Daily Journals

सत्यको नजिक नजिक ~~~ <3 <3

कुनै राजा एक ऋषिलाई भेट्न जंगलको कुटीमा पुगे । ऋषि कुटीमा थिएनन् । शिष्यहरूले 'ऋषि वनविहारका लागि जानुभएको छ' भन्दै बटुवालाई पर्खन सुझाए । एक शिष्यले उनलाई पिंढीमा बस्न भने, बटुवा त्यहाँ बसेनन्; आँगनमा बस्न भने, बटुवा त्यहाँ पनि बसेनन्; बगैंचामा रुखमुनि बस्न भने, बटुवा त्यहाँ पनि बसेनन्; ‌यताउता ओहोरदोहोर गरिरहे ।

निकै बेरमा ऋषि आइपुगे । शिष्यहरूले भने, 'एउटा बटुवा तपाइँलाई भेट्न आएको छ तर कुनै आसनमा बस्न मानेन, अहिलेसम्म बगैंचामा ओहोरदोहोर गरिरहेको छ ।' ऋषिले बगैंचातिर हेर्दै भने, 'ए ! ती बटुवालाई चिनेनौ? ती हाम्रो देशका राजा हुन् । राजालाई सुहाउने आसन हाम्रो कुटीमा नभएको हुँदा उनी कहीं बस्न नसकेका हुन् ।'

मन राजा हो । यसलाई उचित आसन चाहिन्छ । जहींतहीं मन टिक्दैटिक्दैन । मनलाई स्थिर बनाउने स्थान, व्यक्ति वा वस्तु नमिल्दासम्म बेचैनी हुन्छ । तर मिलेपछि व्यर्थ लाग्छ । मिल गया तो मिट्टी ।

धन, मान या ज्ञानका सीमा हुन्छन् । यी नपाउँदासम्म मनले पछ्याइरहन्छ, पाएपछि मन उब्न थाल्छ । अर्थोक खोजी गर्छ । ब्लेकले भनेका छन् 'लेस द्‌यान एभ्रिथिङ क्याननट स्याटिस्फाइ ए म्यान ।'

मन कसरी थिर हुन्छ त? म सोच्दै थिएँ । कतै पढ्न पुगें, 'विश्वसाहित्यको उत्कृष्ट कृतिमा तीन घण्टा डुब्नु र त्यसै तीन घण्टा बाँचेर बसिरहनुमा पछिल्लोमा कता हो कता धेरै साहित्य हुन्छ । अस्तित्त्वभन्दा ठूलो साहित्य केही छैन ।' यसो भन्ने इन्द्रबहादुर राई सत्यको नजिक पुगेको देख्छु ।

'क्षणमप्यवतिष्ठते श्वसन्यदि जन्तुर्ननु लाभवानसौ ।' एक क्षण बाँच्नु पनि अद्भुत कुरा हो । श्वास लिंदा जीवन, फेर्दा अवसान । हरेक श्वास नयाँ जन्म, नयाँ जीवन हो । यो स्थिरताले अनन्त ऊर्जा सञ्चय हुन्छ, यो ऊर्जाले एक्लै रमाउन सकिन्छ, हरपल खिलखिलाएर हाँस्न सकिन्छ । यो ऊर्जा सञ्चय भएपछि हामी पनि भन्न सक्छौं ~~

जिस्म के बाहर मैं खुशियाँ ढूँढने नहीं जाता ।

मेरे अन्दर का सुकून आपको अन्दाज नहीं । <3

ली ला य ते भा र ती

अष्टमीको सखारै शिवपुरी लेकतिर कोही साइकिलमा हान्निंदै गरेको देख्नुभयो? त्यो व्यक्ति सम्भवतः मै थिएँ । बुढानीलकण्ठबाट डाँडागाउँ पुग्दा केही उकालो अवश्य छ । तर त्यहाँको ठण्डी हावाले सारा थकान मेटिदिन्छ । डाँडागाउँदेखि गुर्जेभञ्ज्याङसम्म धागो तानेजस्तो बाटो छ ।

राजमार्ग आफ्नै; साइकल कति स्पिडमा कुदाउने हो इच्छा आफ्नै । सरर बग्दै अगाडि बढ्दा मलाई शरच्चन्द्रको सम्झना भयो जो भन्थे - गतिमा आनन्द हुन्छ; चाहे तो साइकलको होस् वा जीवनको ।

नारायणथानबाट सवा तीन घण्टामा तारकेश्वर पुगिंदोरहेछ । सन्त कबीर आश्रममा ब्याग राखेर ढुङ्गे धारामा नुहाएपछिको ताजगी कसरी शब्दमा बताउनु । यस्तो बेलामा मलाई हाम्रो सभ्यता शैशवकालमै छ जस्तो लाग्छ । हुन पनि मानिस १३ लाख वर्षदेखि पृथ्वीमा विचरण गरिरहेको छ; भाषाको आविष्कार चानचुन १३ हजार वर्ष यत्रा मात्र हो ।

कबीर आश्रममा एक जना वृद्ध 'साधु' थिए, २६ वर्ष एकान्तवास बसेका । त्याहाँ तीन रात बिताएपछि म एकादशीको सवेरै साइकलमा सवार भएर बाटो लागें । शिवपुरीको घनघोर जंगल र छाँगाछहरा छिचोल्दै साइकलमा सरर गुड्नुको मज्जै बेग्लै । डाँडागाउँमा पहरा बसेका सैनिकलाई चक्मा दिएर नागी गुम्बातिर हानिएँ ।

धीत मरुन्जेल जंगल सफारी गरेर अन्ततः ओरालोमा सिमारु ब्रेक हान्दै मुहानपोखरी विपश्यना ध्यानकेन्द्रमा प्रवेश गरें र विहानको चिया पिउने बाहनामा केही बेर विश्राम गरें ।

ध्यानकेन्द्रमा सहदेवजी सँगै चिया पिउँदै गर्दा यात्राको ह्याङ कायमै थियो । जिन्दगी यस्तै एड्भेन्चरस यात्रामा मस्त बितोस्; मेरो साइकल हावासँग बात मारिरहोस् । कच्ची बाटो हुनसम्म उबडखाबड थियो तर साइकल यति बिन्दास गुडिराथ्यो यस्तो लाग्थ्यो मानौं अभ्यस्त भएकोले खूब मजा मानिहेको छ । यसको गति देख्दा मलाई अनायासै महाकवि श्रीहर्षको कविता याद आइरहेथ्यो –

