मलाई तिमी आफूजस्तै फुल्न सिकाऊ !!

बुद्धदेव तिमी अलिक परै बस

आदिशङ्कर छेउमै नआऊ

महायोगीहरू दूरदूर जाऊ

ज्ञानले केही बेर विश्राम लेऊ

म चाहन्छु केवल आफैंसँग रमाऊँ

म स्वात्माराम विस्मय विमुग्ध होऊँ

ए मृगतृष्णा जस्ता वासनाहरू! उछार देऊ

म ज्ञानमयी दृष्टिले ब्रह्ममय जगत् देखिरहेको छु

म चतुर्ब्रह्म विहारमा मग्न भइरहेको छु

म गुलाफसँग अन्तरङ्ग हुन चाहन्छु

चम्पा र चमेलीको मीठो सुवासले

वासनाको वास पखाल्न चाहन्छु

म फूलहरूको भाषा सिक्दैछु -

ओ चम्पा! म तिमीलाई औधी मन पराउँछु

फुल्नु फक्रनु तिम्रो अस्तित्वको सार हो

मलाई तिमी आफूजस्तै फुल्न सिकाऊ !!