तन्त्र साधना - ऊर्जाको मौन विस्फोट

मृत्कुम्भः बालुकारन्ध्रः पिधानरचनार्थिना 

दक्षिणावर्तशंखोऽयं हन्त चूर्णीकृतो मया ।

‘माटोको घैंटोमा परेको सानो प्वाल टाल्न दक्षिणावर्त शङ्ख फुटालें, अहो मैले कस्तो गल्ती गरें ।’ सांसारिक कामना र वासनाले मानिसलाई अन्धो बनाइदिन्छ, अन्धो भएको बेला उसले छुद्र स्वार्थ पूरा गर्न परम्परा, धर्म र नैतिकता बेचिदिन पछि पर्दैन । तर अन्ततः जब कर्मको बिपाक हुन्छ अर्थात् कर्मको फल पाक्‍न थाल्छ र दुष्परिणाम देखिन थाल्छन्, उसका आँखा खुल्छन् । त्यतिञ्‍जेलसम्म ढिलो भइसकेको हुन्छ, पैतालामुनिको जमिन भासिइसकेको हुन्छ । तन्त्र साधना अध्यात्म परम्पराको महत्तम विकास हो । यसको महती उपयोग र गरिमा शब्दमा बताउन सकिंदैन । तन्त्र साधनाप्रति आकर्षण पनि विश्वभर व्याप्त हुँदो छ । तर दुरुपयोग गर्नेहरू यही विधालाई आड लिन तम्सिइरहेका देखिन्छन् ।

यतिखेर पनि धर्म, अध्यात्म, तन्त्र साधना आदिका आडमा ‘साधु’ भेषधारीहरूले ठगी गर्ने या शारीरिक शोषण गर्ने निन्द्य घटना बढेका छन् । यसो हुनुमा ‘रहस्यमय’ तान्त्रिक साधना प्रयोग गरेर जीवनमा कुनै ‘चमत्कार’ भइहाल्ला कि भनी सोच्नु तर धर्मको अनुशीलन गरी जीवनलाई अनुशासित बनाउने पक्ष भने गौण हुन थाल्नु मुख्य कारण देखिन्छ । मानिसहरू छिटोछिटो सिद्धि र सफलता पाउन चाहन्छन् । तान्त्रिक साधना या अनुष्ठानले छिटो सिद्धि पाइन्छ भन्ने प्रचार व्याप्त छ । कोही जटाधारी, भस्मलेपी व्यक्ति देख्दा मानिसको उत्सुकता बढ्छ, ती ‘बाबा’को आशीर्वाद पाउने उत्कण्ठा पलाउँछ र सम्भव भएसम्म तीसँग कुनै तान्त्रिक साधना सिक्‍न पाए रातारात जीवनमा चमत्कार हुनेथियो भने कौतुहल पैदा हुन्छ ।

मानिसको मनको यही कौतुहल र छटपटी बुझेका व्यक्तिले बठ्याइँ गरी तान्त्रिक साधनाको नाममा ठगी धन्दा चलाउँछन् । यो धन्दामार्फत् सोझासिधा मानिसलाई सम्मोहित या वशीकरण गर्दै लोभ या त्रास देखाएर धन र यौन शोषण गर्ने खेती युगौंदेखि चलिआएको छ । तान्त्रिक साधनाको बारेमा सही ज्ञान नहुँदा, यसको उपयोगिता र सीमाहरू थाहा नहुँदा आम मानिस ठगिने, लुटिने स्थिति आएको हो । यो आलेखमा तान्त्रिक साधनाको आधारभूत जानकारी र यसका सीमाहरूको चर्चा गरिनेछ ।