साहित्ये सुकुमारवस्तुनि दृढन्यायग्रहग्रन्थिले,

तर्के वा भृशकर्कशे मम समं लीलायते भारती ।

शय्या वाऽस्तु मृदुत्तरच्छदवती दर्भाङ्कुरैरास्तृता,

भूमिर्वा हृदयङ्गमो यदि पतिः तुल्या रतिर्योषिताम् ।।

जुनेली रातसँग संवाद

हिजो साँझ जून अलि बढी नै मोहक थियो ।

जुनेली रात होस्, जङ्गल समीप निवास होस्; एकान्तवास होस् ।

शरदीय जून लजाउँदै-लजाउँदै शरीरका अवयवहरूमा स्पर्श गर्न आउँछ ।

 

समय तालिकामा साँझ पढ्ने सामग्री थिए, लेख्ने विषय थिए र निदिध्यासनका अभ्यास थिए ।

जूनको उज्यालोको छायाँमा सूचीबद्ध तालिका निस्सार निस्सार लाग्न थाल्यो ।

त्यसोभए सार के त? मैले जूनलाई सोधें । जूनले भन्यो, यो मधुरो प्रकाशमा नुहाउन आऊ, आफैं महसुस गर्नेछौ ।

 

जूनले भन्यो, मिल्की वे नामको आकाश गंगामा पृथ्वी ग्रह

प्रशान्त महासागरमा तैरिरहेको चामलको दाना जत्रै छ । किं दीनं इव धावसि?

के चाहिं चिन्ता गर्छौ!!

 

जूनले ठिकै भनेको हो ।

विराट अस्तित्त्व सामु हामी भुसुना बराबर छैनौं ।

तर हाम्रा आपसी झगडा कति बडा-बडा छन् !

हामी आफू को हौं जान्दैनौं, आफूतिर फर्केर एक सेकेण्ड हेर्दैनौं,

तर बाँकी सबैको पलपलको खबर लिन्छौं; कटु टिप्पणी गर्छौं, ब्लेम गर्छौं ।

अस्तित्वले हामीलाई सम्राट पैदा गरेको थियो, बुद्ध नेचर दिएर पठाएको थियो ।

तर आलोचना हाम्रो धर्म भइदियो, कर्म भइदियो ।

यसले हाम्रो व्यक्तित्त्वलाई शोभा दिएको छैन । यसले हामीलाई शान्ति दिएको छैन ।

जीवनमा विराटको उपस्थिति छैन भने छुद्रले हामीलाई सधैं सताउने छ ।

 

जब नफरत करते करते थक जाओगे

तब एक मौका प्यार को भी दे देना ।

जीवनको गणित

सुपरमार्केटमा म सिंढी ओर्लंदै थिएँ । सधैं जस्तै फटाफट । मेरा पाउहरूमा सधैं जस्तै एक त्वरा थियो; एक गति थियो । संयोगले मेरो ठीक सामुन्ने दुइटी ठिटी सिंढी ओर्लंदै थिए । म चाहेर पनि तत्क्षण तिनलाई ओभरकम गरेर अगाडि बढ्न सकिनँ । म बिस्तारै ओर्लन थालें ।

ठिटीहरू आफ्नै पारामा ओर्लंदै थिए । तिनको चालमा एक बेग्लै मस्ती थियो, त्यो मैले कहिल्यै नोटिस गरेको रहेनछु । दुवैले आहिस्ता आहिस्ता कदम बढाइरहेका थिए । तिनको आपसी साउती । कम्मरको लचकता । नितम्बको थिरकन । यस्तो लाग्थ्यो मानौं दुई उन्मुक्त लता हुन् जो खुला हावामा लहराइरहेका छन् ।

ती दुवै कुनै अज्ञात विषयमा मधुरो स्वरमा कुरा गरिरहेका थिए । तर यस्तो लाग्थ्यो जवाफको कुनै अपेक्षा थिएन । जस्ट सेयरिङ । मन हलुका बनाउन फुसफुसाइरहेका थिए सायद ।

म चुपचाप पछिपछि हिंडिरहें । तिनकै तालमा, तिनकै लयमा । त्यो लयमा म कतै विलय भइरहेको थिएँ । जीवनमा दौडेर कहाँ पुग्नु छ र । जति दौडे पनि पुग्ने त मृत्यु सम्म हो । बाँचुञ्जेल जीवनका पलपल यसैगरी अस्तित्त्वको लयमा एकाकार भएर जिउनुको पनि त आफ्नै मज्जा हुँदोरहेछ । त्यसबखत यस्तो लागिरहेथ्यो - ''कभी सास ली ठहरकर तो जमाना ठहर गया ।''

सधैं हतारो, सधैं धपेडी, सधैं केही पाउन, पक्रन उत्सुक, केही मिनिङफुल कुराको खोजी । जीवनको आफ्नै गणित हुन्छ । जीवन रेखीय हुँदैन; वर्तुलाकार हुन्छ, लम्बाइमा होइन गहिराइमा नापिन्छ । 

त्यस दिनको ठहरावले चेतनाको अर्को एउटा द्वार खोलिदियो । अस्तित्त्वको एक अद्भुत विशेषता के हो भने यो आज, अहिले, यहीं सम्पूर्ण छ । जुन कुरा हामीले अहिल्यै बोध गर्न सक्ने छैनौं त्यो कहिल्यै बोध गर्न सक्ने छैनौं । दौडिरह्यौं भने पनि एक दिन यस्तो आउने छ जतिखेर हामी आफैंप्रति, विगतका आफ्ना सारा प्रयत्नहरूप्रति हाँस्ने छौं । जुन दिन हामी त्यसरी खिलखिलाएर हाँस्ने छौं त्यो दिन पनि अहिले, यहीं हुनेछ । महर्षिले ठीक भनेका थिए, शान्ति सेल्फ रियलाइजेसन हो, यो हाम्रो आफ्नै स्वभाव हो, प्रकृति हो ।  

धारणा भन्दा माथि 🙏🌷😊🍁🇳🇵😍🤩

पोखरा बस्दा ताकाको कुरा हो । आधा दिन त हिमाल हेरेरै बित्थ्यो । अन्नपूर्ण, धौलागिरी भन्दा नि माछापुच्छ्रे औधी लोभलाग्दो । एकदिन साथीले माछापुच्छ्रेमा बाघको आकृति देखाइदियो । त्योदिन देखि जहिले माछापुच्छ्रे हेर्दा नि पहिला बाघै देखिने । हिमालको सौन्दर्य झिरिप भयो ।

