सर्जकको आराधना

डच कलाकार विन्सेन्ट भ्यान गगको प्रसिद्ध चित्र ‘द स्टारी नाइट’ मा भुइँ झार र सिरुका पातहरु आकाशमा टिमटिमाएका ताराभन्दा माथिसम्म फैलिएका छन् । कतिपयले असम्भव र अतिशयोक्तिपूर्ण भने । कलाकारको आशय थियो, आम मानिसका उत्ताल आकांक्षाहरुको सगर चुम्ने अभीप्सा दर्शाउनु । मानिसको मनको उडान योभन्दा सुन्दर र सटीक ढंगले सायदै व्यक्त गर्न सकिएला । कलाकारको रुपमा उनी आम सर्वसाधारणभन्दा के कुरामा भिन्न थिए भने आफू बाँचेको समयलाई पढ्न सक्थे, आफ्ना इन्द्रियजन्य आवेगलाई अतिक्रमण गरेर त्योभन्दा परको शान्ति, स्थिरता र प्रेमको अनुभूति गर्न सक्थे । सातामा तीन दिन खाना खान्थे । आफन्तले दिने गरेको आयस्ताले सधैं खान पुग्दैनथ्यो । कमाउनका निम्ति समय निकाल्न सक्दैनथे, उनलाई त घुँडा धसेर चित्र कोर्दै फुर्सद हुँदैनथ्यो । २१ सयभन्दा अधिक प्रसिद्ध कलाकृतिका सर्जक उनले बाल्यकालबाटै कलाको आराधना थालेका थिए । 

भ्यान गगको भावदशा विचित्रकै थियो । जीवनभर बिहे गरेनन् । एक पटक उनी वेश्यालय गएका थिए । त्यहाँकी सुन्दरीको खुब प्रशंसा गरे । सुन्दरीले पनि उनको प्रशंसा गर्न खोजी । तर, भ्यान गग कुरुप थिए । सुन्दरी अलमलिई – यी मान्छेको के चाहिँ प्रशंसा गर्नु । आखिरमा उसले भनी, ‘तिम्रा कान निकै राम्रा छन् ।’ भोलिपल्ट भ्यान गगले एउटा कान काटेर त्यो सुन्दरीलाई पठाइदिए । ‘तिमीले मन परायौ, त्यसैले मेरो एउटा कान तिमीलाई उपहार !’ 

कलाको आराधना र तदनन्तर भावदशाको परिपाकका सम्बन्धमा पप संगीत सम्राट माइकल ज्याक्सनको अनुभूति पनि उस्तै उल्लेख्य छ । पाँच वर्षको कलिलो उमेरदेखि संगीतमा होमिएका उनले हजारौं–लाखौं श्रोतालाई एकसाथ आन्दोलित पार्न सक्ने गीतहरु स्टेजबाट गाए । एक पटक ओस्कार पुरुस्कार समारोहमा उनले भनेका थिए, ‘मैले कहिल्यै आफ्नो जन्मदिन समेत हाइसुख्खले मनाउन पाइनँ । सयौं–हजारौं दर्शकका अगाडि सांगीतिक कार्यक्रम गर्दा मलाई कहिल्यै फुर्सदन हुँदैनथ्यो । यद्यपि आज संगीत सृजना मेरो ‘सेकेण्ड नेचर’ जस्तै भएको छ, मेरा ओठहरुबाट स्वतस्फूर्त गीत गुञ्जन्छ, मरो शरीरका अवयव संगीतको लयमा त्यसैत्यसै लहरिन थाल्छन् ।’ 

एउटा सर्जकको कलाप्रतिको लगाव प्रेममा रुपान्तरित हुन थालेपछि साधनाबाटै जीवन–ऊर्जा प्राप्त हुन थाल्छ र यही भावभूमिमा सृजनाको मूल फुट्छ । इन्द्रियजन्य भोग वा दमनलाई अतिक्रमण गर्ने सामथ्र्य सर्जकमा पैदा हुन थाल्छ र उसको मनमा शान्ति एवं स्थिरता छाउँछ । आठै बर्षदेखि कविता साधनामा लागेका बालकृष्ण सम ‘मेरो कविताको आराधना’ मा भन्छन्, ‘अशान्त भएको मेरो मनले केवल कवितामा शान्ति पायो – मनको उद्वेगलाई लयमा ढालेर राख्नु, अनि फेरिफेरि त्यसैलाई भावुक हृदयले गाइरहनु, कविताको आराधना गर्नु ।’ 

