कहाँ गये ऋद्धिसिद्धि?
बुद्धत्त्व प्राप्तिपछि भगवान् बुद्ध पहिलोपटक कपिलवस्तु आइपुग्नुभएको थियो । गृहनगरमा बुद्धलाई भव्य स्वागत भयो । सबै नगरवासीले तीन पटक झुकेर बुद्धको वन्दना गरे, उपहारहरू अर्पण गरे । तर शाक्य कुलका गन्यमान्य अग्रजहरूले बुद्धको वन्दना गरेनन् । तिनीहरूले आफ्ना नातिनातिनालाई अगाडि सारे र बुद्धको वन्दना गर्न लगाए । सिद्धार्थले बुद्धत्व प्राप्त गरेका भए पनि यी हाम्रै छोरा-नाति त हुन् नि भन्ने सोचे । बुद्धले कुलका अग्रजहरू वन्दना गर्न अघि नसरेको थाहा पाइहाल्नुभयो ।
बुद्धत्त्व महान् प्राप्ति हो भन्ने आफ्ना ज्ञातिबन्धुहरूलाई बुझाउन आवश्यक थियो । बुद्ध ऋद्धिबलद्वारा आकाशमा पुग्नुभयो र त्यहाँ गोलो घेरा बनाएर चंक्रमण गर्न थाल्नुभयो । बुद्धको पाउको धूलो शाक्य कुलका सबै जेष्ठहरूको शिरमा पर्न गयो । बुद्ध पुनः जमीनमा आएर आसनमा बस्नुभयो । बुद्धको यस्तो चमत्कार देखेपछि ज्ञातिबन्धुहरूको अभिमान नष्ट भयो । पिता शुद्धोदन सहित सबै अग्रजहरूले बुद्धको वन्दना गरे ।
देशनाहरूमा भगवान् बुद्धले ऋद्धिबललाई धेरै महत्त्व दिनुभएको पाइँदैन । ऋद्धिबलले अभिमान बढाउने हुँदा सकेसम्म यसको प्रयोग नगर्न भिक्षु र उपासक-उपासिकालाई सुझाउनुभएको पाइन्छ ।
योगसूत्रकार पतञ्जलिले पनि सिद्धिहरू समाधिमा बाधक हुन्छन्, जसलाई आत्मोद्धारको आवश्यकता महसुस हुँदैन उसले मात्र उपयोग गर्छन् भनेका छन् (ते समाधावुपसर्गा व्युत्थाने सिद्धयः) । यसो भन्दाभन्दै पतञ्जलिले दर्जनौं सिद्धिहरूको चर्चा विभूतिपादमा गरेका छन् । उनका अनुसार धारणा, ध्यान र समाधि एकत्र भएमा त्यो स्थितिलाई संयम भनिन्छ । संयम चित्तको परम अवस्था हो । कायरूपमा संयम गर्दा व्यक्ति अन्तर्ध्यान हुन सक्छ, प्रत्ययमा संयम गर्दा परचित्तज्ञान अर्थात् अरूको मनको कुरा जान्न सकिन्छ, कण्ठकूपमा संयम गर्दा भोकप्यास लाग्दैन आदि ।
ऋद्धि र सिद्धिहरू साधनाको क्रममा स्वतः हासिल हुन्छन् भनिएको पाइन्छ । हिन्दू ग्रन्थहरूमा अष्टसिद्धिको व्यापक चर्चा पाइन्छ । ती आठ सिद्धि हुन् –
अणिमा महिमा चैव लघिमा गरिमा तथा
प्राप्तिः प्राकाम्यमीशित्वं वशित्वं चाष्ट सिद्धयः ।
शरीरलाई सूक्ष्म आकारको बनाउन सक्ने, विशालकाय बनाउन सक्ने, हलुका वा गह्रौं बनाउन सक्ने, चाहेको स्थानमा तत्काल पुग्न सक्ने, कसैको मनको कुरा जान्न सक्ने, ईश्वर स्वरूप हुन सक्ने र अरूलाई वशमा पार्न सक्ने क्षमता अष्टसिद्धि हुन् ।
बौद्ध साहित्यमा अष्टसमापत्ति ध्यान र पञ्च अभिज्ञाको सम्बन्धमा चर्चा पाइन्छ । चार रूप ध्यान र चार अरूप ध्यानलाई अष्टसमापत्ति भनिन्छ । कहींकहीं उल्लेख पाइने नवौं समापत्ति त झन् रोचक छ । संज्ञावेदयितनिरोध नामको यो समाधि समापन्न गरेको साधकलाई सात दिन या त्योभन्दा ज्यादा समय कुनै कुराको होश रहँदैन, वेदना अनुभूति हुँदैन । ध्यानी अचल र निश्चेष्ट भई एकै आसनमा बसिरहन सक्छ ।
अष्ट समापत्ति हासिल गर्दा नै पञ्च अभिज्ञा हासिल हुन्छन् । पञ्च अभिज्ञाहरू ऋद्धिबल, दिव्यचक्षु, दिव्यश्रोत्र, परचित्तज्ञान र पूर्वनिवासानुस्मृति हुन् । दीर्घनिकायको सामञ्यफलसुत्तमा विपश्यना ज्ञान, मनोमय ऋद्धिज्ञान र आस्रवक्षय ज्ञानसमेत आठ सिद्धिहरूको उल्लेख छ ।