धारणाले व्यक्ति वा वस्तुको निपट सौन्दर्य मासिदिन सक्छ । धारणा हावी हुनु रमणीयता क्षय हुनु हो सायद ।

बाहिर चराहरू सवेरै देखि चिरविर गर्छन् । कोलाहलै सुनिने गरी । मानौं कुनै महोत्सवको क्लाइमेक्स क्षण हो । कहिले त कौतुहल हुन्छ, खासमा के कुरा गर्छन् यी चरा? मौरीको भुनभुन सन्देशको माध्यम मानिन्छ । चराहरू पनि कुनै न कुनै कुरा गर्दा हुन् । बुझ्न मन लाग्ने । तर नबुझियोस् । बुझ्न थाले चिरविरको मिठास चिलिम हुनसक्छ ।

व्यक्तिका आफ्ना निजता हुन्छन् । अरूले मेरो बारेमा के सोच्छन्, मैले आफ्नो बारेमा के सोच्छु र म वास्तवमा कस्तो छु यी केस्राहरू केलाउने हो भने द्रौपदीको सारी सरी अन्तहीन हुनेछन् । संसार बहुरूपिया छ भनेर सन्तोष मान्नु नै सन्तोषदायक हुनसक्छ ।

व्यक्ति वा वस्तुप्रति धारणा बनाएर चिन्तित हुन जीवन अति छोटो छ । कसैसँग माफ मागौं, कसैलाई माफ दिऊँ । र, खुलेर बाँचौं ।

इन्टिमेसी एण्ड अथेन्टिसिटी हातेमालो गर्दै अघि बढून् ।

काकः पद्मवने रतिं न कुरुते 🌷🇳🇵🌷❤

पहिला मानिसले कुनै कुरामा अति गरेर आदत बनाउँछ; पछि आदतले मानिसलाई दास बनाउँछ । दासको जीवनमा स्वतन्त्रता हुँदैन, किनभने अरूको दास हुनु र आफ्नै आदतको दास हुनु फरक हुँदैन ।

एक पटक देवराज इन्द्र पृथ्वीको यात्रा गर्दै थिए । दुर्गन्ध र हिलोमा आहार खोजिरहेको सुँगुरप्रति उनलाई दया आएछ । इन्द्रले भने, 'ए शूकर, स्वर्ग जान्छस्?' सुँगुरले प्रश्नकर्तातर्फ हेर्दै नहेरी भनेछ, 'त्यहाँ हिलो खेल्न पाइन्छ?' सुँगुरलाई हिलोमै रमाउने बानी परेको थियो । 

एक जना धनी व्यक्तिलाई यौटा भिखारीको दुरावस्था प्रति करुणा पलाएछ । उसले भिखारीलाई उद्धार गर्ने सोचले भनेछ – मैले तिमीलाई सुनको थाल दिएँ भने तिमी के गर्छौ? भिखारीले भनेछ – भोलिदेखि सुनको थालमा माग्न जान्छु । सुनकै थाली पाए पनि माग्ने आदत जान मुस्किल हुन्छ । कुनै संस्कृत कवि भन्छन् -

काकः पद्मवने रतिं न कुरुते हंसो न कूपोदके
मूर्खः पण्डितसंगमे न रमते दासो न सिंहासने ।
कुस्त्री सज्जनसंगमे न रमते नीचं जनं सेवते
या यस्य प्रकृतिः स्वभावजनिता केनापि न त्यज्यते ॥

कौवा पद्मवनमा रमाउन सक्दैन, राजहंस कुवाको पानीमा इन्जोय गर्न सक्दैन । मूर्खले पण्डितको संगतमा आनन्द पाउँदैन, दासले सिंहासन रुचाउँदैन । व्यभिचारी स्त्री सज्जनको संगतमा रमाउन सक्दिनँ; व्यभिचारी मान्छे नै पछ्याउँछे । जसको स्वभावजन्य प्रकृति जस्तो छ त्यो उसले कसैगरी छोड्न सक्दैन ।

मन छिनछिनमा बतास हुन्छ

अहिल्यै न्युज, अहिल्यै युट्युव, अहिल्यै सोसल मिडिया -- मन छिनछिनमा बतास हुन्छ, कहीं टिक्दैन । जेमा नि विविधता । हामीसित दश थरी च्वइस् उपलब्ध छन् । ती दश थरी कुरामा मन छितरिंदा हाम्रो जीवनको ऊर्जा चिलिम हुन्छ ।

न धैर्य गरेर गतिलो पुस्तक पढ्न सक्छौं न केही खँदिलो विषयवस्तुमा खोजबीन गरी लेख्न सक्छौं, न उदात्त जीवनको साधना सम्भव हुन्छ ।

कोसँग बोल्नु, कोसँग मिल्नु, कोसँग सहकार्य गर्नु तय गर्न सहज छैन । मनग्गे च्वइस् उपलब्ध हुन्छन् । सही छनोट भएन भने हामी टक्सिक पीपुलसँग जोतिन पुग्छौं । तिनको संगतले त्यही हो; जीवनको ऊर्जा स्वाहा हुन्छ । 

सही छनोट गर्न स्थिर मनस्थिति चाहिन्छ । पानीको सतह स्थिर हुँदा नै तलाउको पिंधमा रहेका वस्तु दृष्टिगोचर हुन्छन् । मनको अवस्था स्थिर हुँदा नै हाम्रा छनोटहरू हितकारी हुन्छन् ।

चाणक्यले सही भनेका हुन् –

गम्यते यदि मृगेन्द्रमन्दिरं लभ्यते करिकोपलमौक्तिकम् ।

जम्बुकालय गते तु प्राप्यते वत्सपुच्छखरचर्मखण्डनम् ।।

सिंहको गुफामा गइन्छ भने त्यहाँ हात्तीको मस्तक भित्रका मोती पाइन्छन् । स्यालको गुफामा गयौं भने पाइने भनेको वाच्छाको पुच्छर र खच्चरको चर्म खण्ड नै हो ।

मन नअमिल्याउनू !

