Autobiographical account on Meditation

Netra Acharya

कवितादेखि दर्शनसम्म ध्यानदेखि शून्यतासम्म

यदि तीन दिन सम्म कुनै किताब नपढ्ने हो भने बोलीमा बासी कुराको गन्ध आउन थाल्छ । अज्ञात

संयोगवश मैले सानैदेखि किताबलाई साथी बनाएँ । पहिला म साहित्यको पाठक थिएँ । कविता, कथा र उपन्यास पढेर रमाउँथेँ । गोपालप्रसाद रिमाल, भीमदर्शन रोका, डब्लु. बी. इट्स र जोन किट्सका कविता, दौलतविक्रम विष्ट, एन्टोन चेखब र डिएच लरेन्सका कथा, पारिजात, शरच्चन्द्र, दोस्तोयब्स्की, लेर्मेन्तोभका उपन्यास पढ्दाका दिन कति मधुर थिए म शब्दमा बताउन सक्दिन । त्योताका वास्तविक दुनिया फिका र साहित्यको दुनिया रोचक लाग्थ्यो । बुझ्दै जाँदा साहित्यको रसिकता क्षणभंगुर हुँदोरहेछ भन्ने थाहा भयो । पढिराख्दासम्म रमाइलो, छोडेपछि उही एक्लोपन, उही विरक्ति । मैले दर्शन पढ्न थालेँ । ग्रीकतिरका विद्वान्ले दर्शनलाई सबभन्दा सुमधुर संगीत भन्दारहेछन् । सुरु–सुरुमा त मलाई पनि त्यस्तै लाग्यो । पढ्दा पनि कस्तो मजा । कथा–उपन्यास पूरै किताब पढेर सकेपछि बल्ल रहस्य खुल्थ्यो र आहा ! भन्दै मुख मिठ्याउन मन लाग्थ्यो । दर्शन त दुई चार हरफ पढेपछि मस्ती अनुभव हुँदोरहेछ । यसलाई सर्वोत्तम संगीत भनिएको ठिकै रहेछ भन्ने लाग्यो । दर्शनका पुस्तक पढ्दाताका म पुस्तकालयहरुमा घन्टौं बिताउँथेँ । नयाँ पुस्तक खोज्न चाहिँ टुरिस्ट एरियाका पुस्तक पसलहरु धाउनुपथ्र्यो । नित्सेको दस स्पेक जराथुस्त्र भन्ने किताब खोज्न निकै समय लाग्यो । कैयौं दिनसम्म म बेचैन भएर पसलहरुमा भौंतारिइरहेँ । तर किताब पाइएन । त्यो किताब फेला पार्न मलाई पोखराबाट काठमाण्डू आउनुपर्‍यो । जब फेलापारेँ, रातदिन गरेर पढिसिध्याएँ । नित्सेले जत्तिकै जीवनलाई माया गर्ने लेखक मैले आजसम्म भेटेको छैन । जीवन प्रतिको प्रेम व्यक्त गर्दै उनी भन्छन् ः

‘हामी प्रेमका भोका छौं र भोकमा काँचो भात पनि मीठो हुन्छ ।’

नित्सेका किताब निकै समय पढिरहेँ मैले । ती किताबले तत्कालीन समयमा मेरो सोचाइको दायरालाई बृहत्तर बनाए । जीवनलाई अपार प्रेम गर्न सिकाए । तुच्छ सुखलाई त्यागेर महान् सुखको प्राप्तिका लागि थाक्दैनथाकी संघर्ष गरिरहने ऊर्जा दिए । नित्सेको जीवनवादी दर्शन पढेको हरेक पाठकलाई यस्तै प्रभाव परेको हुनुपर्छ ।

