हाम्रो ओठको गीत खोसिँदैछ!

Netra Acharya 2019-08-25 | 8/25/2019

‘बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान।’

अंग्रेजीमा एउटा उखान छ, ‘ट्रुथ इज स्ट्रेन्जर देन फिक्सन’ अर्थात् कहानीभन्दा सत्य झनै आश्चर्यजनक हुन्छ। 
कथाकहानी जतिसुकै रोमाञ्चक र कौतुहलपूर्ण रचना गर्न सकिन्छ, कल्पनाको महाजाल नै बुन्न सकिन्छ, तर ती कहानीभन्दा हाम्रो वरिपरिको यथार्थ नै अधिक अद्भूत हुन्छ, यदि त्यसको हेक्का राख्ने हो भने। उदाहरणको लागि हाम्रै मुलुकमा हाम्रै आँखासामु दशकौंदेखि भइरहेको सामान्यजस्तो लाग्ने घटनाचक्र हेरौं।

यतिखेर विदेशी पर्यटकहरू नेपाल ओइरिने सिजन सुरु हुँदै छ। मनसुनको बिदाई साथै पर्यटकहरूको स्वागत गरिन्छ। ठमेलका होटल बुक भइसके, गल्लीगल्लीमा पर्यटक खचाखच देखिन थालिसके। नगरकोटका डाँडाकाँडा भरिँदै छन्।
काठमाण्डू, भक्तपुर र पाटन दरबार स्क्वायरमा मन्दिरका टुँडाल वरिपरि पर्यटक झुम्मिन थालिसके। नेपालको प्रकृति र संस्कृति दुवैले अनगिन्ती विदेशी पर्यटक आकर्षित गर्छ। केही वर्षदेखि नेपालको संस्कृति मन पराउने विदेशीहरूको संगतले सिकाएको कुरा यो आलेखमा प्रस्तुत हुँदैछ।

संस्कृतका पारखी

संस्कृत सिक्नका निम्ति काठमाण्डू आएका अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थी रोको लोपरफिडो शास्त्र चर्चामा निकै उत्सुक छन्। वेदान्त दर्शनमा विद्यावारिधि गर्ने उनको योजना छ तर उनी बुद्ध दर्शन पनि उत्तिकै रुचिपूर्वक सिक्न चाहन्छन्। उनले अध्यात्म दर्शनमा फेला पारेको सबैभन्दा मनमोहक पक्ष के हो भने, यो दर्शन पढ्न र पढाउनका लागि मात्र होइन, हरेक पदावली जीवनका पलपलमा मार्गदर्शक हुन्छन्।

पश्चिमा जगतमा अरुलाई सिकाउन या जीविका आर्जनका लागि पढ्ने प्रचलन अधिक छ। तर, अध्यात्म दर्शनले पहिला आफ्नै जीवनलाई संगतिपूर्ण बनाउन सुझाउँछ, आफ्नै जीवनको अर्थ फेला पार्न मदत गर्छ। पश्चिमा देशहरूमा जीवनको निस्सारताले मानिसलाई डिप्रेसन आदि मानसिक रोगको सिकार बनाएको छ, अध्यात्म दर्शनले मानव जीवनको सार्थकता औंल्याउँछ। आफ्नो जीवनको अर्थ फेला पार्नु बुद्धिजीवी मानिसका लागि सर्वाधिक सन्तोष हो। दर्शनको यही पक्षले उनलाई मोहित बनाएको छ।

दर्शन मात्र होइन, यहाँका हरेक मन्दिर, पाटीपौवा, गुफाहरू अवलोकन गर्दा उनी मोहित भएका छन्। उनले पशुपतिनाथ मन्दिर परिसरमा गएर त्यहाँका ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक सम्पदा नियाल्दै दिन बिताउने योजना बनाएका छन्। मन्दिरका टुँडालमा कोरिएका आध्यात्मिक रहस्यले भरिपूर्ण आकृतिहरू, शिलालेखहरू संरक्षण नभएको र घामपानीले गर्दा खिइँदै, नासिँदै गएको देखेर उनी खिन्न हुन्छन्।

पूर्वीय अध्यात्म दर्शनको अध्ययन थालेपछि उनको खानपिन, जीवनशैलीमा रुपान्तरण आयो। सात पुस्तादेखि कसाइ पेसा गरिरहेको परिवारमा जन्मेका उनले मांशाहार पूर्णतः त्यागिदिए। मद्यपान त्यागिदिए । अचेल उनी योग र प्राणायाम समेत सिक्दै छन्। दस दिनको विपश्यना शिविरमा सहभागी हुने योजना बनाएका छन्। हजारौं वर्ष पहिले नेपाल/भारतमा विकसित आध्यात्मिक जीवन दर्शनको विविधताले उनलाई सम्मोहित बनाउन थालेको छ। प्रकृतिले उनलाई सम्मोहित बनाउन थालेको छ। संस्कृतका लेखिएका शास्त्र पढ्नु र प्रकृतिको सौन्दर्यपान गर्नुमा उनले जीवनको अप्रीतम सुखानुभूति गरिरहेका छन्।