जीवन सबैभन्दा महान् गुरु हो; सिकाउन, चेताउन कहिल्यै छोड्दैन । जीवनले सिकाएका पाठहरू प्रभावी हुन्छन् । समझदार मानिसका लागि जीवनका अनुभवहरूले दिने सुझबुझ निकै माथिल्लो कोटीको हुन्छ । त्यसको तुलनामा मानिसले विकसित गरेका ज्ञान परम्परा र शिक्षादीक्षाहरू अणु बराबर महत्त्व राख्दैनन् ।

रमण महर्षिले आफ्ना शिष्यलाई भन्ने गर्थे, श्रेय र समृद्धि हासिल हुँदा तिमी भगवान्‌प्रति अनुगृहीत हुन्छौ । तर केही अनपेक्षित घटना आइलाग्दा भगवान्‌प्रति कृतज्ञता जाहेर गर्दैनौ । यहीं नेर तिमीले सही एटिट्युट राख्न सकेनौ ।

प्रारब्धवश जहिले जे आइपर्छ त्यो हामीलाई कुनै न कुनै पाठ सिकाउन आएको हुन्छ । हामी हरेक व्यक्ति, वस्तु र घटनाप्रति अनुगृहित हुनु जाती हो । संसारका सारा घटना, दुर्घटनाहरूको कुल प्रयोजन हामीलाई यसबाट मुक्त गर्नु नै हो । संसार त केवल निर्वाणमा रस पैदा होस् भनेर रचिएको हो । कसैले हामीमाथि अन्याय गर्दा, हेलाँहोचो गर्दा, धोका दिंदा हामी घोर दुःखी हुनपुग्छौं । खासमा यी सब हामीलाई आफ्नो दिव्य चैतन्य स्वभाव स्मरण गराउन रचिएका प्रपञ्च हुन् । यी यावत् परिघटनाले हामीलाई चेताउन सफल हुन्छन् कि हुँदैनन् त्यो हरेक व्यक्तिको जागरणको उत्सुकतामा, त्वरामा भर पर्छ । कर्म संस्कारहरू सघन छन् भने मानिसले जागरणको खोजीलाई पनि वासनापूर्तिको मुखौटो बनाउन पछि पर्दैन । न प्रणश्यन्ति कर्माणि कल्पकोटी शतैरपि ।

सुख, दुःख, परिवार, समाज, प्रेम, धोका, न्याय, अन्याय यी तमाम परिघटना तपसिलका कुरा हुन् । हामी सांसारिक भवितव्यप्रति अनुगृहीत हुनु जाती हो । धन्यभागी हुनु मनासिव हो । हरहालतमा ठूलो सोच राख्नु, मन नअमिल्याउनु र उन्नत इनर्जी लेभल भएका व्यक्तिसँग संगत गरिराख्नु सही एटिट्युड हो । जीवन् नरो भद्र शतानि पश्यत् ।

किमाश्चर्यं अतः परम् ??????

यो एक भाग्यमानीकै दैनिकी होला -- हरेक दिन विश्वभरिका उत्कृष्ट कृति वरपर छरेर बस्न पाउनु, करिब दश हजार वर्ड पढ्ने फुर्सत पाउनु, उम्दा मुभी र डकुमेन्ट्रीहरू हेर्नु, चुनिएका मित्रहरूसँग संवाद गर्नु, प्राणायाम र ध्यानमा लीन हुनुको आनन्द अनुभूति गर्न पाउनु र त्यो आनन्द पलभरलाई Dilute नहोस् भनेर स्मृतिवान् रहनु ।

यो सब मैले केको खोजीका निम्ति गरिरहेको होला? आनन्दको खोजी होला कि मुक्तिको?

आजै जीवन मुक्त भइहाल्ने मेरो योजना कहिल्यै रहेन । बरु सानो छँदा महाभारतमा पढेको यो पद्यले मलाई hunting गरिरहेको हुन्छ । अहन्याहनि भूतानि गच्छन्तीह यमालयम् । शेषाः स्थावरमिच्छन्ति किमाश्चर्यमतः परम् ।

प्रतिदिन अगणित जीव मरेका मर्‍यै छन् तर बाँकीले स्वयंलाई अमर हुने इच्छा राख्छन्, योभन्दा ठूलो आश्चर्य अर्को के होला !! मानिसको अन्तःप्रवृत्तिलाई व्यासले घोर आश्चर्य माने । कविशिरोमणि लेखनाथले चितालाई बोल्न लगाए – चिता खित्का छोडी अभयसित हाँस्यो मरीमरी ।

महामारीले विश्व आतंकित छ । छ लाख मानिस यमालय गइसके । तर हाम्रो देशको शासकको घोर कुर्सी मोह शब्दमा बताउन नसकिने स्तरको छ । ऊ आफू पदमा रहिरहन पार्टी फुटाइदिन, संसद विघटन गरिदिन या अन्य कुनै पनि अकल्पनीय कदम चाल्न तम्तयार छ ।  

झरीको गीत ??????

झ्यालबाट शिवपुरीको लेक तिर आँखा चिप्ल्याउन थालेको बिहानै देखि हो । एकोहोरो झरी परिरहेको, मानौं कुनै मधुर संगीत । यतिखेर झमक्क साँझ परिसक्यो । म झरीको गीत लेख्न बसेको छु । तर लेख्दालेख्दै झरी बारे दार्शनिक व्याख्या गर्न पुग्नेछु सायद । किनभने आदत बलवान् हुन्छ । ? 


हामी व्यक्ति, वस्तु वा घटनालाई जस्ताको तस्तै ग्रहण गर्न सक्दैनौं । सक्थ्यौं भने त्यो पल अद्भुत हुन्थ्यो । जे कृष्णमूर्तिले श्रोताहरूलाई भन्थे – तिमीहरू केही सुनिरहेका छैनौ, अर्थ्याइरहेका छौ । मानिसलाई केही सुन्नुभन्दा अर्थ्याउन अधिक उत्सुकता हुन्छ । 

हरेक कुरालाई अर्थ्याएर राम्रो-नराम्रो, प्रिय-अप्रिय, असल-खराब आदि लेबल लगाउन हामी हर्दम उत्सुक हुन्छौं । जसले गर्दा वर्तमान क्षणको सौन्दर्य हाम्रो हातबाट गुम्छ । हामी अतीतमा या भविष्यमा हराउन थाल्छौं । अतीत बितिसकेको छ, भविष्य जन्मेकै छैन । तर हामी बितेको वा नजन्मेको वस्तुसँग आसक्त हुन्छौं र वर्तमान क्षणको निपट सौन्दर्य गुमाउँछौं । 

