एकान्तको उपयोग

 पृथ्वीको पुकार 

पृथ्वी स्वर्गको सभामा पुगिन् र त्यहाँ उपस्थित ब्रह्मा, विष्णु, इन्द्रादि देवसामु आफू पापीहरूको भारबाट पीडित भएको वृत्तान्त सुनाइन् । कंस, जरासन्ध, शिशुपाल, दुर्योधनजस्ता कुख्यात शासकहरूको स्वेच्छाचार र अत्याचार सुनेर देवताहरू द्रवित भए । विष्णुले भने, ‘पापीहरूको संहार गरेर पृथ्वीको उद्धार गर्न मर्त्यलोकमा जन्म लिने संकल्प गर्छु ।’ इन्द्र, अग्नि र अन्य देवदेवीले पनि अंशावतार लिई विष्णुलाई मद्दत गर्ने संकल्प गरे । कृष्ण अवतार लिएर विष्णुले दुराचारीहरूको अन्त्य गरी पृथ्वीको भार हरण गरे ।

यो द्वापर युगको प्रसङ्ग थियो । कलियुग भनिने यस युगमा फेरि एक पटक पृथ्वीको भार चुलिएको छ । जीवाष्म इन्धनको अति प्रयोगले वायुमण्डल दूषित भएको छ, विश्व तापमान बढेको छ, समुद्र सतह बढ्दै आएको छ । धूवाँले भरिएको आकाश, जंगल सखाप पारिंदा नाङ्गिएका डाँडापाखा, पोहोर र सुख्खा नदीनाला, मांसाहारका निम्ति जीवजन्तुको वीभत्स हत्या यी दृश्यले पृथ्वी प्रताडित भएको छ । पृथ्वीले आफ्नो उद्धार होस् भनी पुकार गरिरहिन्, देवताहरूले सुनेनन् । यसपालि एउटा अदृश्य भाइरसले सुन्यो ।

यो भाइरसले एकाध महिनादेखि संसारलाई बन्दीगृह सरी बनाइदिएको छ । मानिस घरभित्र थुनिएका छन्, नाफाखोर अर्थव्यवस्था धराशायी भएको छ, सबैले आफ्नै मनका लोभानि-पापानि पर्यालोचना गर्दैछन् । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । महामारी सृजित अव्यवस्थाभित्र कतै सुव्यवस्थाको संकेत पनि छ । नित्सेले भनेका थिए, ‘मानिस एउटा सङ्क्रमणकाल हो, चेतना उन्नत बनाउँदै महामानव बन्न सक्छ, अधोपतन हुँदै पशुवत् हुन पनि सक्छ ।’ इन्द्रिय तुष्टिका निम्ति समयलाई पैसा र गतिलाई प्रगति मानेर प्रतिस्पर्धामा दौडिरहेको मानिसले आफैंलाई, आफ्ना सम्भावनालाई चिन्न सकिरहेको छैन । सामाजिक दूरी र एकान्तवासको यो समय अन्तर्यात्राका निम्ति उपयोगी अवसर हो । अन्तर्यात्रा धेरै तरिकाले गरिन्छ – स्व-अध्ययनमार्फत्, योगाभ्यास र ध्यानमार्फत् ।

अन्तर्यात्रा र ऊर्जा

स्वाध्यायका लागि एकान्तवास सुन्दर अवसर हो । रहँदाबस्दा मनमा राग, द्वेष र मोहको संस्कार बसेको हुन्छ । त्यो संस्कारले निरन्तर क्लेश अर्थात् दुःखतिर तानिरहेको हुन्छ । सामाजिक संसर्गका दौरान प्रिय-अप्रिय परिस्थिति सामना गर्नुपर्छ । रुचिकर-अरुचिकर सम्झौता गर्दा, लत्रिंदा-लत्रिंदा, चोट खाँदा-खाँदा आत्मा छियाछिया भइसक्छ, ऊर्जा छिन्नभिन्न भइसक्छ । शरीर र मनमा पुनः ऊर्जा सञ्चार गर्ने माध्यम योग र ध्यान हो । ध्यानको परिभाषा गर्दै असङ्गले भने – धारयति अध्यात्मं मन इति ध्यानम् । अर्थात् मनलाई आफैंभित्र अड्याएर राख्नु ध्यान हो । ध्यानले मनलाई स्थिर बनाइदिन्छ, ऊर्जा सञ्चित गराइदिन्छ, निष्क्रिय ऊर्जालाई सक्रिय गराइदिन्छ । ऊर्जा शान्ति र आनन्दको स्रोत हो जुन सामाजिक संसर्गका दौरान क्षय हुन्छ । सामाजिक हुने नाममा व्यक्तिले आफ्नो निजता बिर्सनु, ऊर्जा क्षय गर्नु हितकारी होइन ।

