आफैंमाथि काम : महत्त्वाकांक्षालाई विश्राम
प्राचीन कालदेखिको परम्पराका कारण भारतीय सिनेमामा यदाकदा आध्यात्मिक चेतना मुखर भएर आएको देख्न सकिन्छ । गौरी शिन्डेले निर्देशन गरेको डियर जिन्दगी नामको चलचित्रमा भर्खर कलेजको शिक्षा पूरा गरेका युवायुवतीले आ-आफ्नो रुचि अनुसारको पेशा या व्यवसाय रोज्छन् । तीमध्ये एउटी युवतीले आफ्नो मनको कुरा यसरी खुलासा गर्छे – साथी हो, मैले त आफैंमाथि काम गर्ने निश्चय गरें । यस्तो अनपेक्षित निर्णय सुनेर उसका अधिकांश साथीहरू चकित हुन्छन् तर एउटी साथीले उसलाई हौस्याउँदै भन्छे – त्यो त यो शताब्दीको बहुत ठूलो काम हो, गर !
आध्यात्मिक परम्परामा आफैंमाथि काम गर्नुलाई साधना भनिन्छ । आफ्नो मनका रहस्य र क्षमता बोध गर्नु, आफ्नो व्यक्तित्त्वका सम्भावनाहरू पहिल्याउन जागरुक हुनु आफैंमाथि काम गर्न उत्सुक हुनु हो । अध्यात्ममा स्वस्थ हुनु भनेको ‘स्व’ आफूमा ‘स्थ’ स्थित हुनु हो । शरीर एवं मन दुवै स्वस्थ र शुद्ध भए मात्र बुद्धत्त्वको खोजी सम्भव हुन्छ । मानिसका इच्छा आकांक्षा देश, काल, परिस्थिति र संस्कारले दश तिर छरिएका छन् तर बुद्धत्त्व जत्तिकै पाउन लायक या खोजी गर्न लायक अर्थोक अस्तित्त्वमा सायदै केही होला ।
स्वस्थ हुनु भनेको रोगमुक्त हुनु मात्र होइन । स्वास्थ्य केही बृहत्तर उद्देश्यका लागि हो भन्ने हेक्का राख्न सके मात्र मानिसले अस्वस्थ आहारविहार र सोचविचारबाट परहेज गर्न सक्छ । अन्यथा वर्षौं या दशकौंदेखि लागेको अस्वस्थकर बानी व्यवहार छुटाउन असम्भवप्रायः हुन्छ । स्वस्थ रहनु हाम्रो जन्मजात स्वभाव हो, यावत् रोगहरू आयातीत हुन् । यदि विजातीय पदार्थको सेवन नगर्ने हो र शरीरलाई अधिकांश समय सक्रिय राख्ने हो भने शरीर स्वस्थ रहन्छ । अधिकांश रोगहरूको कारण टक्सिनयुक्त खानपान र अकर्मण्य जीवनशैली नै हो । अनावश्यक या अनपेक्षित सामाजिक संसर्गले सरुवा रोगहरूबाट संक्रमित हुने जोखिम बढाउँछ । वर्तमान महामारीले अत्यावश्यक बाहेक हरेक प्रकारका सामाजिक संसर्गहरू त्याज्य छन् भन्ने सुझाएको छ ।
स्वस्थ आहारविहारद्वारा शरीरलाई स्वस्थ राख्नु जति महत्त्वपूर्ण हुन्छ त्योभन्दा अधिक मनलाई स्वस्थ एवं शुद्ध राख्नु अत्यावश्यक हुन्छ । गलत संगत र संस्कारले मनलाई अशुद्ध बनाउँछ । मनमा पैदा हुने राग, द्वेष र वेहोशीले मनलाई अस्वस्थ बनाउँछ । व्यक्ति, वस्तु या विचारप्रति मनमा अनायासै राग या द्वेष पैदा हुन्छ । जति आसक्ति बढ्छ त्यति अकुशल कर्ममा मानिस प्रवृत्त हुन्छ । अकुशल कर्मको अनुपातमा मन अशुद्ध हुन्छ । बारीमा झारपात सजिलै उम्रन्छन् तर फलफूलको विरुवा हुर्काउन यथोचित मलजल गर्नुपर्छ । आफैंमाथि काम गर्नुको अर्थ मनमा उम्रेका झारपात रूपी कुविचार गोडमेल गर्नु र शान्ति, प्रज्ञा एवं करुणाका विचारलाई मलजल गर्नु हो । धर्मको अभ्यासमा गरिने शील पालना मनलाई शुद्धीकरण गर्ने उपाय हो ।