सृष्टिको हजार विशेषता होलान्, सबभन्दा अद्भुत चाहिं वर्तमान क्षणको मिठास हो । यो मिठासलाई व्यक्त गर्ने शब्द छैन । यौटा नेपाली उखान छ नि – बुझ्नेलाई श्रीखण्ड, अरुलाई खुर्पाको बींड । तैपनि वर्तमान क्षणप्रति न्याय हुँदैन । 

खतावार समझेगी दुनिया तुझे
अब इतना भी ज्यादा सफाइ न दे ।

Kohoo bird

Kohoo…Kohoo…

Who are you?

singing day and night,

It is misty everywhere, can't see right

The Kohoo bird cannot recognize the beloved

It recalls ecstatic moments of union

Of being here now

A deep longing to be one with the whole

The forlorn Kohoo bird is singing:

Tērī sūrata sē nahīṁ milatī kisī kī sūrata
Ham jahā mēṁ tērī tasvīra liyē phiratē hai.

मेल्टिङ पट जस्ता भयौं हामी

धेरै कमाऊ र धेरै उपभोग गर । पश्चिमा समाजको यो आदर्शले सबै मानिसलाई करिब उस्तै उस्तै बनाइदियो । राजनीतिज्ञ, समाजसेवी, शिक्षक, लेखक, पत्रकार, डाक्टर, वैद्य, गुरु, साधक फरकै देखिन छोडे । सबैलाई धेरै कमाउन परेको छ, धेरै उपभोग गर्न परेको छ । भिन्न आकार-प्रकारका भए पनि पग्लिंदै गरेका भाँडाहरू करिबकरिब उस्तै देखिन्छन् । मानिस पनि उस्तै भए । एभ्रिबडी इज ग्रीडी, एभ्रिबडी इज फुल अफ लस्ट ।

मैले कतै पढेको थिएँ, भेराइटी इज द सेम्पेन अफ लाइफ । विविधता जीवनको सौन्दर्य हो । यो विविधता विलीन हुँदैछ ।

लेखकको लेखकीय धर्म हुन्थ्यो । कवि माधव घिमिरेले एउटै शब्दलाई दिनभरी केलाएर बसेको सुनाउँथे । उनी भन्थे – उही माया गर्दा, लाग्दा र बस्दा कति आत्मीय बन्दै जान्छ, कति कमनीय बन्दै जान्छ ।

साधकको आफ्नो धर्म हुन्थ्यो । संसारका विषय वासनाप्रति आसक्ति हुँदैनथ्यो । हिमालयमा, गुफाहरूमा वर्षौं बिताउँथे, मौन साधना गर्थे । गहिरो समाधिमा पुग्थे, मनको अपार शान्ति नबिथोलियोस् भनी सचेष्ट रहन्थे । जीवनको केही उदात्त लक्ष्य हुन्थ्यो, कोही बुद्धत्त्व पाउन चाहन्थे कोही आत्मसाक्षात्कार चाहन्थे । पुष्पदन्ताचार्य भन्थे – न हि स्वात्मारामो विषयमृगतृष्णा भ्रमयति ।

अहिले कस्तो थिति बनेको छ भने पश्चिमा विषयमा दीक्षित व्यक्ति शान्ति, बुद्धत्त्व, सिद्धि यस्ता शब्द सुन्न समेत चाहन्नन् । किनकि यी कुराहरूको खोजी हुन थाल्यो भने उपभोगमुखी बजार चल्दैन । प्रकारान्तरले उनीहरूको करियर बन्दैन । जानेर वा नजानेर बुद्धिजीवी बजारका कमारा तब्दिल हुन पुगे । मेल्टिङ पट जस्ता भयौं हामी ।

सा विद्या या विमुक्तये

पुस्तक पढने से ज्ञान नहीं मिलता, मन्दिर जाने से भगवान् नहीं मिलता ।

पुस्तक पढेर ज्ञान पाइँदैन भने के चाहीं गरेर पाइन्छ त? मलाई यो प्रश्नले निकै वर्ष कन्फ्युज बनाइदियो । आखिर कुरा सही रहेछ । ज्ञान भित्रबाट प्रकट हुँदोरहेछ । ज्ञान प्रकट हुँदा मानिस उही रहँदैन, रूपान्तरण हुँदोरहेछ ।

पुस्तक पढेर ज्ञान पाइने भए बुद्धिजीवी यो वा त्यो दलका दलाल हुँदैनथे । विद्वानहरू शैक्षिक माफिया या स्वास्थ्य माफिया हुँदैनथे । प्राध्यापक नोटको सुटकेश बोकेर उपकूलपति बनाइ माग्न नेताको दैलो पुग्दैनथे । पुस्तक पढेर मानिस ज्ञानी हुने भए यो सबै हुँदैनथ्यो । मानिस स्वतन्त्र हुन्थ्यो । तर यहाँ त स्वतन्त्र मान्छेको खडेरी परेको छ । स्वतन्त्र मान्छेको बीऊ समेत मासिने थिति बनेको छ ।

ज्ञान तबसम्म प्राप्त हुँदैन जबसम्म हामी रूपान्तरण हुन चाहँदैनौं । करिब करिब हरेक मान्छे सारा संसार सुध्रियोस्, म चाहिं ठिकै छु भन्ठान्छ । आफ्नो आङमा जनावर हिंडे पनि मानिसले देख्दैन ।  

सा विद्या या विमुक्तये ।

विद्या त्यही हो जसले वासनाबाट मुक्त गर्छ । ईर्ष्या, द्वेष, लोभ र मोहबाट मुक्त गर्छ । यी सबै दोषहरू छन् भने हामीले आफूलाई ज्ञानी ठान्नु मीठो भ्रम मात्र हो । अरुलाई ठग्ने नाउँमा आफैं ठगिएको थाहा नपाउनु जीवनको ठूलै अभाग हो ।

ज्ञान प्रति मानिसको आकर्षण पनि छ, भय पनि छ । ज्ञानले मलाई रूपान्तरण गरिदेला कि भन्ने भय । रूपान्तरण सायद जटिल प्रक्रिया हो । झुसिलेको लार्भाबाट पुतली बन्ने उत्सुकता त सबैमा होला, प्रसवको भय पनि उत्तिकै हुन्छ । जसले प्रसवको पीडा स्वीकार गर्छन् उनीहरूले अवश्य नयाँ जन्म पाउनेछन् ।

ज्ञान पाएपछि या नयाँ जीवन पाएपछि हुन्छ के? 

