आधुनिक युगका जडभरतहरू

नेत्र आचार्य 2020-05-16

जडभरतको आख्यान

नामी पण्डितका छोरा भरतलाई पाँच वर्षको उमेरमा पिताले अक्षरारम्भ गराएका थिए । बालक भरतले साँवा अक्षर सिके तर त्यहाँभन्दा अगाडि पढेनन् । वेद पाठ गर, जजमानका घरमा न्वारन गराऊ, ग्रहशान्ति गराऊ, विहे गराऊ, अन्त्यकर्म गराऊ -यो दुश्चक्र उनले त्यो उमेरमै पूर्वानुमान गरिसकेका थिए । पिताले भरतलाई आफूभन्दा उम्दा पण्डित बनाउन चाहन्थे तर उनलाई उपरोक्त पण्डित्याइँमा रत्तिभर रुचि भएन । पिताले दिएको पाठ बुझाउन नसक्ने र जडवत् बसिरहने हुँदा उनलाई जडभरत भनेर बोलाउन थालियो ।

नपढी बस्ने अल्छीलाई घरमा कसैले माया गरेन । परिवारजनले रुखोसुखो र बासी खाना उनी बसिरहेको आँगनको छेउमा फ्याँकिदिन्थे । कुकुरलाई भन्दा अनादर हुँदा पनि जडभरतले कुनै प्रतिक्रिया गर्दैनथे । जे फ्याँकिएको भए पनि खुरुखुरु खान्थे र चुपचाप बस्थे । तर अचम्म, बाउआमाले पुल्पुल्याएका पुत्रहरुभन्दा हेलाँ गरिएका जडभरत हृष्टपुष्ट र खाइलाग्दा थिए । मनमा कुनै कुराको चिन्ता थिएन, सायद त्यसैले ।

जडभरतलाई दिनभरी खेतको रखवारी गर्ने काम दिइयो । उनी खेतमा गएर बस्थे । चराहरू आएर अन्नपात खाइदिन्थे, बाँदर आएर बाली नष्ट गर्थे । जडभरत चुपचाप छेउमा बसेर हेरिरहन्थे । उनी सोच्थे - खाउन् सबैले; भगवान्­को खेत, भगवान्‌को अन्नबाली, भगवान्­का सन्तानहरू । हेरालो राख्दाराख्दै बाली नाशिएको देखेर भाइहरूले जडभरतलाई हप्काए, कुटपिट समेत गरे । जडभरत खेतबाट जंगलतरि बाटो लागे ।

जंगलमा आदिवासीले देवीको मन्दिरमा मानव बलि दिने गर्थे । आदिवासी सरदार एक्लै भौंतारिइरहेको मोटोघाटो जडभरतलाई देखेर खुशी भयो । जडभरतलाई पक्रेर देवी मन्दिरमा लगियो र राम्ररी ख्वाइप्याई बलि दिन तयार पारियो । सरदारले तरवार उजाएर जडभरतलाई मार हान्नै लाग्दा देवी प्रकट भइन् र त्यही तरवार खोसेर सरदारलाई कलम गरिदिइन् । बाँकी आदिवासी भागे । जडभरत आश्चर्य मान्दै मन्दिर बाहिर निस्केर टहल्न थाले ।

त्यसैबेला रहुगण नामका राजा आत्मज्ञान सुन्न ऋषि कपिलको आश्रममा जाँदै थिए । उनको पालकी बोक्‍न बलियो मानिसको खाँचो परेको थियो । सेवकहरूले बाटोमा टहलिइरहेको हृष्टपुष्ट जडभरतलाई देखे । सेवकहरूले उनलाई समातेर ल्याए र राजाको पालकी बोक्‍न लगाए । जडभरत आफ्नो पाराले हिंड्थे, बाटोमा कमिला देखे पनि सरक्क तर्कन्थे । यसो गर्दा पालकीमाथि बसेका राजालाई असुविधा हुन्थ्यो । राजाले जडभरतलाई कोर्रा हान्थे । जडभरत चुपचाप कोर्रा सहन्थे तर आफ्नो पारा छोड्दैनथे । राजा आजित भए – यति बलिष्ठ भएर जाबो पालकी राम्ररी बोक्‍न सक्दैनस्, तैंले राम्रै सजाय पाउँछस्, पख मूर्ख । बल्ल जडभरतले मुख खोले – बलिष्ठ या कमजोर शरीर हुन्छ आत्मा हुँदैन, मूर्ख या विद्वान् बुद्धि हुन्छ आत्मा हुँदैन, सजाय या पुरस्कार शरीरलाई होला आत्मालाई हुँदैन । गहुँलाई पिसेर मैदा बनाउला, मैदालाई पिसेर के बनाउँछौ? फूलको रसलाई इत्र बनाउला, इत्रको रस निकालेर के बनाउँछौ? पानी भरेका हजार घडामा हजार सूर्य देखिएलान् तर आकाशमा सूर्य एउटै हुन्छ, दुनियाको नजरमा कोही सजाय दिने देखिएला केही सजाय पाउने देखिएला तर आत्माको नजरमा दण्डधारी र दण्डित एकै हुन्, फरक होइनन् । पृथ्वीको अंशले पृथ्वीको अंश उचालेर पृथ्वीको अंशमाथि प्रहार गर्छ, परमार्थ दृष्टिले हेर्दा यहाँ केही भएकै छैन । कसैलाई दण्डित गर्नु आफैंलाई दण्डित गर्नु हो । कथाले अगाडि भन्छ - जडभरतको यस्तो गुरुगम्भीर वचन सुनेर राजा आश्चर्यचकित भए र पालकीबाट ओर्लेर माफी मागे ।