चिसो चुल्होमा समको आराधनाको मानौ ‘साङ्गे’ भएको छ, एउटा भावुक प्रेमीलाई उनी यस्तो सल्लाह दिन्छन् ः तिम्री प्रेमिका रुपकी रानी नै हुन् भने, उनलाई पाउने उत्कण्ठा तिम्रो मनमा लबालब भरिएकै हो भने एउटा अब्बल अठोट गर । किनकि जिन्दगीसित बाजी ठोक्नुपर्छ । जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास । एक दिन मर्नु नै छ भने बाँचुञ्जेल तातो र रातो फलामजस्तै भई प्रभुतासाथ बाँच्नु नि । यस्तो दृढताका सामु अस्तित्वले सबै सौन्दर्य तिम्रो प्रयोजनका लागि न्यौछावर गरिदिनेछ । तब तिम्रो सपनाकी परी तिमीलाई प्राप्त होलिन् –

‘उनी देखा पर्लिन् चलमल गरी छन्दबिचमा
उनी ढल्की हिंड्लिन् पदपद विषे पाउहरुमा
उनी हाँस्लिन् मुस्की मधुर गहिरा भावहरुमा
उनी तिमै्र होलिन् जब डुबिसक्यौ काव्य रसमा ।

उता, कालिदासको मेघदूतमा एक निर्वासित यक्षले बादललाई दूत बनाएर आफ्नी नबबधुलाई सन्देश पठाउँछ । आकाशमा बादल मडारिन थालेपछि सुखी मानिसको मन त बिथोलिन्छ, दुखी यक्षको हालत कस्तो भयो होला ! यक्षले ढुंगामा प्रेमिकाको चित्र कोर्छ र आलिंगन गर्न खोज्छ, तर आँखामा आँसु भरिन्छ, उसले प्रेमिकालाई देख्न सक्दैन । अनि विधातालाई गाली गर्छ, ‘थुक्क, ढुंगामा पनि प्रेमिकालाई भेट्न दिन्नस् !’ मोतीरामको पिकदूतमा नायिकाले सुगामार्फत प्रवासी पतिलाई फट्कार्छे, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो ?’ भावदशाको पराकाष्ठा र शब्दशक्तिको ‘मास्टरी’ बाट मनोरम सृजना जन्मँदोरहेछ । 

एउटा लेखक कलममा टेकेर नाच्न सक्नुपर्छ, शब्दहरु उसका प्रेमिका भन्दा प्रिय हुनुपर्छ, तब वास्तविक सृजनाले उसको सामु घुम्टो खोलिदिने सम्भावना हुँदोरहेछ । खासमा, सर्जक यति आत्मविश्वासले भरिपूर्ण हुन्छ, आराधनालाई उसले यति सम्मान गर्छ, दुनियाको केही कुराले, कसैले उसको आत्मसम्मान हल्लाउन सक्दैनन् । साधनामा विश्वास छ भने सफलताले नतमस्तक हुँदै बाटो खोलिदिन्छ । असफलता केवल उसको संकल्प पर्याप्त शक्तिशाली थिएन भन्ने संकेत हो । कुनै शायरले भनेका छन्-

खुदको कर बुलन्द इतना, खुदको कर बुलन्द इतना
कि खुदा बन्दे से खुद पूछे बता तेरी रजा क्या है ।

सर्जकले स्वयंलाई बुलन्द अर्थात् उन्मुक्त, निर्भय र उम्दा बनाउनका निम्ति हरतरहले स्वतन्त्र रहनु अभीष्ट हुन्छ । किनकि, सृजनशील व्यक्तिमा वैचारिक स्वतन्त्रताको महत्ता सर्वाधिक हुन्छ । सृजनशील लेखक, कलाकार प्रत्येकको आफ्नै नियम, सिद्धान्त, धर्म वा दर्शन हुने गर्दछ । देश–दुनियालाई हेर्ने आफ्नै अन्दाज हुनुपर्दछ । स्वयं स्रष्टा भएर पनि लेखकले अरुको विचार, सिद्धान्त वा सृजना पद्धतिको अनुकरण गर्दछ भने उसले के नयाँ सृजना गर्न सक्ला ? 

