मेल्टिङ पट जस्ता भयौं हामी
धेरै कमाऊ र धेरै उपभोग गर । पश्चिमा समाजको यो आदर्शले सबै मानिसलाई करिब उस्तै उस्तै बनाइदियो । राजनीतिज्ञ, समाजसेवी, शिक्षक, लेखक, पत्रकार, डाक्टर, वैद्य, गुरु, साधक फरकै देखिन छोडे । सबैलाई धेरै कमाउन परेको छ, धेरै उपभोग गर्न परेको छ । भिन्न आकार-प्रकारका भए पनि पग्लिंदै गरेका भाँडाहरू करिबकरिब उस्तै देखिन्छन् । मानिस पनि उस्तै भए । एभ्रिबडी इज ग्रीडी, एभ्रिबडी इज फुल अफ लस्ट ।
मैले कतै पढेको थिएँ, भेराइटी इज द सेम्पेन अफ लाइफ । विविधता जीवनको सौन्दर्य हो । यो विविधता विलीन हुँदैछ ।
लेखकको लेखकीय धर्म हुन्थ्यो । कवि माधव घिमिरेले एउटै शब्दलाई दिनभरी केलाएर बसेको सुनाउँथे । उनी भन्थे – उही माया गर्दा, लाग्दा र बस्दा कति आत्मीय बन्दै जान्छ, कति कमनीय बन्दै जान्छ ।
साधकको आफ्नो धर्म हुन्थ्यो । संसारका विषय वासनाप्रति आसक्ति हुँदैनथ्यो । हिमालयमा, गुफाहरूमा वर्षौं बिताउँथे, मौन साधना गर्थे । गहिरो समाधिमा पुग्थे, मनको अपार शान्ति नबिथोलियोस् भनी सचेष्ट रहन्थे । जीवनको केही उदात्त लक्ष्य हुन्थ्यो, कोही बुद्धत्त्व पाउन चाहन्थे कोही आत्मसाक्षात्कार चाहन्थे । पुष्पदन्ताचार्य भन्थे – न हि स्वात्मारामो विषयमृगतृष्णा भ्रमयति ।
अहिले कस्तो थिति बनेको छ भने पश्चिमा विषयमा दीक्षित व्यक्ति शान्ति, बुद्धत्त्व, सिद्धि यस्ता शब्द सुन्न समेत चाहन्नन् । किनकि यी कुराहरूको खोजी हुन थाल्यो भने उपभोगमुखी बजार चल्दैन । प्रकारान्तरले उनीहरूको करियर बन्दैन । जानेर वा नजानेर बुद्धिजीवी बजारका कमारा तब्दिल हुन पुगे । मेल्टिङ पट जस्ता भयौं हामी ।