वज्रयानको मन्त्र साधना

नेत्र आचार्य 2020-05-18 | http://annapurnapost.com/news/101738

जो बित गया सो मुर्दा है, आनेवाला सपना है

जिसमे हम  जीते हैं वर्तमान समय अपना है

मिथक

वर्तमान समयमा बज्रयान लोकप्रिय हुनुको कारण यसले बीज मन्त्रलाई ध्यानको विषय बनाई शान्तिको अनुभूति दिन सक्नाले हो। राजधानीको नेवारी समाजमा सदियौंदेखि प्रचलित मन्त्र साधना अचेल अमेरिका र युरोपका विद्वान्हरूको अनुसन्धानको विषय बनेको छ। तर नेपालीहरूलाई भने बज्रयानको यो रहस्यमय विधाका बारेमा कमै जानकारी भएको पाइन्छ। मन्त्र ध्यान अर्थात् मनको एकाग्रतासहित बीजाक्षर मन्त्र साधना गरी अद्वय अवस्थासम्म पुग्न निश्चित नियम छन्। पहिला त बौद्ध दर्शनअनुसार शील पालना हुनुपर्छ र सम्यक् दृष्टि या सही ज्ञान हुनुपर्छ। शील पालना गर्ने अन्तप्र्रेरणा सम्यक् दृष्टिले दिलाउँछ। मानिसको जीवन अमूल्य छ, यही जीवनमा अधिकतम आनन्द र शान्ति अनुभूति गर्दै सबैको दुःख मुक्तिका लागि समर्पित हुनु जीवनको सार्थकता हो। बौद्ध धर्म साधनामा यी कुरालाई निर्वाण, बोधिसत्व चर्यालगायत पारिभाषिक शब्दावलीबाट बुझ्ने गरिन्छ।

मन्त्र ध्यान बज्रयान परम्पराको एक उत्कृष्ट र प्रभावी ध्यान विधि हो। यो ध्यानको अभ्यासका लागि खुला आकाश र प्रकृतिको सान्निध्य उत्तम मानिन्छ। भगवान् बुद्ध रूखमुनि जन्मनुभयो, रूखमुनि बुद्धत्व बोध गर्नुभयो र रूखमुनि महापरिनिर्वाण प्राप्त गर्नुभयो। प्रकृतिको सान्निध्य र बुद्धको चर्यामा गहिरो सम्बन्ध रहिआएको छ। यसै पनि वनजंगल या डाँडाकाँडामा घुम्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि समेत हितकर हुन्छ। ती स्थानमा पुग्दा हाम्रो मन स्वतःस्फूर्त रूपले शान्त र स्थिर हुन थाल्छ। यसरी ध्यानका लागि प्राकृतिक रूपले तयार भएको भावभूमिमा मन्त्रको प्रयोगमार्फत ध्यानको अभ्यास गर्नु धेरै हिसाबले प्रभावी हुन्छ। यो आलेखमा शिवपुरी लेकमा गत साता अभ्यास गरिएको मन्त्र ध्यान र त्यसका अनुभूतिबारे चर्चा गरिनेछ।

विदाको दिन हाइकिङ जाने चलन हालैका वर्षमा राजधानीमा लोकप्रिय भएको छ। काठमाडौं उपत्यकावसीलाई घुम्नका लागि चारैतिर सुन्दर, हरियाली डाँडा छन्। यहाँ पुगेर मानिस धुलोधुवाँ र भीडबाट मुक्त भएर अनायासै मनमा स्फुरणा हुने आन्तरिक आनन्दको अनुभूति गर्न सक्छन्। शिवपुरी लेकको डाँडागाउँ गुम्बा नजिकै थुम्कोबाट सम्पूर्ण काठमाडौं देखिन्छ। मास्तिर सैनिकले सुरक्षा दिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगल बादलले ढाकिसकेको थियो। हामी फराकिलो थुम्कोमा गोलो घेरा बनाएर बस्यौं। बज्रयानी गुरु प्राध्यापक डा. नरेशमान बज्राचार्यको निर्देशन सुन्दै हामीले आँखा बन्द गर्‍यौं र श्वासमा ध्यान लगायौं। एकै छिनमा श्वास नियमित, शरीर स्थिर र मन शान्त भइसकेको थियो। हामीले निर्देशन सुन्दै गयौं र ध्यानमा गहिरिँदै गयौं।