सर्जकलाई आखिर के कुराले कलात्मक वा साहित्यिक सृजना कोर्न सक्षम बनाउँछ ? मस्कोमा चलेको रसियन फर्मालिज्म नामक साहित्यिक सिद्धान्तवादीहरुले गजपको अन्दाज व्यक्त गरे, ‘सर्जकले भाषिक विवेचनाका माध्यमबाट दैनन्दिन घटना–परिघटनालाई ‘डिफमिलियराइज’ गरिदिन्छ, पाठकलाई यस्तो लाग्छ मानौं सधैं देखेभोगेका कुरा पहिलोपल्ट देख्दैछ, भोग्दैछ । एकोहोरो जीवन बाँच्दाबाँच्दा पाठकले गुमाएको संवेदनामा सर्जकले पुनर्ताजगी भरिदिन्छ । 

सर्जकले यस्तो कसरी गर्न सक्छ त ? यसमा सिद्धान्त निष्णात नित्सेको अलिक रहस्यवादी व्याख्या छ । नित्सेको रुमानी अन्दाजलाई सरल ढंगले यसरी बुझ्न सकिएला ः आफूलाई खुपै बौद्धिक, विवेकवान् सम्झने मानिस कुनै नशालु बुटीको प्रभावले वा वसन्ती पवनको मधुर झोंक्काले एकाएक आफूलाई बिर्सन पुग्छ । त्यतिखेर कालान्तरदेखि एक्लाइएकी प्रकृतिले पनि आफ्नो आवारा सन्तान ‘मान्छे’ सँग एकाकार हुन एउटा आयोजन गर्छे । एउटा अद्भूत उत्सव सुरु हुन्छ । धर्तीले स्वेच्छिक ढंगले उपाहारहरुको छेलोखेलो गरिदिन्छे र हिमालदेखि मरुभूमिसम्मका मानिस र जीवजन्तु एकसाथ भेला हुन्छन् । चितुवा र बाघहरु रथमा जोतिन्छन् । डाइनोसियाक रिचुअल फूलमाला, लावालस्करसाथ अगाडि बढ्छ । यो कस्तो दृश्य हो ? नित्से भन्छन् – बिथोविनको कुनै संगीतको चित्र बनाउन मिल्दो हो भने यो जात्रामा कोलाह र हाहू गर्दै उर्लेको भीड रथका सामु धूलोमा श्रद्धापूर्वक नतमस्तक भएको दृश्य अन्दाज गर्न सकिन्थ्यो होला । त्यो अप्रतीम भव्यता र मस्तीमा को दास, को मालिक ! निरंकुशता वा आवश्यकताका कारण मानिस–मानिसबीच खडा भएका पर्खाल गल्र्याम्गुर्लुम भत्किन्छन् । ‘माया’ को घुम्टो च्यातिन्छ । विश्वबन्धुत्व र सौहार्दता व्याप्त हुन्छ । मानिस–मानिसबीच प्रेम र सद्भाव छताछुल्ल हुन्छ । अब यतिखेर मानिसले बोल्न बिर्सन्छ, गाउन थाल्छ, हिंड्न बिर्सन्छ, नाच्न थाल्छ । उसले भगवत्ता बोध गर्छ र सपनामा देखेका देवताहरु जस्तै भव्य अन्दाजमा पाइला अगाडि बढाउँछ । ऊ केवल कलाकार हुँदैन, बरु स्वयं एक कलाकृति बन्छ । यसरी कला जन्मन्छ । केवल एउटा सुन्दर कलाकृतिका रुपमा यो संसार र समग्र अस्तित्व अनन्त रुपले तर्कसंगत बोध हुन्छ । 

