किमाश्चर्यं अतः परम् ??????
यो एक भाग्यमानीकै दैनिकी होला -- हरेक दिन विश्वभरिका उत्कृष्ट कृति वरपर छरेर बस्न पाउनु, करिब दश हजार वर्ड पढ्ने फुर्सत पाउनु, उम्दा मुभी र डकुमेन्ट्रीहरू हेर्नु, चुनिएका मित्रहरूसँग संवाद गर्नु, प्राणायाम र ध्यानमा लीन हुनुको आनन्द अनुभूति गर्न पाउनु र त्यो आनन्द पलभरलाई Dilute नहोस् भनेर स्मृतिवान् रहनु ।
यो सब मैले केको खोजीका निम्ति गरिरहेको होला? आनन्दको खोजी होला कि मुक्तिको?
आजै जीवन मुक्त भइहाल्ने मेरो योजना कहिल्यै रहेन । बरु सानो छँदा महाभारतमा पढेको यो पद्यले मलाई hunting गरिरहेको हुन्छ । अहन्याहनि भूतानि गच्छन्तीह यमालयम् । शेषाः स्थावरमिच्छन्ति किमाश्चर्यमतः परम् ।
प्रतिदिन अगणित जीव मरेका मर्यै छन् तर बाँकीले स्वयंलाई अमर हुने इच्छा राख्छन्, योभन्दा ठूलो आश्चर्य अर्को के होला !! मानिसको अन्तःप्रवृत्तिलाई व्यासले घोर आश्चर्य माने । कविशिरोमणि लेखनाथले चितालाई बोल्न लगाए – चिता खित्का छोडी अभयसित हाँस्यो मरीमरी ।
महामारीले विश्व आतंकित छ । छ लाख मानिस यमालय गइसके । तर हाम्रो देशको शासकको घोर कुर्सी मोह शब्दमा बताउन नसकिने स्तरको छ । ऊ आफू पदमा रहिरहन पार्टी फुटाइदिन, संसद विघटन गरिदिन या अन्य कुनै पनि अकल्पनीय कदम चाल्न तम्तयार छ ।