मन छिनछिनमा बतास हुन्छ

अहिल्यै न्युज, अहिल्यै युट्युव, अहिल्यै सोसल मिडिया -- मन छिनछिनमा बतास हुन्छ, कहीं टिक्दैन । जेमा नि विविधता । हामीसित दश थरी च्वइस् उपलब्ध छन् । ती दश थरी कुरामा मन छितरिंदा हाम्रो जीवनको ऊर्जा चिलिम हुन्छ ।

न धैर्य गरेर गतिलो पुस्तक पढ्न सक्छौं न केही खँदिलो विषयवस्तुमा खोजबीन गरी लेख्न सक्छौं, न उदात्त जीवनको साधना सम्भव हुन्छ ।

कोसँग बोल्नु, कोसँग मिल्नु, कोसँग सहकार्य गर्नु तय गर्न सहज छैन । मनग्गे च्वइस् उपलब्ध हुन्छन् । सही छनोट भएन भने हामी टक्सिक पीपुलसँग जोतिन पुग्छौं । तिनको संगतले त्यही हो; जीवनको ऊर्जा स्वाहा हुन्छ । 

सही छनोट गर्न स्थिर मनस्थिति चाहिन्छ । पानीको सतह स्थिर हुँदा नै तलाउको पिंधमा रहेका वस्तु दृष्टिगोचर हुन्छन् । मनको अवस्था स्थिर हुँदा नै हाम्रा छनोटहरू हितकारी हुन्छन् ।

चाणक्यले सही भनेका हुन् –

गम्यते यदि मृगेन्द्रमन्दिरं लभ्यते करिकोपलमौक्तिकम् ।

जम्बुकालय गते तु प्राप्यते वत्सपुच्छखरचर्मखण्डनम् ।।

सिंहको गुफामा गइन्छ भने त्यहाँ हात्तीको मस्तक भित्रका मोती पाइन्छन् । स्यालको गुफामा गयौं भने पाइने भनेको वाच्छाको पुच्छर र खच्चरको चर्म खण्ड नै हो ।