सा विद्या या विमुक्तये
पुस्तक पढने से ज्ञान नहीं मिलता, मन्दिर जाने से भगवान् नहीं मिलता ।
पुस्तक पढेर ज्ञान पाइँदैन भने के चाहीं गरेर पाइन्छ त? मलाई यो प्रश्नले निकै वर्ष कन्फ्युज बनाइदियो । आखिर कुरा सही रहेछ । ज्ञान भित्रबाट प्रकट हुँदोरहेछ । ज्ञान प्रकट हुँदा मानिस उही रहँदैन, रूपान्तरण हुँदोरहेछ ।
पुस्तक पढेर ज्ञान पाइने भए बुद्धिजीवी यो वा त्यो दलका दलाल हुँदैनथे । विद्वानहरू शैक्षिक माफिया या स्वास्थ्य माफिया हुँदैनथे । प्राध्यापक नोटको सुटकेश बोकेर उपकूलपति बनाइ माग्न नेताको दैलो पुग्दैनथे । पुस्तक पढेर मानिस ज्ञानी हुने भए यो सबै हुँदैनथ्यो । मानिस स्वतन्त्र हुन्थ्यो । तर यहाँ त स्वतन्त्र मान्छेको खडेरी परेको छ । स्वतन्त्र मान्छेको बीऊ समेत मासिने थिति बनेको छ ।
ज्ञान तबसम्म प्राप्त हुँदैन जबसम्म हामी रूपान्तरण हुन चाहँदैनौं । करिब करिब हरेक मान्छे सारा संसार सुध्रियोस्, म चाहिं ठिकै छु भन्ठान्छ । आफ्नो आङमा जनावर हिंडे पनि मानिसले देख्दैन ।
सा विद्या या विमुक्तये ।
विद्या त्यही हो जसले वासनाबाट मुक्त गर्छ । ईर्ष्या, द्वेष, लोभ र मोहबाट मुक्त गर्छ । यी सबै दोषहरू छन् भने हामीले आफूलाई ज्ञानी ठान्नु मीठो भ्रम मात्र हो । अरुलाई ठग्ने नाउँमा आफैं ठगिएको थाहा नपाउनु जीवनको ठूलै अभाग हो ।
ज्ञान प्रति मानिसको आकर्षण पनि छ, भय पनि छ । ज्ञानले मलाई रूपान्तरण गरिदेला कि भन्ने भय । रूपान्तरण सायद जटिल प्रक्रिया हो । झुसिलेको लार्भाबाट पुतली बन्ने उत्सुकता त सबैमा होला, प्रसवको भय पनि उत्तिकै हुन्छ । जसले प्रसवको पीडा स्वीकार गर्छन् उनीहरूले अवश्य नयाँ जन्म पाउनेछन् ।
ज्ञान पाएपछि या नयाँ जीवन पाएपछि हुन्छ के?
हुन्छ के भने एउटा धूलोको कणमा ब्रह्माण्ड देखिन थाल्छ, पानीको थोपामा सागर देखिन थाल्छ । एक क्षण यति सघन लाग्न थाल्छ मानौं त्यो शाश्वत हो । जतिखेर ज्ञानोदय भयो, बुद्ध अहो सुख अहो सुख भन्दै हिंड्नुभयो, उद्धवको बोली गद्गगद् भयो, चित्त द्रवित भयो, घरि हाँस्न घरि रुन आयो, श्री अरविन्दले सारा संसार नै प्रेमिकाको कोठी जस्तै प्रिय देख्न थाले । उनले स्वर्गलाई धर्तीमा उतार्ने योजना बुन्न थाले ।