केही नगरी बस्‍नुको सार्थकता

Netra Acharya 2020-03-10 | https://www.nayapatrikadaily.com


मैले आफ्नो जीवनमा गरेको सर्वोत्कृष्ट कुरा केही नगरी बस्नु हो । र, मैले गरेको दोस्रो सर्वोत्कृष्ट कुरा केही नगरी बस्न सिक्नु हो । यसरी केही नगरी बस्ने कला पहिला म कत्ति पनि जान्दिनथेँ । आजभोलि केही वर्ष पहिलाभन्दा झन् बिर्संदै गइरहेकी छु । तैपनि मलाई थाहा छ, म केही गरिरहनभन्दा अधिक केही नगरी बस्न चाहन्छु र म यसरी बस्न आवश्यक पनि ठान्छु ।

किशोरावस्थाको आरम्भताका मैले कविता औधी पढ्ने गर्थें । कविताको अध्ययनबाट मैले जीवनलाई क्षणभंगुर देख्न थालेँ । विद्यालयको गृहकार्य गरिसकेपछि वासिङ्टन डिसीको हाम्रो घरनजिकैको अमेरिकन विश्वविद्यालयको पुस्तकालयमा कविताका ठेलीहरु पढ्दै म घण्टौँ बिताउँथेँ । र मलाई के लाग्यो भने मानौँ बाउडेलेयर, कोर्सो, इलियट, फलिंगेटीलगायत सबैजसो कविहरुले मलाई समय बितिरहेको छ र यो निकै द्रुत गतिमा बितिरहेको छ भनी बताइरहेका थिए । म मर्त्यलोककी एउटी केटी छिटै मरिजानेछु । मैले बोध गरिसकेकी थिएँ, यदि मैले आफ्नो जीवन साङ्गोपाङ्ग रुपले बिताउने हो भने समय बिल्कुलै खेर फाल्नुहुँदैन ।

त्यसैले मैले एक वर्ष पहिल्यै विद्यालय छोडिदिएँ, आफ्नो बाँकी किशोरावस्था एउटा प्रताडित कलाकारझैँ यत्रतत्र भौँतारिएर बिताएँ । र, २३ वर्षको उमेरमा मैले आफ्नो पहिलो कृति लेखेँ । यद्यपि, मैले जे गरेँ, त्यो पर्याप्त थिएन । त्यतिखेरै एउटा ‘असल’ (कामकाजी) नेपालीजस्तै मैले पनि मेरो देशको विकासमा मद्दत गर्नुपर्छ भन्ने मलाई अनुभूति भयो । केही महिना मैले देशको विकास र कला सिर्जना एकसाथ गर्नसक्छु भन्ने समेत सोचेँ ।

तर, छिट्टै मैले आफ्ना सीमितताहरु पत्तो पाएँ । तीस नपुग्दै मैले सबैथोक गर्न सक्दिनँ, त्यसो गर्ने मेरो क्षमता छैन भन्ने मैले महसुस गरिसकेकी थिएँ । मैले के निधो गरेँ भने, आफ्नो जीवन सम्पूर्ण रुपले बाँच्दै आफूलाई सर्वाधिक महसुस हुने आफ्नै अन्तरप्रेरणाको पछि म लाग्नुपर्छ । कला छाडेर मैले लेखनमा हात हालेँ । तब म केवल लेख्ने काममा केन्द्रित भएँ र तीसको दशकभरि त मैले आफ्नो लेखनलाई आख्यान र सिर्जनात्मक गैरआख्यान लेखनमा केन्द्रित गरेँ ।

सबैलाई थाहा भएकै कुरो हो, लेख्नका लागि एकान्त आवश्यक हुन्छ, एकदम एकान्त । तर, कलम र कागज अथवा कम्प्युटरसँग कोठामा एक्लै भएर मात्र पुग्दैन । लेख्नका लागि लेखकलाई आफ्नो मनको आन्तरिक शान्ति पनि चाहिन्छ ।