यद्यपि समय बितेर गयो कि म, पत्तै भएन । दर्शनको न्यानो पनि असमयमै सेलाउन थाल्यो । विस्तारै मलाई दर्शनशास्त्रहरु अव्यावहारिक लाग्न थाले । देश–दुनिया एकातिर छ, जिन्दगीका संघर्षहरु एकातिर छन्, दर्शनशास्त्र कहाँकहाँको कपोलकल्पनामा हराइरहेको मैले देखेँ । मैले दर्शन गलत रहेछ भनेको चाहिँ हैन, तर व्यावहारिक पटक्कै रहेनछ । पढ्दा आनन्द आओस् साथसाथै जीवनसँग त्यसको प्रत्यक्ष साइनो पनि होस्, पढाइ त त्यस्तो पो उत्तम हुन्थ्यो । मेरो जीवनको बाटोमा उज्यालो छर्न नसकेका विचरा दर्शनशास्त्रहरु खाटमुनिको अँध्यारोमा थन्किए । अब मैले अझै माथिल्लो स्तरको विधा खोज्नुपर्‍यो जुन रसिलो पनि होस् गुनिलो पनि ।

अन्ततः मैले ध्यानका सम्बन्धमा पढ्न थालेँ । ध्यान बारे पढ्नु रसिलो त छँदैथियो, जीवनप्रतिको दृष्टिकोण बदलिदिने हुँदा तत्क्षण अध्ययनको प्रभाव पनि अनुभूति हुन्थ्यो । जति हरफ पढ्दै गयो उति नै आफूमा रुपान्तरण भइरहन्थ्यो । ध्यानको अभ्यास गर्न थालेपछि त शरीर र मनमा पुनर्ताजगी अनुभव हुन थाल्यो । रातभरिको गहिरो निद्राले थकान मेटिई शरीरमा स्फूर्ति भरिएजस्तै ध्यानको अभ्यासले शरीर तरोताजा, मन तनावरहित र उन्मुक्त हुँदोरहेछ ।

ध्यानले मलाई धेरै मदत गर्‍यो । परिवारको माया नपाएको कारणले होला मलाई हर्दम एक खालको छटपटी भइरहन्थ्यो । बिनाकारण बेचैन भइरहन्थेँ, सायद संवेदनशील हृदय भएकोले मैले कसै न कसैसँग विश्वास र मायाको सम्बन्ध जोड्न चाहन्थेँ । तर जसलाई विश्वास गर्न चाह्यो उसैले धोका दिन्छ, उसैले फाइदा उठाउन खोज्छ । परिस्थिति नै यस्तो छ, मानिसहरुलाई परिस्थितिले कुटिल बनाइरहेको छ, कसलाई दोष दिनु । मलाई बारम्बार कस्तो लागिरहन्थ्यो भने हे ईश्वर, कस्तो कालखण्डमा जन्मिएछु । जन्मिए पनि यो दरिद्र देशमा किन जन्मनुपरेको होला, त्यसमाथि यो बिकट पहाडको असभ्य बस्तीमा किन जन्मिनुपरेको होला । झन् यो संकुचित मानसिकता भएको परिवारमा किन ? म छिटै परिवार छोडेर नजिकको शहरमा पसेँ । र केही वर्षपछि उच्च शिक्षा अध्ययनका लागि राजधानी आएँ । यद्यपि जहाँ गए पनि कर्मसँगै भनेजस्तो एक्लोपन र बेचैनीले साथ छोडेन । समस्या उही थियो, ६५ लाख मानिसहरुको भीडमा म एक्लै हुन्थेँ । विश्वास र प्रेमको खडेरी परेको यो भयानक कंक्रिटको जंगलमा, यस्तो तामसयुक्त कालखण्डमा बाँच्नका लागि सहारा खोज्नु नै सायद गलत हो । केही कुरा खोज्नु नै, चाहनु नै दुखलाई निम्ता दिनु रहेछ । हामीले जे खोजिरहेका हुन्छौं त्यो त सदासर्वदा हामीसँगै हुँदोरहेछ, केवल हामीलाई त्यसको होश नहुँदोरहेछ । ध्यानको अभ्यासले जुन दिन होश आयो त्यो दिन कस्तुरीजस्तै आफ्नै शरीरबाट निसृत सुगन्ध खोज्न मैले अन्यत्र आँखा डुलाउन छोडिदिएँ ।

