जुनेली रातसँग संवाद

हिजो साँझ जून अलि बढी नै मोहक थियो ।

जुनेली रात होस्, जङ्गल समीप निवास होस्; एकान्तवास होस् ।

शरदीय जून लजाउँदै-लजाउँदै शरीरका अवयवहरूमा स्पर्श गर्न आउँछ ।

 

समय तालिकामा साँझ पढ्ने सामग्री थिए, लेख्ने विषय थिए र निदिध्यासनका अभ्यास थिए ।

जूनको उज्यालोको छायाँमा सूचीबद्ध तालिका निस्सार निस्सार लाग्न थाल्यो ।

त्यसोभए सार के त? मैले जूनलाई सोधें । जूनले भन्यो, यो मधुरो प्रकाशमा नुहाउन आऊ, आफैं महसुस गर्नेछौ ।

 

जूनले भन्यो, मिल्की वे नामको आकाश गंगामा पृथ्वी ग्रह

प्रशान्त महासागरमा तैरिरहेको चामलको दाना जत्रै छ । किं दीनं इव धावसि?

के चाहिं चिन्ता गर्छौ!!

 

जूनले ठिकै भनेको हो ।

विराट अस्तित्त्व सामु हामी भुसुना बराबर छैनौं ।

तर हाम्रा आपसी झगडा कति बडा-बडा छन् !

हामी आफू को हौं जान्दैनौं, आफूतिर फर्केर एक सेकेण्ड हेर्दैनौं,

तर बाँकी सबैको पलपलको खबर लिन्छौं; कटु टिप्पणी गर्छौं, ब्लेम गर्छौं ।

अस्तित्वले हामीलाई सम्राट पैदा गरेको थियो, बुद्ध नेचर दिएर पठाएको थियो ।

तर आलोचना हाम्रो धर्म भइदियो, कर्म भइदियो ।

यसले हाम्रो व्यक्तित्त्वलाई शोभा दिएको छैन । यसले हामीलाई शान्ति दिएको छैन ।

जीवनमा विराटको उपस्थिति छैन भने छुद्रले हामीलाई सधैं सताउने छ ।

 

जब नफरत करते करते थक जाओगे

तब एक मौका प्यार को भी दे देना ।