योग अनुष्ठान बनोस्

नेत्र आचार्य

नास्ति योग समं बलम्

नास्ति योग समं बलम्, योगले जति बल दिन्छ त्यति अर्थोक केहीले दिन सक्दैन । योगले शारीरिक मात्र होइन मानसिक बल पनि दिन्छ । मानसिक बल स्वस्थ रहन र आत्मोन्नतिका लागि पोषण हो । स्वस्थ रहनु जति आवश्यक छ आत्मोन्नति पनि उत्तिकै आवश्यक हुन्छ । किनभने मानिस पशु होइन । मानिस उद्देश्यपरक जीवन बिताउने गरी प्रोग्राम्ड भएको प्राणी हो ।

मानिसको चेतना या त उर्ध्वगमन हुँदै जान्छ या अधोगमन हुन थाल्छ । हरेक व्यक्तिले एउटा अदृश्य चुनौती सामना गरिरहेको हुन्छ हरपल या त ऊ अधिकतर होसपूर्ण हुँदै गइरहेको हुन्छ या बेहोसीतिर लत्रिंदै गइरहेको हुन्छ । हामीसँग योगबल छ भने हामी अधिक सचेत हुन, होसपूर्ण हुन सक्नेछौं । योग अनुष्ठानद्वारा योगबल प्राप्त हुन्छ ।

योगबल र योग अनुष्ठान

योगबल योग अनुष्ठानबाट प्राप्त हुन्छ । योग विश्वव्यापी रूपमा लोकप्रिय हुन थालेको छ । यद्यपि योग अनुष्ठानका रूपमा होइन व्यायामका रूपमा लोकप्रिय बनेको छ । योगलाई कसरी अनुष्ठान बनाउन सकिन्छ यो आलेखमा चर्चा गरिनेछ ।

योगलाई अनुष्ठानमा रूपमा अभ्यास आरम्भ गर्नु पहिला योगको वृहत्तर समझ अत्यावश्यक हुन्छ । योगका शास्त्रीय परिभाषा अनेक छन् । जस्तो पतञ्जलिले चित्तवृत्ति निरोध गर्नु योग हो भने । गीतामा कृष्णले कर्ममा कुशलता योग हो भने । समत्त्वं योग उच्यते अर्थात् समताको ज्ञान हुनु योग हो भन्ने परिभाषा पनि प्रसिद्ध छ । कसैले ज्ञान योगलाई विशेष मानेका छन्, कसैले कर्मयोग र कसैले भक्तियोगलाई । लय योग र सहज योगका अवधारणा पनि उत्तिकै लोकप्रिय छन् । यी परिभाषा सही भए पनि एउटै परिभाषाले योगको वृहत्तर आयाम समेट्दैन ।

योग एक विशाल भवन जस्तो हो जसलाई कुनै पनि अवलोकनकर्ताले एक पटकमा एउटा पाटोमात्र देख्न सक्छ । योगको गरिमा र महत्ता शब्दमा समेटिन सक्दैन । किनभने शब्द इन्द्रिय, मन र बुद्धिको सीमाभन्दा पर जान सक्दैनन् । योगको क्षेत्र त्यो सीमाभन्दा वृहत् छ । जीवनलाई उद्देश्यपूर्ण बनाउन योग अनुशासन हो । अनुशासन अर्थात् आफैंले आफैंलाई शासन गर्नु, नीतिनियममा राख्नु ।

अरूले या समाजले लागू गरेका नीतिनियम उल्लङ्घन गर्न मानिस सदा उत्सुक हुन्छ । कस्तै विधिको शासन पनि असफल भइरहेका दृष्टान्त हामीले दैनिक देखिरहेका छौं । आफ्ना निम्ति आफैंले अनुशासनको दायरा तय गर्न सकियो भने त्यो फलित हुन सक्छ । किनभने अलिकति आत्मसम्मान भएको मानिस आफैंले आफैंलाई धोका दिन सक्दैन । एउटा थेत्तर प्रवृत्तिको मानिसले मात्र आफूलाई धोका दिन सक्छ ।  आफू स्वयंले आफ्ना निम्ति अनुशासन तय गर्न सकियो भने त्यो योग अनुष्ठानको पहिलो चरण हुनेछ । योगदर्शनको पहिलो सूत्रले यही भन्छ – अथ योगानुशासनम् ।