जुन दिन मलाई पूर्णतया मौन रहँदाको अपार ऊर्जा अनुभूति भयो, जुन दिन अस्थिर मन स्थिर भयो, जुन दिन सतत ध्यानस्थ रहने किमिया मैले फेला पारेँ, त्यही दिन मानो म उन्मुक्त भएँ । मैले आफैँसँग मित्रता गाँसेँ र आफैंलाई आफ्नो साथी बनाएँ । त्यसपछि त मेरा दुखका दिन गए । मैले दुखमा पनि सुख फेला पारिहाल्थेँ । दुख त आफ्नै आकांक्षाहरुको छायाँ पो रहेछ । दुखबाट भाग्नु छायाँबाट भाग्नुजस्तै रहेछ -- भाग्यो भने पछि लाग्ने, छहारीमा ढुक्कले बसिदियो भने हराउने । दुख होला कि भनेर, भविष्यको पीर गरेर वा अरुले के भन्लान् भनेर चिन्तित वा भयभीत हुनु र आफैंले पेन्ट गरेको राक्षसको चित्र देखेर डराउनु उस्तै कुरा रहेछन् ।  यद्यपि यो रहस्यको ज्ञानले मात्र भयमुक्त बनाउँदैन, बोध  हुनुपर्छ । र बोध हुनका लागि मन शान्त हुनुपर्छ, प्रज्ञा अर्थात् विशिष्ट ज्ञान हुनुपर्छ । जब मलाई यो बोध भयो, मैले यो देशमा, त्यो गाउँमा, त्यो परिवारमा जन्मनुपरेकोमा नियतिलाई दोष दिन पनि  छोडिदिएँ । बरु मलाई यस्तो संयोग पर्नु सौभाग्य पो रहेछ भन्ने लाग्न थालेको छ । किनभने यी सबप्रति तीब्र वितृष्णा हुँदैनथ्यो भने यो बोध पनि हुने थिएन होला । यो बोधको आनन्दका तुलनामा देशले, जन्मस्थानले वा परिवारले दिने आनन्द एक छेउ पनि रहेनछ । इच्छाहरु, तिर्सनाहरु, वासना र कामनाहरु पूरा गरेर पाइने सुख वा महासुख तृष्णाको क्षयबाट पाइने सुखको तुलनामा सोह्र भागको एक भाग जति पनि हुँदैन रहेछ । 