तन्त्र शब्दको अर्थ धेरै प्रकारले गरिएको पाइन्छ । योग दर्शनको तत्त्व वैशारदीय टीकामा उल्लेख छ – तन्यते विस्तार्यते ज्ञानं अनेन इति तन्त्रम् । अर्थात् जसद्वारा अभ्युदय, लौकिक कल्याण तथा निःश्रेयस (मोक्ष) का उपाय दृष्टिगोचर हुन्छन् त्यो विधा आगम तन्त्र हो । आगम तन्त्रको अर्को नाम पनि हो । तनोति त्रायति तन्त्र अर्थात् शरीरको रक्षण, विस्तार या फैलाव गर्ने साधनालाई तन्त्र भनिन्छ । यन्त्र, मन्त्र र तन्त्र साधना एकसाथ आउँछन् । कालक्रममा शब्दको अर्थ फेरिइरहन्छ । तनको सम्बन्ध चेतना शक्तिसँग र त्रको सम्बन्ध स्वतन्त्र गर्नु, बन्धनमुक्त गर्नु या रक्षा गर्नुसँग छ । मानिसभित्र आन्तरिक, अतीन्द्रिय र सुषुप्त शक्ति छिपेको छ । जसलाई मानिसले आफ्नो बहिर्मुखताका कारण उपयोग गर्न सक्दैन । यही शक्तिलाई स्वतन्त्र या मुक्त गर्नु, तदनन्तर उक्त शक्तिलाई जीवनमा अनुभव गर्नु र बृहत्तर हितका लागि उपयोग गर्नु तन्त्र साधनाको उद्देश्य हो ।

तन्त्रको अर्थ तनद्वारा, मन्त्रको अर्थ मनद्वारा र यन्त्रको अर्थ कुनै मेसिन या वस्तुद्वारा गरिने साधना या सम्पन्न हुने अनुष्ठान भन्ने बुझिन्छ । हिन्दू परम्परामा शाक्त सम्प्रदायसँग तन्त्रको सम्बन्ध सर्वाधिक पाइन्छ । त्यसपछि शैव सम्प्रदायसँग र केही वैष्णव परम्परासँग पनि तन्त्र साधना जोडिएको छ । बौद्ध परम्परामा महायान-वज्रयानमा तन्त्र शास्त्रहरूको अत्यन्त सुव्यवस्थित भण्डार छ र त्यसको विशिष्ट अभ्यास पद्धति विकसित छ । बौद्ध तन्त्र पद्धतिको चर्चा यो लेखको विषय होइन ।

तन्त्र शब्दको अर्को अर्थ ‘व्यवस्था’ भन्ने हो । हामी आफ्नै शरीरमा निवास गर्छौं, यो एक वास्तविकता हो । पञ्‍चभौतिक शरीर नै हाम्रा सबै कार्यहरूको केन्द्र हो । अतः यो शरीरलाई हरतरहले स्वस्थ, सन्तुष्ट र तृप्त राख्‍नु अत्यावश्यक हुन्छ । प्रथमतः हामीले यही शरीरको क्षमता विस्तार गर्नुपर्छ । शरीर स्थुल छ, प्रष्ट देखिने, छोइने र महसुस गर्न सकिने छ । देखिने, छोइने शक्तिलाई साध्‍न सक्‍ने व्यक्तिले नै सूक्ष्म शक्ति मनलाई फेला पार्न र साध्‍न सक्छ । मनलाई साध्‍नु उत्कृष्ट साधना हो तर त्यसअघि शरीर वशमा हुनुपर्दछ । उपनिषद्‌ वचन छ – शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात् शरीर नै सबै धर्म एवं कर्तव्य पूरा गर्ने साधन हो । अतः यसलाई स्वर्थ र बलियो राख्नु प्राथमिक कर्तव्य हुन्छ । मानिसलाई शरीरको  आभास त्यतिखेर हुन्छ जब उसलाई भोक लाग्छ या जब शरीरमा कुनै रोग लाग्छ । शरीर यति स्वस्थ र ऊर्जावान् होस् कि शरीरको आभास नै नहोस् । तब मात्र शरीरभन्दा पर, भौतिक अस्तित्त्वभन्दा पर चैतन्य लोकको यात्रा सम्भव हुन्छ । चेतनाको यात्राका लागि महती ऊर्जा र दिशाबोध आवश्यक हुन्छ ।

जीवनमा आशाको सञ्चार गराउन, भाग्यलाई सौभाग्य बनाउन, आस्था र भरोसा बढाउन, आफ्नो कल्याण गरी अरूको जीवनमा कल्याण विस्तार गर्न अपार ऊर्जा आवश्यक हुन्छ । तन्त्र साधनाद्वारा ऊर्जाको मौन विस्फोट सम्भव हुन्छ ।

