भित्रको खुशी अर्कै छ ???????
'तुझे लिखते वक्त महसूस होता है अक्सर,
मुझे खुद से विछडे हुये एक जमाना हो गया ।'
पैंसट्ठी वर्ष पुगेको केही दिनमा जेप गाम्बर्डेला अनौठो निर्णयमा पुग्छ । उसले भन्छ, 'यो उमेरमा आएर मैले पत्ता लगाएको सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, म अब अरू समय नष्ट गर्न सक्दिन खासगरी ती काम गरेर जुन म गर्न चाहन्नँ ।' हामीमध्ये अधिकांश मानिसको धेरै जसो समय ती ती काम गरेर बितिरहेको हुन्छ जुन उसले वास्तवमा गर्न चाहेको हुँदैन । म को हुँ? मेरो जीवनमा सर्वाधिक महत्ता के कुराको छ? सम्बन्धहरू, करियर र अर्थोपार्जन जीवनमा कति प्रतिशत इम्पोर्टेन्ट हुन् र तिनलाई हामीले खासमा कति प्रतिशत महत्त्व दिएका छौं यो मनन योग्य विषय हो ।
पाँच प्रतिशत महत्त्व भएको विषयलाई पन्चानब्बे प्रतिशत महत्त्व दिन्छौं भने त्यो हामीले आफ्नै जीवनको गरिमामाथि कुठाराघात गरेको स्थिति हो । कम महत्त्वका विषय र वस्तुलाई महत्त्व दिंदा त्यसको मूल्य चुकाउनै पर्छ । किनभने हरेक कर्मले चेतनामा एउटा अमिट छाप छोडेकै हुन्छ । ती संस्कारको प्रतिफल भोग्नै पर्छ ।
मानिसले पाएको जीवन एउटा प्याकेज हो जसको एक्सपायरी डेट त हुन्छ नै, गुमेका कुनै पनि क्षण फेरि कहिल्यै पाइँदैनन् । जीवनको एउटा अकाट्य सत्य के हो भने ती कर्म गरेर कहिल्यै सुखी हुन सकिंदैन जुन क्षणभंगुर हुन्छन् । सभ्यताको विकासको क्रममा मानिसको जिन नै यसरी संरचित भइसकेको छ, मानिसलाई केवल उच्च विचार र वृहत्तर महत्त्वका कामले मात्र स्थायी सन्तुष्टि दिन्छ ।
तर यो कुरा अधिकांश मानिसलाई समयमा पत्तो हुँदैन । कुवा रित्तिएपछि बल्ल मानिसले पानीको महत्ता बोध गर्छ रे । आफ्नो खुशीका लागि कसैमा भर पर्नु पर्ने स्थिति नरहोस्, चेतनालाई उन्नत बनाउँदै सेल्फ सफिसियन्ट हुन सकियोस् ।
'जिस्म के बाहर मैं खुशियां ढूंडने नहीं जाता,
मेरे अन्दर का सुकून आपको अन्दाज नहीं ।'