मन्त्र ध्यानको अभ्यासका लागि बज्रयान साधनामा व्यवस्थित प्रणाली छ, जुन गुरुसँग दीक्षा लिएपछि आरम्भ हुन्छ। हामीले विगत करिब एक वर्षदेखि उक्त साधना गरिआएको हुँदा बुद्ध वन्दना, रत्न मण्डल अर्पण र बोधिचित्तोत्पाद पछि मन्त्र ध्यानको अभ्यास थालनी गर्‍यौं। मन्त्र ध्यानबाट अधिकतम लाभान्वित हुन मन्त्रको परिचय र प्रयोग, बोधिसत्व चर्या र पुण्य परिणामनालाई बुझ्नु आवश्यक हुन्छ।

मन्त्रको परिचय

मन्त्रको सरल अर्थ मनलाई रक्षा गर्ने साधना हो। मन भनेको हाम्रो मन हो र त्र भनेको सुरक्षा हो। मनलाई मानसिक अशुचिजस्तै राग, द्वेष र मोहजस्ता क्लेशबाट रक्षा गर्ने साधना नै मन्त्र हो। चक्रसंवर तन्त्रमा मन्त्रको परिभाषा यसरी दिइएको छ, मन्त्रं प्रज्ञोपाययोगम् अर्थात् मन्त्र भनेको प्रज्ञा र उपाय कौशलको योग हो। प्रज्ञाले क्लेश आदि दुःखबाट मुक्त गर्छ र मन्त्र साधना सोही प्रज्ञा हासिल गर्ने उपाय कौशल हो। उक्त तन्त्रमा मन्त्रले सबै धर्मको स्वरूप बुझ्न मद्दत गर्छ भनिएको छ। मन्त्रो हि गुप्त विज्ञानः अर्थात् मन्त्र एक गुप्त, रहस्यमय विज्ञान हो, जसको अभ्यासले स्थिरता र शान्ति प्राप्त गर्न सकिन्छ। मन्त्रको प्रभावकै कारण विश्वका सबै धर्म र आध्यात्मिक परम्परामा मन्त्र प्रयोगको एक विशेष स्थान छ।

मन्त्रको शक्ति र स्वरूप व्याख्या गर्दा प्राचीन कालका साधकले शब्दबाट उत्पन्न हुने ध्वनि एवं कम्पन पहिचान गरे अनि शब्दलाई अधिक स्थिरता, तन्मयता र शक्तिशाली कम्पन पैदा हुने गरी संयोजन गरे। यस प्रकार रचना भएका मन्त्रहरूको उच्चारण तत्क्षण फलदायी हुन्छ।

मन्त्रको ध्वनि र लयले निश्चित प्रभाव पार्छ। मन्त्रको ध्वनिमा अनेक शक्ति छिपेका हुन्छन्। हरेक मन्त्रमा विशेष प्रकारको ध्वनि सन्निहित हुन्छ। अनादि कालदेखि साधकहरूले मन्त्रोच्चारण, जप, साधना गरेर मन्त्रहरूको तरंग सिर्जना गरेका हुन्छन्, जुन अस्तित्वमा सर्वत्र व्याप्त हुन्छ। ध्वनिको अद्भुत क्षमतालाई आजभोलि विज्ञानले समेत स्वीकारेको छ। चिकित्सा विज्ञानमा विशिष्ट ध्वनिको प्रयोगले पित्तासय या मिर्गौलाको पत्थरीसमेत फुटाउने प्रचलन आम भइसकेको छ। साधनाको क्षेत्रमा सही मन्त्रोच्चारणले तन्मयता बढ्छ, स्मृति प्रखर हुन्छ, स्थिरता विस्तार हुन्छ र समताको अनुभूति हुन थाल्छ।

मन्त्रोच्चारणमार्फत उत्पन्न हुने तरंग या कम्पनले चित्तका दोषहरू शुद्ध गरिदिन्छ। चक्रसंवर तन्त्रले भनेको छ, विधिपूर्वक साधना गरेको मन्त्रले तŒवज्ञान मनन गर्ने र जगत्को कल्याण गर्ने क्षमता विकसित गराइदिन्छ।

