हिमालमा उदाएको घाम : सत्यम्, शिवम्, सुन्दरम्

Netra Acharya

नेत्र आचार्य

उज्यालो प्रकट हुने र साँझ खस्‍ने बेला धर्ती जति सुन्दर हुन्छ त्यति सायदै अरू बेला देख्‍न सकिन्छ । सन्धिकालको यो सौन्दर्य श्यामश्वेत हिमालहरूमा अझ प्रगाढ हुन्छ । यसपालि सूर्योदय अवलोकन गर्न हामी घोरेपानी पुनहिल पुगेका थियौं । सँगै थिइन् फिनल्याण्डबाट यो सूर्योदय हेर्न आइपुगेकी पिया मारिया ।

सवेरै उठेर पुनहिलको टुप्पोतर्फ जतिजति हामी नजिकिंदै थियौं, हिमाल उतिउति मनमोहक देखिंदै थियो । पिया मारियाले यो हिमाली छटा नोटिस नगर्ने कुरै भएन । उनले उत्साहित हुँदै भनिन् – द हिमालयाज आर लुकिङ फाइनर एभ्री नेक्स्ट मुमेन्ट !

हो, पिया, हो । सौन्दर्य भनेकै छिनछिनमा नवीनता प्रकट हुनु र मनमोहकता थपिनु हो । सौन्दर्यको परिभाषा हाम्रा पूर्वज कविहरूले यसैगरी गरेका थिए – क्षणे क्षणे यन्नवतां उपैति तदेव रूपं रमणीयताया ।

घाम झुल्किंदै थियो, हिमालका चुचुराहरू एकपछि अर्को राताम्य हुँदै थिए । पहिला धौलागिरीमा रंग पोतियो, अनि अन्नपूर्णमा । क्रमैसँग हिमचुली र माछापुच्छ्रे रंगिए । अघिका शुभ्र श्वेत शिखरहरू अब रंगीन बनेका थिए । नीलो आकाशमुनि चहकिला हिमालहरू त्यसैत्यसै हेरिरहूँ जस्ता । त्यसैत्यसै मनमा उमङ्गका लहर पैदा भइरहेका थिए । मन अहिले यही क्षणमा टक्‍क अडिए जस्तो, न विगतको याद न अनागतको विचार, वर्तमान क्षण हाम्रानिम्ति सम्पूर्ण भइदिएको थियो । हिमालहरूले मनका सबै रहर मेटिदिएका थिए सायद । कुनै कुराको इच्छा अपुरो थिएन, कुनै हुटहुटी बाँकी थिएन ।

ठीक त्यही आनन्दातिरेकको क्षणमा मलाई सम्झना भयो – यदि हामी सबैले यस्तै उदात्त हिमशिखरहरूको सौन्दर्य निहार्न पाइरहने हो भने हाम्रा विचारहरू पनि हिमाल जस्तै उदात्त र उन्नत हुन्थे होला ।

हामी अक्सर बेंसीमा, उपत्यकामा, समतलमा बस्छौं, जहाँ शरीरका निम्ति सुविधा उपलब्ध हुन्छन् त्यही भूभागमा बस्छौं । त्यसैले हाम्रा सोच र विचारहरू पनि मूलाधारमै, चेतनाको अधोभागमै सीमित हुन्छन् । हामीमध्ये अधिकांश जीविका जुटाउने र जीवन धान्ने उपक्रममै हुन्छौं । त्यसबाट हाम्रो चेतना माथि उठिहाले हामी शारीरिक सुख इन्द्रियजन्य सुखमा निर्लिप्त हुन्छौं । एक पछि अर्को यौनसाथी बनाउने र एकअर्कामा सुख खोज्ने उपक्रम सुरु हुन्छ । त्योभन्दा अलिक माथि उठिहाले हामी आम मानिसका बीच सस्तो ख्याति कमाउन उत्सुक हुन्छौं । शर्तरहित प्रेम, शान्ति र प्रज्ञोदयका उदात्त सोचहरू हाम्रो मनमा पैदा समेत हुँदैनन् ।

हिमालहरूको विशालता, उच्‍चता र निपट सौन्दर्य खास केका लागि हो ? सायद हामीलाई पनि उन्नत सोच विकसित गर्न र चेतनालाई फैलाउन प्रेरित गर्नलाई हो । हिमालसँगको सत्संग सुमधुर थियो । हामी हर्षले गद्‍गद् भएका थियौं । यही हर्षबडाइँ गर्न हामीले धौलागिरी सामु उभिएर नटराज आसनको अभ्यास गर्‍यौं । पिया मारिया 'नटराज शिव' भन्दै मसँगै नृत्यमुद्रामा उभिइन् । र, हामीसँगै सारा संसार शिवमय भइदियो, नृत्यमय भइदियो । सत्यम्, शिवम्, सुन्दरम् ।