ध्यानको प्रभाव कति विज्ञानसम्मत छ भनी आफैंले अनुभूति गरेर हेरेँ । आरम्भका दिनमा मैले यसरी प्रयोग गर्थें । प्रथमतः मैले कम्तीमा एक दिनका लागि कुनै पनि कुराको लोभ नगरी बस्ने दृढ संकल्प गर्थें । कसैप्रति अनुराग मनमा नराखी, कसैसँग कुनै प्रकारको गुनासो, रिस वा क्रोध नगरी बस्थें । व्रत बस्नेले दिनभरि खाना नखाई पेट खाली राखेजस्तै ध्यान बस्नेले मनलाई खालि राख्नु अत्यावश्यक हुन्छ । कमसेकम आज दिनभरिका लागि मैले लोभ गर्दिन, कुनै व्यक्ति वा वस्तुको चाहना गर्दिन, कसैप्रति गुनासो वा रिस गर्दिन भन्ने निश्चय गरिसकेपछि मन यत्तिकै शान्त हुन थाल्थ्यो । त्यसपछि एकान्तस्थलमा सजिलो गरी बस्थेँ । शरीर र मनलाई निश्चल र स्थिर राख्थेँ । बिल्कुलै हलचल नगरी पूर्ण रुपले मौन बस्थेँ । पूर्ण मौन भन्नाले आन्तरिक संवाद पनि नगरी बस्ने भनेको हो । मन हर्दम संकल्प–विकल्प गरिराख्छ, मनमा कुरा खेलाइराख्छ । अतः मनलाई समेत मौन राख्नु वास्तविक मौन हो । डुलिराख्ने मनलाई ठेगान लगाउने विधि सास आएको–गएको हेरिराख्नु हो । सास नाकमा पस्दा प्वालहरुमा शीतलता अनुभूति हुन्छ, निस्कँदा न्यानो अनुभूति हुन्छ । क्रमशः एकाग्र र शान्त हुँदै गएपछि सास भित्र फोक्सोमा कहाँसम्म पुग्छ, त्यहाँ कतिञ्जेल रोकिन्छ र निस्कँदा केकति निस्कन्छ हेक्का राख्थेँ । म अत्यन्त शान्त भइराखेको छु भने सासको सूक्ष्म गति थाहा पाउन सक्थेँ । त्यतिमात्र होइन, शरीरमा रक्तसञ्चार भइरहेको समेत थाहा पाउँथेँ । हात, पाउ आदिमा रगत खेलिरहेको थाहा हुन्थ्यो, शरीरभरि त्यसको कम्पन अनुभूति हुन्थ्यो, मन अभूतपूर्व आनन्दको सागरमा तैरिन थाल्थ्यो । जति जति ध्यानस्थ हुँदैगयो उति उति यो चरम आनन्दको अनुभूति अझै घनिभूत हुन थाल्थ्यो । कहीँ पुग्नलाई, कुनै काम सक्नलाई जस्तो हर्दम बेचैन बनाउने हतारो हराउँथ्यो । के को हतार, के को धपेडी । को आफ्नो, को पराई । को मित्र, को शत्रु । को धनी, को गरिब । के सुख, के दुख । के सफलता, के असफलता । भेदबुद्धि समाप्त हुन्थ्यो । रातदिन प्रतिस्पर्धाको भावनाले बेचैन भइराख्ने मनलाई यतिखेर चैन अनुभूति हुन थाल्थ्यो । भेदभावले गर्दा छियाछिया हुने मनको कोमलतालाई राहत हुन्थ्यो । यसरी ध्यानको मस्ती अनुभूति हुन थालेपछि मैले ध्यानलाई आफ्नो एउटा दैनिकी बनाएँ । आजभोलि त म जबजब शान्त रहन्छु तब तब अपार ऊर्जा र आनन्दको अनुभूति गर्छु । पलेँटी कसेर आँखा चिम्म गरेर ध्यानमा बस्नै पर्दैन ।

‘अब मुझको करार तो सबको करार है

दिल क्या ठहर गया तो जमाना ठहर गया ।’ 

सायद यही कारणले भनिएको होला - आफू भलो त जगत् भलो ।

ध्यानको कला सिक्ने हो भने यसबाट सबैको जीवनलाई सहज, शान्त र आनन्दित बनाउन मदत मिल्छ । विद्यार्थीलाई ध्यानले अध्ययनमा एकाग्रता हुन्छ, स्मरण शक्ति बढ्छ, आत्मविश्वास सुदृढ हुन्छ । प्रतिस्पर्धाको भावनाले होइन, उत्कृष्टता प्राप्त गर्ने ध्येयले उसले अध्ययन गर्न सक्छ । प्रतिस्पर्धाले तनाव निम्त्याउँछ भने उत्कृष्टताको ध्येय राख्दा मनमा प्रफुल्लता अनुभूति हुन्छ । प्रश्न उठ्न सक्छ, एकाग्रता कसरी हुन्छ त ? कसरी हुन्छ भने, ध्यानको अभ्यास छैन भने मन बेचैन, अस्थिर र तनावग्रस्त भइरहन्छ । धमिलो पानी भएको पोखरीजस्तै । त्यस्तो पोखरीमा पिंधमा के छ देख्न सकिँदैन । केले पानी धमिलो बनाएको छ थाहा हुँदैन । जब ध्यानको अभ्यास गर्ने बानी बस्छ, तब हाम्रो मन सङ्लिन थाल्छ । सङ्लो पानीमा सबैथोक प्रस्ट देख्न सकिन्छ । तलाउमा तरङ्गहरु उठिरहेका छन् भने पनि गहिराइमा देख्न सकिँदैन । ध्यानले मन अत्यन्त शान्त हुन थाल्छ । शान्त मनको गहिराइसम्म देख्न सकिन्छ । मनको गहिराइमा अनावश्यक कुराहरु छन् भने तिनलाई मिल्क्याउन सकिन्छ । र पढेका सूत्र तथा व्याख्याहरु त्यहाँ भण्डार गर्न सकिन्छ । यसरी होशपूर्वक निश्चित ठाउँमा सञ्चय गरेका जानकारीहरु चाहिएको बेला तत्काल तिनलाई फेला पारेर वा सम्झेर उपयोग गर्न सकिन्छ ।