जबजब म लेखनका बारेमा गम्भीर बन्दै गइरहेकी थिएँ, त्यतिखेर सौभाग्यवश म बुढानीलकण्ठमा विपश्यना ध्यान शिविरमा सहभागी हुन पाएँ । विपश्यना शिविरमा सहभागी भएको जोसुकैलाई थाहा छ, यो बौद्ध शिविर हो जहाँ तपाईंले बिहान चार बजे उठ्नुपर्छ र साढे चारबाट ध्यान गर्न थाल्नुपर्छ । त्यसपछि निरन्तर दिनको दश घण्टा ध्यान गरिरहनुपर्छ । त्यहाँ तपाईंले दिनको एक छाक खान पाउनुहुन्छ, तपाईं बोल्न पाउनुहुन्न, कसैसँग आँखाको इसारासमेत गर्न पाउनुहुन्न । तपाईं त्यहाँ भएको वा त्यहाँ केही नगरी बसेको स्थितिलाई बिथोल्ने कुरा केही हुँदैन । जीवनको अन्तसम्म तपाईंले गर्नुपर्ने अगणित कामहरु बाँकी रहेको यथार्थले समेत तपाईंलाई छुन नपाओस् भन्ने चेष्टा गरिएको हुन्छ ।

ध्यान शिविर मलाई नरकजस्तै लागिरहेको थियो । छ दिनसम्म मैले सोच्न सकेको कुरा के मात्र थियो भने ‘मैले यहाँ के गरिरहेकी छु ? यतिखेरसम्म त यो ध्यान सत्र सकिइसकेको हुनुपर्ने होइन र ? समय उच्चाटलाग्दो गरी मन्द गतिमा चलिरहेको थियो । र, यो विस्तार भइरहेको छ भन्ने भान हुन्थ्यो । समयको लोसे चालले मलाई अचाक्ली सताइरहेको थियो ।

तर, सातौँ दिनमा मेरो मानसिकतामा मैले पहिला कहिल्यै अनुभूत नगरेको उथलपुथल भयो । त्यस दिनको पहिलो सत्रमा म केही झकाएँछु र केही नौलो अनुभूतिसहित ब्युँझेँ । अचानक मेरो मन त्यहाँ खेलिरहेका विचारहरुको हल्लाखल्ला, चिन्ता, स्मृति, आशा आदिबाट मुक्त भएको थियो । बिनाकुनै छ्यानविचार, म केवल श्वास भित्र लिइरहेको र बाहिर फ्याँकिरहेको अवलोकन गरिरहेकी थिएँ । मेरो मन शान्त र सचेष्ट थियो ।

शिविरले मलाई जतिसक्दो अनुभूतिहरुलाई थुपार्नुको साटो आफ्नो अल्प जीवनअवधिभरि शान्त, स्थिर रहन र जीवनलाई यसको क्षण–प्रतिक्षणको सघनतामा अनुभूति गर्न सक्ने बनायो ।

निश्चय नै, शिविरपछि म जीवनका उनै आपाधापीहरुमा फर्किएँ र ध्यानको सबथोक बिर्सिएँ । तर, केही वर्षपछि मैले आफ्नो जीवन विदग्ध हुँदै गइरहेको, आफैँले तय गरेका कदमहरुलाई सहज रुपमा आत्मसात गर्न नसकिरहेको अवस्थामा पाएँ र म पुनः ध्यानमा फर्किएँ । यतिखेर गुरु थिए – स्वयम्भुनजिक हलचोकमा बौद्धगुम्बा बनाएर बसेका तिब्बती बज्रयानी लामा छोक्न्यी रिन्पोछे । उनको ध्यान शिविरमा उनले मनको बेचैनीलाई अवलोकन गर्ने, मनलाई वशमा लिने र अन्ततः कम्तीमा केही क्षणका लागि भए पनि निर्वाणको स्थिति अनुभूति गर्ने अनेकौँ विधिका ध्यान सिकाए । मैले शमथ र विपश्यनाका विधिहरु सिकेँ र कैयौँ वर्षसम्म नियमित रुपले ध्यान गरिरहेँ । हरेक बिहान एक घण्टाको ध्यानले मलाई सधैँ मानसिक रुपले प्रष्ट र तरोताजा राखिछाड्थ्यो । त्यो प्रष्टताबाट प्राप्त हुने अन्तर्दृष्टिले मेरो काल्पनिकता र लेखनलाई परिपोषित गरिरह्यो । (यसै कारणले मेरो कृति टिल्ड अर्थ छोक्न्यी रिन्पोछेलाई समर्पित छ ।)