आधुनिक जडभरतहरू

आख्यानको जडभरत जतिसुकै आश्चर्यजनक लागे पनि आधुनिक युगका जडभरतहरू कम विस्मयकारी देखिंदैनन् । रेल र पानी जहाजका सपना सबैलाई बाँड्न भ्याउनु तर राजधानीको सडक जाम र कुइरीमण्डल धूलो हटाउन नसक्नु; आर्थिक विकासका कथा थाक्दै नथाकी सुनाउनु तर आफैंले बाटो बनाउन काम दिएका ठेकेदार तह लगाउन नसक्‍नु; न्यायालय, सुरक्षा निकाय र विश्वविद्यालय जस्ता दूरगामी महत्त्वका संस्थाहरूमा राम्रा व्यक्ति नहेरी 'हाम्रा' व्यक्ति नियुक्त गर्नु; युवाशक्तिलाई विदेश पठाउनमा र विदेशी आर्थिक सहायता भित्र्याउन गौरव मान्नु, 'सामन्ती' दर्जा दिएर राजा हटाउनु तर स्वयंले राजसी ठाँट अपनाउनु, क्रान्ति गर्न हजारौं मानिसको बलिदान दिन आँट देखाउनु तर जनताको दैनिक जीवनमा प्रत्यक्ष देखिने गरी कुनै पनि कुरामा परिवर्तन गर्न आँट नदेखाउनु सायद झन् ठूलो जडता हो ।

सबै बेथितिको दोष नेतृत्त्वलाई दिने तर असफल सावित भइसकेकालाई पुनः प्रतिनिधि चुन्ने, स्वयं तिनै नेताको अघिपछि लागेर जीविका र भविष्यको सुरक्षा खोज्ने, यो वा त्यो पार्टीको स्वार्थका खातिर मरिमेटेर खट्ने, संघे शक्ति कलौ युगे अर्थात् संगठित हुनुमा शक्ति छ भन्ने बुझ्दाबुझ्दै स्वतन्त्र रूपले संगठित हुनु त कहाँ, परिवार र छिमेकमै सौहार्दता कायम राख्ने जाँगर नगर्ने जनतामा उत्तिकै जडता छ ।

डाक्टरले विरामीको सेवामा, कलाकारले अभिनयमा, लेखकले सृजनामा, पत्रकारले देश- समाजका विकृति उजागर गरी सत्यतथ्य प्रकाशनमा, न्यायाधीशले न्याय सम्पादनमा सुख, शान्ति र आनन्द फेला पार्नु मनासिव हो तर तत् तत् विधाका सबैले हरतरहले अर्थोपार्जनमा बाहेक अन्यत्र सुख-सन्तोष नदेख्‍नु अझ ठूलो जडता हो । शरीरका लागि सक्रिय रहनु स्वस्थकर हो, मनका लागि स्थिर रहनु स्वस्थकर हो । तर यस विपरीत वर्तमान समयमा सहरी मानिसको दिनचर्या दिनभर अफिसको कुर्सीमा या कम्प्युटरको सामु बस्ने, साँझमा टेलिभिजनसामु सोफामा बस्ने र बाँकी समय मोबाइलमा घोप्टो पर्ने खालको हुँदै गएको छ । यो सेडेन्टरी दिनचर्या आधुनिक युगको जडताको अर्को निशानी हो ।

पश्चिमा समाजका मानिसको अन्तःप्रवृत्ति विज्ञान र प्रविधिको खोजी गर्नु हो, पूर्वीय मुलुकका मानिसको अन्तःप्रवृत्ति ज्ञान र अध्यात्मको खोजी गर्नु हो । पश्चिमाहरूले आफ्नो धर्म निर्वाह गरिरहेका छन् तर पूर्वका मानिसले आफ्नो पहिचान बिर्सिसकेका छन् । पश्चिमी सभ्यताको अन्धानुकरण गर्ने धुनमा पूर्वीयहरूले आफ्नो स्वत्त्व बिर्सिसके । अब उनीहरू न पूर्वका न पश्चिमका भन्न लायक छन् । बाढीले बगाएर ल्याएको काठको मूढो कहिले यो किनार कहिले त्यो किनार तिर ढल्किन्छ तर केवल बाढीको कारण । काठको मूढोमा जुन जडता छ त्यही जडता पहिचान गुमाएकाहरूमा छ ।