कला–साधनाको यज्ञ पूर्वतिर केही भिन्न ढंगले सुसम्पन्न हुन्छ । पूर्वमा सर्जकद्वारा हाडमासुको देहमा उर्लने वासनाका आँधीहरुबाट मुक्त इन्द्रियातीत आनन्दको खोजी भइरह्यो । अन्ततः, फेलापर्यो शान्त रस । मानौं, एउटी नवयौवना रुपकी रानी चुलबुले आँखा नचाउँदै र मादकता छर्दै छेवैबाट गुज्रँदै छे । उसको आगमनमा वासनायुक्त व्यक्तिले आफूलाई समाल्न मुश्किल हुन्छ । तर, मुक्त, निद्र्वन्द्व व्यक्तिको दृष्टिमा रुपसीको आगमनले निखार आउँछ । उसलाई न भोगको लालसा हुन्छ न दमनको आवश्यकता । ऊ केवल साक्षीभावमा रहन्छ, उसको मनमा शान्त रस पैदा हुन्छ । उसले युवतीलाई मात्र हैन, युवती देख्ने आपूmभित्रको द्रष्टालाई देख्छ । यही हो साक्षी भाव, यही हो जागरण । यही थियो विदेह जनकको दर्शन । कुनै कालखण्डमा हाम्रो देशको भूमिमा विकसित भएको र आज हामीले पूरै बिर्सेको जीवन जिउने कला ।

मानौ कुनै दुर्घटना घट्यो । त्यसबखत घटनामा इन्भल्भ अर्थात् संलग्न व्यक्तिलाई खास के भएको थियो, कसरी दुर्घटना हुन पुग्यो थाहा हुँदैन । बरु जसले बाटो छेउमा उभिएर हेरिरहेको थियो उसलाई थाहा हुन्छ, कुन गाडी कताबाट आयो, कसले गल्ती गर्यो, कसरी दुवै जुध्न पुगे । साक्षी भाव भनेको यही हो – कर्म गर्नु तर त्यसमा संलग्न, आसक्त नहुनु ।

कोहावर अर्थात् सुनौला सुहागरात नामक मिथिला कलामा चित्रित अक्षत योनीमा संभोगरत लिंगलाई छेवैको बाँसको टुप्पामा बसेर टोलाउँदै हेरिरहेको सुगा साक्षी भावको प्रतीक हो, उदाहरण हो । म कहाँ छु, के गरिरहेको छु भन्ने यथार्थलाई कर्म गरिरहँदा पनि पृथक् रहेर सोच्न सक्नुपर्छ यो सन्देश आश्चर्यचकित भई हेरिरहेको सुगाले बताउँछ । मान्छेको शरीर चेतनाको स्थूल रूप हो जसलाई समात्न सकिन्छ । जसलाई समात्न सकिँदैन चेतनाको त्यो सूक्ष्म रूप आत्मा हो । सम्भोगरत हुँदा शरीरमा अनुभूति भइरहेको रोमाञ्च कसलाई अनुभूति भइरहेको हो ? त्यसलाई पक्रन सके व्यक्तिको दृष्टिकोणमा रुपान्तरण हुन्छ र शान्त रस पैदा हुन थाल्छ । व्यासले महाभारतजस्तो महाकाव्य तयार गर्नुमा, वाल्मीकिले करुणरसप्रधान रामायण रच्नुमा यही शान्त रसको प्रभाव थियो । कालिदास, भारवि, माघ, अश्वघोष, वाणलगायत महाकविहरु शान्त रसमा सिक्त थिए । जसरी हावा र प्रकाश एउटै स्रोतबाट पैदा भएर सर्वव्यापी हुन्छ त्यसैगरी मानिसको चेतनाको परम स्रोत एउटै हो, मानिसबीच कुनै भेद छैन भन्ने बोधलाई उनीहरुले आत्मसात गरेका थिए । बुद्धसम्म आइपुग्दा शान्त रसको मूल फुट्छ । अप्रतिहत अर्थात् अवरोधरहित ज्ञान पाएका बुद्धको शान्त चित्तमा करुणा जागृत भयो । समस्त बुद्ध वचनहरु स्वतस्फूर्त, काव्यमय र शान्त रसले सिञ्चित छन् । समाकालीन समयमा तीक्ष्ण व्यंगोक्तिहरुका सुष्ठु लेखक खगेन्द्र संग्रौला पनि यही भन्छन्, ‘कनेर नलेख, लेख्दा साँचो लेख ।’ हरेक कालखण्डमा सर्जकबाट यही अपेक्षा हुन्छ उसले कलाको आराधना गरोस् ताकि सृजनाको स्वतस्फूर्त प्रवाह गतिमान होस् ।
netra.acharya@gmail.com