तिमी को ?

अघि दिउँसो यौटा मुभी हेर्दै थिएँ । २१ वर्षकी टिया पिताको खोजी गर्न आम्सटर्डमबाट लण्डन आउँछे । उसको सम्भावित पिता जसविन्दरलाई एउटा पार्टीमा भेट्छे र केही निजी कुरा गर्न मनाउँछे । यौटा फोटो देखाउँछे जसविन्दर र उसकी आमा अनन्याले आम्स्टर्डमको कुनै रमणीय स्थलमा खिचेको । फोटो देखेपछि जसविन्दर झसङ्ग हुन्छ तर यकीनका साथ भन्छ – म तिम्रो पिता हुन सक्दिन । तिम्रो पिता अरू नै कोही होला । टियाले उसलाई डिएनए टेस्ट गर्न मनाउँछे । रिपोर्टले जसविन्दर र टिया बाबु छोरी भएको प्रमाणित हुन्छ । रिपोर्टमा टिया प्रेगनेन्ट भएको जानकारी पनि आउँछ । यो पछिल्लो जानकारीले टिया बिलखबन्दमा पर्छे, 'मरुभूमिले वर्षात खोजे जस्तै मैले वर्षौंदेखि मेरा पिता खोजिरहेकी थिएँ । तर वर्षात् सँगै बाढी आइदियो ।' अन्ततः टियाले आफ्नो पेटको बच्चालाई जन्म दिने निधो गर्छे । जसविन्दरलाई सुनाउँछे । उसले एक छिन सोच्छ र भन्छ, ''ठिकै छ, तर तिम्रो ब्वाइ फ्रेन्डलाई खबर गर्‍यौ?'' टियाले उत्तर दिन्छे, 'उसलाई केही फरक पर्दैन ।' जसविन्दर गर्जिन्छ, 'किन फरक पर्दैन? ऊ बच्चाको पिता हो । उसले जिम्मेवारी लिन्छ कि लिँदैन?' टियाले शान्त हुँदै भन्छे, 'यही सोध्नु थियो ।' जसविन्दर फेरि झसङ्ग हुन्छ । ऊ आफैंले टियालाई छोरीको रूपमा स्वीकार गर्न र जिम्मेवारी लिन आनाकानी गरिरहेको थियो । अब उसँग भन्नलाई कुनै शब्द छैन । ऊ जेजसरी हुन्छ टियालाई आफ्नो घरबाट पठाउने प्रपञ्च रच्छ । र भन्छ, म स्वतन्त्र बाँच्न अभ्यस्त भइसकेको मान्छे । मेरो स्वतन्त्रता कसैले छिन्यो भने मभित्र राक्षस जाग्छ । मेरो रगत उम्लन्छ । ऊ छोरीको जिम्मेवारी लिन अनुत्सुक भएको जानेर टिया शान्त रूपले जसविन्दरको निवासबाट जान राजी हुन्छे । तर नजिकै डेरा लिन्छे । जसविन्दरले उसलाई देख्छ र सोध्छ, 'मेरो वरिपरि किन बसेको?' टिया भन्छे, 'मलाई देखेर तपाइँलाई गिल्ट फिलिङ हुन्छ या इम्बेरस्मन्ट?' हाम्रो डबल स्ट्याण्डर्ड जीवनप्रति प्रश्न उठाएर हामीलाई लज्जित पार्न कोही 'टिया' आइपुगे उसलाई हामी के जवाफ दिने थियौं? ''हामीलाई हाम्रो दुर्गति नै प्रिय छ त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ त्यो उदाङ्ग पार्न खोज्ने तिमी को?'' (कवि गोपालप्रसाद रिमाल)