हामीले ओँ मणिपद्मे हूँ मन्त्र कैयौंपटक उच्चारण गरिरह्यौं। सुरुमा मन्त्र मनैमनमा गुनगुनायौं। क्रमशः सानो आवाज निकालेर श्वास र ओठले मात्रै मन्त्रोच्चारण गरियो। त्यसपछि स्पष्ट सुनिने गरी ठूलो स्वरमा मन्त्र जप्न थाल्यौं। अन्तमा फेरि आवाज सानो पार्दै पुनः मनमनै जप गरियो, श्वास र ओठसमेत नचलाई। यसप्रकार मन्त्रोच्चारण गरिने विधिलाई क्रमशः वाचिक जप, उपांशु जप र मानस जप भनिन्छ। यो प्रक्रिया दोहोरिइरह्यो। अन्ततः मन्त्रोच्चारणको प्रभावले शरीर र मनमा अपार शान्ति र आनन्दको तरंग सञ्चार भयो। हाम्रो चित्त तत्क्षण शुद्ध भएको थियो, कुनै प्रकारको तृष्णा बाँकी थिएन। मनमा करुणा र कल्याणका भावना भरिएका थिए। हामी नौजना साधक त्यहाँ भएर पनि त्यहाँ थिएनौं, हाम्रा आँखाले केही देखेर पनि हामीले केही देखेका थिएनौं, हाम्रो मन शून्यमा स्थिर भएको थियो। देश, काल र परिस्थितिको सीमाबाट हामी मुक्त भएका थियौं। समय मानौं विलीन भएको थियो। विगतको कुनै स्मृति थिएन, भविष्यको कुनै कल्पना थिएन, हामी केवल वर्तमान क्षणमा मुग्ध भइरहेका थियौं। वर्तमान क्षणमा बाँच्न भनेको के हो यति बेला हामीलाई महसुस भइरहेको थियो। सबै भाषा र शब्दको सीमाभन्दा पर यो एक वर्णनातीत अनुभूति थियो। एक साधक निरज दाहालले भने, ‘म उही हुँ कि अर्कै व्यक्ति हुँ ठम्याउन सकिरहेको छैन। नयाँ जीवन पाएको अनुभूति भइरहेको छ।’ बज्रयान बुद्धत्वसम्म पुग्ने छोटो बाटो हो भन्ने भनाइको सार्थकता हामीले त्यस बखत गर्‍यौं।

बौद्ध दर्शन र साधना साथसाथै अगाडि बढ्ने कुुरा हुुन्। ज्ञान छैन भने सही साधना हुुन सक्दैन, साधना छैन भने ज्ञान पुुष्ट हुुन सक्दैन, अनुुभूतिमा उत्रन सक्दैन।

भगवान् बुद्धले छ वर्ष तपस्या गरेर बुद्धत्व प्राप्त गर्नुभएको थियो। उहाँले आफ्ना शिष्यहरूलाई चार आर्य सत्य, अष्टांगिक मार्ग र विपश्यना ध्यान सिकाउनुभयो। कालक्रममा प्रबुद्ध साधकहरूले ध्यान र साधनाको विधिलाई चुस्त र प्रभावकारी ढंगले विकसित गरे। यद्यपि बज्रयानले बुद्धले बताएका त्रिपिटकका सूत्रहरूलाई सदा अनुशीलन र परिपालना गरिरहेको हुन्छ र विपश्यना ध्यानलाई प्रथम चरणका रूपमा अभ्यास गरिआएको हुन्छ। बज्रयानले विपश्यना ध्यानका साथै शीघ्र दुःख मुक्तिका र ज्ञानोदयका लागि केही मन्त्रको प्रयोग गरेको छ। यी मन्त्रको यथोचित अभ्यास गर्दा तत्क्षण यिनको प्रभाव महसुस गर्न सकिन्छ। भगवान् बुद्ध स्वयंले दुतियपुञ्याभिसन्दसुत्तमा ‘स्वाक्खातो भगवता धम्मो सन्दिट्ठिको अकालिको अर्थात् तथागतले सुन्दर शब्दमा बताएको धर्म अभ्यास गर्न लायक छ, अहिल्यै फल दिने, तत्क्षण परिणाम देखिने खालको छ’ भन्नुभएको थियो।

बौद्ध दर्शन र साधना साथसाथै अगाडि बढ्ने कुरा हुन्। ज्ञान छैन भने सही साधना हुन सक्दैन, साधना छैन भने ज्ञान पुष्ट हुन सक्दैन, अनुभूतिमा उत्रन सक्दैन। अतः बज्रयानका कुनै पनि साधना गर्दा दार्शनिक र सैद्धान्तिक पक्षको यथोचित जानकारी अत्यावश्यक हुन्छ। त्यही बेला ध्यान साधना निर्देशक गुरुले बोधिचित्त र बोधिसत्वचर्याको बारेमा बताउनुभयो।

