बुद्ध दर्शनमा करुणा

नेत्र आचार्य

मलयपर्वतको शिखरमा एउटा गरुड बडा स्वादले मासु लुछ्‌दै थियो, रगत पिउँदै थियो । पेट भरिंदै आउँदा एकाएक उसको मनमा कौतुहल पैदा भयो । रगत चुस्न छाडेर उसले सोच्यो – आजसम्म मैले सयौं विषालु नागहरूको आहार गरिसकें होला । हरेक नागले ज्यान गुमाउनुपर्दा भयानक क्रन्दनले दशै दिशा गुञ्जायमान पार्थे । तर यो नाग पीडित हुनुको साटो बडा प्रसन्न देखिन्छ । यो सामान्य नाग होइन, निश्चय नै कुनै महासत्त्व हुनुपर्छ ।

गरुड केही पछि हटी सोचमग्न भइरहेको देखेर नागले भन्यो – मेरा धमनीहरूबाट अझै रगत चुहिरहेको छ, शरीरमा मासु अझै बाँकी छ र तिम्रो पेट पनि भरिएको छैन । हे गरुड, के कारणले मलाई खान रोकियौ?

रगत र मासु लुछिंदा अधमरो भइसकेको नागको यस्तो ओजपूर्ण वचन सुनेर गरुडले भन्यो – ओ धैर्यवान् ! मैले त धारिलो चुच्चोले तिम्रो शरीरबाट रगत र मासु निकालें, तिमीले आफ्नो अपार धैर्यले मेरो मुटु नै हल्लाइदियौ ।

महाकवि हर्षद्वारा लिखित नागानन्दम् नाटकको एक दृश्य हो यो । नाटकको नायक जीमूतवाहनले गरुडको आहारा बन्न लागेको शंखचूडलाई बचाउन आफ्नो शरीर बलिदान दिइरहेको दृश्य । गरुडले शरीरबाट रगत, मासु सिद्ध्याउन लाग्दा पनि जीमूतवाहनको अनुहारमा प्रसन्नता छ किनभने उसले शंखचूडकी आमालाई पुत्र वियोगको दुःखबाट मुक्त गरेको छ । अरुको दुःख देख्न सक्नु र त्यसबाट मुक्त गर्ने तत्परता हुनु करुणा हो ।

बुद्धत्त्व प्राप्त गर्नु पहिला भगवान् बुद्धले अनगिन्ती पूर्वजन्महरूमा बोधिसत्त्वको अभ्यास गरेका थिए । बुद्धत्त्वको यात्रा 'बुद्धो भवेयं जगतो हिताय' भन्ने संकल्पबाट आरम्भ हुन्छ । बुद्धत्त्व प्राप्त गर्नलाई अनन्त ज्ञान सञ्चय र पुण्य सञ्चय आवश्यक हुन्छ । करुणाको अभ्यासद्वारा पुण्य सञ्चय गरिन्छ ।

एक पूर्वजन्ममा बुद्धले एउटी बघिनी देखे जो प्रसव पीडाले गर्दा शिकार खोज्न जान सकेकी थिइन । निकै दिनदेखि ऊ र उसका डमरुहरू भोकभोकै परेका थिए । बुद्धले भिक्षुहरूलाई गाउँमा गई मासु मागेर ल्याउन अह्राए । तर भिक्षुलाई कोही गाउँलेले मासु दिंदैनथे । सबै भिक्षु रित्तै फर्किए । बुद्धले भिक्षुहरूलाई अर्को गाउँमा पठाए । फेरि पनि शिष्यहरू रित्तै फर्कन्छन् भन्ने बुद्धलाई थाहा थियो । भोकी बघिनी र उसका बालबच्चा सम्झेर बुद्धको हृदय करुणान्वित भएको थियो । बुद्ध बघिनीको गुफामा पुगेर आफ्नो शरीर सुम्पिए । भोकाएका डमरुहरू र बघिनी स्वयंले बुद्धको शरीरबाट मासु खान थाले, रगत पिउन थाले । बघिनी र डमरुहरूको ज्यान बच्यो ।

