एकान्ते सुखमास्यताम् ??????

नेत्र आचार्य 2020-05-08 | http://annapurnapost.com/news/155396

एकान्तवासमा सिद्धार्थ बुद्ध बने, महावीर भगवान् बने, शंकराचार्य जगद्गुरु बने । एकान्तवास उनीहरूको रोजाइ थियो, त्यसैले रूपान्तरणकारी बन्यो । हामी सबै आइसोलेसनमा छौं । तर यो एकान्तवासबाट कोही बुद्ध बन्ने छैन, महावीर बन्ने छैन । किनभने यो हाम्रो रोजाइ होइन बाध्यता हो ।

बाध्यतालाई कसरी डिल गर्ने? दार्शनिक नित्सेले एउटा सूत्र दिएका छन् – आमोर् फाटी । 

रोमन मिथोलोजी अनुसार आमोर् प्रेमका देवता हुन् । फाटी भनेको भवितव्य । जस्तोसुकै भवितव्य आइपर्दा नआत्तिनु, त्यसलाई सहज स्वीकार गर्नु । स्वीकार मात्र होइन, त्यसलाई प्रेम गर्नु । सकारात्मक हुनु र हुनीहारसँग हाँसीखुशी बाँच्नु । जीवनप्रति उत्सुक भइरहनु, जीवनलाई माया गरिरहनु । ❤ ❤

 

दूरीको महत्ता जताउने अफ्रिकी उखान छ- अधिक निकटताले द्वेष, दूरीले माया बढाउँछ । टाढा हुँदा मनमा प्रेमको बाढी त्यसैत्यसै उर्लेर आउँछ । महाकवि कालिदासले प्रिय पत्नीको विरहमा सुधबुध गुमाएको एउटा यक्षको आत्मालाप व्यक्त गर्न मेघदूत नामको काव्य लेखे । देश निकाला भएको यक्ष निर्जन कन्दरामा एक्लै बसिरहेको छ । असारको महिना, घना वादलले वरिपरिका पहाड ढाकेको छ । चारैतिर वादल भरिंदै आएको देखेर यक्ष कल्पन्छ – मेघालोके भवति सुखिनोऽप्यन्यथा वृत्तिचेतः कण्ठाश्लेषः प्रणयिनीजने किं पुनः दुरसंस्थे । अर्थात् आकाशमा वादल छाएको देख्दा सुखीहरूको मन समेत डामाडोल हुन्छ, नजिक हुँदा अङ्कमाल गरिहाल्न रुचाउने प्रियसीदेखि एक्लिएर टाढाटाढा बस्नु परेका विरहीहरूको मनोदशा कस्तो होला !

करोडौं मानिस आफ्ना प्रियजनसँग दूरीमा बस्नु परेको अवस्था छ अहिले । यो अवस्था कुनै न कुनै रूपमा लामै समय कायम रहने देखिन्छ । औसत मानिसका निम्ति प्रियजनसँगको दूरी अत्यासलाग्दो, दिक्कलाग्दो र मनलाई डामाडोल बनाउने खालको हुन्छ । तर कलाकार, सन्त र साधकका निम्ति भने समाज र प्रियजनसँगको दूरी प्रियतर हुन्छ । किनभने एकान्तवास साधनाका निम्ति सुनौलो अवसर हो । साधना अर्थात् आफ्ना सीमाहरूलाई अतिक्रमण गर्ने, सम्भावनाहरूलाई पहिल्याउने प्रयत्न, आराधना र तपस्या । बुद्ध, महावीर र शङ्करको जीवनमा एकान्तवास आमूल रूपान्तरणकारी सावित भएको थियो ।

