बनियाँ युगमा बुद्ध

बनियाँ युगमा बुद्ध

उपयोग र संभावना

गौतम बुद्धलाई कसैले सोध्यो, ‘भगवान्, हजुरले मानिसलाई दुखमुक्त हुने ज्ञान सिकाउनुभयो, त्यतिमात्र होइन, शान्ति र आनन्द पाउने ध्यान पनि सिकाउनु भयो । तर हजुरले दिएको यति महत्वपूर्ण ज्ञान र ध्यानको कसैले दुरुपयोग गर्ला कि?’ बुद्धले हाँस्दै भन्नुभयो, ‘कसैले दुरुपयोग गर्ने चेष्टा गर्छ भने उसले आफ्नै हानि गर्छ ।’ ‘कसरी भगवान्?’ प्रश्नकर्ताले जिज्ञासा राख्यो । बुद्धले भन्नुभयो, ‘सपेराले सर्प नचाएर ढुक्कसँग जीविका प्राप्त गर्छन्, तर त्यो देखेर कोही व्यक्तिले सर्पलाई गलत मनसायले कुठाउँमा समात्छ भने त्यसलाई सर्पदंश नै प्राप्त हुन्छ ।’

सम्पूर्ण विश्वले यतिखेर २५६० औं बुद्ध जयन्ती मनाउँदै छ । यही अवसर पारेर नेपाल सरकारले ‘बुद्ध नेपालमा जन्मेका हुन् र बौद्ध दर्शन नेपालबाट आरम्भ भएको हो’ भन्ने शीर्षकमा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ । बुद्धको जन्मभूमिका रुपमा नेपालीले गर्व गर्न पाउने अवस्थालाई अक्षुण्ण राख्ने चेष्टा निश्चय नै महत्वपूर्ण पहल हो । यद्यपि बुद्धले मानिसलाई दिएको अमूल्य ज्ञानको उपयोग गर्न सक्नु सही अर्थमा बुद्धलाई अपनाउनु हो । यसप्रकार हामी हर प्रकारले बुद्धभूमिमा जन्मेको भनी गर्व गर्न सक्थ्यौं । बुद्धले बताएको ज्ञान र ध्यानको सबभन्दा सही उपयोग त त्यसलाई अनुभूति गरेर आफू दुखमुक्त हुनु र अरुलाई पनि दुखबाट पार पाउन मद्दत गर्नु हो, आफूले शान्ति र आनन्द फेला पार्नु र अरुलाई पनि सोही दिशामा प्रेरित गर्नु हो । तर, बनियाँ युगमा हामीलाई व्यापार नै महत्वपूर्ण लागिरहेको छ । सायद यसैकारण, बुद्ध जयन्तीका अवसरमा गरिन लागेको गोष्ठीका आयोजक तीर्थाटन पर्यटन विकसित गर्ने एकांगी सोचमा छन् । आयोजकहरु जसरी भए पनि, बुद्धभूमिको  ‘वनरसिप’ लिएर बुद्धलाई ‘क्यास’ गर्ने अर्थात मुद्रामा बदल्ने ध्याउन्नमा छन् । बनियाँ युगमाा जीवन धान्न अभिशप्त हामीहरुले योभन्दा भिन्न ढंगले सोच्ने दिन कहिले आउला ? यो समयका अरु दृश्यहरु झन् आश्चर्य र खेदजनक छन् ।

