एकोहोरो हुनु जाती रहेछ
मेरो साथी अजित आफ्नै पाराको मान्छे हो । धेरै नबोल्ने, आफूले सही देखेको काम एकोहोरो गरिरहने, जोसुकैलाई साथी बनाइहाल्न उत्सुक नहुने । मैले फरक ढंगले सोच्थें । साथी धेरै बनाउनुपर्छ, नजिक हुन चाहने मान्छेको चित्त दुःखाउनु हुँदैन, सानोतिनो जे काम हातमा आए पनि गरिहाल्नुपर्छ । एकोहोरो हुनु जाती रहेछ । एउटै काममा केन्द्रित हुँदा त्यसमा उत्कृष्टता हासिल हुन सक्छ । आफ्नो र अरूको कल्याण गर्न सकिन्छ । टुक्रे काम गरेर भएको इनर्जी पनि छरिन्छ । उल्लेख्य काम बन्दैन । साथी धेरै बनाउनुका वेफाइदा पनि धेरै हुँदारहेछन् । सबैलाई खुशी पार्दा आफ्नो काममा फोकस गर्नै नभ्याइने । कतिपयले झूट बोलेर, फेक विहेब गरेर इनर्जी डाउन गरिदिन्छन् । सबै स्वार्थको पक्षमा हुन्छन्, सत्यको पक्षमा विरलै हुन्छन् । डार्विनले मानव विकासमा देखेको नेचुरल सेलेक्सनको प्रक्रिया व्यक्तित्त्व विकासमा पनि उत्तिकै लागू हुन्छ सायद । कुनै कविले ठीक भनेका थिए - यस्य रुष्टे भयं नास्ति तुष्टे नैव धनागमः । निग्रहानुग्रहौ नास्ति सः रुष्टः किं करिष्यति ।