मासु लुछिंदा, रगत चुसिंदा बुद्धको शरीर अधमरो भइसकेको थियो तर शरीर सुम्पेर भोकले मर्न लागेका प्राणीको कल्याण गर्न सकेकोमा बुद्ध प्रसन्न थिए । कथाले अगाडि भन्छ – यो दृश्य देखेर आकाशबाट देवताहरूले पुष्प वृष्टि गरे । सबै देवका आँखा अश्रुपूरित थिए । जुन गुफामा बुद्धले शरीर बलिदान गरेका थिए त्यो गुफा काभ्रे जिल्लामा नमोबुद्धको नामबाट आज पर्यन्त विख्यात छ । सो गुफामा पुगेर बुद्ध चरित्र स्मरण गर्दा बुद्धप्रेमीको हृदय करुणान्वित हुन्छ ।

'बुद्धो भवेयं जगतो हिताय' अर्थात् जगत्‌को हितका लागि बुद्ध बन्न सकूँ । यो संकल्प सुधा बुद्धत्त्व प्राप्ति अघि र बुद्धत्त्व प्राप्ति पछि पनि उत्तिकै प्रवाहित भइरहन्छ ।

किसा गौतमीको पुत्र सर्पले टोकेर मर्‍यो । कति दिनसम्म उनको बिलौना थामिएन । कसैले उनलाई बुद्धको दर्शन गर्न सुझायो । छोराको शव र शोकाकुल हृदय लिएर गौतमी बुद्धलाई भेट्न गइन् । बुद्धले उनलाई जीवन क्षणभङ्गुर छ भनेर सिकाएनन् ! बुद्धले उनलाई एक मुठी अनाज ल्याउन भने । बुद्धले गौतमीलाई सुझाए – त्यही घरबाट अन्नका दाना ल्याउनू जुन घरमा कोही मरेका छैनन् । किसा गौतमी दिनभर गाउँ घुमी तर यस्तो घर फेला पारिन जहाँ कोही मरेका थिएनन् । निराश भएर फर्किई । संसारको नियति स्वयंले देखिसकेकी गौतमीलाई बुद्धले सुझाए – मृत्युको दुःखले संसार पीडित छ । जन्म-मृत्युको चक्र निरन्तर चलिरहन्छ । पुत्र शोक बिर्सेर धर्मको शरणगमन गर ।

किसा गौतमीले शोक त्यागेर धर्मको शरण लिइन् र दुःखबाट मुक्त भइन् ।

बुद्धले गौतमीलाई दुई-चार धर्मका वचनहरू सुनाएर विदा गरेनन् । बुद्धलाई गौतमीको वास्तवमै कल्याण गर्नु थियो । अतः उनले फरक तरिका अपनाए, अनुकंपाका कारण, करुणाका कारण ।

सिर्फ हंगामा खडा करना मेरा मकसद नहीं ।

मेरी कोशिश है कि सूरत बदलनी चाहिए ।।

म अनुमान गर्छु, दुष्यन्त कुमारले बुद्ध चरित्र मनन गर्दै यो शायरी लेखे हुनन् ।

बुद्ध र उनका अनुयायीले अभ्यास गरेका करुणाका कथाहरूले बौद्ध साहित्य भरिभराउ पाइन्छ । बुद्धका हरेक तस्वीर र मूर्तिहरूमा प्रज्ञा र करुणा प्रतिबिम्बित हुन्छ । करुणान्वित हृदय र प्रज्ञाको आलोक बुद्धका पर्यायवाची भइसकेका छन् । यस्तो लाग्छ मानौं बुद्ध व्यक्ति होइनन्, प्रज्ञा र करुणाका प्रतिमूर्ति हुन् । बुद्धको वन्दना गर्दा अनुयायीहरू गाउँछन् – प्रज्ञया न भवे स्थानं कृपया न शमे स्थिति, अर्थात् हे भगवान्, प्रज्ञोदयले गर्दा तिमी संसार मुक्त भइसकेका छौ तर करुणाले गर्दा निर्वाणमा स्थित पनि छैनौ ।