ममा ध्यानको प्रभाव पर्न थालेपछि एक्लोपना हराउँदै गयो । ध्यानस्थ भएका बेला मानिस–मानिसबीचका पर्खालहरु भत्किँदारहेछन् । म सबैसँग साथसाथ छु, हामी सबैका बीच सहसम्बन्ध रहेको छ, हामी सहअस्तित्वमा बाँचिरहेका छौं भन्ने बोध हुँदोरहेछ । हामी एउटा युनिभर्समा छौं, एउटै सूर्य र वायुमण्डल सबैले उपयोग गरिराखेका छौं । त्यतिमात्र होइन, हामी सबैको मन र बुद्धिभन्दा गहिराइमा जुन ज्ञानको प्रकाश छ त्यो एउटै चेतनाको स्रोतबाट निसृत भइरहेको छ । यति कुरा राम्ररी बुझेपछि कहाँको एक्लोपन । मेरा आफ्ना इच्छा, चाहनाहरु अरुले पूरा गरिदिइराखेको र अरुका आकांक्षाहरु मैले पूर्ति गरिराखेको मैले देख्न थालेँ । ध्यानको अभ्याससँगै मेरो अध्ययनमा पनि चामत्कारिक प्रगति भयो । बौद्ध दर्शनमा स्नातकोत्तर तहमा म विश्वविद्यालयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्न सफल भएँ ।

यसप्रकार एक्लोपनबाट मुक्त हुने चाहनाले मलाई कहाँबाट कहाँ पु¥याइसकेको थियो । एउटै वाक्यमा भन्दा, मैले ढुंगो खोज्दा देउता फेला पारिसकेको थिएँ । जब आवश्यक परेन तब मैले भरोसा लाग्ने मित्रहरु पनि फेला पर्न थालेँ । संसारभरिका यस्ता मित्रहरुको साथ–संगत हुन पाउनु मेरो निम्ति लाख हो । प्रविधिको विकासले धर्तीका पल्लो छेउका साधकहरुसँग समेत सुपरिचित बनाएको छ । उनीहरुबाट बारम्बार प्राप्त हुने हौसला मेरो जीवनको ऊर्जा पनि हो आनन्द पनि । उखानै छ, नमाग्दा मोती मिल्छ, माग्दा भीख पनि पाइँदैन ।  जब मैले कसैबाट केही कुराको अपेक्षा नै गर्न छोडिदिएँ, तब स्नेहको सम्बन्ध बन्न थाल्यो । सायद ममा पात्रता विकसित भयो होला । सायद संसारको रीत यस्तै रहेछ कसैबाट केही अपेक्षा गर्नु नै दुखको कारण रहेछ । त्यसैले भनिएको होला - भीख माग्दा सिक्का मात्रै मिल्छ, त्यो पनि खोटो ।

अर्कोतर्फ, निरपेक्ष रहँदाको सुख वर्णनातीत हुँदोरहेछ । चेतनामा बाँच्नुको आनन्दमा मग्न भइरहेका बेला म काठमाण्डूमा आयोजना भएका केही आध्यात्मिक कार्यक्रमहरुमा पुगेँ । मौनताको आनन्द फेला पारेका व्यक्तिहरु भेट्ने र तिनका अनुभूति सुन्ने मेरो चाहना थियो । यद्यपि अपेक्षाकृत एकान्तस्थलको आश्रममा बसी साधना गरिराखेका ‘गुरु’हरुसमेत भोगको लालच लुकाएर बसेका मैले देखेँ । तिनका आँखामा अतृप्त वासनाहरु सल्बलाईरहेका देखिन्थे, तिनले व्यवहारमा स्वार्थकै दुनो सोझ्याइरहेका हुन्थे । मैले तत्क्षण आफ्नो दृष्टिपथ अन्यत्र मोडेँ । उपेक्षा गर्नुभन्दा उत्तम अस्वीकृति सूचक प्रतिक्रिया अर्थोक केही हुँदैन ।

