अदृश्य प्राणीसँग सम्वाद
मेरो अनुमानमा भाइरसले अणिमा, महिमा लगायत अष्टसिद्धि हासिल गरेको हुनुपर्छ । रूप बदलेर अदृश्य हुन सक्ने, विशालकायल पनि हुन सक्ने । म मर्निङ वाकमा निस्केका बेला भाइरस शिवपुरी लेकमा ढसमस्स बसेको रहेछ । म जंगल भित्रै पुगिसकेको थिएँ । त्यो निर्जन इलाकामा फटाफट आफूतिर आइरहेको मलाई देखेर भाइरस महोदय सतर्क भए । कुराकानी मैले नै सुरु गरें । अचेल बाटोमा भेटिएका कतिपय मानिसलाई हेलो हाई भनिहाल्छु । मैले भने, 'मान्छे उत्कृष्ट, विकसित र प्रविधि सम्पन्न जाति हो । तर तिमी निहत्था भाइरसले सबलाई एकसाथ त्राहित्राहि बनाइदियौ त !!
मुसुक्क हाँस्दै कोरोनाले भन्यो, 'स्वघोषित उत्कृष्ट । मान्छे बाहेक अरू कुन प्राणीले तिमेरलाई उत्कृष्ट भनिदिएको छ?'
यो प्रश्नको जवाफ मसँग थिएन । मैले प्रसङ्ग मोड्न चाहें, 'भाइरसले कहिलेसम्म राज गर्ने हो?'
'जहिलेसम्म मानिस आफ्नै वेवकूफी प्रति हाँस्न सिक्दैन, जहिलेसम्म प्रेमीको आँखाले संसार हेर्न सक्दैन तहिलेसम्म कोरोनाको राज रहनेछ ।'
'अरे, मान्छेको ओठको हाँसो र मनको प्रेम भावनासँग भाइरसको के सम्बन्ध हुन्छ?'
'भाइरसलाई हटाउन कुनै औषधि, खोप वा उपचारको जोर चल्दैन । तर मानिसको इम्युनिटी (रोग प्रतिरोधक क्षमता) बलियो छ भने भाइरस निरुपाय हुन्छ । हाँस्ने मानिस र प्रेमिल मानिसको इम्युनिटी जबर्दस्त हुन्छ । कुनै पनि भिटामिन, मिनरल्स, इन्जाइम या जडीबुटीले भन्दा हास्य रस र प्रेम रसले मानिसको प्रतिरक्षा बलियो हुन्छ ।'
'धन्यवाद भाइरस । तिमीले आफ्नै विनाश केमा छ भनेर बताइदिएकोमा ।'
'धन्यवाद दिनु पर्दैन । अचेल मान्छेहरू स्लिपवाकर झैं अन्धाधुन्ध हिंडिरहेका छन् । मेरो विनाशको रहस्य थाहा पाएर पनि तिनीहरूले सुन्दैनन् । मानिसलाई हाँस्नका लागि लाफ्टर सो नै चाहिन्छ । तिनको मनमा वासना जाग्ला प्रेम जाग्दैन । मान्छेको मनमा भएभरको प्रेम वासनाले, पैसाले लुटेको छ । त्यसैले आफ्नै मृत्युको खुलासा गरेर पनि म ढुक्क छु ।'
यति कुरा गर्दागर्दै भाइरस अदृश्य भइसकेको थियो । अष्टसिद्धि !!