हरपल शान्ति र आनन्द

Netra Acharya 2020-02-15 | https://www.nepalkhabar.com/opinion/19588-2020-02-15-11-38-37

नेत्र आचार्य

कसैले जीवनका रहस्यहरू असाधारण स्पष्टताका साथ बोलिरहेको छ भने त्यसलाई नसुनी रहनु सम्भव हुँदैन। सद्‌गुरु भनेर चिनिने आध्यात्मिक रहस्यदर्शी जग्गी वासुदेवले सुख–शान्तिमय जीवनका कतिपय प्रच्छन्न पहलुहरूलाई आम–मानिसले बुझ्ने भाषा र शैलीमा उजागर गरेका छन्।

सद्‌गुरुले आफ्ना अभिव्यक्तिहरूलाई ‘इनर इन्जिनियरिङ’ पदावली प्रयोग गर्छन्। उनी भन्छन्– जसरी बाहिरी सुख–सुविधा पैदा गर्नका लागि हामीसँग भौतिक विज्ञान छ, त्यसरी नै आन्तरिक सुख–शान्ति पैदा गर्नका लागि एक आन्तरिक विज्ञान छ। यसैलाई मैले इनर इन्जिनियरिङ नाम दिएको हो।

इनर इन्जिनियरिङलाई ‘ईशा योग प्रोग्राम’ पनि भन्ने गरिएको छ। यो प्रोग्रामले मानिसहरूलाई दिव्यताको अनुभूति गराउने र त्यस अनुभूतिलाई अरूले बुझ्ने गरी अभिव्यक्त गर्न उनीहरूलाई मद्दत गर्दछ।

सद्‌गुरु दावी गर्छन्, उनको प्रोग्रामले मानिसलाई चौबीसै घण्टा कुनै प्रकारको चिन्ता र तनाव रहित भई शान्त र आनन्दित भएर बिताउने युक्ति सिकाउँछ। सबैका जीवनमा आनन्द र खुशीका केही क्षणहरू अवश्य आउँछन्। तर चौबीसै घण्टा शान्त र आनन्दित हुने अवसर विरलै मानिसलाई मिल्छ।

एउटी युवती सर्वाङ्ग सजिएर बजार गइन्, उनको रुप राशिको सबैले प्रशंसा गरे। उनको खुशीको सीमै रहेन। तर घर फर्कंदा कसैले अलिकति आलोचना गरिदियो भने सारा खुशी तिरोहित हुन्छ। एउटा व्यक्तिले विद्वता भरिएको प्रवचन दियो। सबैले उसको तारीफ गरे। उसको खुशीले सीमा नाघ्यो। साँझमा कसैले उसको प्रवचनमा खोट देखाइदियो, उसको खुशी समाप्त भयो। यत्तिमै मानिस हतप्रभ हुन्छ।

विश्वविद्यालयमा पढेर उच्च शिक्षा लिएको मानिस पारिवारिक तनावका कारण बिथोलिन्छ। सुखदुःखका बेलामा न उसले अरुलाई ढाडस दिन सक्छ न स्वयं सम्हालिन सक्छ। हामीमध्ये अधिकांशका लागि जीवनका खुशीहरू यस्तै क्षणभङ्गुर हुन्छन्। अहिले छन्, अहिले छैनन्। मानिसको मनस्थितिको यो अस्वाभाविक उतार–चढावले उसको समस्त व्यक्तित्त्वमा प्रभाव पारेको हुन्छ। यसैका कारण मानिसको कार्यक्षमता ह्रास भइरहेको हुन्छ।

सद्‌गुरुका अनुसार शरीर र मन आनन्दित भएको अवस्थामा मानिसको कार्यक्षमता बढेर जान्छ। चौबीसै घण्टा आनन्दित रहन सक्ने हो भने मानिसको बौद्धिक क्षमतामा चार गुणा बढोत्तरी हुन्छ। अतः अविच्छिन्न शान्ति र आनन्दको अवस्थामा रहने क्षमता विकसित गर्नु व्यक्तिगत र सामाजिक सौहार्दताका लागि पनि प्राथमिक महत्त्वको विषय हो।

यस्तो शान्ति र आनन्दको अवस्था अवरोध गर्ने तगारो अरु केही नभएर कालक्रममा मानव समाजमा विकसित भएका मान्यता, रुढी, अन्धविश्वास र संकुचित अवधारणा हुन्। सद्‌गुरु यो स्थितिलाई सुझाउन एउटा प्रतीक कथा भन्ने गर्छन्– एउटी युवतीले राति सुतेको बेलामा सपना देखिरहेकी थिइन्। सपनामा एउटा युवक विस्तारै उनको नजिकै आयो। क्रमशः युवक यति नजिक आयो ती युवतीले युवकको स्वाप्रश्वास र शरीरको ताप आफ्नो अनुहारमा महसुस गर्न थालिन्, युवतीको शरीरमा एक प्रकारको कम्पन या रोमाञ्च पैदा भयो। युवती किञ्चित् डराइन्। ‘के गर्न आँटेको’ युवतीले सोधिन्। युवकले भन्यो– के गर्ने हो तिमी नै तय गर। यो तिम्रै सपना त हो।

