुक्तिको लागि हो । तन्त्र साधना सम्यक् दृष्टिरुपी वाणले अज्ञानको पशु बध गरेर अद्वयभावको भोज गर्नु हो । साधना र साध्यको समुचित ज्ञान नभएको अवस्थामा तन्त्र अभ्यास अनपेक्षित दिशामा जान सक्छ ।



तन्त्र जति आकर्षक छ उति नै चुनौतीपूर्ण पनि छ । कुनै समयमा होस सम्हाल्नका लागि ब्रह्मचर्यको अभ्यास आवश्यक ठानिन्थ्यो । तन्त्रले पनि होसपूर्ण रहनै सुझाउँछ तर त्यस क्षणमा जतिखेर मानिसले होस गुमाउने खतरा अत्यधिक हुन्छ । चन्दमहारोसन तन्त्रमा भनिएको छ — बुद्ध आदेश दिनुहुन्छ तिमीले एउटी चित्ताकर्षक र उल्लासमय स्त्रीलाई अँगाल्नुपर्छ । जुन साधकले यो आदेश पालना गर्दैन त्यो मूर्ख हो उसले निर्वाण प्राप्त गर्न सक्दैन । तन्त्र साधनाको पथमा स्त्रीको साथ अत्यावश्यक हुन्छ भन्ने सुझाउँदै चन्दमहारोसन तन्त्रमा अगाडि भनिएको छ  --



यदि तिमीलाई बन्धन र मृत्यु भय छ भने पनि

त्यो भय सबै सहू

यो मार्गमा स्त्रीलाई साथ नलिई हुँदैन । 



तन्त्रले वासना तृष्णा र इन्द्रिय अनुभूतिलाई स्वाभाविक रुपले परिशुद्ध मान्छ । वास्तवमा तन्त्र शास्त्र तीव्र संवेगी भावुक आवेशप्रधान र जोशिला मानिसहरुको साधना पथका रुपमा गौरवान्वित छ । तन्त्र शास्त्र खतरामुक्त भने छैन किनकि वासना ती मानिसहरुका लागि अवरोध या अडचन बनिदिन्छ जसको मन र चित्त शुद्ध छैन । 



जहाँ स्त्री  (डाकिनी )हुन्छन् त्यहाँ 

आनन्द र चमत्कारी शक्ति हासिल हुन्छन्

तिमी त्यहीं बस्नुपर्छ मन्त्र पाठ गर्नुपर्छ

मिष्ठान्न भोजन गर्नुपर्छ र मनोविनोद गर्नुपर्छ ।



बौद्ध दर्शनको इतिहासमा यस्तो कालखण्ड पनि आयो जुन समयमा केही स्वनामधन्य गुरु वा रिन्पोछेहरुले स्त्रीहरु बुद्ध बन्न सक्दैनन् बुद्ध बन्नलाई अर्को जन्ममा पुरुष शरीरमा जन्मनुपर्छ भन्ने गलत सन्देश फैलाए । तन्त्र साधनाको नाममा स्त्रीहरुलाई उपभोग गर्ने शारीरिक शोषण गर्ने इत्यादि गलत अभ्यास पनि भए । तर बुद्धद्वारा प्रदर्शित धर्मको शक्तिले ती सबै गलत अभ्यास निरस्त हुँदै गए । बुद्ध स्वयंले भन्नुभएको छ — सत्ता बुद्धा एव अर्थात् सबै प्राणीमा बुद्धत्व नैसर्गिक रुपले विद्यमान हुन्छ ।  



हिन्दू आध्यात्मिक दर्शनमा समेत स्त्रीहरुको गुणगान पाइन्छ । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता । जहाँ जहाँ भोग छ त्यहाँ मोक्ष छैन जहाँ मोक्ष छ त्यहाँ भोग छैन । तर जो तन्त्रका साधक हुन् तिनका लागि भोग र मोक्ष एकसाथ हासिल हुन्छन् । श्री सुन्दरीसेवनतत्पराणां भोगश्च मोक्षश्च करस्थ एव । 



माथि नै भनियो भावनाको आधिक्य वेशी हुँदै जाँदा साधनाको स्वरुप फेरिनु स्वाभाविक नै हो । श्रावकयान अनुसार बुद्धत्वको साधना अद्यापि ब्रह्मचर्य अभ्यास शील पालना र विपश्यना मार्फत् नै हुन्छ । तीव्र संवेग हुनेहरुले तन्त्रको पथ रोज्नु स्वाभाविक हो । तर साँचो तान्त्रिक गुरुहरुले सुझाउने आधारभूत पद्धति ज्ञात हुनु अत्यावश्यक छ । तान्त्रिक गुरुहरु भन्छन् -तन्त्र साधकले पहिला बुद्धले बताउनुभएका पालि सूत्रहरु अध्ययन मनन गर्नुपर्छ तदनन्तर नागार्जुन शान्तिदेव आदि आचार्यहरु प्रणीत शास्त्रहरु अनुशीलन गर्नुपर्छ । तबमात्र तन्त्र साधनाको लागि साधकमा सैद्धान्तिक परिपक्वता आउँछ उसको मनमा अनुकूल भावभूमि तयार हुन्छ । तन्त्र धारिलो हतियार हो प्रयोग गर्न नजाने आफैलाई आघात गर्न सक्छ । 



पुरुष भोक्ता र स्त्री भोग्या ठानिने समाजमा तन्त्रको अभ्यास दुर्गति निम्त्याउने कारक हुन सक्छ । अतः पहिला सामाजिक र व्यक्तिगत मनोविज्ञान बदल्नु जरुरी छ । स्त्रीहरुले स्वयंलाई भोग्याको रुपमा होइन तान्त्रिक देवीहरुको प्रतिरुप देख्न थालून् भावप्रधान स्त्रीहरुले रागका तानाबाना बुन्न छाडेर त्यागका चिन्तन गर्न थालून् जीवन भोगका लागि होइन मुक्तिका लागि हो भन्ने यथार्थ हृदयंगम गरुन् आफूप्रति आत्मसम्मान जगाऊन् स्त्रीहरु बुद्ध नै हुन् बुद्ध नै बनेर तिमिराच्छन्न संसारलाई आलोकित गर्न सक्नेछन् । भगवान् बुद्धको सन्देश यही हो तर बत्तीमुनि अँध्यारो भनेजस्तै बुद्धको जन्मभूमिमै यो आलोक मधुरो भइसकेको छ । आशा गरौं बुद्धभूमिमा सहस्र स्त्री बुद्धहरु पैदा हुनेछन् र बुद्धत्वको आलोक जगाउनेछन् ।