मन नअमिल्याउनू !
जीवन सबैभन्दा महान् गुरु हो; सिकाउन, चेताउन कहिल्यै छोड्दैन । जीवनले सिकाएका पाठहरू प्रभावी हुन्छन् । समझदार मानिसका लागि जीवनका अनुभवहरूले दिने सुझबुझ निकै माथिल्लो कोटीको हुन्छ । त्यसको तुलनामा मानिसले विकसित गरेका ज्ञान परम्परा र शिक्षादीक्षाहरू अणु बराबर महत्त्व राख्दैनन् ।
रमण महर्षिले आफ्ना शिष्यलाई भन्ने गर्थे, श्रेय र समृद्धि हासिल हुँदा तिमी भगवान्प्रति अनुगृहीत हुन्छौ । तर केही अनपेक्षित घटना आइलाग्दा भगवान्प्रति कृतज्ञता जाहेर गर्दैनौ । यहीं नेर तिमीले सही एटिट्युट राख्न सकेनौ ।
प्रारब्धवश जहिले जे आइपर्छ त्यो हामीलाई कुनै न कुनै पाठ सिकाउन आएको हुन्छ । हामी हरेक व्यक्ति, वस्तु र घटनाप्रति अनुगृहित हुनु जाती हो । संसारका सारा घटना, दुर्घटनाहरूको कुल प्रयोजन हामीलाई यसबाट मुक्त गर्नु नै हो । संसार त केवल निर्वाणमा रस पैदा होस् भनेर रचिएको हो । कसैले हामीमाथि अन्याय गर्दा, हेलाँहोचो गर्दा, धोका दिंदा हामी घोर दुःखी हुनपुग्छौं । खासमा यी सब हामीलाई आफ्नो दिव्य चैतन्य स्वभाव स्मरण गराउन रचिएका प्रपञ्च हुन् । यी यावत् परिघटनाले हामीलाई चेताउन सफल हुन्छन् कि हुँदैनन् त्यो हरेक व्यक्तिको जागरणको उत्सुकतामा, त्वरामा भर पर्छ । कर्म संस्कारहरू सघन छन् भने मानिसले जागरणको खोजीलाई पनि वासनापूर्तिको मुखौटो बनाउन पछि पर्दैन । न प्रणश्यन्ति कर्माणि कल्पकोटी शतैरपि ।
सुख, दुःख, परिवार, समाज, प्रेम, धोका, न्याय, अन्याय यी तमाम परिघटना तपसिलका कुरा हुन् । हामी सांसारिक भवितव्यप्रति अनुगृहीत हुनु जाती हो । धन्यभागी हुनु मनासिव हो । हरहालतमा ठूलो सोच राख्नु, मन नअमिल्याउनु र उन्नत इनर्जी लेभल भएका व्यक्तिसँग संगत गरिराख्नु सही एटिट्युड हो । जीवन् नरो भद्र शतानि पश्यत् ।