बनियाँ सोचको उपज

हर तरहले बठ्याइँ गर्नु र मुनाफा कमाउनु बनियाँ सोच हो । बुद्धले मूर्तिपूजालाई निरुत्साहन गरे । तर उनका मूर्ति बनाएर बेच्न हामीलाई लाज लागेन । क्युरियो पसलहरुमा बुद्धका जति मूर्ति भेटिन्छन् त्यति सायदै अरु कसैका भेटिएला । इमाडोल साइडका करिब हरेक घरमा मूर्ति कारखाना खुलेका देखिन्छन् । पर्यटकहरु आवतजावत गर्ने ठमेल, बौद्ध आदि क्षेत्रमा थाङ्का चित्रहरुमा विभिन्न आकृतिका बुद्ध लट्किइराखेका देख्न पाइन्छ । यो सबै ठिकै थियो, तर बनियाँ सोचले गर्दा हामीले बुद्धको मूल सन्देश बिर्सिदियौं । बुद्धलाई खोपाका देउता बनाइसकेपछि अब हिङ नभएनि हिङ बाँधेको टालो त छ भनेर गर्व गर्नुमा कुनै स्वाद हुँदैन, कुनै शान हुँदैन ।

सत्यनारायण गोयन्काले विकसित गरेको पद्धति अवलम्बन गरेर विपश्यना ध्यानको अभ्यास गर्नु औधी राम्रो हो । या, कुनै तिब्बती लामा या रिन्पोछे गुरुसँग झोक्छेन ध्यान सिक्दा पनि भयो । तर बुद्धको भूमिमा आजसम्म ख्यातिप्राप्त र सिद्धि प्राप्त नेपाली गुरु जन्मन सकेको छैन जोसँग मौलिक ढंगले ध्यानको अभ्यास सिक्न सकियोस् । ध्यान भनेको मरुन या पीत वस्त्रधारी भिक्षुको पेवा त होइन । अतः ध्यानको अभ्यास सिक्नलाई भन्ते नै चाहिन्छ भन्ने केही छैन । ज्ञान र अनुभवले परिपूर्ण साधकले ध्यानको अभ्यास सिकाउन सक्छन् । तर त्यस्तो व्यक्ति यहाँ किन जन्मँदैन ? सायद हामीले केवल बनियाँ भएर सोच्ने गरेको हुँदा नाफा र घाटा बाहेक अर्थोक हाम्रो दिमाखमा प्रवेश गरेन, ध्यान एवं साधनाका सम्भावनाहरु पलाउनै सकेनन् ।

वर्तमान क्षणमा बाँच

हाम्रो देशमा केही विहारहरु बाँकी छन् । तर ती ‘जियैछी न मरैछी, धिकिर धिकिर करैछी’ भनेजस्तै हालतमा छन् । नयाँ पुस्ताले जारजीर्ण विहारमा गएर पाली भाषा पढेर बुद्ध दर्शन सिक्न सक्दैन । कसैले त्यस्तो अपेक्षा पनि गर्दैन । नयाँ पुस्ताले बुझ्ने शैलीमा बुद्ध दर्शनका रोचक र प्रभावी पुस्तक नेपाली भाषामा विरलै लेखिएका पाइन्छन् । बुद्ध दर्शनको मुख्य सार हो वर्तमान क्षणमा बाँच्ने कला अभ्यास गर्नु । स्मृति र सम्प्रजन्य रक्षण गर्दै ध्यानको गहिराइमा पुग्न सकिन्छ । ध्यानसँगै मन शान्त भएपछि ज्ञानोदय हुन्छ । ज्ञानोदयपश्चात मानिस आफ्नो मनका तमाम तनाव, दुःख, बेचैनीबाट मुक्त हुन्छ र अपार शान्ति एवं आनन्द अनुभूति गर्छ । जुन सुख र आनन्द उसले धन र यौनमा खोज्थ्यो, त्यसको कैयौं गुणा आनन्द उसले आफैंभित्र फेला पार्छ । जुन ऊर्जा उसले भौतिक वस्तुको संकलनमा लगाउँथ्यो त्यही ऊर्जा उसले दान र क्षमाशीलताको अभ्यासमा लगाउँछ ।