हुन्छ के भने एउटा धूलोको कणमा ब्रह्माण्ड देखिन थाल्छ, पानीको थोपामा सागर देखिन थाल्छ । एक क्षण यति सघन लाग्न थाल्छ मानौं त्यो शाश्वत हो । जतिखेर ज्ञानोदय भयो, बुद्ध अहो सुख अहो सुख भन्दै हिंड्नुभयो, उद्धवको बोली गद्गगद् भयो, चित्त द्रवित भयो, घरि हाँस्न घरि रुन आयो, श्री अरविन्दले सारा संसार नै प्रेमिकाको कोठी जस्तै प्रिय देख्न थाले । उनले स्वर्गलाई धर्तीमा उतार्ने योजना बुन्न थाले ।  

seeking solace

Zorba the Greek used to run fast from the top of the hill to the bottom of it.  His boss would ask, why do you run that long? Tired and sweating Zorba would reply: this way I drop my mind, forget day-to-day realities, and find solace.

My ways are quite similar. I go deeper and deeper inside the nearby forest, watch movies, or read books for hours. The less I mix with people the better I feel. The less I talk with them the better. GB Shaw has depicted my know-how accurately:  

It was not love for woman that delivered me into her hands. It was fatigue, exhaustion. When I was a child and bruised my head against a stone, I ran to the nearest woman and cried away my pain against her apron. When I grew up and bruised my soul against the brutalities and stupidities with which I had to strive, I did again just what I had done as a child.

अदृश्य प्राणीसँग सम्वाद

मेरो अनुमानमा भाइरसले अणिमा, महिमा लगायत अष्टसिद्धि हासिल गरेको हुनुपर्छ । रूप बदलेर अदृश्य हुन सक्ने, विशालकायल पनि हुन सक्ने । म मर्निङ वाकमा निस्केका बेला भाइरस शिवपुरी लेकमा ढसमस्स बसेको रहेछ । म जंगल भित्रै पुगिसकेको थिएँ । त्यो निर्जन इलाकामा फटाफट आफूतिर आइरहेको मलाई देखेर भाइरस महोदय सतर्क भए । कुराकानी मैले नै सुरु गरें । अचेल बाटोमा भेटिएका कतिपय मानिसलाई हेलो हाई भनिहाल्छु । मैले भने,  'मान्छे उत्कृष्ट, विकसित र प्रविधि सम्पन्न जाति हो । तर तिमी निहत्था भाइरसले सबलाई एकसाथ त्राहित्राहि बनाइदियौ त !!

मुसुक्क हाँस्दै कोरोनाले भन्यो, 'स्वघोषित उत्कृष्ट । मान्छे बाहेक अरू कुन प्राणीले तिमेरलाई उत्कृष्ट भनिदिएको छ?'

यो प्रश्नको जवाफ मसँग थिएन । मैले प्रसङ्ग मोड्न चाहें, 'भाइरसले कहिलेसम्म राज गर्ने हो?'

'जहिलेसम्म मानिस आफ्नै वेवकूफी प्रति हाँस्न सिक्दैन, जहिलेसम्म  प्रेमीको आँखाले संसार हेर्न सक्दैन तहिलेसम्म कोरोनाको राज रहनेछ ।'

'अरे, मान्छेको ओठको हाँसो र मनको प्रेम भावनासँग भाइरसको के सम्बन्ध हुन्छ?'

'भाइरसलाई हटाउन कुनै औषधि, खोप वा उपचारको जोर चल्दैन । तर मानिसको इम्युनिटी (रोग प्रतिरोधक क्षमता) बलियो छ भने भाइरस निरुपाय हुन्छ । हाँस्ने मानिस र प्रेमिल मानिसको इम्युनिटी जबर्दस्त हुन्छ । कुनै पनि भिटामिन, मिनरल्स, इन्जाइम या जडीबुटीले भन्दा हास्य रस र प्रेम रसले मानिसको प्रतिरक्षा बलियो हुन्छ ।'

'धन्यवाद भाइरस । तिमीले आफ्नै विनाश केमा छ भनेर बताइदिएकोमा ।'

'धन्यवाद दिनु पर्दैन । अचेल मान्छेहरू स्लिपवाकर झैं अन्धाधुन्ध हिंडिरहेका छन् । मेरो विनाशको रहस्य थाहा पाएर पनि तिनीहरूले सुन्दैनन् । मानिसलाई हाँस्नका लागि लाफ्टर सो नै चाहिन्छ । तिनको मनमा वासना जाग्ला प्रेम जाग्दैन । मान्छेको मनमा भएभरको प्रेम वासनाले, पैसाले लुटेको छ । त्यसैले आफ्नै मृत्युको खुलासा गरेर पनि म ढुक्क छु ।'

यति कुरा गर्दागर्दै भाइरस अदृश्य भइसकेको थियो । अष्टसिद्धि !!

भित्रको खुशी अर्कै छ ???????

'तुझे लिखते वक्त महसूस होता है अक्सर,

मुझे खुद से विछडे हुये एक जमाना हो गया ।'

पैंसट्ठी वर्ष पुगेको केही दिनमा जेप गाम्बर्डेला अनौठो निर्णयमा पुग्छ । उसले भन्छ, 'यो उमेरमा आएर मैले पत्ता लगाएको सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, म अब अरू समय नष्ट गर्न सक्दिन खासगरी ती काम गरेर जुन म गर्न चाहन्नँ ।' हामीमध्ये अधिकांश मानिसको धेरै जसो समय ती ती काम गरेर बितिरहेको हुन्छ जुन उसले वास्तवमा गर्न चाहेको हुँदैन । म को हुँ? मेरो जीवनमा सर्वाधिक महत्ता के कुराको छ? सम्बन्धहरू, करियर र अर्थोपार्जन जीवनमा कति प्रतिशत इम्पोर्टेन्ट हुन् र तिनलाई हामीले खासमा कति प्रतिशत महत्त्व दिएका छौं यो मनन योग्य विषय हो ।