पूर्वीय अध्यात्म दर्शनको अध्ययन थालेपछि उनको खानपिन, जीवनशैलीमा रुपान्तरण आयो। सात पुस्तादेखि कसाइ पेसा गरिरहेको परिवारमा जन्मेका उनले मांशाहार पूर्णतः त्यागिदिए। मद्यपान त्यागिदिए । अचेल उनी योग र प्राणायाम समेत सिक्दै छन्।

सिद्धिको खोजी

नेदरल्यान्डको आम्सटर्डमबाट नेपाल घुम्न आएकी मारिया आध्यात्मिक साधनामा औधी रुचि राख्छिन्। विश्वप्रसिद्ध कम्पनी गुगलको अफिसमा काम गर्ने उनी संसारभर घुमेर आध्यात्मिक गुरुहरूले आयोजना गरेका शिविरमा सहभागी हुन्छिन्। लामो अभ्यासपछि उनले विदेह अवस्थाको झलकसमेत अनुभूति गरेकी छिन्।

१५ दिनका लागि नेपाल घुम्न आएकी उनले आधा समय पोखरामा एउटा गुम्बामा रहेका टुहुरा बाबुनानीसँग बिताइन्, आधा समय काठमाण्डूका डाँडाकाँडामा योग पदयात्रा गरिन्। उनी यथाशक्य छिटो कुनै सिद्धि अर्थात् साइकिक पावर प्राप्त गरेर गुगल कम्पनीबाट बिदा लिई साधनाको क्षेत्रमा समर्पित हुन चाहन्छिन्।

ध्यानको खोजी

केही समयअघि बौद्धमा अन्तरिक्षयात्री सान्द्रा म्याग्नसको अनुभव सुन्न पाइयो। चार महिनादेखि उनी अन्तरिक्षमा थिइन्। मनोरञ्जन भनेको स्टेसनको झ्यालबाट बाहिर हेर्नु। तर, अन्तरिक्षबाट नौलाख तारा बीचमा निराधार अडिएको नीलो पृथ्वी हेर्नु औधी आश्चर्यजनक अनुभूति थियो। यो नीलो ग्रहमा देशका सिमारेखा कतै देखिँदैनथे। पृथ्वी एउटा शृंखलामा उनिएको फूलजस्तो देखिन्थ्यो, ग्रह, तारा र नक्षत्रहरूको बीच। अन्तरिक्षमा सबै नक्षत्रहरू आपसमा अनुबन्धित छन्। पृथ्वी एउटा ‘स्पेस सिप’ जस्तो देखिन्थ्यो, जुन हामी समस्त सात अर्ब मानिसको साझा सवारी।

आकाशमा बिनाआधार अडिइरहेको र उडिरहेको नीलो ग्रहमा अर्बौं मानिस र ती सबैका आफ्ना आफ्ना निजी जिन्दगी र निजी समस्या। कुनै समस्या ठूला, कुनै साना । तर माथिबाट हेर्दा अधिकांश समस्या नाममात्रका समस्या लाग्छन्। मान्छेहरू आफ्नो जीवनमा किञ्चित तलमाथि हुँदा पनि अत्तालिन्छन् । खासमा हामी कहाँ छौं, को हौं, यहाँ के भइरहेको छ, नौलाख ताराहरूबीच कसरी शून्यमा पृथ्वी अडिएको छ र, किन घुमिरहेको छ भनेर सोच्ने हो भने आफ्ना निजी समस्या बिल्कुलै कुनै समस्या लाग्दैनन्।

सान्द्राले भनिन्, ‘३१ वर्षकी हुँदासम्म मैले ‘म को हुँ’ भनेर सोचेकै थिइनँ। जिन्दगीको भागदौड र उछिनापछिनमा एक छिन टक्क अडिएर म को हुँ, यो के भइरहेको छ, अरुले जे भन्छन् या गर्छन्, त्यो मैले पनि गर्न आवश्यक छ कि छैन भनेर सोच्ने फुर्सदै पाइनँ। दिमाखमा चारैतिरबाट संकलन गरेका विचारको भीड थियो। त्यो भीडबाट निस्केर आफ्नोबारेमा आफ्नो ढंगले सोच्ने हेक्कै भएन या आँट नै भएन।