बुद्धको दर्शनलाई आजभोलि विदेशीहरुले औधी मन पराएर पछ्याएका छन् । वर्तमान क्षणमा बाँच भन्ने बुद्धको दर्शनलाई आधार बनाएर नयाँ शैलीमा लेखिएका कृतिहरु एकपछि अर्को प्रकाशित भइरहेका छन् । एकहार्ट टोलेद्वारा लेखिएको द पावर अफ नाउ अर्थात वर्तमान क्षणको शक्ति नामको पुस्तक अमेरिकामा मात्रै तीस लाख प्रति बिक्री भएको तथ्यांक छ । यो कृति ३३ भाषामा अनुवाद भइसकेको छ । त्यसैगरी राम दासले लेखेको बी हियर नाउ शीर्षकको उस्तै आशयको कृति बीस लाख प्रति बिक्री भयो । न्यू मेक्सिकोबाट प्रकाशित भएको यो कृति पनि कैयौं भाषामा अनुवाद भइसकेको छ । भियतनामी भिक्षु तिक न्यात हन्हले बुद्धका पदचिन्ह पछ्याउँदै नामको प्रसिद्ध कृति रचना गरे । जसमा मौलिक शैलीमा बुद्धको असी वर्षसम्मको जीवन चर्यालाई औधी सुन्दर ढंगले प्रस्तुत गरिएको छ । बुद्धको सन्देशलाई सरल र रोचक भाषामा विस्तार गर्ने काम बरु विदेशीहरुले गरिराखेका छन् । बनियाँ सोचबाट प्रेरित भई बुद्धका मूर्ति बेच्दै बस्ने र बुद्धको जीवन दर्शन अपनाउन या विस्तार गर्न सिन्को नभाँच्ने हामीलाई बुद्ध जन्मेको देश भनेर गर्व गर्न शोभा दिइरहेको छैन ।

तिब्बतबाट आएका लामा गुरुहरु बुद्धले सिकाएको विपश्यना कै परिमार्जित रुप झोक्छेन ध्यान सिकाउन संसारभर पुग्छन् । सेतो गुम्बाका चोकी निमा रिन्पोचेलाई वर्षभरी देशविदेश डुल्न भ्याइनभ्याई हुन्छ । दलाइ लामाले संसारभरी बुद्धको अहिंसा दर्शन सिकाउँदै र ध्यानको अभ्यास गराउँदै ख्याति कमाएका छन् । वर्तमान समयमा कसैको नियोजित मिसन नभए पनि स्वतः स्फूर्त रुपले बुद्ध दर्शन विश्वका कुनाकुनासम्म फैलिंदै छ । बुद्ध दर्शन हामीले विदेशीबाट सिक्न पर्ने अवस्था आइसकेको छ । हामीले मुनाफा मात्र सोच्ने हो भने केही वर्षमा हामीलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्न पनि धक मान्नु पर्ने दिन आउन सक्छ । किनभने न त हामीले बुद्धको जन्मथलोको मर्मत  सम्भार गर्न सकेका छौं न व्यवहारमा बुद्धका पदचिन्ह पछ्याउन सकेका छौं ।

बुद्ध दर्शन विज्ञानको सबभन्दा नजिक

मिचिगन विश्वविद्यालयका प्रोफेसर डोनाल्ड लोपेजले आफ्नो कृति अ मोडर्न बुद्धिस्ट बाइबलमा कसरी पश्चिमा समाजमा आधुनिक बुद्धवाद विकसित हुँदैछ भन्ने लेखेका छन् । जापान, चाइना, भियतनाम, कोरिया, श्रीलंका, थाइल्याण्ड लगायत देशबाट युरोप या अमेरिकामा पुगेका बौद्ध अनुयायीहरुले त्यहींका केही बौद्ध विद्वानसँग मिलेर यसप्रकारको नयाँ बुद्धिजम स्थापना गरेका हुन् । यसको मुख्य फोकस ध्यानको अभ्यास र त्यसबाट प्राप्त हुने लाभद्वारा लाभान्वित हुनुमा देखिन्छ । बौद्ध धर्मको नाममा आयोजना गरिने तमाम पूजाआजा र कर्मकाण्डबाट टाढै रहेर उनीहरुले बुद्ध दर्शनको वैज्ञानिक एवं मनोवैज्ञानिक र व्यावहारिक पक्षमा जोड दिएका छन् ।