भनिन्छ – एउटा बच्चालाई एकाध वर्षको हुँदासम्म बोल्न सिकाउन मुस्किल हुन्छ, त्यसपछि जीवनभर उसलाई चुप रहन सिकाउन हम्मे पर्छ । मानव सभ्यताको आदि कालमा आपसी संवादका लागि भाषा विकसित गर्न मुस्किल परेको थियो, अहिले त्यसको अतिप्रयोग समस्या बन्दै गएको छ । मानिस एक्लै जन्मन्छ र एक्लै मर्छ । जीवनको अन्तरालमा सामाजिक सम्बन्धहरू विकसित हुन्छन् । कालक्रममा मानिसले सामाजिक सम्बन्धहरूको सीमा छ र निजत्त्व उसको निम्ति अधिक महत्त्वपूर्ण हो भन्ने बिर्सिदिन्छ । बृहत्तर समाजको हिस्सा भए पनि मानिस स्वयंमा एउटा पूर्ण अस्तित्त्व हो । यतिखेर महामारीले सृजना गरेको विषम परिस्थितिले मानिसलाई आफ्नै बारेमा बुझ्न, आफूभित्र डुब्न र अन्तर्यात्रा गर्न अवसर दिएको छ ।
देशको, समाजको, अर्थव्यवस्थाको, राजनीतिको, धर्मको, अरूको बारेमा चिन्ता र चिन्तन गरिरहँदा मानिसले आफ्नै बारेमा चिन्तन मनन गर्ने उछार पाएको हुँदैन । कतिपय मानिसलाई जीवनभन्दा जीवनको हिसाबकिताव महत्त्वपूर्ण लाग्न थालेको छ, खुशीभन्दा खुशीका साधनहरू प्रिय लाग्न थालेका छन् । आफ्नो मनभित्र पीडा र व्यथाको जति हुण्डरी मच्चिरहोस्, बाहिरबाट देख्नेले शान र मान बढेको नै देखून् भन्ने अभिलाषा हावी भएको छ । मानिसले आफ्नो अन्तःप्रवृत्ति र रुचिलाई प्राथमिकता दिन छाडेको छ । कुन प्रकृतिको काम गर्दा या कुन विषयको अध्ययन गर्दा अधिक अर्थोपार्जन हुन्छ, पद र प्रतिष्ठा प्राप्त हुन्छ भन्ने सोच प्रमुख भएको छ र त्यसका निम्ति घुँडोमुन्टो जोडेर काम गर्दा-गर्दा मानिसको अन्तरात्मा मृतप्राय बनिसकेको छ ।
परिवार, जागिर, सामाजिक स्ट्याटस आदिको पछि दौडंदा मानिसले जीवनका खुशीहरू महसुस गर्नै भ्याउँदैन । तीव्र गतिमा कुदिरहेको सवारीबाट हेर्दा वरपरका दृश्यावली धुमिल देखिन्छन् । जीवनको गति तीव्र हुँदा सुख, शान्ति र खुशीहरू देख्नै नपाई ओझेल पर्छन् । सुख, शान्ति र खुशी लक्ष्य हुन् तर यी कुरा पाउन दौडने उपक्रममा दौड आदत बन्छ, सुख शान्ति गौण हुन थाल्छन् । खुशीको क्षण आउँदा पनि खुशी मिल्दैन, दौडनुमैं खुशी मिलेजस्तो हुन्छ । त्यो बेला मानिस गुनगुनाउन थाल्छ –
इससे बढकर बेवशी दुनिया में नहीं होती ।
जब खुशी के मिलने पर भी खुशी नहीं होती ।।
महामारीको संगीन घडी महत्त्वाकांक्षालाई केही विश्राम दिएर शरीर र मन स्वस्थ बनाउने विकल्पहरू प्रयोग गरी हेर्ने उपयुक्त समय हो । हामीसँग विकल्पहरू यथेष्ट छन् । पूर्वीय सभ्यताले विकसित गरेको आध्यात्मिक दर्शन एवं अभ्यासको धरोहर हामीले उपयोग गर्न सक्छौं । आफैंमाथि काम गर्नु भनेको स्वस्थ भएर म आफू को हुँ, मेरा सम्भावना के हुन् त्यसको सही पहिचान गर्नु हो । त्यसका लागि स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर बारे जानौं । पञ्चकोश अर्थात् अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोशका बारेमा जानौं । नेती, धौती, नौली, वस्ती, कपालभाती र त्राटकजस्ता षट्कर्मको अभ्यास गरेर शरीर शुद्धि गरौं । योगासनको अभ्यास गरेर शरीरबाट विजातीय पदार्थलाई विरेचन गरौं । शरीरलाई पुष्ट, लचक र फूर्तिलो बनाइराखौं । नास्ति योग समं बलम् अर्थात् शरीरलाई बलियो बनाउन योगाभ्यास समान उपाय अर्थोक केही छैन ।