पतञ्जलिले योगलाई अष्टाङ्ग योगका रूपमा प्रस्तुत गरेका थिए । साधकले योगका आठ वटै अङ्ग अभ्यास गर्न थाल्नु योग अनुष्ठान हो । यम र नियम न्यूनतम नैतिकता एवं शरीर र मन शुद्धीकरणका चरण हुन् । यम अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रहको अभ्यास योग अनुष्ठानको महत्त्वपूर्ण चरण हो । शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधान नियम हुन् । यी नियमको अभ्यास शरीर र मनको शुद्धीकरणका निम्ति कारगर हुन्छन् । तब मात्र आसनको चरण आरम्भ हुन्छ । आसनहरुका सम्बन्धमा हठयोग प्रदीपिका भन्छ – केवलं राजयोगाय हठयोगोपदिश्यते अर्थात् राजयोगको तयारीका निम्ति मात्र हठयोगको विधान गरिएको हो । प्राणायाम र प्रत्याहार समेत बहिरङ्ग योग हुन् । धारणा, ध्यान र समाधि अन्तरङ्ग योग हुन् । यी समग्र अङ्गको एकसाथ अभ्यास गर्नु योग अनुष्ठान हो ।

योग अनुष्ठान पतञ्जलिको अष्टाङ्गमा सीमित छैन । योग अनुष्ठानका अनगिन्ती विधि र पद्धति पूर्वजहरूले विकसित गरेका थिए । जस्तो कुण्डलिनी षट्चक्र साधना आफैंमा एउटा साङ्गोपाङ् योग अनुष्ठान हो । हामीमध्ये अधिकांशको ऊर्जा मूलाधारमा अवरुद्ध भएको हुन्छ । किनभने मृत्यु र असुरक्षाको भयले सबैलाई त्रस्त बनाइरहेको हुन्छ ।

यी भयबाट माथि उठ्न सकेको खण्डमा स्वाधिष्ठान चक्रमा ऊर्जा बाधित हुन्छ । यो चक्रमा मोजमस्ती मै जीवनको सार देख्ने प्रवृत्ति बाधक हो । मानिस यसै पनि उसै पनि उन्नतिशील प्राणी हो । उन्नति, प्रगति केही हुन सकेन भने उसको जीवन ऊर्जा टाउसिन्छ, संकुचित हुँदै जान्छ । अलिकति पनि आत्मोन्नति हुन सकेन भने मानिस समयक्रममा आफ्नै नजरमा गिर्न थाल्छ । आफैंले आफैंलाई धिक्कार्न थाल्छ । किनभने ऊभित्रको चेतनाले बेलाबखत उसलाई गिज्याउँछ – माथि उडान भर्न सक्ने क्षमता तिमीमा थियो तर तिमी जीवनभर भुइँमा लत्रेर, घिस्रेर बाँच्यौ !

यसैगरी मणिपुर चक्र, अनाहत चक्र, विशुद्धि चक्र र आज्ञा चक्रमा फरक कारणले ऊर्जा बाधित हुन्छ । चक्र विज्ञानलाई बुझेर सबै चक्रलाई मनको आँखाले अवलोकन गर्दै, हृदयङ्गम गर्दै मन्त्रोच्चारण र ध्यानद्वारा कुण्डलिनी शक्ति जागरण गर्न सकिन्छ । यो अद्भुत र प्रयोगसिद्ध योग साधना हो । चक्र योग अनुष्ठानपश्चात् साधकले नवजीवन प्राप्त गर्छ । सहस्रार चक्रमा पहुँच हुन्छ, मानवीय क्षमताहरू अतिक्रमित हुन थाल्छन् र दिव्य हुन्छन् । गोरखनाथले योग अनुष्ठानका अनगिन्ती विधिहरू पत्ता लगाएका छन् । योगवाशिष्ठ, उपनिषद् आदि ग्रन्थ र तान्त्रिक शास्त्रहरुमा योग अनुष्ठानका अनेकौं रोचक र कारगर विधि एवं पद्धति उल्लेख छन् । बौद्ध दर्शन त साधनाका विधिहरूको भण्डार नै हो । बुद्धले हरेक तह र तप्काका मानिसलाई उपयुक्त हुने गरी उपायकौशल प्रयोगद्वारा धर्म अनुष्ठानका विधिहरू दिएका छन् । यो सानो आलेखमा ती सबै विधि समेटिन सम्भव छैन ।

एक्टिव प्रिन्सिपल

विज्ञानको युगमा मानिस सकेसम्म विज्ञानसम्मत र सही कुरालाई मात्र पछ्याउने चेष्टा गर्छ । तर अधिकांश मानिसले जानेर वा नजानेर एउटा गल्ती गरिरहेका छन् । मानिस समयलाई पैसा र गतिलाई प्रगति ठान्ने भूल गरिरहेको छ । यसैका कारण ऊ एउटा अचम्मको दुश्चक्रमा फसेको छ । मानिस स्मार्ट लिभिङ अर्थात् परिष्कृत जीवन बाँच्न चाहन्छ । तर जीवनको निर्मम नाटकमा जो धेरै चलाखी गर्छन् उनीहरू नै खाडलमा पर्ने सम्भावना अधिक हुँदोरहेछ ।

