बुद्धि वरदान पनि अभिशाप पनि

मानिसको बुद्धि वरदान पनि हो अभिशाप पनि । बुद्धिको उपयोग गर्न हरपल, हरक्षण सचेत र होशपूर्ण हुनुपर्छ । अन्यथा कुनै पनि बेला weak moment हरूमा बुद्धि छिटो चल्ने व्यक्तिको अधोपतन हुन बेर लाग्दैन । मानिसले या त ऊर्जालाई उर्ध्वगमन गरी दिव्य अनुभूति गर्छ या अधोगमन गरेर पशुवत् हुन्छ । ऊर्जा एक पल पनि स्थिर रहँदैन । कि त माथि उठ्छ कि क्षय हुन्छ । यो घटना हरपल घटिरहेको हुन्छ । ध्यानको अभ्यासले विचारहरू बीचको ग्याप देख्न सक्ने अवस्थामा पुगेका छौं भने यो प्रष्टै अवलोकन गर्न सकिन्छ । अर्थोपार्जनको चिन्ताले पनि मानिसको अधिकांश ऊर्जा क्षय गरिदिन्छ । मनमा चलिरहने विचारहरूको ठेलमठेल ऊर्जा क्षय हुने अर्को कारण हो । मनमा वासना पूर्तिको चिन्तन छ भने त ऊर्जा पिंधसम्मै डाउन हुन्छ । सौभाग्यले या पौरखले, अर्थोपार्जनको चिन्ताबाट माथि उठ्न सकेमा ऊर्जाले मनको सरोवर लवालब भरिन्छ । विचारको ठेलमठेलबाट मुक्त भएका क्षणहरूमा पनि मनमा ऊर्जाको प्रवाह हुन थाल्छ । वासनाबाट सर्वथा मुक्त हुँदा मनमा ऊर्जाको बाढी नै आउन थाल्छ । हजार वर्षका एक ऋषिलाई उनको स्वास्थ्य र मस्तीको राज सोध्दा उत्तर थियो - तेन जीवाम्यनामयः ।