यत्रास्ति भोगो नहि तत्र मोक्षः यत्रास्ति मोक्षो नहि तत्र भोगः । 

श्रीसुन्दरी सेवनतत्पराणां भोगश्च मोक्षश्च करस्थ एव ।।  

अर्थात्, जहाँ भोग छ त्यहाँ मोक्ष हुँदैन, जहाँ मोक्ष छ त्यहाँ भोग हुँदैन । यद्यपि तन्त्र साधकका लागि भोग र मोक्ष एकसाथ उपलब्ध हुन्छ । भोग आसक्ति रहित हुन्छ, भोग त्यागपूर्वक गरिएको हुन्छ, भोग साक्षी भावसहित हुन्छ । यसो हुँदा मात्र कर्मको बन्धन रहँदैन ।

तन्त्र साधनाद्वारा ऊर्जाको मौन विष्फोट सम्भव छ तर त्यसका लागि योग्य अधिकारी हुनु पहिलो शर्त हो । तन्त्र मार्गमा प्रवेश-अभिलाषी साधक फरक प्रकृतिका हुन्छन् । यो साधनाले साधकको पशुभावलाई वीरभावमा रूपान्तरित गर्ने र अन्ततः दिव्यभाव उपलब्ध गर्न मद्दत गर्छ । वीर भाव पाइसकेको साधकमा ऊर्जाको प्रचूरता हुन्छ, दिव्यभावमा उपलब्ध हुँदा असीम ऊर्जा हासिल हुन्छ । सामान्यतया मानिसले खाद्य पदार्थ र विश्रामबाट ऊर्जा प्राप्त गर्दछन् तर दिव्यभावमा उपलब्ध साधक प्रेम, शान्ति र समरसताका कारण सदा ऊर्जावान् हुन्छन् । साधारण मानिसहरू भोक लाग्दा खाना नपाए अनुहारको रौनक हराउन थाल्छ, योगीहरू उपवास बसिराख्दा पनि तरोताजा, स्फूर्तिला र प्रसन्नता युक्त देखिन्छन् । आम प्राणीहरूले भोजनबाट, सूर्य र विश्रामबाट ऊर्जा प्राप्त गर्छन् । योगीहरूले अस्तित्त्वबाट, चेतनाबाट ऊर्जा ग्रहण गर्छन् । वर्तमान क्षणामा होसपूर्ण रहँदा र एकत्त्वभाव अनुभूति गर्दा अपार ऊर्जा सञ्चय हुन्छ । साधनाले यो अवस्था सम्भव बनाउँछ ।

तन्त्र साधनालाई बुझ्न यसका मुख्य तीन तह बुझ्नु अत्यावश्यक हुन्छ । पशुभाव, वीरभाव र दिव्यभावको साङ्गोपाङ्ग ज्ञान हुँदा मात्र तन्त्र साधना सहज हुन्छ । हरेक व्यक्तिमा यी भाव कमोवेशी हुन्छन् । घृणा शङ्का भयं लज्जा जुगुप्सा चेति पञ्‌चमी । कुलं शीलं तथा जातिरष्टौ पाशाः प्रकीर्तिताः ।  घृणा, शङ्का, भय, लज्जा, जुगुप्सा, कुल, शील र जाति – यी आठ पाश अर्थात् बन्धनले बाँधिएका हुनाले सबै जीवलाई पशु भनिन्छ; गाई, बाख्रालाई मात्र होइन । यी पाश अर्थात् पशुभावका बन्धनबाट मुक्त हुन सक्ने व्यक्ति नै तान्त्रिक अभ्यासको वास्तविक अधिकारी बन्न सक्छ । अतः तन्त्र साधनामा प्रथम प्रवेश नै कष्टसाध्य हुन्छ । अधिकांश मानिस यिनै बन्धनमा बाँधिएका हुन्छन् र कालक्रममा यी बन्धनहरू नै उनीहरूलाई स्वाभाविक लाग्न थालेका हुन्छन् । दशौं वर्ष पिंजडामा थुनिएको पंक्षी पिंजडा खोलिदिंदा भुर्र उडेर बाहिर निस्कन्छ तर फेरि भुर्र उडेर पिंजडामै फर्कन्छ रे । बन्धनमा अभ्यस्त भइसकेको प्राणीलाई उन्मुक्ति असहज लाग्न थाल्छ । बन्धनमा सुरक्षित रहेको र सबै आवश्यकता पुगेको भान हुन थाल्छ । स्वतन्त्रता जोखिमपूर्ण लाग्नथाल्छ । हरेक व्यक्तिमा यही नियम लागू हुन्छ । रोग, शोक र भययुक्त जीवनचर्यामा रचेपचेका व्यक्तिलाई आध्यात्मिक उन्मुक्तता असहज हुन्छ, असुरक्षित र अत्यासलाग्दो महसुस हुन्छ । अतः सर्वप्रथम बन्धनबाट मुक्तहुन सहज छैन, तदनन्तर स्वतन्त्रतालाई आत्मसात गर्न सहज छैन ।