पाँच प्रतिशत महत्त्व भएको विषयलाई पन्चानब्बे प्रतिशत महत्त्व दिन्छौं भने त्यो हामीले आफ्नै जीवनको गरिमामाथि कुठाराघात गरेको स्थिति हो । कम महत्त्वका विषय र वस्तुलाई महत्त्व दिंदा त्यसको मूल्य चुकाउनै पर्छ । किनभने हरेक कर्मले चेतनामा एउटा अमिट छाप छोडेकै हुन्छ । ती संस्कारको प्रतिफल भोग्नै पर्छ ।

मानिसले पाएको जीवन एउटा प्याकेज हो जसको एक्सपायरी डेट त हुन्छ नै, गुमेका कुनै पनि क्षण फेरि कहिल्यै पाइँदैनन् । जीवनको एउटा अकाट्य सत्य के हो भने ती कर्म गरेर कहिल्यै सुखी हुन सकिंदैन जुन क्षणभंगुर हुन्छन् । सभ्यताको विकासको क्रममा मानिसको जिन नै यसरी संरचित भइसकेको छ, मानिसलाई केवल उच्च विचार र वृहत्तर महत्त्वका कामले मात्र स्थायी सन्तुष्टि दिन्छ ।

तर यो कुरा अधिकांश मानिसलाई समयमा पत्तो हुँदैन । कुवा रित्तिएपछि बल्ल मानिसले पानीको महत्ता बोध गर्छ रे । आफ्नो खुशीका लागि कसैमा भर पर्नु पर्ने स्थिति नरहोस्, चेतनालाई उन्नत बनाउँदै सेल्फ सफिसियन्ट हुन सकियोस् ।

'जिस्म के बाहर मैं खुशियां ढूंडने नहीं जाता,

मेरे अन्दर का सुकून आपको अन्दाज नहीं ।'

कसैले अलि धेरै माया गर्दा ...

कुनै उत्कृष्ट कृति पढ्दा, कुनै वृहत्तर महत्त्वको काममा संलग्न हुँदा या कसैले अलि धेरै माया गर्दा जीवन अलि बढी बाँचौं भन्ने लाग्छ । यस्तो किन हुन्छ? किनभने यस्तो बेला हाम्रो चेतना विस्तार हुन्छ, मनको शान्ति घनीभूत हुन्छ । चेतनाको स्वभाव निरन्तर विस्तार हुनु र शान्त रहनु हो । The nature of consciousness is to expand and be at peace. छान्दोग्य उपनिषद्को वचन छ 'यो वै भूमा तत् सुखम्' अर्थात् जुन विचार उच्च कोटीको छ, जुन कर्म सबैको हितमा छ त्यसैमा संलग्न हुँदा दिगो सुख अनुभूति हुन्छ । चेतना या त विस्तार हुन्छ या निष्क्रिय, सुषुप्त हुन थाल्छ । कतिपय व्यक्ति, विचार र कर्मले एक प्रकारको सुकून अनुभूति गराउँछन् । धर्म या प्रेमका कुरा, कलात्मक अभिव्यक्ति र प्रतिभा जन्य प्रस्तुतिले मन गद्‌गद् बनाउँछन् । चेतना विस्तार हुन्छ । तर व्यक्तिगत चिन्ता, करियरको धङधङी, निजी स्वार्थ र ममत्त्वका कुरा सुन्दा चेतना खुम्चिन्छ, सिकुडिंदै जान्छ । कुनै कविले यो यथार्थलाई अति सुन्दर शब्दमा व्यक्त गरेका छन् जुन यसवखत उल्लेख नगर्नु अन्याय हुनेछ । दारा इमे मे तनया इमे मे गृहा इमे मे पशवश्च मे मे । इत्थं नरो मेषसमानधर्मा मेमेकरः कालवृकेण नीतः । अर्थात् मेरो यो, मेरो ऊ, मेरो त्यो भन्दाभन्दै, भेडोले जस्तै (मेमे—मेरोमेरो) भन्दाभन्दै कालरूपी ब्वाँसोले चरप्प समातेर लतार्छ । मेरो भन्नुको साटो हाम्रो भन्ने बानी बसाल्नु जाती । सबैको हित हुँदा स्वयंको पनि हित हुन्छ । मंगल होस् ।

बुद्धि वरदान पनि अभिशाप पनि

मानिसको बुद्धि वरदान पनि हो अभिशाप पनि । बुद्धिको उपयोग गर्न हरपल, हरक्षण सचेत र होशपूर्ण हुनुपर्छ । अन्यथा कुनै पनि बेला weak moment हरूमा बुद्धि छिटो चल्ने व्यक्तिको अधोपतन हुन बेर लाग्दैन । मानिसले या त ऊर्जालाई उर्ध्वगमन गरी दिव्य अनुभूति गर्छ या अधोगमन गरेर पशुवत् हुन्छ । ऊर्जा एक पल पनि स्थिर रहँदैन । कि त माथि उठ्छ कि क्षय हुन्छ । यो घटना हरपल घटिरहेको हुन्छ । ध्यानको अभ्यासले विचारहरू बीचको ग्याप देख्न सक्ने अवस्थामा पुगेका छौं भने यो प्रष्टै अवलोकन गर्न सकिन्छ । अर्थोपार्जनको चिन्ताले पनि मानिसको अधिकांश ऊर्जा क्षय गरिदिन्छ । मनमा चलिरहने विचारहरूको ठेलमठेल ऊर्जा क्षय हुने अर्को कारण हो । मनमा वासना पूर्तिको चिन्तन छ भने त ऊर्जा पिंधसम्मै डाउन हुन्छ । सौभाग्यले या पौरखले, अर्थोपार्जनको चिन्ताबाट माथि उठ्न सकेमा ऊर्जाले मनको सरोवर लवालब भरिन्छ । विचारको ठेलमठेलबाट मुक्त भएका क्षणहरूमा पनि मनमा ऊर्जाको प्रवाह हुन थाल्छ । वासनाबाट सर्वथा मुक्त हुँदा मनमा ऊर्जाको बाढी नै आउन थाल्छ । हजार वर्षका एक ऋषिलाई उनको स्वास्थ्य र मस्तीको राज सोध्दा उत्तर थियो - तेन जीवाम्यनामयः ।

तिमी को ?

