विपस्सनाका रहस्यहरू - १

विपस्सनाका रहस्यहरू - १

शेर्पा हिमाल शिखर चढ्न माहिर हुन्छन् ।

शेर्पा बुद्धत्वको उचाइ हासिल गर्न पनि माहिर हुन्छन् ।

मेरा मित्र नवाङ शेर्पा विपस्सना जान ज्यादै उत्सुक ।

२५ वर्ष पहिला वनारसमा विपस्सना बसेको सम्झना,

त्यति नै वर्ष गुम्बामा लामा जीवन बिताएको सम्झना,

कुशल संस्कारले कुशल कर्म तिरै प्रेरित गर्छ ।     

हामी बेलाबेला सहभोज र सत्सङ्ग गर्छौं । हिजो सत्सङ्गमा मित्रको प्रश्न थियो – विपस्सनाका सबै सेक्रेट बताइदिनु । यही जाडोमा विपस्सना जाँदैछु, ध्यान गहिरो होस् र एउटै शिविर पूरा गर्दा अर्हत पद पाइयोस् ।

मैले मनमनै गमें, विपस्सनाका सेक्रेट के हुन् त ।

पहिलो हो – बोधिचित्त ।

बुद्धत्व हासिल गर्नुअघि बुद्धले बोधिचित्त पैदा गरेका थिए र जन्मजन्म त्यसको अभ्यास गरेका थिए ।

बोधिचित्त पैदा गर्न 'बुद्धो भवेयं जगतो हिताय' यो सङ्कल्प गर्नुपर्छ ।

जगत्‌को कल्याणका लागि बुद्ध होऊँ ।

मान्छेको जीवनमा दुःखैदुःख, असन्तोषै असन्तोष छ । अरूलाई दुःख मुक्त गर्न मनमा स्वतःस्फूर्त करुणा जाग्नु अद्भुत घटना हो, त्यही हो बोधिचित्त ।

यसमा त्यस्तो सेक्रेट के छ त ।

क्वान्टम सिद्धान्त अनुसार दुइटा छिद्र भएको पर्दामा एउटा इलेक्ट्रोन फ्याँक्दा एकसाथ दुवै प्वालबाट छिर्छ । सूक्ष्मतामा कण तरङ्ग एकाकार हुन्छन्, स्वभाव बदलिन्छ । वेभ-पार्टिकल डुअलिटी ।

दुःख पनि सूक्ष्म हुन्छ । कहाँ, कहिले, कति हुन्छ थाहै हुन्न । दुःख मेट्ने हो भने आफू र अर्को भन्ने भेद मेटिनुपर्छ ।  अरूको दुःख मेट्नु सूक्ष्मरूपले आफ्नै दुःख मेट्नु हो ।   दान पारमिताको अभ्यासमा अरूलाई दिंदा आफैंले पाएको महसुस हुन्छ । यो रहस्य बुझ्न पनि सूक्ष्मतामा जानुपर्छ । विपस्सनाको गहिराइमा । मनलाई शुद्ध, सूक्ष्म बनाउँदै बुद्धिको पर्दामा Piercing and penetrating गर्दा यथाभूतदर्शन हुन सक्छ ।        

सबै शेर्पा बुद्धत्वको उचाइमा पुगून् ।