बोधिचित्त र बोधिसत्व

बौद्ध दर्शनअनुसार बोधिचित्त उत्पन्न गरी तद्नुरुप आचरण गर्दागर्दै मानिस बोधिसत्व बन्न सक्छ, बोधिसत्व अन्ततः बुद्ध बन्न सक्छ। समस्त प्राणीको दुःखमुक्ति, कल्याण र हितका लागि बुद्ध बन्न सकूँ भन्ने संकल्प पैदा हुनुलाई बोधिचित्त भनिन्छ। बोधिचित्त पनि दुई प्रकारको हुन्छ— बोधिप्रणिधि चित्त र बोधि प्रस्थान चित्त। सबैको कल्याण गर्न बुद्धत्व लाभ गर्ने चेतना पैदा हुनुलाई बोधि प्रणिधि चित्त भनिन्छ। यो भाव पैदा भएपछि साधक सो संकल्पलाई कार्यान्वयन गर्ने काममा लाग्छ। उसले षट् पारमिता, मन्त्र ध्यानको अभ्यास गर्न थाल्छ, सप्त बोध्यंगहरूको अनुशीलन गर्न थाल्छ। यी तमाम कर्मको अभ्यासमार्फत ऊ गन्तव्य अर्थात् बुद्धत्व लाभको दिशामा लम्किरहन्छ। यही बोधिचित्त प्रस्थान हो।

मनुष्य जन्म दुर्लभ हुन्छ। यही जन्ममा मानिसले अरूको कल्याण कामना गर्न सकेन भने अन्य कुनै जन्ममा त्यस्तो पुण्य कार्य सम्भव हुँदैन। विभिन्न पूर्वसंस्कार र अशुभ कार्यमा लीन हुनाले मानिसको मनमा शुभ विचार पैदा हुँदैनन्, बिजुली चम्केजस्तो कथंकदाचित् मात्रै मनमा पर कल्याणको भावना पैदा हुन्छ। चित्तमा यही शुभ भावना पैदा हुनु बोधिचित्तको झलक हो। यसप्रकार चित्तमा पर कल्याणको भाव उत्पन्न भएको बेलामै पुण्य कर्म गरिहाल्नुपर्छ। आज गरेको पुण्य कर्मको संस्कारले अर्को दिन र पछिसम्म पनि पुण्य कर्ममा प्रेरित गर्छ।

विभिन्न बौद्धग्रन्थमा बोधिचित्त उत्पन्न गर्ने विधिहरू उल्लेख गरिएका छन्। अक्षयमतिपरिपृच्छासूत्रमा बोधिचित्तबारे विस्तृत विवरण पाइन्छ। बोधिचित्त उत्पन्न गर्नका लागि सर्वप्रथम मनमा अपार मैत्री भावना हुनुपर्छ। सत्वआलम्बिनी, धर्मआलम्बिनी र अनालम्बिनी गरी मैत्री तीन प्रकारका हुन्छन्। भर्खरै बोधिचित्त उत्पन्न गरेका साधकमा सत्वआलम्बिनी मैत्री हुन्छ, बोधिसत्व चर्यामा लागेका बोधिसत्वमा धर्मआलम्बिनी मैत्री हुन्छ र अनुत्पत्तिक धर्मक्षान्ति बोध गरिसकेका साधकमा अनालम्बिनी मैत्री विकसित भइसकेको हुन्छ। सबै प्राणी आमास्वरूप हुन्, सबै सत्वहरू सुखी होऊन् भन्ने कामना गर्नु मैत्री भावना हो। यस्तो कामनाको आरम्भ आफ्नी आमालाई सम्झेर गर्न सहज हुन्छ। आमाले अनेक दुःखकष्ट सहेर पनि आफ्ना सन्तानको हित र कल्याणका लागि काममा दत्तचित्त भइरहेकी हुन्छिन्।