तर, पुरानो बानी मुस्किलले छुट्छ । बौद्धहरुले भन्ने कर्म मनको स्वभाव हो र यो मलाई लाग्छ – मैले हरेक दिन सक्दो धेरै गर्ने र गतिशील रहने चेष्टा हो । अहिले पनि शान्त र धैर्यपूर्वक रहने मेरो संघर्ष जारी छ । यद्यपि, मलाई अहिले राम्रै बोध भइसकेको छ, यसरी मात्र मैले आफ्नो जीवनलाई पूर्णरुपेण जिउन सक्छु । नोबेल पुरस्कार पाएपछि डोरिस लेसिङले दिएको यो मन्तव्यले ममा गहिरो छाप पारेको छ --

लेखकहरुलाई प्रायः सोधिन्छ – तपाईंले कसरी लेख्नुहुन्छ ? विद्युतीय टाइपराइटरमार्फत् ? यस्तै यस्तै । तर, महत्वपूर्ण प्रश्न के हो भने, के तपाईंले लेख्ने खाली ‘स्पेस फेलापार्नुभयो ? जुन स्पेस लेख्ने बेला तपाईंको वरिपरि हुनुपर्छ । त्यही स्पेसमा तपाईंका पात्रहरुले बोल्ने शब्दहरु, विचार, प्रेरणाहरु आउँछन् । लेखकले यो स्पेस फेला पार्न सक्दैन भने कविता र कथाहरु जन्मन अझै समय लाग्न सक्छ । लेखकहरु आपसमा कुरा गर्दा जहिले पनि यही काल्पनिक स्पेसका बारेमा कुरा गर्छन् – के तपाईंले आफ्नो स्पेस फेला पार्नुभयो ? के तपाईं यसलाई आत्मसात गरिरहनुभएको छ ?

मैले यही स्पेस फेला पार्ने चेष्टा गरिरहेकी छु । खासगरी काठमाण्डूमा मैले केही नगरी बस्न कठिन महसुस गर्छु । प्रष्टै छ, दोष मेरै हो । यद्यपि, यो सहरमा एउटा एकतमासको कुरा छ । सामाजिक दायित्वहरु गाउँले जीवनमा जस्तै गह्रौं र सहरमा जस्तै अनगिन्ती छन् ।

अर्को त्यस्तै कुराले हामीलाई छुन आउँछ, त्यो हो – मानिसहरुको परिवर्तनशील जीवन र समग्रमा नेपाली समाज परिवर्तनको लहर । आफ्नो वरिपरिको वातावरणबाट आफूलाई अलग राख्न मलाई निकै मुस्किल पर्छ । यता र उता तानिँदा मैले आफ्नो आन्तरिक जीवनका लागि बिरलै स्पेस पाउँछु । मेरो सृजनशील जीवनका लागि त झन् कठिन हुन्छ ।

जीवनमा अगाडि बढ्दै जाँदा डोरिस लेसिङका शब्दहरु म मनमा राख्ने चेष्टा गर्छु । त्यही बेला उनले लेखकहरुका लागि भनेकी थिइन् – के तिमीले आफ्नो स्पेस फेला पार्‍यौ ? तिम्रो आत्मा, तिम्रो आफ्नै अत्यावश्यक स्थान, जहाँ तिम्रो आन्तरिक आवाज तिमीसँग बोल्न सक्छ, तिमी मात्रै भएको त्यो स्थान, जहाँ तिमीले सपना देख्न सक्छौ । लौ, यदि तिमीले त्यो स्पेस फेला पारेका छौ भने त्यसलाई आत्मसात गर, पक्र, त्यसलाई फुत्किन नदेऊ ।  (मंजुश्री थापाले अंग्रेजी भाषामा रचेको यो आलेख नेत्र आचार्यले अनुवाद गरेका हुन् ।)

नयाँ पत्रिका २७ मंसिर २०६५

१२ डिसेम्बर २००८