अघि दिउँसो यौटा मुभी हेर्दै थिएँ । २१ वर्षकी टिया पिताको खोजी गर्न आम्सटर्डमबाट लण्डन आउँछे । उसको सम्भावित पिता जसविन्दरलाई एउटा पार्टीमा भेट्छे र केही निजी कुरा गर्न मनाउँछे । यौटा फोटो देखाउँछे जसविन्दर र उसकी आमा अनन्याले आम्स्टर्डमको कुनै रमणीय स्थलमा खिचेको । फोटो देखेपछि जसविन्दर झसङ्ग हुन्छ तर यकीनका साथ भन्छ – म तिम्रो पिता हुन सक्दिन । तिम्रो पिता अरू नै कोही होला । टियाले उसलाई डिएनए टेस्ट गर्न मनाउँछे । रिपोर्टले जसविन्दर र टिया बाबु छोरी भएको प्रमाणित हुन्छ । रिपोर्टमा टिया प्रेगनेन्ट भएको जानकारी पनि आउँछ । यो पछिल्लो जानकारीले टिया बिलखबन्दमा पर्छे, 'मरुभूमिले वर्षात खोजे जस्तै मैले वर्षौंदेखि मेरा पिता खोजिरहेकी थिएँ । तर वर्षात् सँगै बाढी आइदियो ।' अन्ततः टियाले आफ्नो पेटको बच्चालाई जन्म दिने निधो गर्छे । जसविन्दरलाई सुनाउँछे । उसले एक छिन सोच्छ र भन्छ, ''ठिकै छ, तर तिम्रो ब्वाइ फ्रेन्डलाई खबर गर्‍यौ?'' टियाले उत्तर दिन्छे, 'उसलाई केही फरक पर्दैन ।' जसविन्दर गर्जिन्छ, 'किन फरक पर्दैन? ऊ बच्चाको पिता हो । उसले जिम्मेवारी लिन्छ कि लिँदैन?' टियाले शान्त हुँदै भन्छे, 'यही सोध्नु थियो ।' जसविन्दर फेरि झसङ्ग हुन्छ । ऊ आफैंले टियालाई छोरीको रूपमा स्वीकार गर्न र जिम्मेवारी लिन आनाकानी गरिरहेको थियो । अब उसँग भन्नलाई कुनै शब्द छैन । ऊ जेजसरी हुन्छ टियालाई आफ्नो घरबाट पठाउने प्रपञ्च रच्छ । र भन्छ, म स्वतन्त्र बाँच्न अभ्यस्त भइसकेको मान्छे । मेरो स्वतन्त्रता कसैले छिन्यो भने मभित्र राक्षस जाग्छ । मेरो रगत उम्लन्छ । ऊ छोरीको जिम्मेवारी लिन अनुत्सुक भएको जानेर टिया शान्त रूपले जसविन्दरको निवासबाट जान राजी हुन्छे । तर नजिकै डेरा लिन्छे । जसविन्दरले उसलाई देख्छ र सोध्छ, 'मेरो वरिपरि किन बसेको?' टिया भन्छे, 'मलाई देखेर तपाइँलाई गिल्ट फिलिङ हुन्छ या इम्बेरस्मन्ट?' हाम्रो डबल स्ट्याण्डर्ड जीवनप्रति प्रश्न उठाएर हामीलाई लज्जित पार्न कोही 'टिया' आइपुगे उसलाई हामी के जवाफ दिने थियौं? ''हामीलाई हाम्रो दुर्गति नै प्रिय छ त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ त्यो उदाङ्ग पार्न खोज्ने तिमी को?'' (कवि गोपालप्रसाद रिमाल)

एकोहोरो हुनु जाती रहेछ

मेरो साथी अजित आफ्नै पाराको मान्छे हो । धेरै नबोल्ने, आफूले सही देखेको काम एकोहोरो गरिरहने, जोसुकैलाई साथी बनाइहाल्न उत्सुक नहुने । मैले फरक ढंगले सोच्थें । साथी धेरै बनाउनुपर्छ, नजिक हुन चाहने मान्छेको चित्त दुःखाउनु हुँदैन, सानोतिनो जे काम हातमा आए पनि गरिहाल्नुपर्छ । एकोहोरो हुनु जाती रहेछ । एउटै काममा केन्द्रित हुँदा त्यसमा उत्कृष्टता हासिल हुन सक्छ । आफ्नो र अरूको कल्याण गर्न सकिन्छ । टुक्रे काम गरेर भएको इनर्जी पनि छरिन्छ । उल्लेख्य काम बन्दैन । साथी धेरै बनाउनुका वेफाइदा पनि धेरै हुँदारहेछन् । सबैलाई खुशी पार्दा आफ्नो काममा फोकस गर्नै नभ्याइने । कतिपयले झूट बोलेर, फेक विहेब गरेर इनर्जी डाउन गरिदिन्छन् । सबै स्वार्थको पक्षमा हुन्छन्, सत्यको पक्षमा विरलै हुन्छन् । डार्विनले मानव विकासमा देखेको नेचुरल सेलेक्सनको प्रक्रिया व्यक्तित्त्व विकासमा पनि उत्तिकै लागू हुन्छ सायद । कुनै कविले ठीक भनेका थिए - यस्य रुष्टे भयं नास्ति तुष्टे नैव धनागमः । निग्रहानुग्रहौ नास्ति सः रुष्टः किं करिष्यति ।

सन्तुलित दृष्टिकोण

''मन नपरेको मानिस हिंडेको बाटो पनि गनाउँछ ।'' नेपाली उखान । उखानहरूले देश या जातिको पहिचान बोकेका हुन्छन् । हामी अधिकांश नेपाली मन परेको मानिसलाई देवत्त्वकरण गरिहाल्छौं, पूजा गर्न थाल्छौं, उसको वरिपरि परिक्रमा गर्न थाल्छौै । मन नपरेको मानिसलाई दानव करार गर्छौं र सकेसम्म सत्तोसराप गर्छौं । यो निश्चय नै सन्तुलित दृष्टिकोण होइन । मोहमा मानिसका दोष देखिंदैनन्, क्रोधमा मानिसका गुण देखिंदैनन् । यस प्रकारले हामी अक्सर तर्कसंगत हुँदैनौं । हाम्रा छनोटहरू, वचन र व्यवहारहरू पनि सुझबुझपूर्ण हुँदैनन् । हामी पूर्वाग्रहमा बाँच्छौं र पूर्वाग्रहमै मर्छौै । हामीले स्वस्थ मनस्थिति कहिले बनाउने, हामीले सन्तुलित दृष्टिकोण कहिले अपनाउने?