चेतनाको अधोगमन

वर्तमान युगलाई बिजुली बत्ती आदिको आविष्कारले भौतिक रूपले प्रकाशवान् बनाएको छ तर चेतनाको उज्यालो सबैतिर निभ्दै-निभ्दै गएको छ । सदियौं अघिका मानिसले जगाएको चेतनाको उज्यालो कालक्रममा मधुर हुँदै गएको छ, नवीन चेतना जगाउने काम लोपोन्मुख भएको छ । गृहत्याग, तपस्या, समाधि जस्ता शब्दहरू अपरिचितप्रायः भइसके । चेतनाको यो अधोगमनलाई जडताको निशानी नभनेर के भन्ने?

संस्कृत भाषामा वेद, पुराण, उपनिषद्, स्मृति ग्रन्थ, नीतिशास्त्र, शिल्पशास्त्र, धनुर्विद्या, आयुर्वेद, ज्योतिष, न्याय, साहित्य, व्याकरण लगायत अनेकौं जीवनोपयोगी विधाहरू निहित छन् । आन्तरिक जीवनलाई गति र दिशा दिने अध्यात्म दर्शन संस्कृत वाङ्‌मयमा लवालव भरिएको छ । योग र ध्यान सम्बन्धी ग्रन्थहरूमा आध्यात्मिक साधनाका सयौं अभ्यासहरू उपलब्ध छन् । कुण्डलिनी चक्र जागरण गरेर मानिसले आफ्नो चेतनालाई मर्त्यावस्थाबाट अमरतातिर उठाउन सक्थ्यो, योगाभ्यासद्वारा अणिमा, महिमा, गरिमा, लघिमा आदि सिद्धि हासिल गर्न सक्थ्यो, त्रिकालदर्शी समेत हुन सक्थ्यो । यो यावत् साधना परम्परावारे बेखवर हुनु वा थाहा पाएर पनि थाहा नपाएजस्तो गर्नु अवश्य हाम्रो जडताको निशानी हो ।

वृहदारण्यक उपनिषद्‌मा ऋषि याज्ञवल्क्यले आफ्नो सारा धनदौलत पत्नी मैत्रेयीलाई सुम्पन चाहन्छन् तर  मैत्रेयीले अनौठो प्रश्न गर्छिन्, ‘‘भगवान्, यो सम्पत्ति र पृथ्वीको सारा सम्पदा समेत भोगचलन गर्दा म अमर हुन सक्छु कि सक्दिन?’’ याज्ञवल्क्य भन्छन्, ‘‘सक्दिनौ । तिम्रो जीवन धनपतिहरुको जस्तै विलासी हुनेछ, तर दौलतले अमरता पाउने आशा गर्न सकिंदैन ।’’ ‘‘अमरता नपाउने वस्तु लिएर मैले के गर्नु? कृपया मलाई त्यही रहस्य बताउनुहोस् जसबाट अमरता हासिल गर्न सकियोस् ।’’ याज्ञवल्क्यले शान्त हुँदै भन्छन्, ‘‘तिमी अत्यन्त प्रिय छौ, तिमीलाई म अमरत्व हासिल हुने ज्ञान सुझाउँछु - सुन, पत्नीका लागि पति प्रिय हुन्छ तर आफ्नै स्वार्थका निम्ति, पतिका लागि पत्नी प्रिय हुन्छे तर उसकै स्वार्थका खातिर । सन्तान, सम्पत्ति आदि प्रिय हुनु सन्तान या सम्पत्तिको कारण होइन, व्यक्तिकै स्वार्थको कारण हो । त्यसैले, सबैभन्दा पहिला आफूलाई अर्थात् आत्मालाई जान । आत्मालाई देख, श्रवण गर, मनन गर र आत्माको ध्यान गर । आत्मालाई साक्षात् गरेपछि सबै रहस्य खुल्छन्, सबै ज्ञान प्रकट हुन्छ ।’’ यसप्रकार उपनिषद्ले आत्मज्ञान सर्वोपरि हुन्छ र यही ज्ञानले अमरता उपलब्ध गर्न सकिन्छ भनी उद्‌घोष गरेका थिए । वर्तमान समयमा गृहस्थीप्रतिको चरम आसक्तिका कारण मानिसले जस्तोसुकै भ्रष्टाचार गर्न पछि पर्दैन, पक्राउ पर्ने खतरा समेत देख्दैन । जडताको योभन्दा उपयुक्त उदाहरण अन्यत्र पाइँदैन ।