बुद्ध, महावीर र शङ्कर 

एकान्तवासले सिद्धार्थ गौतमलाई बुद्ध बनायो, वर्द्धमान महावीरलाई भगवान् महावीर बनायो, शङ्कराचार्यलाई जगद्गुरु बनायो । सिद्धार्थ गौतम पाँच जनाको समूहमा मिलेर तपस्या गर्थे । ती तपस्वीहरू पञ्चभद्रवर्गीय भिक्षु भनेर विख्यात थिए । तर सिद्धार्थले ती पाँच जना सहसाधकबाट अलग्गिएर पूर्ण रूपले एकान्तवास गरेपछि मात्र विपश्यना ध्यान विधि फेला पारे । गयामा बोधिवृक्षमुनि विपश्यना भावना गरिरहँदा बुद्धले आफ्नै मनसँग दूरी बनाउने युक्ति सिके, मनका उहापोहलाई साक्षीभावले हेर्ने कला विकसित गरे, तदनन्तर उनलाई बुद्धत्त्वको आलोक उपलब्ध भयो ।

वर्द्धमान महावीरले दिव्य १२ वर्ष एकान्तवासमा बिताए । एक पटक उनी कुनै जंगलको मध्यभागमा तपस्यारत थिए । एउटा गोठालोले उनलाई गाईवस्तु हेरिदिन अह्रायो । गाईवस्तु जंगलतिर पसे । गोठालो फर्कंदा महावीर सोही ठाउँमा उभिइरहेका थिए तर गाईवस्तु थिएनन् । गोठालो वस्तु खोज्न जंगल चाहार्न थाल्यो । कतै फेला नपरेपछि थकित हुँदै सोही ठाउँमा फर्कियो । महावीर स्वामी उही स्थानमा उसैगरी उभिइरहेका थिए । त्यतिञ्जेल उसका गाईवस्तु फर्केर त्यहाँ आई वरिपरि बसेर उग्राउँदै थिए । गोठालोले महावीरलाई वस्तुहरू चोर्ने चेष्टा गरेको आरोप लगायो । स्वामी बोलेनन् । गोठालो रिसायो । 'तैंले केही सुन्दैनस् भने तेरा कान के काम' भन्दै महावीर स्वामीका कानमा काठका ठेडी ठोकिदियो । महावीर स्वामी कुनै प्रतिक्रिया नगरी चुपचाप रहे । दुवै कानबाट रगतको भल बगिरहेको थियो, महावीर उस्तै मौन र संयमित थिए । आकाशबाट यो दृश्य देखेर देवताहरू त्यहाँ आइपुगे । उनीहरूले महावीरलाई भने, 'प्रभु, हजुरले आज्ञा मात्र दिनुहोस्, तपस्यामा बाधा पुर्‍याउने दुष्ट गोठालोलाई हामी दण्ड दिन्छौं ।' महावीरले भने, 'गोठालोले द्वेष राखेर मेरो एकान्त बिथोलेको थियो, तपाइँहरूले प्रेम जताउँदै बिथोल्नुभएको छ । कृपया तपाइँहरू आफ्नो लोकमा जानुहोस्, मेरो एकान्त नबिथोलिनु नै मेरो निम्ति हितकर हुनेछ ।'   

शङ्कराचार्यका निम्ति आदर्श जीवन भनेकै जंगल, गुफा र कन्दराहरूमा एकान्तवास गर्नु र अस्तित्त्वसँग एकाकार अनुभूति गर्नु थियो । उनी भन्थे, कौपीनवन्तः खलु भाग्यवन्तः, लगौंटी धारी एकान्तविहारी नै भाग्यमानी हो । आनन्दलहरी, सौन्दर्यलहरी, विवेकचूडामणि जस्ता कालजयी कृतिका रचनाकार शङ्कराचार्य साधन पञ्चकम् शीर्षक कविताको एउटा पदमा भन्छन् – एकान्ते सुखमास्यताम् परतरे चेतः समाधीयताम् । शार्दूलविक्रीडित छन्दमा लेखिएको यो पद्यको आशय हो, एकान्तमा रमाउन सिकौं, आफूभन्दा उच्चतर चेतनायुक्त शक्तिमा मन स्थिर गरौं । स्वयंको व्यक्तित्त्वमा छिपेका सम्भावनाहरू पहिल्याऔं । एकान्तवास रोजौं, तपस्यामा मग्न होऔं ।

