कसैले अलि धेरै माया गर्दा ...
कुनै उत्कृष्ट कृति पढ्दा, कुनै वृहत्तर महत्त्वको काममा संलग्न हुँदा या कसैले अलि धेरै माया गर्दा जीवन अलि बढी बाँचौं भन्ने लाग्छ । यस्तो किन हुन्छ? किनभने यस्तो बेला हाम्रो चेतना विस्तार हुन्छ, मनको शान्ति घनीभूत हुन्छ । चेतनाको स्वभाव निरन्तर विस्तार हुनु र शान्त रहनु हो । The nature of consciousness is to expand and be at peace. छान्दोग्य उपनिषद्को वचन छ 'यो वै भूमा तत् सुखम्' अर्थात् जुन विचार उच्च कोटीको छ, जुन कर्म सबैको हितमा छ त्यसैमा संलग्न हुँदा दिगो सुख अनुभूति हुन्छ । चेतना या त विस्तार हुन्छ या निष्क्रिय, सुषुप्त हुन थाल्छ । कतिपय व्यक्ति, विचार र कर्मले एक प्रकारको सुकून अनुभूति गराउँछन् । धर्म या प्रेमका कुरा, कलात्मक अभिव्यक्ति र प्रतिभा जन्य प्रस्तुतिले मन गद्गद् बनाउँछन् । चेतना विस्तार हुन्छ । तर व्यक्तिगत चिन्ता, करियरको धङधङी, निजी स्वार्थ र ममत्त्वका कुरा सुन्दा चेतना खुम्चिन्छ, सिकुडिंदै जान्छ । कुनै कविले यो यथार्थलाई अति सुन्दर शब्दमा व्यक्त गरेका छन् जुन यसवखत उल्लेख नगर्नु अन्याय हुनेछ । दारा इमे मे तनया इमे मे गृहा इमे मे पशवश्च मे मे । इत्थं नरो मेषसमानधर्मा मेमेकरः कालवृकेण नीतः । अर्थात् मेरो यो, मेरो ऊ, मेरो त्यो भन्दाभन्दै, भेडोले जस्तै (मेमे—मेरोमेरो) भन्दाभन्दै कालरूपी ब्वाँसोले चरप्प समातेर लतार्छ । मेरो भन्नुको साटो हाम्रो भन्ने बानी बसाल्नु जाती । सबैको हित हुँदा स्वयंको पनि हित हुन्छ । मंगल होस् ।