बोधिवृक्षमुनि ध्यानस्थ अवस्थामा बुद्धलाई प्रज्ञोदय भयो । बुद्धले दुःख के हो भन्ने बुझे, यो बोधसँगै उनी दुःखमुक्त भए । उनले संसारतिर दृष्टिपात गरे । संसारमा सबै प्राणी शोकाकुल थिए, सबै दुःखैदुःखमा पिल्सिइरहेका थिए । उनको मनमा दुःखी प्राणीहरूप्रति अनायासै अपार करुणा पैदा भयो । आध्यात्मिक आनन्दको रहस्य यही करुणा हो । जो जति करुणान्वित हुन्छ ऊ उति नै आनन्दित हुन्छ । करुणाको अभ्यासले अरूलाई खुशी बनाउँछ, यो अभ्यासले स्वयंलाई शाश्वत आनन्द दिन्छ । यस्तो रहस्यमयी करुणा बुद्धको मनमा कसरी पैदा भयो? यो अहैतुकी करुणाको स्रोत के हो ? यी रहस्य उद्‌घाटनपूर्व करुणाको साङ्गोपाङ्ग समझ आवश्यक हुन्छ । बुद्धको दर्शनमा करुणालाई चतुर्ब्रह्म विहार अन्तर्गत राखेर मनन र अभ्यास गरिन्छ । चतुर्ब्रह्म विहारमा मैत्री, करुणा, मुदिता र उपेक्षा भावना आउँछन् । यी भावनाको क्रमिक अभ्यासले बुद्धत्त्वको यात्रालाई सहज बनाउँछन् ।

मैत्री ब्रह्मविहारको भावना गर्ने प्रारम्भिक साधकले एकान्तमा स्थिर आसनमा बसेर द्वेषमा अवगुण र शान्तिमा गुण अवलोकन गर्दछन् । आरम्भमा 'म सुखी होऊँ, म दुःखरहित होऊँ, म वैररहित होऊँ, व्यापाद रहित होऊँ, उपद्रवरहित होऊँ' यसरी बारम्बार मनमा भावना गरिन्छ । तर आफूप्रति गरिएको मैत्री भावना चित्त शुद्धिका लागि पर्याप्त हँदैन । यसका लागि मैत्री चित्तलाई विस्तार गर्नुपर्छ ।

पहिला स्वयंलाई लक्षित गरेर आरम्भ गरिएको भावना विस्तार गर्दै लगिन्छ । पहिला आफूलाई मैत्री भावनाले पूर्ण बनाइसकेर आफ्ना प्रियजन, आचार्य र आचार्यतुल्यहरुको स्मरण गरेर 'यी सत्पुरुष सुखी होऊन्, दुःखरहित होऊन्, वैररहित होऊन्, व्यापादरहित होऊन्, उपद्रवरहित होऊन्' यस्तो भावना गरिन्छ ।

संकल्पवान् साधकले त्यतिमै सन्तोष नगरी सीमा पार गर्ने इच्छाले अत्यन्त प्रिय सहायकप्रति मैत्री भावना गर्दछन् । तत्पश्चात् मध्यस्थ एवं वैरी व्यक्तिप्रति मैत्री भावना गरिन्छ । तीनै प्रकारका व्यक्तिप्रति एकपछि अर्को गरी क्रमशः भावना गरिन्छ । तदनन्तर करुणा ब्रह्मविहारको भावना गरिन्छ ।