बुद्ध दर्शनमा कुनै काल्पनिक देवदेवी प्रतिको भक्तिभाव छैन, यो दर्शन कुनै पनि कुरामा अन्धभक्त छैन,  कुनै धार्मिक संघ सा संस्थामा आबद्ध हुन जरुरी छैन, कुनै जातपातको गन्ध छैन, कुनै प्रकारको हिंसाको बाछिटा छैन, हरेक व्यक्ति ध्यानको अभ्यासबाट बुद्धत्वसम्म पुग्न सक्छ । बुद्ध दर्शन अनुसार व्यक्ति आफ्नो निरन्तर अभ्यासले ज्ञान प्राप्त गर्न सक्छ, कुनै ईश्वर या धर्मगुरुको कृपा आवश्यक हुँदैन । यसप्रकार बुद्ध दर्शनले मानवीय क्षमताको अपार सम्मान गरेको छ । बुद्ध दर्शनमा सबै कुरा तथ्य र विज्ञानमा आधारित छन् । सायद यही कारणले संसारभरका मनोवैज्ञानिक र फिजिसिस्टहरु बुद्ध दर्शनतिर आकर्षित भएका छन् । वैज्ञानिक अल्बर्ट आइन्सटाइनले त बुद्ध दर्शन विज्ञानको सबभन्दा नजिक छ भनेका थिए ।

बुद्ध दर्शनको उपयोग र परम्परा

हामी बुद्ध दर्शनको सही उपयोगमा केन्द्रित हुन अत्यावश्यक भइसकेको छ । विकृतिमा माहिर हुने हो भने सर्पलाई गलत ठाउँमा समात्दा सर्पदंश प्राप्त भएजस्तै हामीले आफ्नै हानि निम्त्याउनेछौं । हरेक कुरा समयानुकूल रुपान्तरण हुँदै जान्छ । अत्याधुनिक युगमा बुद्ध दर्शनको वैज्ञानिक उपयोग के हो, त्यसलाई अवलम्बन गर्न र विस्तार गर्न केकस्ता नीतिनियम आवश्यक हुनसक्छ भन्ने तय गरिनु यस्ता विशिष्ट गोष्ठीको उद्देश्य हुनु पर्ने हो । हामीले बुद्ध दर्शनलाई विद्यालय शिक्षादेखि नै लागू गर्न अझै सकेका छैनौं । लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना भएको धेरै भइसक्यो, तर यसले जनशक्ति इत्यादिको अभावले गर्दा अझै पूर्ण क्षमतामा काम गर्न सकिरहेको देखिँदैन । बुद्ध दर्शनको विषयमा शोध गर्न चाहने विद्यार्थीलाई सरकार या विश्वविद्यालय कुनै पनि निकायले प्रोत्साहन दिने व्यवस्था समेत गरेको छैन । 

बुद्ध जन्मेको र बुद्ध दर्शनको आरम्भ भएको हाम्रो देशलाई विश्व शान्तिको मुहानका रुपमा स्थापित गर्ने अपार सम्भावना छन् । यसका लागि हामीले आफ्ना कामना र आवश्यकता पूरा गर्न बुद्ध दर्शनको उपयोग गर्ने बनियाँ सोच त्यागेर बुद्धले दिएको ज्ञान र ध्यानको अभ्यास गर्नु अपरिहार्य हुन्छ । यदि यसो गरिंदैन भने अनेक प्रकारका विकृतिले स्वतः हाँगा फैलाउने छन् । 