मानिसलाई ‘सामाजिक प्राणी’ मानिएको छ तर मेरो दृष्टिमा यो बहसको विषय हो । प्रकटमा मानिस समाजमा बस्न रुचाएको देखिन्छ तर यसको अन्तर्यमा अर्कै यथार्थ फेलापर्छ – अधिकांश मानिसले समाजको उपयोग मात्र गरिरहेका हुन्छन् । नित्से, फुको आदि दार्शनिकले मानिसले पावर एक्सरसाइज अर्थात् अरूभन्दा शक्तिशाली हुने अभ्यास गरिरहने तथ्य औंल्याएका छन् । मानिसले शक्तिको आकांक्षाले हिंसा या प्रतिस्पर्धा मात्र गर्दैन, कसैको प्रशंसा गर्दा, कसैलाई माया गर्दा वा उपहार दिंदा समेत शक्तिको आकांक्षा, सर्वश्रेष्ठ हुने आकांक्षा राखेको हुन्छ । घरपरिवारभित्र समेत शक्तिसंघर्ष चलिरहेको हुन्छ । आशाभन्दा अधिक निराशा जगाउने यो पाश्चात्य दृष्टि हो, पूर्वीय दर्शनको दृष्टि आशावादी छ । पूर्वीय दर्शनले हरेक व्यक्ति आफैंमा सम्पूर्ण छ भन्छ । सर्वं आत्मवशं सुखम्, स्वतन्त्र हुनु, आफ्नै वशमा रहनु सर्वाधिक सुखद अनुभूति हो । यो स्वतन्त्रता दर्शन मात्र होइन, प्रकृतिको नियम नै हो । हरेक वस्तु स्वतन्त्र छ, स्वयंमा पूर्ण छ ।

उपनिषद्‌का अनुसार असङ्गता नै वस्तुको स्वभाव हो । पञ्चतत्व अर्थात् माटो, पानी, हावा, प्रकाश आदि असङ्ग हुन्छन् । माटोमा पानी हाल्यो भने गिलो हुन्छ तर सुकेपछि फेरि यथावत् हुन्छ । पानीमा नुन, चिनी अथवा कुनै रङ राखे पनि वाफ बनेपछि पानी पुनः आफ्नै स्वभावमा फर्कन्छ – रंगहीन र स्वादहीन । त्यसैगरी कुहिएको वस्तुका कारण हावा दुर्गन्धित भए पनि स्रोत हटेपछि दुर्गन्ध पनि हट्छ । रंगीन चश्माले हेर्दा प्रकाश रंगीन देखिन्छ तर प्रकाशले असङ्गता छाडेको हुँदैन । वस्तुमा जस्तै व्यक्तिमा पनि यही नियम लागु हुन्छ । व्यक्ति त्यतिखेर खुशी हुन्छ जतिखेर ऊ आफ्नो स्वभावमा स्थिर हुन्छ ।

बौद्ध विद्वान् आर्यदेव भन्छन् –

यथैव स्फटिकः स्वच्छ पररागेण रज्यते । 

तथैव चित्त रत्नं तु कल्पना रागरञ्जितम् । 

स्फटिक मणि नजिकमा जस्तो रङ छ उस्तै रङको बनेजस्तै चित्त पनि जस्तो विचार वा भावनाको संगत हुन्छ उस्तै बन्छ । चित्त असङ्ग हुँदा आदिशुद्ध स्वरूपमा फर्कन्छ । चित्तलाई आदिशुद्ध स्वरूपमा फर्काउन इन्द्रिय संयम चाहिन्छ ।

इन्द्रिय संयमको फल

नवबधु गान्धारीले पति धृतराष्ट्र अन्धा रहेछन् भन्ने थाहा पाएकै क्षण कालो पट्टीले आँखा बाँधेकी थिइन् । जीवनभर पट्टी नखोल्ने प्रतिज्ञा पतिव्रता गान्धारीको थियो । उनका पुत्र दुर्योधन महाभारत युद्ध हार्ने थिति आएपछि मातापितालाई भेट्न हस्तिनापुर पुगे । गान्धारी चिन्तित भइन् र प्रतिज्ञा तोडेर पुत्रको कल्याण गर्ने मनसायले उसलाई सर्वाङ्ग निर्वस्त्र हुन भनिन् । गान्धारीले आँखाको पट्टी खोलेर हेर्दा दुर्योधनले जननेन्द्रिय छोप्न लगौंटी लगाएका थिए । दुःखी हुँदै गान्धारीले भनिन् – मेरो दृष्टिपातले तिम्रो शरीर वज्र समान भएको छ तर जंघा कमजोर रह्यो । महाभारत युद्धको अन्त्यतिर गदायुद्ध हुँदा भीमले दुर्योधनको शरीरलाई कत्ति चोट पुर्‍याउन सकेका थिएनन्, कृष्णको संकेतमा भीमले जंघामा प्रहार गरी दुर्योधनलाई मारे । आँखाको संयम गर्दा अपार दृष्टि शक्ति विकसित हुन्छ भन्ने उदाहरण हो यो ।