आध्यात्मिक ग्रन्थहरूमा ऋद्धिसिद्धिको प्रयोगले सिद्ध पुरुषहरूले धेरै मानिसको कल्याण गरेका उदाहरण पाइन्छन् । हनुमान सिद्ध पुरुष थिए उनले लंकागमनका बेला प्रयोग गरेका सिद्धिहरू प्रख्यात छन् । बुद्धका शिष्य मौद्गल्यायनले अनेकौं ऋद्धिबल प्रदर्शन गरी सत्त्वहरूको कल्याण गरेको उल्लेख पाइन्छ । दुष्ट व्यक्तिले ऋद्धिसिद्धिको दुरुपयोग गरेका उदाहरण पनि छन् तर सिद्ध पुरुषहरूले कल्याणकारी कार्यमा व्यवहारिक प्रयोग गरेका प्रसङ्ग अधिक पाइन्छन् ।
बोधिपथप्रदीपमा अतीश दीपङ्करश्रीज्ञानले अभिज्ञा प्राप्ति नगरी सत्त्वहरूको कल्याण गर्न सक्षम भइँदैन भनेका छन् (तथाऽभिज्ञावलैर्हीनः सत्त्वार्थकरणेऽक्षमः ) ।
वर्तमान समयमा कसले यस्ता ऋद्धिबल र सिद्धिहरू पाएका होलान्? तिनीहरूले ऋद्धिसिद्धिको उपयोग केकस्ता कार्यमा गरिराखेका छन्? आध्यात्मिक दार्शनिक ग्रन्थहरूमा उल्लेख भएका यी चमत्कारी विद्याहरू कपोलकल्पना त अवश्य होइनन् होला । विज्ञानको विकास उत्कर्षमा पुगेको यो युगलाई खोज-अनुसन्धानको युग भनिन्छ । ऋद्धिसिद्धि आध्यात्मिक विज्ञानका खोजयोग्य विषय हुन् ।
आध्यात्मिक दर्शनको पठनपाठन र खोज अनुसन्धान गर्न विश्वविद्यालयहरू सञ्चालित छन्, आश्रम, विहार र गुम्बाहरू सञ्चालित छन् । तर कोहीकसैले खोजअनुसन्धान गरेर उल्लेख्य परिणाम बाहिर ल्याएको थाहा पाइँदैन ।
पञ्चतन्त्रमा एउटा पद्य छ —
लज्जा स्नेहः स्वरमधुरता बुद्धयो यौवनश्रीः ।
कान्तासङ्गः स्वजनममता दुःखहानिर्विलासः ।
धर्मः शास्त्रं सुरगुरुमतिः शौचमाचारचिन्ता । ।
पूर्णे सर्वे जठरपिठरे प्राणिनां सम्भवन्ति ॥
यो पद्यको आशय हो – धर्म, शास्त्र चिन्तन, बुद्धिको उपयोग आदि कुराहरू मानिसले राम्ररी उदरपूर्ति भए पछि मात्र सोचविचार गर्न सक्छ ।
स्वतन्त्र चिन्तक, अनुसन्धाता, आध्यात्मिक साधक, दार्शनिक, गुरु, प्राध्यापक, सन्त र महन्तहरू सबैको सारा जीवन केवल उदरपूर्तिका लागि समर्पित भइराखेको अवस्था त होइन होला । हामीमध्ये अधिकांशका आधारभूत आवश्यकता पूरा भइसकेका छन् । तैपनि हामी ज्ञानको उत्पादन र विस्तारमा जुट्न सकिरहेका छैनौं । कहीं कतै त्रुटि भइराखेको छ जसले गर्दा हामीले आफ्नो सामर्थ्य यथोचित खोजी अनुसन्धानमा उपयोग गर्न सकेका छैनौं । पश्चिमा सभ्यताको दुष्प्रभाव हुन सक्छ धेरै कमाउने र धेरै उपभोग गर्ने व्यक्ति मात्र समाजमा हाइहाई हुने माहोल बनेको छ । सुखसयल नै जीवनको लक्ष्य भइदियो । एउटा भय सबैको मनमा व्याप्त छ मनग्गे पैसा भएन भने कुनै पनि क्षणमा जीवन असुरक्षित हुन सक्छ, सडक पेटीमा बास हुन सक्छ । यस्तो किन भइरहेको छ? विद्यातुराणां न सुखं न निद्रा अर्थात् जसलाई विद्याप्रति प्रेम हुन्छ उसले सुख र शयनलाई समेत त्यागिदिन सक्छ ।
बुद्धले मात्रासुखपरित्यागात् पश्येच्च विपुलं सुखम् भन्नुभएको थियो । नित्सेले समेत 'हामी सुखको खोजीमा होइन उत्कृष्टताको खोजीमा रमाउने प्राणी हौं भनेका थिए । यी आदर्शहरू मानिसले बिर्संदै गएको देखिन्छ । करुणानिधान बुद्धले फेरि जन्मलिन पर्ने भएको छ, वंशीधारी कृष्णले फेरि अवतार लिन पर्ने भएको छ । तदात्मानं सृजाम्यहम् ।