पूर्णतया छलकपटमुक्त विशुद्ध सामाजिक जीवन बाँच्ने अभिलाषा राख्ने व्यक्ति फेला पार्नु आकाश कुसुम खोज्नुजस्तै रहेछ । आधुनिक युगका जटिलताहरुले गर्दा पनि यस्तो भएको होला । यो कलियुगको उत्कर्ष बेला हो शायद, यहाँ इमान–जमान खोज्नु नै सारहीन कार्य हो । बाहिर खोज्न छोडेर स्वयंभित्र खोज्न थालेपछि भने सारा आकांक्षाहरु तिरोहित हुँदारहेछन् । मनको खालीपन अनन्त सम्पदाले भरिँदोरहेछ । हुन पनि, यो मन पवित्र र शुद्ध राख्न सके त्योभन्दा ठूलो दौलत, आनन्द र निर्भयता अर्थोक के हुन सक्छ ? मुठ्ठी बाँधेर राख्दा हामीसँग एक मुठीमात्र आफ्नो हुन्छ, मुठ्ठी खोलिदिँदा संसारको सारा सम्पदाका हिस्सेदार हुन्छौं । अर्कोतर्फ, हिंस्रक व्यक्ति आत्मग्लानिले स्वयं दण्डित हुन्छ, सज्जन सदाचारका कारण भयमुक्त रहन्छ ।  मेरा एक विपस्सी मित्र तन, मनले सन्त भइसकेका छन् । विपश्यना ध्यानको अभ्यास गर्ने उनी हर्दम ध्यानस्थ देखिन्छन् । उनको अनुहारमा सुखको उत्तेजना पनि छैन, दुखको तनाव पनि छैन । उनको सम्यक् खानपान, आचरण र शान्त प्रकृतिले सबैलाई प्रभावित पारिराखेको हुन्छ ।

ध्यानको प्रभावले प्रशान्तता प्राप्त गरेका समकालीन व्यक्तिहरुलाई भेट्दा मेरो मनमा अत्यन्त उत्साह भरिन्छ । यो आलेख पढ्ने सबै पाठकलाई कम्तीमा एक पटक दश दिने विपश्यना ध्यानको शिविरमा सहभागी हुन म हार्दिक अनुरोध गर्छु । ध्यानबाट प्राप्त गरेको धन बाँडिरहन मन लाग्दोरहेछ । अन्य स्रोतबाट प्राप्त धनजस्तो निजी प्रयोजनका लागि सञ्चय गर्न मन मान्दोरहेनछ । म तपाईंलाई सोध्छु, के तपाईं खोज्यो त्यही पाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने बाहिर दौडनुपहिला आँखा चिम्लेर ध्यानको अभ्यास गर्नुहोस् । तपाईंले जे खोज्यो त्यो पाउनुहुनेछ । रजनीशले भने, जिन खोजा तिन पाइया ।  कृपया ख्याल गर्नुहोला, यी वचनको प्रतीकात्मक अर्थ छ । शाब्दिक रुपमा बुझ्नु अधुरो बुझाइ हुनसक्छ ।

यदि ध्यान छैन भने तपाईं उज्यालो, रंगीचंगी र सुन्दर संसारमा अन्धो मानिसजस्तै हुनुहुनेछ ।  ध्यानको अभ्यास गर्नुहुन्छ भने सर्वकामार्थसिद्धये अर्थात् सबै काम सम्पन्न गर्न ध्यानको उपयोग गर्न सकिँदोरहेछ भन्ने यथार्थ तपाईंका सामु दिनको उज्यालोजस्तै छर्लंग हुनेछ । आफ्ना कुरा यति विश्वासपूर्वक राख्न सक्ने आँट मलाई ध्यानबाटै प्राप्त भएको हो । यी हरफहरुको प्रामाणिकता सिद्ध गर्न म जहिले पनि तयार छु ।