रोजाइ नभए पनि बाध्यतावश मानिसले एकान्तवासलाई अपनाउनु परेको अवस्था अहिले छ । जारी आइसोलेसनको अवधि सोचेजस्तै छिटो समाप्त हुने देखिंदैन । कोरोनापछिको दैनिकी पहिलाजस्तै रहनेछैन । मानिसले एकअर्कालाई अभिवादन गर्दा वा सँगै बसेर बातचित या खानपिन गर्दा उचित दूरी कायम रहोस् भन्ने चाहनेछन् । अफिसहरूले सम्भव भएसम्म कर्मचारीले घरबाटै काम गरून् भन्ने तय गर्नेछन् । सार्वजनिक यातायातको परिभाषा फेरिने छ । मानिसले एकअर्कालाई हेर्ने दृष्टिकोण समेत उस्तै रहने छैन ।

यो स्थितिको सामना गर्न हामीले एकान्तवासलाई मनैदेखि स्वीकार गर्नु र यसलाई अवसरको रूपमा उपयोग गर्न सिक्नु हितकारी हुनेछ । अन्यथा एकान्तवास हाम्रानिम्ति बाध्यता जस्तो रहिरह्यो भने यसले दिक्दारी, नैराश्य र तनाव पैदा गर्नेछ । फ्रेडरिक नित्सेले जीवनमा जे आइपर्छ त्यसलाई स्वीकार्न र अपनाउन महत्त्वपूर्ण सूत्र पहिल्याएका थिए – आमोर् फाटी । रोमन मिथोलोजी अनुसार आमोर् प्रेमका देवता हुन् । फाटी भनेको भवितव्य हो । हरेक भवितव्यलाई स्वीकार मात्र होइन प्रेम गर्न सिक्नु सर्वोत्तम जीवन सापेक्ष धर्म हो । भवितव्य जतिसुकै कुरुप होस् कसैलाई दोष दिने होइन । आरोप-प्रत्यारोप गर्नेलाई पनि दोष दिने होइन । त्यसप्रति पीठ फर्काउनु र हुनीहारलाई हाँसीखुशी स्वीकार गर्नु मनासिव हो । जीवनका पक्षधरहरूले यसप्रकार जीवनलाई साङ्गोपाङ्ग अपनाउनु, अङ्कमाल गर्नु बुद्धिमानी हो ।

यतिखेर सामाजिक दूरी हाम्रो भवितव्य हो । यसलाई स्वीकार गर्नुको विकल्प छैन । एकान्तवासलाई स्वीकार गर्न, सहज बनाउन र अङ्कमाल गर्न हामीलाई केही त साधन चाहिन्छ । हाम्रो पहुँचमा भएका साधन मध्ये आध्यात्मिक अभ्यासहरू सर्वोपरि हुन सक्छन् । योग, ध्यान, आध्यात्मिक-दार्शनिक-साहित्यिक ग्रन्थ अध्ययन, वाचन, मन्त्रपाठ या तिनको पुरश्चरण केही आध्यात्मिक अभ्यास हुन् । यीमध्ये जेजस्तो अभ्यास या अनुशीलन गरे पनि शुभलाभ नै हुनेछ । यी अभ्यासप्रति हाम्रो मनोभाव या रवैयाले शुभलाभको दायरामा आनका तान भिन्नता ल्याउने छ ।