करुणा ब्रह्मविहारमा भावना गर्ने साधकले उदासीनताका दोष र करुणाका गुणहरु मनन गर्दै करुणा भावनाको आरम्भ गर्छन् । सबभन्दा पहिला अति करुणा योग्य अत्यन्त दुःखी, गरीब, अङ्गभङ्ग भएका, अनाथ भई बसेका, आर्तनाद गरिरहेकाहरुप्रति करुणाको भावना गरिन्छ । 'कसरी यी व्यक्तिहरु यस्तो दुःखी भए होलान्, यिनीहरु दुःखमुक्त भए कति जाती हुन्थ्यो' भन्ने भावना गरिन्छ । यसैगरी पापी व्यक्ति देखेर उसको दुःखी भविष्य कल्पना गर्दै करुणा भावना गरिन्छ । फाँसी दिइन लागेको व्यक्तिले फाँसीपूर्व खाइ-पिई गरेको देखेर करुणा भावना गरिन्छ । यसप्रकार करुणा गर्दै क्रमशः प्रिय, मध्यस्थ र वैरभाव भएका व्यक्तिप्रति करुणा गरिन्छ । यसैगरी सबै सत्त्वहरू, प्राणीहरू दुःखहीन महासुखबाट वञ्चित नहोऊन् भनी मुदिताको अभ्यास गरिन्छ । तदनन्तर उपेक्षा अर्थात् समताको भावना गरिन्छ । सबै प्रकारका परिस्थितिमा मनको शान्ति विथोलिन नदिनु र यथाभूतदर्शनम् अर्थात् व्यक्ति वा वस्तुलाई जस्तो छ त्यस्तै देख्न सक्नु समता हो ।

महायान दर्शनमा महाकरुणाको अभ्यास गरिन्छ । महायानमा करुणा अद्वेषको अवस्था हो, महाकरुणा अमोहको अवस्था । करुणाले केही व्यक्तिलाई आलम्बन बनाउँछ, महाकरुणाले सबैलाई आलम्बन बनाउँछ । करुणाको भूमि ध्यान चतुष्टय हो, महाकरुणाको चतुर्थध्यान । करुणा पृथग्जन, श्रावक र प्रत्येकबुद्धहरुमा आश्रित हुन्छ, महाकरुणा बुद्धमा । करुणा कामधातु विषयक वैराग्यद्वारा उत्पन्न हुन्छ, महाकरुणा भवाग्रविषयक वैराग्यद्वारा उत्पन्न हुन्छ । करुणाले परित्राण गर्दैन, महाकरुणाले परित्राण गर्छ । करुणा केवल दुःखित जनहरुप्रति अभिमुख हुन्छ, महाकरुणा सबैप्रति अभिमुख हुन्छ ।

एउटा करुणावान् व्यक्ति कुनै दुःखी प्राणीलाई देखेर चुपचाप बस्न सक्दैन । बरु उक्त प्राणीको दुःख हटाउन यथाशक्ति प्रयास गर्न थाल्छ । करुणा दया भाव मात्र होइन, चित्तको सक्रिय अवस्था हो । व्यक्तिका दुःखहरु मूलतः तीन प्रकारका हुन्छन् – दुःखदुःख, विपरिणाम दुःख र संस्कार दुःख । शारीरिक दुःखहरु दुःखदुःख हुन्, वर्तमानमा सुखजस्तो प्रतीत हुने तर भविष्यमा दुःख निम्त्याउने दुःखहरु विपरिणाम दुःख हुन्, सबै अनित्यहरुबाट वियोग दुःखदायी हुन्छ । अतः सबै अनित्य धर्म संस्कार दुःख हुन् । करुणा यी तीनै प्रकारका दुःखहरुबाट प्राणीमात्रलाई मुक्त गर्ने सक्रिय अभिलाषा हो ।