यो प्रतीक कथाले मानिसका मनमा चलिरहने विचारहरू अरु कसैका नभएर उसका आफ्नै कल्पनाका तरङ्गहरू हुन् र ती विचार तरङ्गहरू उसकै अधीनमा हुनुपर्छ भन्ने सुझाउँछ। यद्यपि यस्तो भइरहेको हुँदैन। हाम्रो मनमा चलिरहने विचार र भावनाहरूमाथि हामीले नियन्त्रण गुमाइसकेका छौं। अनियन्त्रित सोचविचारहरु, इच्छा–आकांक्षाहरू, सपना–जपनाहरू र कल्पनाहरूका कारण हामी चिन्ता र तनावले ग्रस्त अवस्थामा छौं।

यो स्थितिले हाम्रो शरीर र मनको यन्त्र नियन्त्रणभन्दा बाहिर गएको दर्शाउँछ। हामीलाई शान्त र आनन्दित रहन सहयोग गर्नुपर्ने मनले हामीमाथि शासन गरिरहेको छ। मन नियन्त्रण बारे सद्‌गुरु भन्छन्– एउटा सुसंगठित मन कल्पवृक्ष समान मनोकामना पूरा गर्न सक्षम हुन्छ। शरीर र मनसँगै भावना र चेतनाको ऊर्जा एकै दिशामा केन्द्रित हुँदा हाम्रा हरेक चाहना अनायासै पूरा हुन्छन्, हामी चौबीसै घण्टा शान्ति र आनन्दको अवस्थामा रहन सक्छौं।

शरीर र मनको आफ्नै विज्ञान छ। शरीर र मनलाई साधना अर्थात् प्रशिक्षित गर्ने उपायहरू योगासन, प्राणायाम, ध्यान इत्यादि हुन्। योगाभ्यासले शरीर र मनले विकसित गरेको अस्वस्थकर आदतहरू हटाउँछ। यही अभ्यासले स्वस्थ एवं शुद्ध रहने बानी पनि बसाल्छ।

शरीर र मनलाई कति ऊर्जा आवश्यक पर्छ तदनुसार खानपिन, व्यायाम गर्ने र सामाजिक सम्बन्धहरू सुमधुर बनाइराख्ने जस्ता अति महत्त्वपूर्ण जीवनचर्या यथोचित रूपले अनुसरण गर्न योगाभ्यासले प्रेरित गर्छ। शरीरका सबै अङ्गप्रत्यङ्ग क्रियाशील भइरहेको र मन शान्त एवं आनन्दित रहेको अवस्थालाई स्वास्थ्य भनिन्छ।

शरीर र मन स्वस्थ एवं शान्त रहेको अवस्थामा चेतनाको आलोक प्रकट हुन्छ। यही आलोकमा जीवनलाई उद्देश्यमूलक, अर्थपूर्ण र गरिमामय कसरी बनाउन सकिन्छ भन्ने हामीलाई बोध हुन्छ। समस्त हिन्दू आध्यात्मिक ग्रन्थहरूले यही कुरालाई फरक ढंगले अभिव्यक्त गरेका छन्। उपनिषद्‌ले जीवन र जगत्‌लाई सच्चिदानन्दमय भन्छ। यसको अर्थ अस्तित्त्व सत्यमय, चैतन्यमय र आनन्दमय छ भन्ने हो। सच्चिदानन्द अनुभूतिका लागि ज्ञानयोग, भक्तियोग, कर्मयोग, राजयोग इत्यादि मूल माध्यम हुन्।

बौद्ध दर्शनले शान्ति, प्रज्ञा र करुणाको मार्ग सुझाउँछ। बौद्ध दर्शन अनुसार अकुशल कर्म नगर्नु, पुण्य सञ्चय गर्नु र चित्त शुद्धि गरिरहनुलाई धर्मको अभ्यास भनिन्छ। यही अभ्यासले शान्ति, प्रज्ञा र करुणाको उदय हुन्छ। तदनन्तर जीवनमा हरपल शान्ति र आनन्दको अनुभूति भइरहन्छ।

सद्‌गुरुले हिन्दू दर्शनका योग विधिहरू उपयोग गरी प्रवचन दिने र परम होशको अवस्थामा रहने साधना सिकाउने गर्छन्। सामान्य होशमा सबै मानिस हुन्छन्, सद्‌गुरुले परम होशमा रहने कला सिकाउँछन्। उनको सत्संगबाट शान्ति लाभ गर्नेहरू दशौं हजार छन्, नेपालमा पनि। छ महिनाअघि मानसरोबर यात्रा गर्ने क्रममा पनि सद्‌गुरु नेपाल आए र हिमाली क्षेत्रको अवलोकन गरे। त्यसक्रममा काठमाडौंमा उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरूसँग बालुवाटारमै भेटघाट गरे। हुन त सद्‌गुरुले ऋचा शर्माजस्ता लोकप्रिय कलाकार पनि भेटे तर कम्युनिष्ट नेताहरूको एउटा समूह नै उनीसँग उभिएको दृष्य चाहिँ अलि दुर्लभ नै लाग्थ्यो।