वास्तविकता यस्तो भए पनि समाज र ‘बजार’मा अर्थोकै प्रचलनमा देखिन्छ । तान्त्रिक देवीदेवताको पूजा गरे व्यापार व्यवसाय सफल हुने, विदेश यात्राको अवसर मिल्ने, शरीरको रोगव्याधि निको हुने, मानसिक समस्या समाधान हुने, भूतप्रेतको बाधा हट्ने, शत्रु नाश हुने, प्रेम सफल हुने जस्ता आश्वासन दिएर मानिसलाई प्रलोभनमा पारी लुट्ने, ठगी गर्ने कथित ‘बाबा’हरूबाट सय कोश पर बसेको जाती हुन्छ । अन्यथा मन कमजोर भएको मौकामा ठगहरूले कुनै न कुनै रूपले फसाउन सक्छन् ।

तन्त्र अनुष्ठानमा पञ्‍चमकार अर्थात् मद्य, मांस, मत्स्य, मुद्रा र मैथुनको प्रयोग अत्यावश्यक हुन्छ भन्ने बुझाई प्रचलनमा छ । यो अर्को भ्रम हो । काम वासनाका सम्बन्धमा कुलार्णव तन्त्रमा भनिएको छ –

यावत् कामादि दीप्येत यावत् संसारवासना । 

यावदिन्द्रियचापल्यं तावत्तत्त्वकथा कुतः । 

अर्थात् जबसम्म मनमा काम वासनाको आँधी शान्त भएको छैन, जबसम्म सांसारिक विलासका कामनाहरू जीवित छन्, जबसम्म इन्द्रिय चपलता कायम छ, तबसम्म तत्त्वज्ञानको मार्ग फेला पार्नु असम्भव प्रायः हुन्छ ।

अतः प्रारम्भिक साधना पशुभावबाट मुक्ति पाउन गरिन्छ, किनभने यसैबाट वीरभावको द्वार खुल्छ र साधनामा उन्नयन हुँदै जाँदा दिव्यभाव प्रस्फुटित हुन्छ, ऊर्जाको मौन विस्फोट हुन थाल्छ । तर ऊर्जाको आधिक्य उपलब्ध हुनु पहिला साधकले आफ्ना नाडीहरू शुद्धीकरण गर्नुपर्छ र स्पष्ट दिशाबोध पाइसकेको हुनुपर्छ । किनभने डाँडामा बिजुली चम्केको हेर्न रमाइलो हुन्छ तर छेउमै चड्केनी पर्‍यो भने स्थिति भयावह हुन्छ । विष्फोटको कामना गर्नु पहिला नाडी शुद्धि, शील विशुद्धि र दिशाबोध अत्यावश्यक हुन्छ । यसप्रकार तन्त्र साधना गम्भीर विषय हो । विशिष्ट लक्ष्य, उद्देश्य र दिशाबोध नभई तन्त्र साधना गर्न चपलता देखाउनु बुद्धिमानी होइन । कुनै पनि प्रकारको तान्त्रिक पूजा या अनुष्ठान गर्नुपूर्व तन्त्र सम्बन्धी उपलब्ध प्रामाणिक ग्रन्थहरू स्वाध्ययन गरेमा तन्त्रलाई जीविकाको ‘खेतीपाती’ बनाएका ठगहरूबाट बच्न सकिन्छ । [email protected]

https://www.nepalnews.com/news/nation/13607-2019-12-21-01-10-43