ध्यानको अभ्यास

योग, ध्यान या अन्य कुनै साधना अपनाउँदा त्यसको युक्तिसंगत उद्देश्य तय गर्नु मुख्य कुरा हो । प्रयोजनमनुद्दिश्य न मन्दोऽपि प्रवर्तते, मन्दबुद्धि मानिसले समेत प्रयोजनविहीन काम गर्दैन । लहैलहैमा या अरूद्वारा धकेलिएर पनि यात्रा हुन सक्छ तर यात्राको अपेक्षित आनन्द जागरूक र होसपूर्ण भएर नै लिन सकिन्छ । अतः अनुशीलन गर्न आँटेको आध्यात्मिक साधनाप्रति सही मनोभाव वा दृष्टिकोण बनाउनु हितकारी हुन्छ । घण्टौं हातपाउ तानतुन गरे पनि, दश तरिकाले जोर्नीहरू भाँचकुच गरे पनि ज्ञान र उचित दृष्टिकोण बिनाको योगाभ्यास अर्थहीन हुन्छ । शरीर सुगठित होला, शान्ति आविर्भाव हुँदैन । केवलं राजयोगाय हठयोगोपदिश्यते । केवल राजयोगको पूर्वतयारीका लागि हठयोगका आसन र प्राणायामहरूको विधान गरिएको हो । राजयोग भनेको ध्यान, समाधि र चित्तवृत्तिनिरोध हो ।

बुद्धले भन्नुभएको छ – नत्थि झानं अपञ्ञस्स नत्थि पञ्ञा अझायत । प्रज्ञा नहुनेको ध्यान हुँदैन, ध्यान अभ्यास नगर्नेको प्रज्ञोदय हुँदैन । ध्यान र ज्ञान साथसाथ हुनु पर्दछ । ध्यान अन्तर्यात्रा हो; अर्धनिमीलित नयन, स्थिर आसन बनाएर एकान्त स्थानमा गरिने अभ्यास । कुनै नयाँ ठाउँमा जाँदा त्यो ठाउँ बारे जानकारी हुनुपर्दछ, मानचित्र हुनुपर्छ, बाटोको दिशा र अवस्था थाहा हुनुपर्छ । ध्यानस्थ भई अन्तर्यात्रामा जाँदा तत्सदृश सामलको झनै जरूरत पर्दछ । ध्यान सिक्दा कुशल र सिद्ध गुरुको मार्गदर्शन पाउनु महत्त्वपूर्ण हुने कारण पनि यही हो । सही मार्गदर्शनले गन्तव्य सहज हुन्छ ।

ध्यानको प्राथमिक उद्देश्य मनलाई एकाग्र र शान्त रहन अभ्यस्त बनाउनु हो । यही क्रममा मन परिशुद्ध हुँदै जान्छ । राग, द्वेष र मोह निर्मूल हुँदै जाँदा मन निर्मल हुन थाल्छ । तदनन्तर चित्तको प्रभास्वर स्वभाव प्रकट हुन थाल्छ । बुद्ध भन्नुहुन्छ – सबै प्राणीहरू बुद्ध नै हुन्, वासना, तृष्णा आदिले बुद्ध स्वभाव ढाकिएको मात्र हो । वासना, तृष्णाको आवरण क्षय हुँदा बुद्ध स्वभाव स्वतः प्रकट हुन्छ । ध्यानको अभ्यासले तृष्णाको आवरण क्षय हुन्छ, अज्ञानको आवरण उघ्रन्छ । साधक बुद्धत्त्वको नजिक पुग्न थाल्छ ।

अष्टाङ्ग योगका सूत्रधार पतञ्जलिले ध्यानलाई योग साधनाको सातौं चरणमा राखे । ध्यानको अभ्यासपूर्व शील-सदाचारको पालन, शारीरिक र मानसिक शुद्धीकरण बहिरङ्ग योग हुन् । धारणा अर्थात् एकाग्रता, ध्यान र समाधि अन्तरङ्ग योग हुन् । बहिरङ्ग योगलाई हठयोग र अन्तरङ्ग योगलाई राजयोग भनेर समेत बुझ्न सकिन्छ ।

पतञ्जलिले समाधिलाई अन्तिम गन्तव्य भने । बुद्धका अनुसार ध्यानपछि प्रज्ञोदय हुन्छ । प्रज्ञोदयसँगै व्यक्तिका सारा क्लेशहरू निर्मूल हुन्छन्, यथाभूतदर्शनम् अर्थात् जीवन र जगत्‌लाई जस्ताको तस्तै देख्न सकिन्छ । सबै कुरा अनित्य छन्, दुःखयुक्त छन् र दुःख बुझेपछि अनात्मा साक्षात्कार हुन्छ, दुःखी हुने त्यहाँ कोही छैन भन्ने बोधि जागृत हुन्छ । बोधि जागृत हुँदा शान्तिलाभ हुन्छ, जो सत्त्वहरू दुःखैदुःखमा बाँचिरहेका छन् तीप्रति अपार करुणा जागृत हुन्छ ।