भिक्षु हुनु भनेको ध्यानको अभ्यासमा जीवन समर्पित गरिदिनु हो । तर यो चीवर धारण गर्नु कसरी एउटा परम्परा धान्नु मात्र भयो र कसरी विकृति बढिरहेको छ भन्ने संकेत गर्ने एउटा प्रचलित आहान यसप्रकार छ । कुनै समयको कुरा हो । एउटा भिक्षुलाई भेट्न उनको मित्र विहारमा आइपुगेछ । मित्र आइपुग्दा भिक्षु लसुन प्याज छोडाउँदै थिए । मित्रले सोध्यो, ‘अरे भिक्षुले त लसुन प्याज खान हुँदैन होइन र ?’ भिक्षुले भनेछन्, ‘सधैं खान हुँदैन भनेको हो । कहिलेकाहीं यसो माछामासु पाक्दा त लसुन प्याज चाहिइहाल्छ नि ।’ मित्र झन् आश्चर्यमा परे । उनले भने, ‘अरे, अहिंसावादी भिक्षु भएर मासु पनि खान्छौ ?’ भिक्षुले शान्त हुँदै भने, ‘सधैं खाइँदैन । यसो कहिलेकाहीं मदिरा पिउन मन लाग्दा त सितन चाहिइहाल्यो नि ।’ यो सुनेर मित्र झस्किए । ‘बुद्धले मद्यपानलाई सर्वथा निषेध गर्नुभएको छ । भिक्षुले कसरी मदिरा पिउन सकेको होला ।’ भिक्षुले शान्त हुँदै भने, ‘सधैं पिइँदैन, यसो कहिलेकाहीं केटी साथी भेट्न आउँदा त हल्का पिउनै पर्यो नि ।’ धत्तेरी, यो सब गर्नलाई पैसा कहाँबाट आउँछ नि ? भिक्षुले छोडाएको लसुन पिस्न मिक्स्चरमा हाल्दै भनेछ, ‘आ, कि त चोरी गरिन्छ, कि जुवा खेलिन्छ ।’

सरम मुझसे खुद सर्माती है

हामी गौतम बुद्धको २५६० औं जन्म जयन्ती मनाउँदै छौं । गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि भनेका थिए, सत्वा बुद्धा एव किन्तु आगन्तुक मलाऽवृताः । तस्यापकर्षणात् सत्वा बुद्धा एव नसंशयः । सबै प्राणी बुद्ध नै हुन्, मनमा अनुराग र द्वेष भरिएको हुँदा सबैले आफ्नो बुद्ध स्वभाव बिर्सेका छन् । राग र द्वेष नहुने हो भने सबैले बुद्धत्वको आनन्द अनुभूति गर्छन् । यसमा कुनै शंका छैन । बुद्धत्वको उपलब्धि यति सरल र सहज छ, तर हामी आफ्नै धुन्चक्रमा नराम्ररी जेलिएको हुँदा बुद्धत्वको अनुभूतिबाट कोशौं पर छौं ।

यतिका वर्षसम्म यो देशमा अर्को बुद्ध जन्मन नसक्नुको कारण के होला? यो देश त अध्यात्मभूमि हो । गौतम बुद्ध मात्र होइन, राजर्षि जनक, गुरु गोरखनाथ, पशुपतिनाथ जस्ता सिद्ध महायोगीले तपस्या गरेको भूमि हो यो । उनीहरुको अपार ऊर्जाले सिञ्चित भूमिमा हामी के खोजिरहेका छौ्र? हामीलाई किन टोलटोलमा डान्स बार र बियर बारहरु चाहिएको होला ? बारहरुमा मध्यरातसम्म सुरा पान गरेर बेसुर हुँदै सुन्दरीहरुको नग्नता अवलोकन गरेर हामीले के फेला पार्छौं ? भनिन्छ, काठमाण्डूमा मिनरल वाटरभन्दा बियर ह्विस्की बढी बिक्री हुन्छ । बुद्धभूमिमा बुद्धको योभन्दा ठूलो अपमान अर्थोक के होला ? हामीलाई लाज लाग्नु पर्ने हो, तर लाग्दैन । किनभने —

सरम उसको आती है जो सर्माती है ।

हम तो इतना बेसरम हैं, सरम हमसे खुद सर्माती है ।

 

२५६० औं बुद्ध जयन्ती सन्दर्भमा अन्नपूर्ण दैनिकमा प्रकाशित – नेत्र आचार्य