काकः पद्मवने रतिं न कुरुते 🌷🇳🇵🌷❤

पहिला मानिसले कुनै कुरामा अति गरेर आदत बनाउँछ; पछि आदतले मानिसलाई दास बनाउँछ । दासको जीवनमा स्वतन्त्रता हुँदैन, किनभने अरूको दास हुनु र आफ्नै आदतको दास हुनु फरक हुँदैन ।

एक पटक देवराज इन्द्र पृथ्वीको यात्रा गर्दै थिए । दुर्गन्ध र हिलोमा आहार खोजिरहेको सुँगुरप्रति उनलाई दया आएछ । इन्द्रले भने, 'ए शूकर, स्वर्ग जान्छस्?' सुँगुरले प्रश्नकर्तातर्फ हेर्दै नहेरी भनेछ, 'त्यहाँ हिलो खेल्न पाइन्छ?' सुँगुरलाई हिलोमै रमाउने बानी परेको थियो । 

एक जना धनी व्यक्तिलाई यौटा भिखारीको दुरावस्था प्रति करुणा पलाएछ । उसले भिखारीलाई उद्धार गर्ने सोचले भनेछ – मैले तिमीलाई सुनको थाल दिएँ भने तिमी के गर्छौ? भिखारीले भनेछ – भोलिदेखि सुनको थालमा माग्न जान्छु । सुनकै थाली पाए पनि माग्ने आदत जान मुस्किल हुन्छ । कुनै संस्कृत कवि भन्छन् -

काकः पद्मवने रतिं न कुरुते हंसो न कूपोदके
मूर्खः पण्डितसंगमे न रमते दासो न सिंहासने ।
कुस्त्री सज्जनसंगमे न रमते नीचं जनं सेवते
या यस्य प्रकृतिः स्वभावजनिता केनापि न त्यज्यते ॥

कौवा पद्मवनमा रमाउन सक्दैन, राजहंस कुवाको पानीमा इन्जोय गर्न सक्दैन । मूर्खले पण्डितको संगतमा आनन्द पाउँदैन, दासले सिंहासन रुचाउँदैन । व्यभिचारी स्त्री सज्जनको संगतमा रमाउन सक्दिनँ; व्यभिचारी मान्छे नै पछ्याउँछे । जसको स्वभावजन्य प्रकृति जस्तो छ त्यो उसले कसैगरी छोड्न सक्दैन ।