यसले के देखाउँछ भने कार्यकर्ता पंक्ति जड नै रहेपनि नेकपाको नेतृत्व वर्ग भने विस्तारै परिवर्तन हुने क्रममा छ। केही दिनअघि कान्तिपुर कन्क्लेभको परिसंवादमा ‘भौतिकवादी’ दल नेकपाका अध्यक्ष प्रचण्डले सद्‌गुरुका प्रवचन सुन्ने गरेको खुलासा पनि गरे। यो खुलासा गरिरहँदा प्रचण्डले सद्‌गुरुलाई सुन्दैमा आफूलाई ‘अन्धविश्वासी’ भयो भन्न नमिल्ने भन्दै बरु ‘सद्‌गुरु भौतिकवादी’ रहेको जिकिर गरे।

तर कसैले आरोप लगाइहाल्नु पहिला आफ्नो बचाउ गर्न थाल्नु के कुराको प्रस्ट संकेत हो भने यसरी बोल्दा आक्रमण हुनसक्छ भन्ने प्रचण्डलाई थाहा छ। प्रचण्डले सद्‌गुरुका प्रवचन सुन्ने गरेको खुलासा गर्दा प्रगतिशील जमातले आफ्ना नेताको बहुआयामिक अभिरुचिप्रति गर्व गर्नु पर्ने हो। तर त्यही जमातले प्रचण्डलाई ‘अन्धविश्वासी’ भएको आरोप लगायो भने तीभन्दा संकुचित र जडवादी अरू को हुन सक्छ? यस कुराको पूर्वानुमान मात्रले जोकसैको ओठमा अनायासै मुस्कानको रेखा दौडन थाल्छ। अध्यात्म अन्धविश्वास होइन बरु मनको विज्ञान हो। तर आफ्ना कार्यकर्ता पङ्क्तिलाई यो तथ्य सुझाउन प्रचण्डका लागि पनि कठिन छ। यो वस्तुस्थिति यस युगको कठोर बिडम्बना हो। ‘कम्युनिष्टहरू अध्यात्मदेखि बाह्र हात परै बस्नुपर्छ, छोइछिटो बार्नुपर्छ’ भन्ने बुझाइ कार्यकर्ता पंक्तिमा अझै पनि छ, जुन वास्तवमै अन्धविश्वास प्रतीत हुन्छ।

कार्ल मार्क्स स्वयंले सृष्टिको नियम गति, नवीनता र विकास हो, मार्क्सवाद पनि कुनै जडसूत्र होइन भनेका थिए। तर दूरदराजका उनका अन्धभक्तहरूले मार्क्सवादलाई नै अकाट्य र ध्रुवसत्य मानिदिए। हरेक विचारधारा सदासर्वदा गतिशील हुन्छ, त्यसमा नयाँपन विकसित हुँदै जान्छ र यही कारणले उन्नत पनि हुन थाल्छ। विचार पद्धतिका यी सारा नैसर्गिक गुणहरूलाई निमोठिदिएपछि बाँकी जे रहन्छ त्यो अन्धविश्वास मात्र हो। तर यो यथार्थ कम्युनिष्ट विचार मान्ने पङ्क्तिले अझै बुझ्ने छन्द देखिंदैन। किनभने कालक्रममा उनीहरूले मार्क्सवादलाई वैचारिक सिद्धान्त होइन व्यावसायिक ब्राण्ड बनाइदिए। विचारलाई पछ्याएर होइन, मार्क्सको छवि भजाएर अभीष्ट पूरा गर्ने मेलो बसेपछि मार्क्सवादी लकीरका फकीरहरू नै मार्क्सका असली चेला गनिन थाले।

दलको अगुवा भएर सत्ताको माथिल्लो नेतृत्त्वमा पुगिसकेको व्यक्तिलाई देशका लागि केही गरौं भन्ने भावना अवश्य हुन्छ। तर यथास्थितिलाई कायमै राख्न चाहने र कुनै उल्लेख्य सुधार गर्न नदिने विचौलियाहरू अधिकांश पार्टीभित्रै हुन्छन्। देशलाई शान्त र समृद्ध बनाउन फरक विचार र कार्यपद्धतिको अनुसरण निश्चय नै सहयोगी हुन सक्छ। उही इनपुट भइरहँदा आउटपुट पनि उस्तै नै हुन्छ।

यथास्थितिलाई परिवर्तन गर्ने आत्मविश्वास र ऊर्जा सद्‌गुरुका प्रवचनमा भरपूर उपलब्ध छ। के प्रचण्डले उद्देश्यमूलक ढंगले सद्‌गुरुलाई सुन्ने गरेका हुन्?