बौद्ध दर्शन मूलतः अभ्यासमूलक जीवन पद्धतिको फेहरिस्त हो । पाप नगर्नु, पुण्य सञ्चय गरिरहनु र चित्त शुद्धिका लागि ध्यानको अभ्यास गरिरहनु बौद्ध साधना हो । साधकले पुण्य सञ्चयका लागि करुणाको अभ्यास क्रमशः घनीभूत बनाउँदै लैजाने गर्दछ । करुणा मुख्यतः तीन प्रकारका मानिएको छ – सत्त्वालम्बना करुणा, धर्मालम्बना करुणा र निरालम्ब करुणा । यी तीन प्रकारका करुणा अभ्यासको परिपाकसँगै बोधिसत्त्वको मनमा पैदा हुन्छन् ।

आरम्भमा करुणा 'सत्त्वावलम्बना' हुन्छ । सत्त्वावलम्बना करुणाले प्राणीहरु र तिनको दुःखलाई आलम्बन बनाउँछ । अभ्यासको विकाससँगै करुणा 'धर्मावलम्बना' हुन्छ ।

व्यक्तिले अज्ञानका कारण दुःख भोग्छ । बौद्ध दर्शनानुसार पुद्गल केवल जड र चेतनाको पुञ्‍ज मात्र हो । पुद्गलको सत्ता हुँदैन, तैपनि ऊ दुःखी हुन्छ किनभने धर्मता अर्थात् व्यक्ति वा वस्तु जस्तो छ त्यस्तै देख्ने ज्ञानको अभाव हुन्छ । यस्ता सत्त्वहरुलाई दुःखबाट मुक्त गर्ने अभिलाषा मनमा जाग्नु धर्मावलम्बना करुणा हो । तेस्रो निरालम्ब करुणा हो । ''वस्तुतः प्रज्ञाद्वारा विचार गर्ने हो भने सबै धर्म निःस्वभाव (शून्य) हुन्छन् । वस्तुतः सबै सत्त्वहरु र तिनका दुःख पनि निःस्वभाव नै हुन्छन् । तैपनि शून्यताको अवबोध गर्दै करुणावश बुद्ध एवं बोधिसत्त्वहरुले दुःखी प्राणीहरुको दुःख पन्छाउने प्रयास गर्दछन् । उनीहरुको यस्तो करुणालाई 'निरालम्ब' करुणा भनिन्छ ।

बुद्धको महाकरुणा श्रावकको करुणाभन्दा व्यापक हुन्छ । किनभने पुण्यसंभार र ज्ञानसंभारबाट महाकरुणाको उदय हुन्छ । महाकरुणाले तीन दुःखताहरु लक्षित गरेको हुन्छ । बुद्धको महाकरुणा समस्त सत्त्वहरुको हित र सुखका लागि समत्त्वपूर्वक व्यापृत हुन्छ ।

एवं रीतले मुदिता ब्रह्मविहारको भावना गर्ने साधकले आफ्ना प्रियजनहरुलाई सुखी र उल्लासित देखेर आफू स्वयं पनि खुशी र उल्लासित हुने गर्छन् । 'प्रियजनहरु बडा आनन्दमग्न भएका छन्, आह कस्तो राम्रो, कस्तो सुन्दर' इत्यादि विचार गर्दै स्वयं प्रमुदित हुनु धर्मको अभ्यास हो ।

उपेक्षा या समता ब्रह्मविहारको भावना गर्ने साधकले मध्यस्थ व्यक्तिप्रति यसरी उपेक्षा भावना गर्नुपर्छ जसरी कुनै एक अप्रिय र प्रिय व्यक्तिलाई देखेर उपेक्षा गर्दै विहार गरियोस् । उपेक्षा विहारी साधकलाई कम प्रयत्नमा नै चतुर्थ ध्यान प्राप्त हुन्छ । मैत्री, करुणा र मुदितामा आलम्बनको अनुकूल हुनाले तृतीय ध्यानसम्म सरलतापूर्वक सफलता प्राप्त हुन्छ । चतुर्थ ध्यानका लागि उपेक्षक या समतादर्शी हुनु आवश्यक मानिन्छ । उपेक्षा ब्रह्मविहारमा चतुर्थ ध्यानको प्राप्ति सहज-साध्य हुन्छ ।