पश्चिमाहरुले वैज्ञानिक र प्राविधिक विकास गरेर मनव जीवनलाई सुविधाजनक बनाएका छन् । हामी पूर्वीयहरुले मानव जगत्लाई के योगदान दिनसक्छौं ? योग वा ध्यान पूर्वीयहरुको पूँजी हो, बल हो । यसलाई उपयोग गरेर हामीले के आर्जन गरेका छौं, हामीसँग समाज र विश्वलाई दिनसक्ने उपहार के छ, सन्देश के छ, सान्त्वना के छ ? यिनै विषयमा अध्ययन, चिन्तन र मनन गरिरहनुमा म अर्थहीन जीवनको सार्थकता देखिरहेको छु । मेरो प्रयास कति साङ्गोपाङ्ग छ, यसलाई केकसरी गतिशील र समुन्नत बनाउन सकिन्छ म सचेत भइरहनुपर्छ ।

आजभोलि मेरा सामाजिक सम्बन्ध निरपेक्ष, सुमधुर र सुष्ठु छन् । मैले जानेका र देखेभोगेका यथार्थहरुलाई विभिन्न माध्यमले समाजसमक्ष राख्छु र प्रतिक्रिया बुझेर त्यसमा परिस्कार गर्छु । हामी कोही पनि सिद्ध भइहालेका छैनौं । कसैको चेतनाको पर्दा अधिक खुलिसकेको होला, कसैको नहोला । कोही उचाइमा पुगिसक्नुभएको र कोही फेदीमै हुनुहोला । यहीँ जन्मेका बुद्धले २५०० वर्ष पहिला निर्वाण प्राप्त गर्नुभयो, त्यसयता कसैले निर्वाण प्राप्त गरेको सुनिएको छैन । कुनै फूलमा मह भरिएको हुन्थ्यो भने माहुरीहरुले पत्तो पाइहाल्थे । अतः यात्रारत हामीहरुको वाणी वा व्यवहार परिशुद्ध भइसकेको छैन । एउटा यात्रीको जीवनी पढेर पाठकलाई आफ्नो धरातल बोध हुनेछ र पङ्ख अझै फैलाएर उचाइमा पुग्न प्रेरणा मिल्नेछ भन्ने मेरो हृदयदेखिको कामना हो । एउटा व्यक्ति काम, क्रोध, लोभ र मोहबाट माथि उठ्न सक्यो भने स्वयं, समाज र संसारकै निम्ति अप्रतीम गौरव हुनेछ, परम मुक्तिदायी हुनेछ । यसप्रकारको निर्मल स्थिति प्राप्त व्यक्ति फेरि नेपालले नै जन्माएको देख्ने मेरो जीवनभरिको सपना हो ।

अध्ययन गर्ने बानीले गर्दा मलाई जीवन र जगत्को ज्ञान पनि भयो, मार्गदर्शन पनि मिल्यो । यद्यपि वास्तविक जिन्दगी किताबका पानामा होइन खुल्ला आकाश मुनि फेला पार्न सकिन्छ । ‘धूप में निकलो घटाओं मे नहाकर देखो, जिन्दगी क्या है किताबों को हटाकर देखो ।’ 

यद्यपि यो ज्ञान पनि पढेरै प्राप्त गरेको हो । तर यो बोध हासिल गर्न भने ध्यानको अभ्यास चाहिन्छ । मैले बुझेसम्म ज्ञान र ध्यान जीवनलाई सांगोपांग रुपले बुझनका लागि अनिवार्य तत्व हुन् । बुद्धले पनि यस्तै भन्नुभएको छ । ‘प्रज्ञोपाय समापत्तिर्योगः इत्यभिधीयते ।’  प्रज्ञा अर्थात् सम्यक् ज्ञान र उपाय अर्थात् ध्यानको अभ्यासबाट जीवनरुपी यज्ञ सुसम्पन्न हुन सक्छ । ध्यानलाई जीवनशैली बनाउँदा यी लाभ हुने सुनिश्चित छ ः