निस्फला नेत्रविक्षेप न कर्तव्याः कदाचन ।

निध्यायन्तीव सततं कार्या दृष्टिरधोगता ।।

बौद्ध विद्वान् आचार्य शान्तिदेव आँखाको संयमका बारेमा भन्छन् – अकारण यताउता चियाउने नगर्नु जाति हो, ध्यानमा बसेजस्तै आँखा झुकाइरहनु उत्तम हो । खप्तड बाबाले विचार विज्ञानमा विचारको संयम गर्दा चिताएको वा बोलेको पूरा हुने रहस्य बताएका छन् । इन्द्रियको संयमले हुने लाभ योगदर्शनको विभूति पादमा उल्लेख छन् ।  संयमले मानिसको मनमा प्रशन्नता, चित्तमा एकाग्रता, इन्द्रिय वशिता, आत्मदर्शनको योग्यता जस्ता गुण विकसित गराउँछ ।

यत्पिण्डे तत् ब्रह्माण्डे

जे शरीरमा छ त्यही ब्रह्माण्डमा पनि छ । सबै पञ्चतत्त्वले बनेका छन् । शरीरमा घटिरहेको अव्यवस्था प्रकृतिमा प्रकट भएको हुन्छ । मानिस जुन अनुपातमा राग रञ्जित, द्वेष दूषित र मोह विमूढित भएको छ त्यही अनुपातमा पृथ्वी प्रदूषित भएको छ, फोहोर, कुरूप र असन्तुलित भएको छ । मानिसले वस्तु, विचार र डाटा बेहिसाब उपभोग गरिराखेको छ । शरीर टक्सिनको भारले र मस्तिष्क सूचनाहरूको भारले थिचिएको छ । मानिस आफू समालिन सके पृथ्वीलाई मद्दत गर्न सक्नेछ । एकान्तवासले समालिने ऊर्जा दिन सक्छ ।

एक्लोपना र एकान्तवास फरक कुरा हुन् । एकान्तप्रिय हुन थालेपछि मानिसको एक्लोपना गायब हुन्छ । एकान्तवासमा ऊर्जा संचय हुन्छ । त्यही ऊर्जाको उर्ध्वगमनले सिद्धार्थ गौतमलाई बुद्ध बनायो, वर्द्धमान महावीरलाई भगवान् महावीर बनायो, कालिदास र तुलसीदासलाई कालजयी महाकवि बनायो । त्यसैले शंकराचार्यले भने – एकान्ते सुखमास्यताम्, एकान्तमा सुखानुभूति गरौं । एकान्तलाई अवसरका रूपमा भरपूर उपयोग गर्नु बुद्धिमानी हो । मानिस स्वयंभित्र सन्तुलित भयो भने पृथ्वी सन्तुलित हुनेछ ।

एकान्तवासको उपयोग गर्दै मानिसले टक्क रोकिएर आत्ममूल्याङ्कन गर्न सक्यो भने, पृथ्वी साझा घर हो यसलाई सबैले आफ्नै घरजस्तै रक्षा गर्नुपर्छ भन्ने बोध गर्न सक्यो भने, प्रतिस्पर्धाको साटो प्रेम विकसित गर्न सक्यो भने, जीवजन्तुको हिंसा रोक्यो भने श्रेय कोरोना भाइरसलाई जानेछ । पृथ्वीको रक्षक बन्नुपर्ने मानव जाति भक्षक हुँदै जाँदा अदृश्य कीटाणुले पृथ्वीको भार हरण गरिदिंदै छ ! ११ जेष्ठ २०७७ मा कान्तिपुर दैनिकमा प्रकाशित ।

https://ekantipur.com/bibidha/2020/05/24/159029922326394234.html?fbclid=IwAR2N-EozxBiiYq7uNblXRedyTZHlFS-qumKjF_HEUkzy_2nnm_QTDpyhL8s