वज्रयानको अभ्यासमा करुणाको भावना गहिरिंदै जान्छ । वज्रयानमा परात्मसमता भावना महत्त्वपूर्ण मानिन्छ । परात्मसमता भनेको बोधिसत्त्वले सबै प्राणीहरु र आफूमा समताभाव देख्न थाल्नु हो । जसरी आफूलाई दुःख, कष्ट, रोग, भोक, शोक आदि मन पर्दैन उसैगरी अरुलाई पनि मन पर्दैन । यसर्थ आफू र अरु समान छन् भन्ने आधारमा आफू र अरु समान देख्नु एवं व्यवहार गर्नु परात्मसमता भावना हो । यसरी परात्मसमता भावना गर्दा मनमा अरुप्रति अतिशय करुणा पैदा हुन्छ । तसर्थ बोधिसत्त्वलाई करुणामय पनि भन्ने प्रचलन छ । करुणामयको अर्थ करुणाबाट निर्मित भन्ने हो ।

परात्मपरिवर्तनको भावना गर्ने मानिसले समस्त प्राणीहरुमा आफूलाई नै देख्न थाल्छ । जसरी आफूलाई दुःख, कष्ट, रोग, व्याधि, भोक, शोक मन पर्दैन उसैगरी अरुलाई पनि मन पर्दैन भन्ने सम्झी सबैको उद्धार र कल्याणमा समर्पित हुने भावना जाग्छ । यही परात्मपरिवर्तन ध्यान भावना गरी संसारको उद्धार गर्न सदासर्वदा तत्पर रहने बोधिसत्त्व अर्थात् करुणामयलाई अवलोकितेश्वर भनिन्छ ।

आचार्य शान्तिदेवले बोधिचर्यावतारको ध्यानपारमितामा भनेका छन् – अध्यतिष्ठदतो नाथः स्वनामाप्यवलोकितः । अर्थात्, परात्मपरिवर्तन ध्यान भावना गर्नु हुने भएकोले करुणामयनाथले आफ्नो नाम नै अवलोकित भनेर अधिष्ठान गर्नुभयो । देखेका जति सबै दुःखी, आर्तहरुलाई ती सबै म आफैं हूँ भन्ने सम्झेर, अरुको दुःखमा आफू दुःखी भएर करुणा राख्ने हुनाले नै करुणामयलाई अवलोकितेश्वर भनिएको हो ।

करुणाको भावना बोधि पथ हो र मञ्जिल पनि । समस्त बुद्ध धर्म करुणाको प्राकट्य हो । यस्तो अपार करुणाको स्रोत समस्त प्राणीको अन्तर्हृदयमा निहित हुन्छ । कर्म संस्कारहरूका कारण मनमा राग, द्वेष र मोह जस्ता क्लेश भरिएका हुन्छन् । प्रज्ञोदयसँगै यी क्लेश समाप्त हुन्छन् । तव क्लेशहरूमा प्रवाहित ऊर्जा स्वतःस्फूर्त रूपले करुणामा रूपान्तरित हुन थाल्छ । प्रज्ञोदयसँगै बुद्धको मनमा प्राणीहरूप्रति करुणाको पनि उदय भएको थियो ।

कसैले आफूलाई बोधिलाभ गरेको भनी घोषणा गरे पनि, जति नै कर्णप्रिय प्रवचन दिन थाले पनि, भगवान् भनेरै सम्मानित भए पनि कर्महरू करुणान्वित छैनन् भने उसको सम्बोधि शंकाको घेरामा हुन्छ । (२०७७  वैशाख, जेठ र असार महिनाको स‌ंयुक्त मधुपर्कमा प्रकाशित) Online  link: http://202.45.147.219/epaper/view?paper=madhuparka&today=2020-06-15