उनको अनुभव सुन्दा एक कविको भनाइ सम्झना आयो, ‘हामी अरुका विचारमा लहसिन्छौं, अरुको जीवनपद्धति नक्कल गर्छौं र, सोच्छौं हामी आफ्नो जीवन बाँचिरहेका छौं ।’ जीवन यति आश्चर्यजनक छ, यति अद्भूत र रहस्यमय छ। तर, हामीले यी सबै कुरालाई ‘नोटिस’ नै गर्दैनौं। सान्द्राले सामुन्नेको टेबल देखाउँदै भनिन्, ‘यो टेबल ठोस देखिन्छ तर यसका अणुहरूबीचमा विशाल अवकाश छ, रिक्तता छ, जुन एउटा वैज्ञानिकले मात्र देख्न सक्छ।’

उनले अगाडि भनिन्, ‘हामी अहिले आपसमा कुरा गरिरहेका छौं, यो अद्भूत घटना हो किनभने मानव मस्तिष्कमा करोडौं न्युरोनहरूले हरपल गहिरो समन्वय गरेर काम गरिरहेका छन्, मानव शरीरभित्र लाखौं अंगप्रत्यंगले पलपल अति सुक्ष्म र सटिक ढंगले काम गरिरहेका छन्। त्यो एक वैज्ञानिकले मात्र देख्न सक्छ।’

बुद्धले भन्नुभएको छ, ‘हरेक पल होस् अर्थात् सजगता कायम गर्न सक्ने हो भने दिव्यचक्षु उपलब्ध हुन्छ, अरुको मनका विचार पढ्न सकिन्छ, पूर्वजन्ममा हामी को थियौं भन्ने थाहा हुन्छ । तर, यो सबै एउटा सम्यक सम्बुद्ध व्यक्तिले मात्र देख्न सक्छ।’ सान्द्राले बुद्धको बारेमा मनग्गे पढेकी छिन् र, उनी बुद्धले सिकाएको ध्यानको अभ्यास गर्न औधी उत्सुक छिन्।
अन्तरिक्षयात्री सान्द्रा म्याग्नससँगको अन्तक्र्रिया धेरै हिसाबले प्रेरणादायी थियो । साढे चार महिना अन्तरिक्षमा बस्दाका अनुभूतिले उनलाई बुद्ध दर्शन र ध्यानमा आकर्षित गरेको रहेछ। सारा जगतको सेरोफेरो घुमेर आएकी सान्द्रालाई जीवन बुझ्न बुद्धले सिकाएको ध्यानमा रुचि जाग्यो।

विदेशी मुलुकमा समृद्ध जीवन बिताइरहेका, उन्नत पेसा र प्रसिद्धिसमेत पाएका व्यक्तिहरु हाम्रो देशको संस्कृति, अध्यात्म र दर्शनमा आकर्षित भएका सयौं उदाहरण हाम्रो आँखै सामुन्ने छन्। हरेक महिना दुईपटक शिविर चल्ने विपश्यना ध्यानमा विदेशी नागरिककै बाहुल्य हुन्छ। डा. चिन्तामणि योगी, प्रकाश आचार्य, सुबोध सिम्खडालगायत योगीहरूले सञ्चालन गरेका विशिष्ट योग प्रशिक्षण शिविरमा लाखौं खर्च गरेर सहभागी हुनेहरू विदेशी नै हुन्छन्। ठमेलका योग सेन्टरमा विदेशी नै योग सिकिरहेका छन्।

तिब्बती मूलका रिन्पोचेहरूका गुम्बामा ध्यान सिक्न आएका विदेशीकै भीड हुन्छ। काठमाण्डूका डाँडाकाँडा गुम्बाहरूले ढाकिइसके। आदरणीय रिन्पोचेहरू कहिले विदेश पुगेर ध्यान सिकाउनुहुन्छ, कहिले स्वदेशमै शिविर आयोजना गर्नुहुन्छ। तिब्बतबाट नेपाल पसेका रिन्पोचेहरू बुद्ध दर्शन र अभ्यासबाट स्वयं लाभान्वित भए र, हजारौं–लाखौं विदेशीहरूलाई लाभान्वित बनाउँदै हुनुहुन्छ। बुद्ध जन्मेको देशका हामीमध्ये कति बुद्धको जीवनदर्शनबाट लाभान्वित भएका छौं, कति विदेशी पाहुनालाई आध्यात्मिक ज्ञान दिन सकेका छौं?

