झरीको गीत ??????
झ्यालबाट शिवपुरीको लेक तिर आँखा चिप्ल्याउन थालेको बिहानै देखि हो । एकोहोरो झरी परिरहेको, मानौं कुनै मधुर संगीत । यतिखेर झमक्क साँझ परिसक्यो । म झरीको गीत लेख्न बसेको छु । तर लेख्दालेख्दै झरी बारे दार्शनिक व्याख्या गर्न पुग्नेछु सायद । किनभने आदत बलवान् हुन्छ ।
हामी व्यक्ति, वस्तु वा घटनालाई जस्ताको तस्तै ग्रहण गर्न सक्दैनौं । सक्थ्यौं भने त्यो पल अद्भुत हुन्थ्यो । जे कृष्णमूर्तिले श्रोताहरूलाई भन्थे – तिमीहरू केही सुनिरहेका छैनौ, अर्थ्याइरहेका छौ । मानिसलाई केही सुन्नुभन्दा अर्थ्याउन अधिक उत्सुकता हुन्छ । हरेक कुरालाई अर्थ्याएर राम्रो-नराम्रो, प्रिय-अप्रिय, असल-खराब आदि लेबल लगाउन हामी हर्दम उत्सुक हुन्छौं । जसले गर्दा वर्तमान क्षणको सौन्दर्य हाम्रो हातबाट गुम्छ । हामी अतीतमा या भविष्यमा हराउन थाल्छौं । अतीत बितिसकेको छ, भविष्य जन्मेकै छैन । तर हामी बितेको वा नजन्मेको वस्तुसँग आसक्त हुन्छौं र वर्तमान क्षणको निपट सौन्दर्य गुमाउँछौं । सृष्टिको हजार विशेषता होलान्, सबभन्दा अद्भुत चाहिं वर्तमान क्षणको मिठास हो । यो मिठासलाई व्यक्त गर्ने शब्द छैन । यौटा नेपाली उखान छ नि – बुझ्नेलाई श्रीखण्ड, अरुलाई खुर्पाको बींड । तैपनि वर्तमान क्षणप्रति न्याय हुँदैन । खतावार समझेगी दुनिया तुझेअब इतना भी ज्यादा सफाइ न दे ।