सन्तुलित दृष्टिकोण

''मन नपरेको मानिस हिंडेको बाटो पनि गनाउँछ ।'' नेपाली उखान । उखानहरूले देश या जातिको पहिचान बोकेका हुन्छन् । हामी अधिकांश नेपाली मन परेको मानिसलाई देवत्त्वकरण गरिहाल्छौं, पूजा गर्न थाल्छौं, उसको वरिपरि परिक्रमा गर्न थाल्छौै । मन नपरेको मानिसलाई दानव करार गर्छौं र सकेसम्म सत्तोसराप गर्छौं । यो निश्चय नै सन्तुलित दृष्टिकोण होइन । मोहमा मानिसका दोष देखिंदैनन्, क्रोधमा मानिसका गुण देखिंदैनन् । यस प्रकारले हामी अक्सर तर्कसंगत हुँदैनौं । हाम्रा छनोटहरू, वचन र व्यवहारहरू पनि सुझबुझपूर्ण हुँदैनन् । हामी पूर्वाग्रहमा बाँच्छौं र पूर्वाग्रहमै मर्छौै । हामीले स्वस्थ मनस्थिति कहिले बनाउने, हामीले सन्तुलित दृष्टिकोण कहिले अपनाउने?