संस्कृतपारखी रोको लोपरफिडोले केही दिनअघि प्लास्टिकका बोतल कसैले बाटोछेउको खोल्सामा फ्याँक्न लागेको देखे, उक्त व्यक्तिलाई ती बोतल आफूलाई दिन आग्रह गरे। रोको ती बोतललाई रिसाइकल हुने ठाउँसम्म पु¥याउन चाहन्थे । प्रकृतिले हामीलाई हरियाली दिएको छ, पानी दिएको छ, अनाज दिएको छ, आश्रय दिएको छ, जीवन दिएको छ । तर, हामीले प्रकृतिलाई के दिइरहेका छौं? प्लास्टिकका बोतल जुन सयौं हजारौं वर्षसम्म प्रकृतिलाई दूषित गरिरहन्छन् ! संवेदनशील मानिने मानिसको योभन्दा संवेदनाहीन अर्थोक के हुन सक्छ?

कुनै कालखण्डमा हाम्रा पुर्खाले वेद, उपनिषद्, पुराण, दर्शन र नीति ग्रन्थहरू विकास गरेका थिए। ती अद्भूत ग्रन्थ, आध्यात्मिक अभ्यास र समग्र संस्कृत वाङ्मयको महत्ता बुझेर तिनको अध्ययन अनुशीलन गर्न विदेशी नागरिक नेपाल धाउँछन्। यहाँको प्रकृतिक छटा अवलोकन गर्न र सांस्कृतिक मौलिकता हेर्न लाखौं विदेशी धाउँछन्। हाम्रा अधिकांश युवाहरू भने खाडीका प्रचण्ड गर्मी मुलुकमा मजदुरी गर्न धाउँदैछन्। हामीले आफ्नो देशको सम्पदा बुझेनौं या हाम्रो धरोहरले हामीलाई जागरुक गराउन सकेन? कहाँनेर त्रुटि भयो, खोजी गर्नु हामी सबैको चासोको विषय हो । हामीले भोगिरहेको यथार्थ कुनै कथाकारको कहानीभन्दा आश्चर्यजनक भइसक्यो।

केही वर्षमा रोको लोपरफिडोले वेदान्त या तत्सम्बन्धी विषयमा विद्यावारिधि पूरा गर्नेछन् र प्रतिष्ठित शैक्षिक संस्थामा आबद्ध भएर आफ्नो अध्ययन, अभ्यास तथा अध्यात्म परम्पराको सेवा विस्तार गर्नेछन्। नेदरल्यान्डकी मारियाले छिट्टै कुनै आध्यात्मिक सिद्धि हासिल गर्नेछिन्, आफू शान्त हुनेछिन् र, मानिसलाई शान्ति र आनन्दको मार्गमा प्रेरित गर्नेछिन्।

सान्द्रा म्याग्नस बौद्ध ध्यान पद्धतिको अभ्यास गर्दै निर्वाणको बाटोमा अग्रसर हुनेछिन्। तर, त्यतिन्जेल हामी कहाँ हुने छौं, के गरिरहेका हुनेछौं? सायद विदेशी भूमिमा दुःख गरी काम गरिरहेका हाम्रा आफन्तले पैसा, मोबाइल र टिभी पठाइदिनेछन्, हाम्रा अधिकांश बाबुनानीका हातमा नयाँ–नयाँ स्मार्ट फोन हुनेछन्। अधिकांश बाबुनानी घन्टौंसम्म मोबाइलका स्क्रिनमा शिर निहुराइरहेका भेटिनेछन्। हामी घोप्टेयुगमा प्रवेश गर्ने छौं। आँखा हाम्रा हुनेछन् तर देख्ने अरु नै हुनेछ, गाउँ हाम्रा हुनेछन् तर बस्ने अरु नै हुनेछ, जीवन हाम्रो हुनेछ तर बाँच्ने अरु नै हुनेछ।

त्यतिबेला अध्यात्म भूमिका नागरिक भन्न पनि हामीलाई लज्जाबोध हुनेछ । कविवर माधव घिमिरेका शब्दमा बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान, शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान भनी गाउन पनि हामीलाई सरम लाग्नेछ। हाम्रो जिभ्रोबाट हाम्रो ओठको गीत खोसिँदैछ, हामी कहिले सचेत हुन्छौं, हामी कहिले आँखा खोल्छौं? हामीले आँखा खोलेनौं भने हाम्रो यथार्थ कुनै पनि कहानीभन्दा आश्चर्यजनक हुनेछ, उदेक लाग्दो हुनेछ, सायद त्यो दिन धेरै टाढा छैन। 

originally published in Nepalnews.com https://www.nepalnews.com/opinion/5829-2019-08-10-00-19-33