आयुर्वेदमा तुलसी बहुगुणी जडिबुटी हो । अहिले कथित बुद्धिमान वैद्य र वैज्ञानिकहरूले तुलसीको बुटीमा पाइने मुख्य लाभदायी तत्त्व अर्थात् एक्टिव प्रिन्सिपल संकलन गरेर औषधि इत्यादि बनाए । ती औषधिले काम पनि गर्छन् तर आँगनको छेउमा तुलसीको बोट रोपेर, हरेक साँझ मठ छेउ दीयो बालेर प्रदक्षिणा गर्दा त्यो माहोल, त्यो वास्नायुक्त वातावरण र त्यहाँ सञ्चारित तरङ्गहरूबाट प्राप्त हुने लाभहरू औषधिको गोली खाएर कदापि प्राप्त हुन सक्दैन ।

जीवनलाई साङ्गोपाङ्ग रूपमा बुझ्नु र होसपूर्ण रूपले बाँच्नुको महत्ता अलि माथिल्लो कोटीको हुन्छ । बुद्धले एउटा प्रमादीको जीवनभन्दा एक अप्रमादीको दिन महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ भन्नुभएको थियो । अप्रमादी, होसपूर्ण भएर बाँच्नु भनेको के हो? जीवनलाई लम्बाइमा होइन गहिराइमा बाँच्न थाल्नु । आयुष्कालको दीर्घता होइन सघनता गरिमामय हुन्छ । क्षणमपि ज्वलितं श्रेयं न च धूमायते चिरम् अर्थात् एकै छिन हुरुरु बलेर सकिनु धुवाँधुवाँ भएर लामो समय टिक्नुभन्दा श्रेयस्कर हो । प्रज्वलित भएर बाँच्दा आफूलाई र अरूलाई प्रकाश दिन सकिन्छ, जीवन दिन सकिन्छ । भिखारी चित्तलाई माग्नुको आनन्द मात्र थाहा हुन्छ । रजनीशले भनेका छन्, वासनाको द्वारमा मानिस सदा भीख मागेरै उभिएको हुन्छ ।  अरूलाई मद्दत गर्नुको आनन्द एउटा सम्राट चित्त भएको मानिसलाई मात्र थाहा हुन्छ । मन्दिरमा प्रवेश गरेर भगवान्‌सँग केही माग्दाको भन्दा भगवान्‌लाई जीवनका निम्ति धन्यवाद दिएर फर्कंदाको चित्तदशा धेरै माथिल्लो कोटीको हुन्छ ।

अप्रमादी, होसपूर्ण भएर बाँच्न थाल्दा एउटा धूलोको कणमा ब्रह्माण्ड देखिन थाल्छ, पानीको थोपामा सागर देखिन थाल्छ । एक क्षण यति सघन लाग्न थाल्छ मानौं त्यो शाश्वत हो । जतिखेर ज्ञानोदय भयो, भगवान् बुद्ध अहो सुख अहो सुख भन्दै गोडाले जता लग्छन् उतै हिंड्नुभयो, भागवत् श्रवण गरिरहेका उद्धवको बोली गद्गगद् भयो, चित्त द्रवित भयो, घरि हाँस्न घरि रुन आयो, श्री अरविन्दले सारा संसार नै प्रेमिकाको कोठी जस्तै प्रिय देख्न थाले । उनी स्वर्गलाई धर्तीमा उतार्ने योजना बुन्न थाले । यसप्रकार होसपूर्ण भएर बाँच्नुको आनन्द एक्टिव प्रिन्सिपल पछ्याएर प्राप्त हुन सक्दैन । योगलाई हामीले साङ्गोपाङ्ग रूपमा बुझ्यौं भने, योगलाई अनुष्ठान बनायौं भने मात्र त्यो आनन्द प्राप्त हुन्छ ।

आज अन्तर्राष्ट्रिय योग दिवसका दिन योगलाई अनुष्ठानका रूपमा अपनाउने संकल्प गर्न सक्यौं भने साँचो अर्थमा योग दिवस मनाउनुको सार्थकता हुनेछ । हामी कामना गरौं, सबैको जीवन योग अनुष्ठानमय बनोस् । योगलाई आत्मसात गरेको नाउँमा यसको एक्टिव प्रिन्सिपल पछ्याएर केही आसनहरूको अभ्यास गरी योगी भएको भ्रममा बाँच्ने या योग अनुष्ठानद्वारा जीवनका अनुभूतिलाई उदात्त बनाउने – रोजाइ आफ्नोआफ्नो ।

https://deshsanchar.com/2020/06/21/373497/