पूर्वकालका मनीषीहरूले कामवासना भोगले शान्त हुँदैन, आगोमा घिउ होम गर्दा जस्तै झन्झन् बढ्दै जान्छ भन्ने देखेका थिए । (न जातु कामः कामानामुपभोगेन शाम्यति । हविषा कृष्णवर्त्मेव भूय एवाभिवर्धते ।) भागवत्‌ आदि पुराणमा मैथुन लगायत भौतिक सुखलाई 'कण्डूयनेन करयोरिव दुःखदुःखम्' अर्थात् लुतो कन्याय जस्तो क्षणभरको तृप्ति तर पछि सन्तापैसन्ताप भनेर अर्थ्याउने गरिन्थ्यो । वर्तमान समयमा यौन सुखका लागि मल्टिपल अफेयर सामान्य जस्तै भएको छ । कसैप्रति मनमा आकर्षण पैदा हुन्छ भने ह्वाइ नट? भन्ने सोच आम भइसक्यो । पहिला भनिन्थ्यो -

शास्त्राणि यत्र गच्छन्ति तत्र गच्छन्ति ते नराः ।

मनांसि यत्र गच्छन्ति तत्र गच्छन्ति वानराः ।।

'शास्त्रले बताएको मार्गमा हिंड्नेहरू मानिस हुन्, मनले जता बहकाउँछ उतै बहकिने बानर हुन् ।' हामी कता बहकिइरहेका छौं हरेकले आफ्नै मनसित सोध्दा थाहा हुन्छ ।

हाम्रो खुशीको गुणस्तर

मानिसले हरेक सामान खरिद गर्दा त्यसको गुणस्तरप्रति सुनिश्चित हुन चाहन्छ । जीवनका खुशीहरू भोग्दा तिनको गुणस्तर किन हेर्दैन? उपलब्ध र एफोर्डेबल छ भने जे पनि खरिद गर्नु बुद्धिमानीको, सचेतनाको संकेत होइन, बरु जडताको निशानी हो । तमसोमा ज्योतिर्गमयः, अँध्यारोबाट उज्यालोतिर लम्कनु सचेतना हो, अँध्यारोबाट घोर अन्धकार तिर फाल हाल्नु जडता हो ।

सभ्यताको त्यो कालखण्डमा खुशीको उत्कर्ष केही यस्तो आकारको हुन्थ्यो -

वाक् गद्गदा द्रवते यस्य चित्तं

रुदत्यभीक्ष्णं हसति क्वचिच्च ।

विलज्ज उद्गायति नृत्यते च,

मद् भक्तियुक्तो भुवनं पुनाति ।

भागवत् महापुराणमा सचेत उमङ्गको गुणस्तर बारे कृष्णले उद्धवलाई भनेका थिए - आनन्दको अतिरेक अवस्थामा भक्तको बोली गद्गद् हुन्छ, चित्त द्रवित हुन्छ, कहिले रुन थाल्छ, कहिले हाँस्न थाल्छ, कहिले गीत गाउन थाल्छ, कहिले नाच्न थाल्छ । यस्तै भक्तले स्वयंको र जगत्‌को कल्याण गर्छन् ।

हाम्रो मनको खुशी यही गुणस्तरको हुनुपर्थ्यो । सायद योभन्दा अधिक हुनुपर्थ्यो; भौतिक पहलुहरूमा जुन रफ्तारमा विकास भयो त्यो हेर्दा । एउटा बालक दिनमा पचासौं पटक अनायासै मुस्कुराउँछ, मुस्काउन उसले कुनै कारण खोजी गर्दैन । एउटा परिपक्‍व मानिस खुशीका दर्जनौं कारण हुँदा समेत मुस्कुराउन बिर्सिसकेको हुन्छ । उदासी हाम्रो मातृभाषा भइसक्यो । स्वास्थ्य निकायले हरेक घरमा कोही न कोही डिप्रेसनमा छ भनेका छन्, सायद हरेक मनमा कहीं न कहीं डिप्रेसन छ ।

आख्यानका जडभरतले केही उच्‍चतर उद्देश्यका लागि जडवत् भएको अभिनय गरेका थिए । उनलाई विमुक्ति सुखको खोजी थियो, त्यो प्राप्तिका निम्ति सामान्य मानिसको जस्तो जीवनयापन गरेर सम्भव थिएन । त्यसैले उनी असामान्य व्यवहार देखाउँथे, जडता प्रदर्शन गर्थे । यो युक्तिले उनले एकाग्रता एवं समाधिका लागि समय निकाल्थे । जडतालाई समेत उपयोग गर्ने समय थियो । यो हेरी वर्तमान युगका आधुनिक मानिसको चेतना रसातल, पातालमा पुगिसकेको अन्दाज गर्न मुस्किल छैन । [email protected]