जीवनको गणित
सुपरमार्केटमा म सिंढी ओर्लंदै थिएँ । सधैं जस्तै फटाफट । मेरा पाउहरूमा सधैं जस्तै एक त्वरा थियो; एक गति थियो । संयोगले मेरो ठीक सामुन्ने दुइटी ठिटी सिंढी ओर्लंदै थिए । म चाहेर पनि तत्क्षण तिनलाई ओभरकम गरेर अगाडि बढ्न सकिनँ । म बिस्तारै ओर्लन थालें ।
ठिटीहरू आफ्नै पारामा ओर्लंदै थिए । तिनको चालमा एक बेग्लै मस्ती थियो, त्यो मैले कहिल्यै नोटिस गरेको रहेनछु । दुवैले आहिस्ता आहिस्ता कदम बढाइरहेका थिए । तिनको आपसी साउती । कम्मरको लचकता । नितम्बको थिरकन । यस्तो लाग्थ्यो मानौं दुई उन्मुक्त लता हुन् जो खुला हावामा लहराइरहेका छन् ।
ती दुवै कुनै अज्ञात विषयमा मधुरो स्वरमा कुरा गरिरहेका थिए । तर यस्तो लाग्थ्यो जवाफको कुनै अपेक्षा थिएन । जस्ट सेयरिङ । मन हलुका बनाउन फुसफुसाइरहेका थिए सायद ।
म चुपचाप पछिपछि हिंडिरहें । तिनकै तालमा, तिनकै लयमा । त्यो लयमा म कतै विलय भइरहेको थिएँ । जीवनमा दौडेर कहाँ पुग्नु छ र । जति दौडे पनि पुग्ने त मृत्यु सम्म हो । बाँचुञ्जेल जीवनका पलपल यसैगरी अस्तित्त्वको लयमा एकाकार भएर जिउनुको पनि त आफ्नै मज्जा हुँदोरहेछ । त्यसबखत यस्तो लागिरहेथ्यो - ''कभी सास ली ठहरकर तो जमाना ठहर गया ।''
सधैं हतारो, सधैं धपेडी, सधैं केही पाउन, पक्रन उत्सुक, केही मिनिङफुल कुराको खोजी । जीवनको आफ्नै गणित हुन्छ । जीवन रेखीय हुँदैन; वर्तुलाकार हुन्छ, लम्बाइमा होइन गहिराइमा नापिन्छ ।
त्यस दिनको ठहरावले चेतनाको अर्को एउटा द्वार खोलिदियो । अस्तित्त्वको एक अद्भुत विशेषता के हो भने यो आज, अहिले, यहीं सम्पूर्ण छ । जुन कुरा हामीले अहिल्यै बोध गर्न सक्ने छैनौं त्यो कहिल्यै बोध गर्न सक्ने छैनौं । दौडिरह्यौं भने पनि एक दिन यस्तो आउने छ जतिखेर हामी आफैंप्रति, विगतका आफ्ना सारा प्रयत्नहरूप्रति हाँस्ने छौं । जुन दिन हामी त्यसरी खिलखिलाएर हाँस्ने छौं त्यो दिन पनि अहिले, यहीं हुनेछ । महर्षिले ठीक भनेका थिए, शान्ति सेल्फ रियलाइजेसन हो, यो हाम्रो आफ्नै स्वभाव हो, प्रकृति हो ।