सबै प्राणीलाई आफ्नी आमाजस्तै करुणावान् देख्नु र उनीहरूको कल्याण कामना गर्नु आफैंमा अत्यन्त गरिमामय भाव हो। सबै प्राणी दुःखमुक्त होऊन्, सबैले दुःखरहित सुख अनुभूति गरून्, यस्तो भावना स्मृतिमा दोहोर्‍याइरहँदा आँखामा आँसु भरिन थाल्यो भने, शरीरका रौंहरू चल्न थाले भने मनमा मैत्री पैदा भयो भन्ने यकिन हुन्छ। यसप्रकारको भावना मनमा मैत्री विकसित गर्ने र बोधिचित्त उत्पन्न गर्ने सरल उपाय हो। बुद्धो भवेयं जगतो हिताय यही शुभ संकल्पअनुरूप विचार, भावना र कर्म गर्नु बोधिसत्वचर्या हो। हामीलाई निर्देशक गुरुले सम्झाउनुभयो, ‘बोधिसत्वका निम्ति सबैको कल्याण गर्न सकूँ भन्ने भावना एउटा उच्च तहको प्रेरणा हो। यो प्रेरणाले गर्दा एउटा बोधिसत्वले हरेक स्थान, परिस्थिति र घटनालाई सकारात्मक रूपले ग्रहण गर्छ र त्यसलाई बुद्धत्व प्राप्तिको साधनामा उपयोग गर्छ। तन्त्र, मन्त्रको पनि उपयोग गर्छ, आफूसँग भएको संग्रहको पनि उपयोग गर्छ। कुनै वस्तु वा विधिप्रति आशक्ति नराखी केवल बुद्धत्व प्राप्तिको उच्चतर लक्ष्यलाई शिरोपर गरेर बोधिसत्वले चर्या अर्थात् आचरण गर्छ।’

मैत्री ध्यान र पुण्य परिणामना

मन्त्र ध्यानको आखिरीमा सबै प्रकारका बौद्ध ध्यान विधिमा जस्तो मैत्री ध्यानको अभ्यास थाल्यौं। यो ध्यानको अभ्यासका क्रममा पहिला परिवारजन, आफन्त, परिचित र अपरिचितहरूको दुःख मुक्ति र कल्याणको कामना गर्‍यौं। अन्तमा जल, थल र आकाशमा भएका चलअचल प्राणीहरू सबै शान्त होऊन्, सुखी होऊन्, सबै प्रकारका दुःखमुक्त होऊन्, हरतरहले तिनीहरूको कल्याण होस् भनी कामना गर्दै मैत्री बढायौं। त्यसपछि पुण्य परिणामना आरम्भ भयो। पुनातीति पुण्यम् अर्थात् जुन कुराले हामीलाई पवित्र बनाउँछ, त्यही पुण्य हो। मैत्री ध्यानको अभ्यासले मनमा सबैप्रति करुणाको भाव सञ्चार भइसकेको थियो। गुरुले भन्नुभयो, करुणा चित्त भएको बेला दानको संकल्प गर्नु वा दानका लागि आफ्नो आम्दानीबाट केही रकम छुट्याउनाले ठूलो पुण्य आर्जन हुन्छ। गुरुको आज्ञाअनुसार हामी सबैले यथाशक्य केही रकम दानका लागि जम्मा गर्‍यौं।

गुरु स्वयं अग्रसर भएर स्वयंले दान गर्दै हामीलाई दान गर्न र पुण्य आर्जन गर्न प्रेरित गर्नुभयो। यो शुभ संस्कारको गरिमा कुनै पनि वाक्य, पदावली वा शब्दमा बताउन सकिँदैन, यो वर्णनातीत छ, शब्तातीत छ। साधनाको चरण समाप्त गरेर केही समय हामी घना जंगलको पदयात्रामा गयौं। अनायासै कतैबाट चिसो बादल घेरियो र जंगल यात्रालाई झन् रोमाञ्चक बनाइदियो। केही छिनमा बादल हरायो। सबै कुरा अनित्य छन् भन्ने शिक्षा प्रकृतिले समेत संकेत गरिरहेको थियो। बज्रयानको विशेषता नै सबै घटना, परिस्थिति र स्थानलाई सकारात्मक रूपले ग्रहण गर्दै र उपयोग गर्दै साधनामा अग्रसर हुनु हो। शनिबारको घुमघामलाई हामीले मन्त्र ध्यानको अभ्यासका रूपमा सफलतापूर्वक उपयोग गर्‍यौं।

अन्नपूर्ण फुर्सदमा १६ असार २०७५ मा प्रकाशित http://annapurnapost.com/news/101738