१. दुखको मूल कारण आफ्नो मात्रै सुख चाहनु हो । अरुको सुख–दुख आफ्नै सुख–दुख देख्ने दृष्टिकोण विकसित गर्दाका दिन हाम्रो दुख हराउँछ । बुद्धले भन्नुभएको छ ः अरुका लागि लालटिन बालिदिँदा आफ्नो बाटो पनि उज्यालो हुन्छ ।  ध्यानको अभ्यासले यो चेतना जागृत हुन्छ ।

२. यदि जीवनमा बुद्धिमानी कुरा केही छ भने त्यो एकाग्रता हो र कुनै खराब कुरा छ भने त्यो हो आफ्नो क्षमतालाई छरपस्ट हुनदिनु ।  ध्यानले एकाग्र हुने कला सिकाउँछ ।

३. जब हामी अध्ययन वा कुनै काममा लाग्छौं त्यतिखेर संसारको अन्य कुनै पनि कुरा मनमा हुनुहुँदैन । यही उपयोगी व्यक्ति बन्ने रहस्य हो । जब व्यक्तिले उपासना आरम्भ गर्छन् तब मात्र उनीहरुको व्यक्तित्व विकास हुन थाल्छ । भनिन्छ, जुन नाविकलाई आफ्नो यात्राको गन्तव्य थाहा छैन उसको अनुकूल हावा कहिल्यै बहँदैन । जीवनको गन्तव्य के हो त बुझ्न ध्यान सर्वोपयोगी हुनसक्छ ।

४. जे कुरामा रुचि वा प्रवृत्ति छ त्यसैमा लागिरहनुपर्छ । आफ्नो अन्तस्करणको आवाजलाई कहिल्यै रोक्नुहुँदैन । प्रकृतिले तपाईंलाई जे बनाउन चाहेको छ त्यही बन्नुहोस् । तपाईंलाई सफलता प्राप्त हुनेछ । यसको विपरीत तपाईं अरुको आग्रहले अन्य केही बन्न चाहनुहुन्छ भने केही बन्न सक्नुहुनेछैन । आफ्नो बुद्धिको मार्ग अर्थात् रुचि थाहा पाउन र त्यसमा दत्तचित्त हुने आत्मबल प्राप्त गर्न ध्यानले तपाईंलाई मदत गर्नेछ ।

सन्दर्भ सामग्री

१. ईमर्सन । १९९१ । चौरासी बौद्ध सिद्ध । नई दिल्ली, राधा पब्लिकेसन्स ।

२. कृष्णमूर्ति, जे । १९९६ । मेडिटेसन, द वन्ली वे । ताइवान ः द कर्पोरेट बडी अफ बुद्ध एजुकेसनल फाउण्डेसन ।

३. व्यास, अम्बिकादत्त । मिति अनुपलब्ध । शिवराज विजय । बनारस ः चौखम्बा प्रकाशन ।

४. हिन्दी कहावतें । १९९० । सं राजीव दास । नई दिल्ली ः आदर्श पब्लिकेसन्स ।

५. पातञ्जल योग दर्शन, व्यास भाष्य । २००५ । आचार्य राजीव शास्त्री । नई दिल्ली : आर्ष साहित्य प्रचार ट्रस्ट ।

६. रजनीश, ओशो । १९९५ । जिन खोजा तिन पाइया । नई दिल्ली : हिन्दी पाकेट बुक्स ।

७. महास्मृतिप्रस्थानसूत्र । २००२ । अनुवादक ः दोलेन्द्ररत्न शाक्य । कृष्णबहादुर नकर्मी ः ललितपुर ।

८. गुह्यसमाजतन्त्रम् । २००३ । सम्पादकः द्वारिकादासशास्त्री । वाराणसी ः बौद्ध भाराती ।

९. ओशो प्रवचन । एस धम्मो सनन्तनो । डिस्कोर्स नम्बर ४७ । पुना ः आशो कम्युन इन्टरन्यासनल ।


यो आलेख विशाल मिलन केन्द्र, विशालनगरको स्मारिकामा प्रकाशित भएको थियो । यसको मूल प्रति पिडिएफ भर्सन तलको लिङ्कमा पढ्न सकिन्छ । 

Autobiographical_Account_on_Meditation.pdf