ली ला य ते भा र ती
अष्टमीको सखारै शिवपुरी लेकतिर कोही साइकिलमा हान्निंदै गरेको देख्नुभयो? त्यो व्यक्ति सम्भवतः मै थिएँ । बुढानीलकण्ठबाट डाँडागाउँ पुग्दा केही उकालो अवश्य छ । तर त्यहाँको ठण्डी हावाले सारा थकान मेटिदिन्छ । डाँडागाउँदेखि गुर्जेभञ्ज्याङसम्म धागो तानेजस्तो बाटो छ ।
राजमार्ग आफ्नै; साइकल कति स्पिडमा कुदाउने हो इच्छा आफ्नै । सरर बग्दै अगाडि बढ्दा मलाई शरच्चन्द्रको सम्झना भयो जो भन्थे - गतिमा आनन्द हुन्छ; चाहे तो साइकलको होस् वा जीवनको ।
नारायणथानबाट सवा तीन घण्टामा तारकेश्वर पुगिंदोरहेछ । सन्त कबीर आश्रममा ब्याग राखेर ढुङ्गे धारामा नुहाएपछिको ताजगी कसरी शब्दमा बताउनु । यस्तो बेलामा मलाई हाम्रो सभ्यता शैशवकालमै छ जस्तो लाग्छ । हुन पनि मानिस १३ लाख वर्षदेखि पृथ्वीमा विचरण गरिरहेको छ; भाषाको आविष्कार चानचुन १३ हजार वर्ष यत्रा मात्र हो ।
कबीर आश्रममा एक जना वृद्ध 'साधु' थिए, २६ वर्ष एकान्तवास बसेका । त्याहाँ तीन रात बिताएपछि म एकादशीको सवेरै साइकलमा सवार भएर बाटो लागें । शिवपुरीको घनघोर जंगल र छाँगाछहरा छिचोल्दै साइकलमा सरर गुड्नुको मज्जै बेग्लै । डाँडागाउँमा पहरा बसेका सैनिकलाई चक्मा दिएर नागी गुम्बातिर हानिएँ ।
धीत मरुन्जेल जंगल सफारी गरेर अन्ततः ओरालोमा सिमारु ब्रेक हान्दै मुहानपोखरी विपश्यना ध्यानकेन्द्रमा प्रवेश गरें र विहानको चिया पिउने बाहनामा केही बेर विश्राम गरें ।
ध्यानकेन्द्रमा सहदेवजी सँगै चिया पिउँदै गर्दा यात्राको ह्याङ कायमै थियो । जिन्दगी यस्तै एड्भेन्चरस यात्रामा मस्त बितोस्; मेरो साइकल हावासँग बात मारिरहोस् । कच्ची बाटो हुनसम्म उबडखाबड थियो तर साइकल यति बिन्दास गुडिराथ्यो यस्तो लाग्थ्यो मानौं अभ्यस्त भएकोले खूब मजा मानिहेको छ । यसको गति देख्दा मलाई अनायासै महाकवि श्रीहर्षको कविता याद आइरहेथ्यो –
साहित्ये सुकुमारवस्तुनि दृढन्यायग्रहग्रन्थिले,
तर्के वा भृशकर्कशे मम समं लीलायते भारती ।
शय्या वाऽस्तु मृदुत्तरच्छदवती दर्भाङ्कुरैरास्तृता,
भूमिर्वा हृदयङ्गमो यदि पतिः तुल्या रतिर्योषिताम् ।।