बोधि जागरण र करुणाको अभ्युदयका लागि ध्यानको यथोचित अभ्यास अपेक्षित हुन्छ । ध्यानको परिभाषा गर्दै बौद्ध विद्वान् असङ्गले भने – धारयति अध्यात्मं मन इति ध्यानम् । अर्थात् मनलाई आफैंभित्र अड्याएर राख्नु ध्यान हो । ध्यानले मनलाई स्थिर बनाइदिन्छ, ऊर्जा सञ्चित गराइदिन्छ, निष्क्रिय ऊर्जालाई सक्रिय गराइदिन्छ । ऊर्जा शान्ति र आनन्दको स्रोत हो जुन सांसारिक संसर्गका दौरान क्षय हुन्छ ।

अनुभूतिका कुरा 

भगवान् बुद्ध भिक्षुहरूसहित श्रावस्तीको विहारतिर जाँदै हुनुहुन्थ्यो । हिंडिरहेका बेला अचानक बुद्धको बायाँ काँधमा एउटा झिंगा आएर बस्यो । बुद्धले झिंगा धपाउनुभयो, झिंगा उडेर गयो । बुद्ध एक छिन रोकिनुभयो र पुनः हातले झिंगा धपाएजस्तो गर्न थाल्नुभयो । भिक्षु आनन्द बुद्धका पछिपछि हिंडिरहेका थिए । उनले भने, 'भगवान्, झिंगा त अघि नै उडेर गइसक्यो । तपाइँले के धपाउनुभएको हो?' बुद्धले भन्नुभयो, 'मलाई थाहा छ, झिंगा उडेर गइसक्यो । पहिला मैले बेहोसीमा झिंगा धपाएँ । म त्यतिखेर होसपूर्ण हुनुपर्थ्यो । अहिले होसपूर्ण भई धपाउने अभ्यास गरिरहेको छु । फेरि कुनै बेला झिंगा आएर बसेमा मैले होसमा रही धपाउने छु ।'

ध्यानको अभ्यासले हर्दम, हरपल होसपूर्ण रहन अभ्यस्त बनाउँछ । बुद्धले ध्यानलाई स्मृतिप्रस्थान भन्नुभएको थियो । वर्तमान अवस्थामा सजग र होसपूर्ण रहने अभ्यास । बितेको समय फर्केर आउँदैन, भविष्य कसैले देखेको हुँदैन, हामीसँग केवल वर्तमान क्षण हुन्छ । अतः विगतको याद र आगतको कल्पनामा हराउने आदत ब्रेक गरेर वर्तमान समयमा होसपूर्ण रहने अभ्यास गर्‍यौं भने जीवनका हरेक पलहरू विस्मयकारी देखिन थाल्नेछन् । चमत्कार हाम्रै वरिपरि घटिरहेका छन्, हर क्षण हामीले आश्चर्यजनक रहस्यहरू देख्नेछौं । ध्यानको अनुभूति हरेक व्यक्तिमा पृथक् हुन्छ, नवीनतम हुन्छ । एक भिक्षुणीले गोडा पखालेको पानी जमिनले सोसेको देखेर जीवनको अनित्यता साक्षात्कार गरेको प्रसङ्ग थेरीगाथामा उल्लेख छ । अलगथलग रहनुपर्दा दिक्क हुने या एकान्तवासलाई अवसर बनाएर जीवनका सम्भावनाहरू पहिल्याउन तत्पर हुने, रोजाइ आफ्नोआफ्नो । [email protected]

Annapurna Daily 09-05-2020   http://annapurnapost.com/news/155396