प्राणायामको अभ्यास गरेर स्वासलाई लामो र गहिरो बनाउन सकिन्छ । नाडी शोधन प्राणायाम, कपालभाती, भस्त्रिका, भ्रामरी, पूरक, रेचक, कुम्भक लगायत प्राणायामले स्वासप्रश्वास प्रणालीका ब्लकेज अर्थात् अवरोधहरू शुद्ध बनाइदिन्छ र यो प्रणाली स्वस्थ एवं सक्रिय हुन थाल्छ । भाइरसले कमजोर स्वासप्रश्वास प्रणाली भएका मानिसमा छिटो आक्रमण गर्न सक्छ भन्ने अनुसन्धानहरूबाट प्रष्ट भइसकेको छ । अतः प्राणायाम नियमित अभ्यास गरेर यो प्रणालीलाई चुस्त राख्नु बुद्धिमानी हुनेछ । अर्कोतर्फ प्राणायामले मनलाई स्थिर बनाउन मद्दत गर्छ । भनिन्छ – चले वातं चलं चित्तं निश्चले निश्चलं मतम् अर्थात् स्वासप्रश्वास अस्थिर छ भने मन पनि अस्थिर हुन्छ, स्वासप्रश्वास स्थिर छ भने मन पनि स्थिर हुन्छ । मन वर्तमान अवस्थामा स्थिर र शान्त रहनु आफैंमा अद्भुत अनुभूति हो । अन्ततः ध्यान र समाधिको द्वार खुल्छ, साधकले बुद्धत्त्वको आभास पाउन थाल्छ ।
शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात् स्वस्थ शरीर नै साधनाको आधार हो । शरीरको आफ्नो प्रतिरक्षा प्रणाली छ । यो प्रणाली जत्तिकै प्रभावशाली सुरक्षा कवच मानिसका लागि अर्थोक केही हुन सक्दैन । जीवको क्रमबद्ध विकासको लाखौं वर्षको दौरानमा शरीरमा यो प्रणाली विकसित भएको थियो । यो प्रणालीलाई सक्रिय बनाउन केही सचेत प्रयत्न आवश्यक हुन्छ । यसका लागि हामीले सर्वप्रथम शरीरका स्थूल अंशहरू जस्तो प्रणालीहरू, अङ्गप्रत्यङ्ग, तन्तुहरू र जीवकोशहरूलाई परिशुद्ध बनाउनु पर्छ । यसरी स्थूल शरीरलाई परिशुद्ध बनाइसकेपछि पदार्थ र चेतनाको सन्धिस्थल बोध हुन्छ । यही विन्दुको बोध भएको बेला चेतनाले पदार्थलाई स्याहार गर्न थाल्छ, उपचार गर्न थाल्छ । हामी जति सचेत हुन्छौं त्यही अनुपातमा हाम्रो प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । सचेत हुँदा शरीरका हरेक कोशहरू जागरुक हुन्छन् । शरीरले हाम्रो माया अपेक्षा गर्छ, हेरचाह खोज्छ । हामीले हर्दम शरीरको स्वास्थ्य र पुष्टतालाई हेक्का राखिरहौं भन्ने यसको गहिरो अभीप्सा हुन्छ । हाम्रो ‘एटेन्सन’ले शरीर परिपोषित हुन्छ । पोषित शरीरले रोगव्याधिले आक्रमण गर्न खोज्दा प्रतिरक्षा गर्छ र रोग लागिहालेमा स्वचिकित्सा पनि गर्छ ।
मानिस सदा पशुत्त्व र देवत्त्वको सन्धिस्थलमा बाँचिरहेको हुन्छ । उसका हरेक सोच, विचार र व्यवहारले या त उसलाई पशुत्त्वतिर अधोगमन गराउँछन् या देवत्त्वतिर उर्ध्वगमन गराउँछन् । देवत्त्वतिरको यात्राका लागि शरीर, मन, बुद्धि र चेतनालाई एउटै दिशामा अभिमुख गर्नु अत्यावश्यक हुन्छ । शरीर र मनको स्वास्थ्य बुद्धि र चेतनालाई देवत्त्वको आयामतिर अग्रसर बनाउने हेतु हो । पदार्थ या शरीरको सीमाबाट माथि उठेर दिव्यताको खोजी गर्ने उत्सुकता मनमा पैदा हुँदा मानिसले आफैंमाथि काम गर्ने संकल्प गर्छ । मानिस खानपान, आचारविचार र बोलीव्यवहारमा सचेत हुन थाल्छ । ऊ हर्दम स्वस्थ एवं फुर्तिलो रहन थाल्छ । स्वस्थे चित्ते बुद्धयोः सम्भवन्ति । अस्तु । article published in https://www.nepalkhabar.com/opinion/23128-2020-03-28-06-18-34